एजेन्सी । मिडफिल्डर मानु ट्रिग्वेरोसले १२ वर्षपछि भियारियाल छोड्दै स्पेनिस दोस्रो डिभिजन लिगको क्लब ग्रानडामा अनुबन्धित हुनुभएको छ । ३२ वर्षीय ट्रिग्वेरोस भियारियालबाट सबैभन्दा धेरै ला लिगा खेल्ने खेलाडीसमेत हुनुहुन्छ । उहाँले स्पेनिस क्लबबाट ४७७ खेल खेल्नुभएको छ । भियारियालबाट १२ वर्ष खेल्ने क्रममा उहाँले ३८ गोल र ३९ असिष्ट गर्नुभएको छ ।
उहाँले क्लबबाट सन् २०२१ को युरोपा लिग जित्दा २०२२ मा च्याम्पियन्स लिगको सेमिफाइनलसमेत खेल्नुभएको थियो । ‘हामी ट्रिग्वेरोसलाई उहाँको लगाव र सफल व्यावसायिक करियरका लागि धन्यवाद व्यक्त गर्न चाहन्छौं । हामी उहाँको नयाँ व्यावसायिक जीवनप्रति सफलताको कामना गर्दछौं । यो सधैं उनको घर रहनेछ’, भियारियालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।