✍️ जीवनाथ धमला
व्यक्तिद्वरा आफ्नो जीवनक्रममा सम्पन्न सामाजिक कर्महरूलाई समाजले कालान्तरसम्म पनि स्मरण गरिरहन्छ । समाजलाई दिनेहरू नै समाजको मन अर्थात् जनमानसमा सम्मानित हुन सक्दछन् । समाजबाट लिन मात्र चाहनेहरू जनमानसमा स्वार्थी पात्रका रूपमा चिनिन्छन् । ती समाजमा मर्यादित हुन सक्दैनन् । त्यसैले समाजको हृदयमा बस्न चाहने व्यक्ति मन, वचन र कर्मले समाजोपयोगी कार्यहरूमा अग्रसर रहन्छ । ऊ जीवित छँदा पनि मर्यादित रहन्छ, जीवनोपरान्त पनि समाजका लागि सुस्मरणीय रहिरहन सक्छ । मानिसको अमरत्वका साक्षी उसका सत्कर्महरू नै हुन् ।
समाजको चौतर्फी उन्नति वा अवनतिका लागि मूलतः त्यस मुलुकको राजनीतिक नेतृत्व नै बढी जिम्मेवार रहन्छ । राजनीतिक नेतृत्व जनमुखी भयो भने समाजले परिवर्तन र उन्नतिको आधार प्राप्त गर्दछ । सुदुर विगतको जहाँनिँया तन्त्रीय सामन्ती मनोवृतिको दबदबाका कारण मुलुकको सामाजिक स्वरूपले उज्यालो बन्ने अवसर पाएन । त्यस अँध्यारो युगमा पनि कतिपय चेतनशील, साहसी र परोपकारी मानिसहरूले समाज परिवर्तनका लागि न्युनाधिक योगदान दिइरहे । खासमा त्यस्ता सत्पात्रहरू नैसमाजको सकारात्मक परिवर्तनका लागि अदृश्य तवरले समाजकै जगमा बसेका अचल शिलाहरू हुन् । जुन समाज त्यस्ता आधारशिलाद्वारा निर्मित हुन्छ, त्यो समाजको सामाजिक सांस्कृति स्वरूप उज्यालो र चहकिलो हुन्छ ।
बलराम पराजुलीको जन्म वि.सं. १९७२ मा भोजपुरको चरम्बी गाउँमा भएको थियो । उहाँका पिताजी विष्णुलाल पराजुलीले राणा शासनको उत्तराद्र्धतिर गुरुकुलीन परम्परालाई जीवन्त राख्दै आफ्नै सत्प्रयासमा, आफ्नै घरआँगनमा गाउँले दाजुभाइका छोराहरूलाई पढाउने व्यवस्था मिलाउनुभएको थियो ।
नेपालको पूर्वी पहाडी जिल्ला भोजपुर पनि समाजसेवी, कर्मयोगी सत्पात्रहरू जन्माउने उर्वर माटो भएको ठाउँ हो । विगतमा बालगुरु षडानन्द अधिकारी, योगमाया लगायतका साधकहरूले भोजपुरलाई कर्मभूमि बनाएको इतिहास छ । यस्तै नारदमुनि थुलुङ, रामप्रसाद राई लगायतका स्वतन्त्रता सेनानीहरूले २००७ सालको जनक्रान्ति सफल पार्न ठूलो योगदान दिएको इतिहास पनि भोजपुरसँग छ । पूर्वी नेपलाकै शैक्षिक उन्नयनका निम्ति बालगुरु षडानन्द अधिकारीको समर्पण मुलुककै लागि एउटा उदाहरण नै बनेको छ । विभिन्न क्षेत्रका अरू कैयौँ कर्मवीरहरले भोजपुरलाई कर्मभूमि बनाएर त्यहाँको समाजलाई उज्यालो बनाउन उल्लेखनीय योगदान दिएका छन् । तीमध्येका एक हुनुहुन्थ्यो समाजसेवी बलराम पराजुली । उहाँको स्मृतिमा प्रकाशित ग्रन्थको अध्ययन गर्दा उहाँबारे पर्याप्त जानकारी प्राप्त हुन्छ ।
बलराम पराजुलीको जन्म वि.सं. १९७२ मा भोजपुरको चरम्बी गाउँमा भएको थियो । उहाँका पिताजी विष्णुलाल पराजुलीले राणा शासनको उत्तराद्र्धतिर गुरुकुलीन परम्परालाई जीवन्त राख्दै आफ्नै सत्प्रयासमा, आफ्नै घरआँगनमा गाउँले दाजुभाइका छोराहरूलाई पढाउने व्यवस्था मिलाउनुभएको थियो । जुद्धशमशेरको पालामा तत्कालीन सामाजिक आवश्यकता अनुसार संस्कृति शिक्षाको पठनपाठनको सुरुवात् चरम्बीमा भएको थियो । यस सुकर्मका अग्रणी विष्णुलाल पराजुली हुनुहुन्थ्यो । उहाँले वि.सं. १९९० सालदेखि नै आफ्नै घरमा गाउँका केटाहरूलाई पढाउने प्रबन्ध मिलाउनुभएको थियो ।
२००४ सालदेखि भने गाउँमा स्कुल नै खोलेर स्थायी तबरमा नै पढाउने व्यवस्था गर्नुभएको विवरण उहाँका सुपुत्र बलराम पराजुलीद्वारा लिखित संस्मरणबाट अवगत हुन्छ । त्यसबेला नै आधारभूत तवरमा संस्कृतका साथै अङ्ग्रेजीको पठनपाठन पनि सुरु गरिएको जानकारी प्राप्त हुन्छ । त्यसताका गाउँमा अङ्ग्रेजी पठनपाठनका विरोधीहरू थिए तर ती बिस्तारै सेलाउँदै गए । अङ्ग्रेजी, संस्कृत र नेपाली विषयमा पठनपाठन हुँदै आयो । २००७ सालभन्दा पहिलेसम्म विष्णुलाल आफैँले गाउँमा स्थापित स्कुललाई सञ्चालन खर्च बेहोरेर जीवित राख्नुभएको थियो । पिताजीका कर्मचिहृनलाई पछ्याउँदै बलराम पराजुलीले २०१० सालदेखि चरम्बीमा स्थापित अरुणोदय प्रा.वि.को संस्थापक सचिव भएर काम गर्नुभयो ।
पछि आएर २०२४ सालमा स्कुललाई हाई स्कुलमा स्तरोन्नति गर्ने क्रममा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न बलराम पराजुलीको अथक प्रयास रहेको देखिन्छ । पारिवारिक सरसल्लाह गरी, आफ्नै पुख्र्यौली जग्गाजमीन बेचेर चरम्बीमा हाई स्कुलका लागि पूर्वाधारको व्यवस्था मिलाउँदै, नपुग रकम चन्दाका माध्यमबाट उठाउँदै २०२४ सालमा स्कुल स्विकृत गराउने लगायतका कार्यमा उहाँको अथक श्रमपसिना बगेको ज्ञात हुन्छ । त्यसपछि पनि उहाँ स्कुलको नेतृत्व र अभिभावकीय भूमिकामा रहिरहनुभयो । यसका लागि पारिवारिक हिसाबले उहाँका ज्येष्ठ सुपुत्र उमानाथ पराजुलीको निरन्तर सहयोग उहाँलाई प्राप्त भइरहृयो । हाल उच्च मा.वि.का रूपमा सञ्चालित स्कुल प्रगतिपथमा रहेको बुझिन्छ ।
बलराम पराजुलीको विद्यालयप्रतिको समर्पणभाव कति निस्वार्थ र उच्च थियो भन्ने कुराको स्मरण गर्दै भोजपुर निवासी विख्यात ज्योतिषी ९५ वर्षीय भानुभक्त ढकालले लेख्नुभएको छ “विद्यालय सञ्चालन गर्नु विद्यालय खोल्नुभन्दा गाह्रो काम थियो । जनतालाई सचेतना फैलाएर, घरदैलो चहारेर नियमित चन्दा संकलन गर्ने काम झनै कठिन थियो । हरेक कठिनाइ र चुनौतीहरूलाई हाँसी हाँसी स्वीकार गरेर प्रत्येक समस्याको सरल समाधान खोज्न सक्ने क्षमता बलराम पराजुलीमा थियो । चन्दा माग्न जाँदा कोही रिसाउँथे, कोही दैलो लगाएर बस्थे, कोही खुला हृदयले आफूसँग जेजे छ त्यसैको केही अंश दिन्थे ।” (पृ. ७०)
समाज परिवर्तन क्रमिक रूपमा हुँदै जाने कुरा हो । एक्कासि भएको परिवर्तन दिगो हुँदैन । समाजसेवी बलराम पराजुली ग्रामीण समाजका लागि एक आदर्श व्यक्ति हुनुहुन्थ्यो । उहाँले आफूलाई परोपकारी एवं धार्मिक आध्यात्मिक मनोभावनाद्वारा निर्देशित भएर समाजकल्याण हेतु सकृय राख्नुभयो । समाजलाई अन्धपरम्परा एवं कुरीतिबाट मुक्त गर्न छोरा सरह छोरीलाई पनि शिक्षा दिनु आवश्यक रहेको कुरालाई हृदयङ्गम गरी उहाँले गाउँका छोरीहरूलाई स्कूल पठाउन प्रेरितसमेत गर्नुभयो ।
समाजमा अनेकौँ जनजातिका मानिसहरू बस्दछन् । समाज भनेको फूलबारी जस्तै हो जहाँ अनेकथरि सांस्कृतिक फूलहरू मग्मगाउँछन् । स्कुल जस्ता सार्वजनिक संस्थाहरूमा सबैको पहुँच र अधिकार हुनुपर्छ । नारी शिक्षित भए सिंगो परिवार शिक्षित हुन्छ भन्ने मान्यता राख्नुहुने बलराम पराजुलीले छोरीबुहारीहरूलाई पनि पढ्ने वातावरण बनाउनुभयो । लेखक रेवतीप्रसाद पराजुलीले संस्मरण गर्नुभएको छ; “आजभन्दा धेरै पहिला उहाँको समयमा नै छोरीबुहारीलाई पनि शिक्षा दिनुपर्छ भन्ने मत जाहेर गरेर शिक्षाको अवसर प्रदान गर्ने सामाजिक अभियन्ता हुनुहुन्थ्यो बलराम पराजुली । समाजमा मिलेर बस्नुपर्छ, सबै जातजाति, वर्ग र समुदायबीच एकता, सद्भाव एवं भाइचाराको दृष्टि राखी व्यवहार गर्नुपर्छ भन्ने मूल्य र मान्यतालाई स्थापित गराउन पु¥याउनुभएको योगदान नै आजसम्म उहाँलाई स्मरण गर्ने दरिलो आधार बन्न पुगेको छ ।’ (पृ.२१४)
उहाँले जातपात तथा छुवाछुतको धारणा सामाजिक उत्थानको बाधक रहेको कुरालाई व्यवहारमा नैअवलम्बन गर्न स्कुलको स्थापना कालतिरैदेखि प्रयत्न रहनुभएको स्मरण गर्नुहुन्छ पहिलेका विद्यार्थी एवं चरम्बीका बुद्धिजीवी हिरालाल विश्वकर्मा, ‘एकखाले गाउँका भद्रभलाद्मीहरू पुरातनवादी, कट्टर थिए । उनीहरू दलितले सँगै बसेर पढ्नु हुँदैन भन्थे तर देश खाएका, वरपर देखेका, समय बुझेका स्व. बलराम पराजुलीले आफ्ना काका वा दाजुहरूलाई सम्झाएपछि, अग्नीप्रसाद पराजुली, बालकृष्ण पराजुलीले समेत बलराम पराजुलीलाई साथ दिनुभएपछि एउटै कक्षामा छुट्टै बेञ्चमा बसेर हामीले पढ्ने अवसर पाएका थियौँ ।’ (पृ.२२१)
सरल जीवन उच्च विचार बलराम पराजुलीको आदर्श थियो । गाउँघरमा आइपर्ने सानातिना मुद्दामामिला आफैँ मिलाइदिनुहुन्थ्यो । चरम्बीबाट जिल्ला सदरमुकाममा कोही पनि मानिस मुद्दामामिला लिएर अन्यायमा परेँ भन्दै जाने गर्दैनथे । बलराम पराजुली गाउँका लागि न्यायाधीश सरह हुनुभएको कुरा चरम्बीवासीहरूले स्मरण गरेका छन् । समाजसेवी बलराम पराजुली बडो धार्मिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले आफ्ना रचनाहरूको सँगालो ‘वैराग्य ज्ञानमाला’ प्रकाशित गर्नुभएको पाइन्छ । भोजपुर चरम्बीमा वि.सं. १९७२ सालमा जन्मेर झण्डै एक शताब्दीको पूर्णायु व्यतित गरी २०७० साल मंसिरमा विराटनगरमा देहावसान हुनुभएका यी इमान्दार कर्मपुरुष बलराम पराजुलीको इहलौकिक सत्कर्महरूलाई अभिलेखन गरी २०८० साल फागुनमा एक स्तरीय स्मृति ग्रन्थको प्रकाशन गरिएको छ ।
यस ग्रन्थमा सन्ततिहरू एवं उहाँलाई नजिकबाट प्रत्यक्ष चिन्ने अनेकौं सदाशयीहरूद्वारा लिखित लेखरचनाहरूले उहाँको वैयक्तिक एवं सार्वजनिक समाजसेवी व्यक्तित्वका अनेक आयामहरूलाई राम्ररी चिनाएका छन् । यसका साथै स्मृतिग्रन्थमा समाविष्ट लेखरचनाहरूबाट समग्र भोजपुरको तत्कालीन राजनीतिक एवं सामाजिक परिस्थितिका बारेमा पनि पर्याप्त जानकारी प्राप्त हुन्छ । ग्रन्थको सम्पादन प्राध्यापन कर्ममा आवद्ध विद्वानद्वय देवीप्रसाद घिमिरे र रामचन्द्र खनालले गर्नुभएको छ । सम्पादकीयमा उहाँहरूले लेख्नुभएको छ, ‘...उज्यालो चेतनाले सत्कर्मको गन्तव्य भेटिन्छ भन्दै सच्चिदानन्दको सत्मार्गलाई सत्कर्ममा उतार्ने प्रेरणा दिने बलराम पराजुली श्रीकृष्ण सच्चिदानन्द परब्रहृम पूर्णपरमात्माप्रति श्रद्धाभाव प्रकट गर्नुहुन्थ्यो । आफ्नो समाज परिवर्तन गर्ने चेतनाका संवाहक आफ्नो कर्मयोगले समयसँगै बाँचेका आदर्श कर्मयोगी व्यक्ति हुनुहुन्थ्यो बलराम पराजुली ।”
सामाजिक जागरणका अभियन्ता बलराम पराजुलीको स्मृतिग्रन्थको प्रकाशन उहाँका सुपुत्र-सुपुत्रीहरूको अग्रसरतामा भएको पाइन्छ । यस ग्रन्थको प्रकाशकीयमा लेखिएको छ ’कवि शिरोमणि पण्डित लेखनाथले आफ्नो कवितामा भनेजस्तै “मै खाऊँ, मै लाऊँ, सुखसयल वा मोज मै गरूँ’ भन्ने कुरा गर्नुभन्दा महाकवि लक्ष्मीप्रसाद देवकोटाको काव्यांशमा ‘खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ? आफू मिटाई अरूलाई दिनु जहाँ छ’ भने जस्तै जनहित एवं परहितका कुरालाई नै पिताजीले आफ्नो जीवनभरका लागि मार्गदर्शन बनाउनुभएको थियो ।’
वास्तवमा आजको संसार चरम भौतिकवादी बन्दै गइरहेछ । मानिस झन्झन् आत्मकेन्द्रित, संकुचित, स्वार्थी र ढोंगी बन्दैछ । कवि शिरोमणि पौड्यालद्वारा रचित कवितांशमा उल्लेख भएजस्तै आजका मानिसमा रहेको आफू मात्र सुख गरूँ भन्ने प्रवृति अपवादबाहेक हामी सबैको साझा प्रवृत्ति हो तर यस्तो सङ्कीर्णताले मानिसलाई असल मान्छे बनाउँदैन । यस्ता मानिसको दुर्दान्त हुन्छ र विनामानवीय सहानुभूति वा स्मरण उसको आयु सकिन्छ । लेखनाथीय काव्यांशको अर्थ आरोपण हामी आफैँप्रति गर्न सक्छाँै । त्यस्तै देवकोटीय काव्यांशले वास्तविक सुख अरूलाई दिनुमा छ, लिनुमा छैन भन्ने उच्च आध्यात्मिक ज्ञान र विवेकशीलताको सन्देश दिएको छ । लेखनाथका कविताको सार पनि त्यही नै हो ।
स्मृतिग्रन्थको अध्ययन गर्दा समाजसेवी स्व. बलराम पराजुलीले समाजलाई सकेको तन, मन, धन दिएर उठाउन प्रत्यत्न गर्नुभएको देखिन्छ । उहाँ जस्ता सामाजिक सत्पात्र एवं अपवादतुल्य निस्वार्थ व्यक्तिहरूकै सत्कर्मका कारण हाम्रो नेपाली संस्कार र संस्कृतिले समाजलाई सिञ्चन गरिरहेको प्रतीत हुन्छ । स्व. बलराम पराजुलीको व्यक्तित्वलाई राम्ररी चिनाउने प्रस्तुत स्मृति ग्रन्थबाट आमपाठकहरूलाई नलेखिएको इतिहासबारे ज्ञान प्राप्त त हुने नै छ, सँगसँगै स्वर्गीय पराजुलीको जीवनगाथा धेरैका लागि प्रेरणाको आधार बन्न सक्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच