काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणमा आफ्नो तीन वर्षे कार्यकाल नेपालको जलविद्युत् क्षेत्रको विकासमा निकै उपलब्धिपूर्ण रहेको बताउनुभएको छ । आठ वर्षअघि अर्थात् आर्थिक वर्ष २०७२/७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र रहेकोमा उहाँले तीन वर्षे अवधिमा भएको उपलब्धिमध्ये विद्युतीकरणमा प्राप्त उपलब्धि महत्वपूर्ण रहेको बताउनुभएको हो । तीन वर्षअघि ८९.७ प्रतिशत रहेको विद्युतीकरण हाल ९९ प्रतिशत पुगेको घिसिङको भनाइ थियो ।
त्यसैगरी, आठ वर्षअघि २९ लाख ७० हजार रहेका विद्युत् ग्राहक संख्या हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको र छिट्टै देश पूर्णरूपमा विद्युतीकरण भएको घोषणाको अवस्थामा रहेको उहाँले बताउनुभयो । नेपालको जलविद्युत्मा आफ्नो तीन वर्षे कार्यकालको उपलब्धिबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले विद्युतीकरणका लागि प्राधिकरणको आफ्नै स्रोतबाट ठूलो लगानी भएको बताउनुभयो ।
सुकुम्बासी बस्ती तथा चेपाङ, मुसहर लगायतका विपन्न वर्गका घर परिवारमा विद्युत् पुर्याउन निःशुल्क मिटरसमेत वितरण गरिएको, स्थानीय निकायसँगको साझेदारीमा स्मार्ट सडक बत्ती विस्तार गरी सहर उज्यालो बनाउने कार्यमासमेत ठूलो लगानी गरिएको, आठ वर्षअघि प्रतिवर्ष तीन अर्ब ७२ करोड युनिट विद्युत् खपत हुने गरेकामा हाल १० अर्ब २३ करोड युनिट पुगेको घिसिङले बताउनुभयो । त्यसैगरी, प्रतिव्यक्ति ऊर्जा खपत १३१ युनिटबाट बढेर चार सय युनिट पुगेको, घर-घर र बस्ती बस्तीमा बत्ती बाल्न नभई उद्योग, व्यवसाय र कलकारखानामा विद्युत् पुर्याएर आन्तरिक खपत बढाई देशलाई नै समृद्ध बनाउने अभियानमा पनि सफलता प्राप्त भएको उहाँले बताउनुभयो ।
वित्तीय तथा प्रशासनिक सुधार
प्राधिकरणले आर्थिक वर्ष २०७८/७९, २०७९/८० र २०८०/८१ मा क्रमशः १३ अर्ब ३४ करोड, नौ अर्ब ४२ करोड र १३ अर्ब ३१ करोड खुद नाफा कमाएको छ । सञ्चित नाफा आर्थिक वर्ष २०७८/७९, २०७९/८० र २०८०/८१ मा क्रमशः २४ अर्ब ७७ करोड, ३३ अर्ब ६४ करोड र ४७ अर्ब ४१ करोड पुगेको छ । आम्दानीतर्फ आर्थिक वर्ष २०७८/७९, २०७९/८० र २०८०/८१ मा क्रमशः ८७ अर्ब १५ करोड, एक खर्ब तीन अर्ब र एक खर्ब १६ अर्ब रहेको छ भने सम्पत्ति आर्थिक वर्ष २०७८/७९, २०७९/८० र २०८०/८१ मा क्रमशः पाँच खर्ब २२ अर्ब, पाँच खर्ब ७७ अर्ब र छ खर्ब ३२ अर्ब रहेको छ । देशैभरी रहेको सम्पत्तिको खोजविन गरिएको र अतिक्रण गरिएका जग्गा फिर्ता ल्याउन आवश्यक पहल गरिएको र हालसम्म प्राधिकरणको नाममा लालपुर्जा आउन नसकेको जग्गा दर्ता/लगतकट्टा गरी आफ्नो स्वामित्वमा ल्याउन सुरु गरिएको उहाँले जानकारी दिनुभयो । देशभरी रहेको जग्गा यकिन गरी करिब ४० हजार दुई सय रोपनी जग्गाको पहिचान भएको छ भने गत वर्ष मात्र काठमाडौं उपत्यकाभित्रको करिब ७२ रोपनी १२ आना जग्गाको पुर्जा प्राप्त भएको घिसिङले बताउनुभएको छ ।
त्यस्तै, बजेट र खर्च नियन्त्रणका लागि केन्द्रीकृत भुक्तानी एवं अनलाइन भुक्तानी प्रणाली प्रभावकारी बनाइएको, सरकारको कोषमा साँवा ब्याज, आयकर, रोयल्टी गरी आर्थिक वर्ष २०७८/७९, २०७९/८० र २०८०/८१ मा क्रमश : नौ अर्ब ७४ करोड, १५ अर्ब ७० करोड र १० अर्ब ७० करोड जम्मा गरिएको घिसिङले बताउनुभयो ।
वितरण तथा ग्राहक सेवा
आर्थिक वर्ष २०७७/७८ मा १७.३८ प्रतिशत रहेको विद्युत् चुहावट आर्थिक वर्ष २०७८/७९, २०७९/८० र २०८०/८१ मा क्रमश : १५.३८, १३.४६ र १२.७३ प्रतिशतमा झारिएको बताइएको छ । यस्तै, काठमाडौं उपत्यका, भरतपुर र पोखरा महानगरपालिका क्षेत्रका विद्युत् वितरण प्रणाली भूमिगत गर्न सुरु गरिएको कार्य सम्बन्धित निकायहरूसँगको समन्वयको समस्या भएकाले केही ढिलाइ भए पनि कार्य सम्पन्न गर्नेगरी निर्माण कार्य अघि बढाइएको बताइएको छ । कार्यक्रममा घिसिङले अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तरको वितरण प्रणाली नियन्त्रण तथा डेटा सेन्टर निर्माण गरी सञ्चालनमा ल्याइएको, विद्युत् आपूर्तिमा रहेको ग्राहकको गुनासो सम्बोधन गर्न हरेक प्रदेशमा कल सेन्टरको स्थापना गरी सञ्चालनमा ल्याएको, विद्युत् खपत बढाउन विद्युतीय सवारीसाधन प्रवद्र्धन तथा प्रोत्साहन गर्न प्राधिकरणले आफैँ ६२ चार्जिङ स्टसेन निर्माण गरी सञ्चालनमा ल्याएको र निजी क्षेत्रबाट निर्माण गरिएका चार सयभन्दा बढी चार्जिङ स्टेसनमा रहेको बताउनुभयो ।
वितरण सवस्टेसन ८० बाट दुई सय
आठ वर्ष अघिसम्म विद्युत् वितरणतर्फका वितरण सवस्टेसन ८० वटा रहेकामा अहिले बढेर झण्डै दुई सय अर्थात् १९७ पुगेका घिसिङले जानकारी गराउनुभयो । त्यस्तै, सवस्टेसन क्षमता ६४० एमभिए मात्र रहेकोमा हाल दुई हजार पाँच सय एमभिए पुगेको, वितरण लाइनतर्फ आठ वर्षअघि एक लाख २१ हजार सर्किट किलोमिटर रहेकामा दुई लाख आठ हजार सर्किट किलोमिटर पुगेको पनि उहाँले बताउनुभयो ।
उत्पादन तथा इञ्जिनियरिङ
प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रका विद्युत् आयोजना गरी कुल जडित क्षमता तीन हजार १५७ मेगावाट पुगेको, विगत तीन वर्षमा मात्र १७ सय छ मेगावाट प्रणालीमा थप भएको, जडित क्षमतामा सबैभन्दा बढी करिब ९५ प्रतिशत अर्थात् २९ सय ९१ मेगावाट योगदान जलविद्युत्कै रहेको, थर्मल ऊर्जा ५३ मेगावाट, सौर्य ऊर्जा एकसय सात मेगावाट र वायोमास ऊर्जा छ मेगावाट रहेको प्राधिकरणले जनाएको छ । त्यस्तै, उत्पादनतर्फ ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्री जलविद्युत् आयोजना निर्माण व्यवसायीको कार्यसम्पादन सन्तोषजनक नभएपछि ठेक्का तोडी नयाँ ठेक्का प्रक्रिया सुरु गरिएको, ४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनामार्फत २० मेगावाटको रोल्वालिङ खोला निर्माण सुरु गरिएको, सहायक कम्पनी चिलिमे जलविद्युत् अन्तर्गतका १११ मेगावाट रसुवागढी, १०२ मेगावाट मध्यभोटेकोशी, ४२.५ मेगावाट साञ्जेन निर्माण सम्पन्न गरी सञ्चालनको अन्तिम चरणमा रहेका, १४.८ मेगावाटको माथिल्लो साञ्जेन आयोजना निर्माण सम्पन्न गरिएको, एक हजार ६३ मेगावाटको माथिल्लो अरुण र ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना वित्तीय व्यवस्थापन गरी निर्माणमा जाने अवस्थामा पुगेका, ४२ मेगावाटको माथिल्लो मोदी ‘ए’, १८.२ मेगावाटको माथिल्लो मोदी, २१० मेगावाटको चैनपुर सेती, ९९ मेगावाटको तामाकोशी पाँचौँको निर्माण सुरु भएको, ६८३ मेगावाट सुनकोशी-३ जलाशययुक्त जलविद्युत् आयोजनालाई नेपाल र बंगलादेशका सरकारी निकाय र ४९० मेगावाटको अरुण चार प्राधिकरण र भारतको सतलज जलविद्युत् निगमको लगानी साझेदारीमा निर्माण गर्नेगरी अघि बढाइएको बताइएको छ ।
त्यस्तै, दक्षिण एसियाली क्षेत्रकै नमुना परियोजनाका रूपमा अघि बढाउन सकिने १० हजार आठसय मेगावाट कर्णाली (चिसापानी) बहुउद्देश्यीय जलाशययुक्त आयोजनाको विस्तृत अध्ययन प्रक्रिया सुरु गरिएको, १२६ मेगावाट तल्लो सेती (तनहुँ) जलविद्युत् आयोजनाको विस्तृत इञ्जिनियरिङ सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।
देशलाई चाँडै पूर्ण विद्युतीकरण घोषणा गर्दै छौँ : कुलमान
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले देशलाई छिट्टै पूर्ण विद्युतीकरण घोषणा गरिने बताउनुभयो । प्राधिकरणमा आफ्नो तीन वर्षे कार्यकालको उपलब्धि सुनाउँदै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले प्राधिकरणको नाफा वास्तविक भन्दै कागजी मात्रै नभएको स्पष्टीकरण दिनुभयो । उहाँले हरेक नेपालीको घरमा विद्युत् पुर्याउन विद्युतीकरण र विद्युतीय क्षेत्रलाई गुणस्तरीय तथा सुरक्षित बनाउन प्रशारण र वितरणतर्फका पूर्वाधार संरचनाहरूको विस्तार एवं सुदृढीकरणका लागि पर्याप्त काम भएको दाबी गर्नुभएको हो ।
निर्देशक घिसिङले आफू प्राधिकरणमा दोस्रो कार्यकाल सम्हाल्दै गर्दा ऊर्जा मन्त्रालयसँग गरेको सम्झौताअनुसार नै सूचकांकहरूमा सुधार भएको दाबी गर्नुभयोे । मुलुकलाई लोडसेडिङमुक्त गरेर विद्युत् आपूर्ति हुन थालेपछि प्रणालीमा उत्पन्न भएको चुनौतीलाई सम्बोधन गर्न तथा उपभोक्ताहरूलाई विद्युत् आपूर्ति गराउन प्रणालीको विकास एवं पूर्वाधार निर्माणलाई प्राविधिक रूपमा विकास गरिएको उहाँको दाबी छ । घिसिङले डेडिकेटेड तथा ट्रंक लाइनको महसुलमा उद्योगीहरूले प्रक्रिया पालना नगरेको समेत आरोप लगाउनुभयो । उहाँले बिलमा चित्त नबुझे प्राधिकरणको पुनरावलोकन समिति तथा विद्युत् नियमन आयोगमा जानुपर्नेमा उद्योगीहरूले त्यस प्रक्रियालाई पालना नगरेको बताउनुभयो । उहाँले नियमसम्मत र प्रमाणका आधारमा छुट बिल जारी गरेको र उद्योगीलाई दिएको बिलको सबै प्रमाण प्राधिकरणसँग रहेको दाबी गर्नुभयो । त्यस्ता प्रमाणहरू विभिन्न समयमा आयोग तथा समितिहरूमा पेस भएको उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच