खोटाङ । जिल्ला अस्पताल खोटाङको भवन ठड्याएर अलपत्र पार्ने ठेकेदार कम्पनीको अग्रिम बैंक जमानत रकम तान्न कृषि विकास बैंक, चाबहिल काठमाडौंलाई पत्रचार गरिएको छ ।
५० शैयाँको अस्पताल भवन ठड्याएपछि बाँकी काम सक्न पटक–पटक पत्रचार गर्दा काम नगरेपछि निर्माण कम्पनी श्याम सुन्दर/रामसागर/नेपाल फूलवारी जेभी अनामनगर काठमाडौंको २ करोड ५ लाख ५० हजार जमानत तान्न साउन २३ गते बैंकलाई पत्रचार गरिएको सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाका निमित्त प्रमुख विनोद यादवले जानकारी दिनुभयो ।
३० महिनामा भवन बनाईसक्ने गरी उक्त जेभीले २०७८ असार २४ गते सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगासँग भ्याटसहित २२ करोड ९० लाख ४७ हजार ९२ रुपैयाँमा सम्झौता गरेको थियो। २०८० पुषमा ३० महिने म्याद गुजारेर पहिलो पटक ११ महिना थपेको म्याद पनि आउने मंसिर २९ गते सकिदैछ । तर, भवनको काम ठप्प छ । एकादुई कामदार साईडमा देखिन्छन् ।
ठेकेदारले अस्पतालको भवन ठड्याएर अलपत्र पारेपछि कोशी प्रदेशसभा सदस्य भुपेन्द्र राईले भवन निर्माण र फिनिसिङ सम्पन्न नभएसम्म निगरानी र दबावको काम निरन्तर गर्ने प्रतिवद्धता जनाउनुभएको छ । “खोटाङलाई ठग्ने हिम्मत कसैले नगरे हुन्छ । खोटाङलाई पछि पार्छु, ठग्छु र यहाँ जे गर्दा पनि हुन्छ भन्ने केही निर्माण व्यवसायी र निर्माण कम्पनी कालोसूचिमा परिसकेका छन् र पुनः ठेक्का प्रकृया अगाडि बढी सकेको पनि छ ।” राईले सामाजिक सञ्जालफेसबुकमा लेख्नुभएको छ । ‘अब यो योजना सम्पन्न नभइन्जेल निगरानी र दबावको काम निरन्तर गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’
ठेकेदारले भवनको काम नगर्दा उक्त आयोजनाका लागि आएको ३ करोड बजेट असारमा फ्रिज भएको छ । फ्रिज भएर गएको मुल्य निर्माण व्यवसायीलाई निकै महङगो पर्ने राईले फेसबुक स्टाटसमार्फत जनाउनुभएको छ ।
हालसम्म उक्त निर्माण कम्पनीले पेश्कीसहित १५ करोड २७ लाख ४५ हजार ५६६ रुपैयाँ काम ठेक्का लगाएको कार्यालयबाट लगिसकेको छ । जिल्लाको एकमात्र १५ शैयाको सरकारी अस्पताललाई स्तरोन्ती गर्दै ५० शैयामा परिणत गदैगर्र्दा निर्माण कम्पनी र ठेकेदारले भवन निर्माणको काम अन्तिम अवस्थामा आएर अलपत्र पार्दा टहराबाट बिरामीलाई दिँदै आएको सेवा अझै लम्बिने जिल्ला अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.रुपेश संग्रौला बताउनुभयो । टहराबाट बिरामीलाई सेवा दिंदा निक्कै समस्या भईरहेको डा.संग्रौलाको भनाई छ ।
अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम्पनीका प्रतिनिधि संजिव कट्वाललाई पक्राउ गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले साउन २० गते जिल्ला प्रहरी कार्यालयलाई पत्रचार गरिसकेको छ । नगरपालिकाले सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगा र राष्ट्रिय मानव अधिकार आयोग खोटाङलाई समेत ठेकेदारलाई कारबाही गर्न पत्रचार गरेको थियो ।
गत असोजयता विभिन्न वहानामा बिजुली बत्ती वायरीङ, रंगरोगन र मार्वल राख्ने कामदारलाई ठेकेदार कटवालले पैसासमेत नदिएको कामदारहरुले गुनासो गरेका छन्।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच