काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङबीच सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको छ । सो अवसरमा नेपालबाट भइरहेको र हुन सक्ने कृषि उपज र मासुजन्य वस्तु निर्यात सहजीकरण गरिदिन मन्त्री अधिकारीले राजदूतलाई आग्रह गर्नुभयो । नेपालबाट चीनमा थर्मल प्रशोधित भैंसीको मासु निर्यात गर्न चीनको भन्सार प्रशासनसँग आवश्यक समन्वय भएको उल्लेख गर्दै उहाँले सोसम्बन्धी प्रोटोकल नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भई चिनियाँ पक्षमा पठाइसकिएकाले प्रोटोकलमा हस्ताक्षर गर्न तथा कार्यान्वयन गर्न राजदूतबाट विशेष पहल हुने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्रालयले औषधिजन्य वनस्पति निर्यातका लागि चीनको भन्सार प्रशासनसँग समन्वय भएको र याक तथा चौंरीको नश्ल सुधार तथा मूल्य शृंखला प्रवद्र्धनका लागि चीन सरकारसँग अनुरोध गरिएको जनाएको छ । भेटमा मन्त्री अधिकारीले नेपालमा विशेषगरी कृषि र पर्यटन क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको भन्दै चीनको विशेषज्ञता तथा सहयोग सो क्षेत्रको विकासका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको बताउनुभयो । दुर्ई देशबीचका विभिन्न समझदारी र अन्य विषयमा संयुक्त कृषि कार्यदलको बैठक आयोजना गरी थप प्रभावकारी कार्यान्वयन गर्न सकिने उहाँले बताउनुभयो । राजदूत सोङले कृषि क्षेत्रमा चीनले ठूलो उपलब्धि हासिल गरेको चर्चा गर्दै नेपाल सरकारले विशेषगरी कृषि उत्थानका लागि चालेको कदममा चीनको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । च्याउखेतीबाट चीनको गरिबी घटाउन सहयोग पुगेको भन्दै उहाँले मन्त्रालयसमक्ष आफ्नातर्पmबाट राखेको प्रस्ताव स्वीकृत भए चीन सहयोग गर्न तयार रहेको जानकारी गराउनुभयो । सो अवसरमा राजदूत सोङले च्याउखेतीमार्फत् गरिबी उत्थानमा सहयोग पुग्ने चिनियाँ प्रस्ताव मन्त्री अधिकारीसमक्ष हस्तान्तरण गर्नुभएको कृषिमन्त्रीको सचिवालयले जनाएको छ ।
गत सातामात्रै नेपाल सरकारले चीनमा प्रशोधित भैंसीको मासु निर्यातसम्बन्धी सम्झौतापत्रलाई स्वीकृति दिएको थियो । असार २० गते बसेको मन्त्रिपरिषद् बैठकले चीनमा कुक्ड बफेलो मिट निर्यात गर्ने सम्बन्धमा नेपाल सहमत रहेको विषयसहित तयार पारिएको सम्झौतापत्र स्वीकृत गरेपछि निर्यातको बाटो खुला भएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहप्रवक्ता डा. तपेन्द्र बोहराका अनुसार कुक्ड बफेलो मिट निर्यात गर्ने विषयमा दुई मुलुकबीच हुनुपर्ने सम्झौताका लागि तयार पारिएको सम्झौतापत्र मन्त्रिपरिषद्को स्वीकृतसँगै नेपालले कूटनीतिक च्यानलमार्फत् चीन पठाइसकेको छ । सोही सम्झौतापत्रअनुसार चीनले तोक्ने मितिमा दुई देशबीच सम्झौतापत्रमा हस्ताक्षर हुने बताइएको छ । गत असोजमा चीन भ्रमण गर्नुभएका निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल र चीन सरकार प्रमुखले संयुक्त रूपमा जारी गरेको नेपाल-चीन संयुक्त विज्ञप्तिमा ‘कुक्ड बफेलो मिट’ चीन निर्यात गर्ने विषयमा सहमति भएको थियो । उक्त सहमतिपछि चीनको जनरल एडमिनिष्ट्रेशन अफ कस्टमले नेपाललाई एक सय ५० पृष्ठको जोखिम विश्लेषण (रिस्क एनालाइसिस एसेसमेन्ट) सम्बन्धी कागजात पठाएको थियो । उक्त कागजातका आधारमा कृषि मन्त्रालयले आवश्यक सम्पूर्ण तयारी सम्पन्न गरी तत्कालीन समयमा परराष्ट्र मन्त्रालयमार्फत् चीनलाई जवाफ पठाएको थियो ।
तर, चीनको भन्सारको सामान्य प्रशासन (जिएसिसी) ले मासुसहित १८ खाद्य वस्तुको आयातबारेमा कडा नियम बनाएको छ । मासु आयातका लागि चीनले १५ पृष्ठको मापदण्ड उल्लेख गरी नेपाललाई पालना गर्नुपर्ने भनेर पठाएको छ । जसमा भैंसी सम्पूर्ण रूपले रोगमुक्त हुनुपर्ने, नेपालको आफ्नै उत्पादन हुनुपर्ने, खाद्य स्वच्छता, फाइटो स्यानेटरीलगायतका हिसाबले उत्कृष्ट हुनुपर्ने, ३० महिनामुनिको भैंसी हुनुपर्ने, वध गर्दा सरकारले तोकेको मापदण्डभित्र हुनुपर्नेलगायतका मापदण्ड तोकिएको छ । चीनले मासु आयात गर्न तयार भए निश्चित पकेट क्षेत्र निर्धारण गरी मासु उत्पादन गरेर निर्यात सकिने मन्त्रालयले उल्लेख गरेको छ ।
मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लालाई भैंसीको मासुका लागि पकेट क्षेत्र निर्धारण गरेर चीनलाई मासु निर्यात गर्न सकिने बताइएको छ । मन्त्रालयका अनुसार चीनबाट मासुका लागि आउने मागअनुसार नेपालका व्यवसायी निर्यात गर्न तयारी अवस्थामा छन् । मुख्यगरी बाराको बफेलो मिट उद्योग चीनको मागअनुसार तयारी मासु निर्यातका लागि उत्सुक देखिएको छ । उद्योगले हाल भियतनाम र थाइल्याण्डमा निर्यात गर्दै आएको छ । तर, मासु निर्यातका लागि स्वच्छताको प्रमाण चाहिन्छ । नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रअन्तर्गत धानपछिको सबैभन्दा बढी भैंसीको योगदान छ । चीनले भारत र भियतनामबाट ठूलो परिमाणमा भैंसीको मासु खरिद गर्दै आएको छ । विश्वभर उत्पादन हुने भैंसीको कुल मासुको परिमाणमध्ये झण्डै ४३ प्रतिशत भारतमा उत्पादन हुन्छ । भैंसीको मासु चीन निर्यातको बाटो खुला भए पनि निर्यात सोचेजस्तो सहज भने छैन । नेपालका अधिकांश गाई भैंसी कुनै न कुनै रोगबाट प्रभावित छन् । लम्पी स्किन र खोरेत रोगजस्ता महामारीको समस्या छ । लम्पी स्किनबाट हालसम्म २७ अर्ब २२ करोड ५० लाख बराबरको क्षति भइसकेको अनुमान छ भने करिब ३० भन्दा बढी जिल्लामा खोरेत फैलिएको थियो ।
नेपालमा हालसम्म अत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको मापदण्डको वधशालासमेत छैनन् । कृषि गणना २०७८ अनुसार नेपालमा राँगाभैंसीको संख्या २९ लाख २३ हजार छ । २०६८ सालमा राँगाभैंसीको संख्या ३१ लाख ७४ हजार थियो । नेपालमा वार्षिक एक लाख १६ हजार पाँच सय तीन मेट्रिकटन भैंसीको मासु उत्पादन हुँदै आएको छ । चीन मासु खपत गर्ने विश्वको सबैभन्दा ठूलो मुलुक हो । विश्वभर खपत हुने मासुमध्ये ३० प्रतिशत चीनले एक्लै खपत गर्दै आएको छ । चीनको कुल जनसंख्यामध्ये झण्डै ५७ प्रतिशतले मासु उपभोग गर्दै आएका छन् । चीनमा प्रतिव्यक्ति प्रतिवर्ष ४५.१ केजी मासु उपभोग छ । चीनले वार्षिक रूपमा करिब छ लाख ५६ हजार चार सय ३० टन बफ मासु आफैँ उत्पादन गर्छ । त्यस्तै चीनमा खपत हुने कुल मासुको परिमाणमध्ये करिब ६० प्रतिशत पोर्कको मासु खपत हुन्छ । चीनले पाँच करोड ७० लाख टन पोर्कको मासु खपत गर्छ । पोर्कपछि कुखुराको मासु हो । चीनमा वार्षिक करिब दुई करोड ५० लाख टन कुखुराको मासु खपत हुने गरेको छ भने वार्षिक ९० लाख टनभन्दा बढी गाईको मासु खपत हुने गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच