स्वप्न बोधार्थक ‘शीङ्’ (स्वप्ने) धातुमा ‘ल्युट्’ प्रत्यय लागेर शयन शब्दको निर्माण हुन्छ । जसको अर्थ सुत्ने, निद्रा, विछ्यौना आदि भन्ने हुन्छ । शयन मानव स्वस्थ्यका निम्ति अनिवार्य रहन्छ । जसबाट शरीरलाई आराम मिल्ने गर्दछ । जीवनको आधा जसो समय सुतेर बित्ने गर्दछ । यसरी शयन गर्दा के कस्ता कुरामा ख्याल गर्नुपर्दछ । कस्तो स्थानमा शयन गर्नु शुभ हुन्छ कस्तो स्थानमा अशुभ रहन्छ भनी हाम्रा शास्त्रमा विशद् विवेचना गरिएको छ । वास्तुशास्त्रको एक भेदका रूपमा शयनवास्तुलाई लिइन्छ । जसले सुत्ने स्थान, शयन कक्ष, शयन गर्ने खाट वा पलङ्, त्यसका निम्ति उपयुक्त काठका साथै शयनका यावत् विषयवस्तुमा निर्देश गरेको पाइन्छ ।
शास्त्रमा शयनसँग सम्बद्ध विशद् विवेचना गरिएको छ । उपयुक्त भूमि, उपयुक्त गृह यसका साथै शयन कक्ष, शयनकक्षमा राखिने शैय्या, शैय्याकोकाठ, शयन गर्दा शिरानको दिशा आदि हरेक विषयवस्तुका बारेमा शास्त्रले विशेष चर्चा गरेका छन् ।
पौरस्त्य शास्त्रमा आधारित रही शयन गर्ने विधि विधानका बारेमा भएका शास्त्रनिर्देशको समीक्षा यस आलेखमा रहनेछ । वास्तुशास्त्रको मुख्य शाखाका रूपमा शयनवास्तुलाई लिइएको छ : ‘भूप्रसादयानानि शयनं च चतुर्विधम् ।’ (मयमतम्, २।१-२) । शयनसँग सम्बन्धित शैय्यासनलक्षणविचार नामक अध्याय बृहत्संहितामा बताइएको छ । जसमा शयन गर्ने खाट वा पलङ्को काठका निम्ति उपयुक्त वृक्षको वारेमा चर्चा गरिएको छ ।
शैय्याका निम्ति शुभाशुभ काठ
मूलतः शैय्याका निम्ति चन्दन, सल्लो, साल, सिसौको काठलाई शुभ मानिएको छ :
आसनस्पन्दनचन्दनहरिद्रसुरदारुतिन्दुकीशालाः ।
काश्मर्यञ्जनपद्मकशाका वा शिंशपा च शुभा ।।’
(बृहत्संहिता, ७९।२) अर्थात् आसन (वृक्ष विशेष), स्पन्दन (वृक्ष विशेष), चन्दन, हरिद्रा (वृक्ष विशेष हुनुपर्छ) देवदारु (सल्लो), तिन्दुकी (तिदु), शाल, काश्मरी (खमारी), अञ्जन (रूख विशेष), पद्मक, शाक (सागोनको रूख), सिसौ आदि वृक्षका काठ शयनका र आसनका निम्ति शुभ रहन्छन् । यसैगरी विकृत रूख वृक्षबाट बनेका काठ शयनका निम्ति अशुभ मानिएका छन् :
‘अशनिजलानिलहस्तिप्रपातिता मधुविहङ्गकृतनिलयाः ।
चैत्यश्मशानपथिजोध्र्वशुष्कवल्लीनिबद्धाश्च ।।’ (बृहत्संहिता, ७९।३)
अर्थात् जुन रूख बिजुली, पानी बतास वा हात्तीले ढालेको छ, जुन रूखमा पक्षीको गुण भएको हुन्छ, मन्दिर वा चैत्यको मुख्य रूख, श्मसानको रूख, बाटाको किनारमा रहेको रूख, सुकेका लहरा भएको रूखबाट बनेका काठपात शैय्याका निम्ति अशुभ रहन्छन् । यसैगरी काँडादार रूखबाट बनेका खाट पलङ् आदि शैय्या पनि अशुभ रहन्छन् : ‘कण्टकिनो ये च स्युर्महानदीसङ्गमोद्भवा ये च । सुरभवनजाश्च न शुभा ये चापरयाम्यदिक्पतिताः ।।’ (बृहत्संहिता, ७९।४) अर्थात् काँडा भएको रूख, नदीको संगम स्थलमा रहेका रूख, देवालयको परिसरमा रहेका रूख, जुन रूख काट्दा दक्षिण वा पश्चिम ढलेको छ त्यो रूखबाट बनेका काठको शैय्या अशुभ रहन्छ ।
यस्ता निषिद्ध वृक्षबाट बनेका काठमा वस्दा वा सुत्दा कुलमा नाश हुन्छ, अशुभ रहन्छ भनी बताइएको छ : ‘प्रतिषिद्धवृक्षनिर्मिताशयनासनसेवनात् कुलविनाशः ।
व्याधिभयव्ययकलहा भवन्त्यनर्था अनेकविधाः ।।’ (बृहत्संहिता, ७९।५)
अर्थात् अशुभ वृक्षको उपयोग गर्नाले कुलको नाश, रोग, भय, धनहानि, कलह र अन्यान्य अनर्थ हुन्छ । काटेको वृक्षमा कुमार व्यक्तिले टेकोका छ भने उक्त काठ सन्तति र पशु धन वृद्धि गर्नेवाला हुन्छ भनी बताइएको छ । निर्माण गरिने खट वा पलङ निर्माण गर्दा पनि माङ्गलिक वातावरण हुनुपर्दछ भनी बताइएको छ :
‘सितकुसुममत्तवारणदध्यक्षतपूर्णकुम्भरत्नानि ।
मङ्गल्यान्यन्यानि च दृष्ट्वारम्भे शुभं ज्ञेयम् ।।’ (बृहत्संहिता, ७९।७)
अर्थात् शैय्या वा आसन बनाउने समयमा यदि सेतो फूल, मदमत्त हात्ती, दही, अक्षता, जलले पूर्ण कलश, रत्न या अन्य माङ्गलिक पदार्थको दर्शन भए शुभदायी रहन्छ । यसै गरी वृक्ष अनुसार शैय्याको फल वर्णन पनि पाइन्छ । श्रीपर्णी वृक्षबाट बनेका शैय्या धन बढाउने हुन्छन् । असन वा विजयसार वृक्षबाट बनेका शैय्या रोग नाशक हुन्छन् । सिसौबाट बनेका शैय्याले समृद्धि प्रदान गर्दछन् । चन्दनका वृक्षले बनेका शैय्याले शत्रु नाश गर्नुका साथै कीर्ति वृद्धि र दीर्घायु प्रदान गर्नेवाला हुन्छन् ।
सालका काठबाट निर्मित शैय्या कल्याण गर्ने हुन्छन् । पद्मक वृक्षबाट निर्मित शैय्याले दीर्घायु, श्री, ज्ञान र धन प्रदान गर्दछन् । यसै गरी चन्दनबाट निर्मित सुनजडित शैय्यामा शयन गर्नेलाई देवताले पनि पूजा गर्दछन् भनी बृहत्संहितामा (७९।११-१४) मा बताइएको छ । यसका साथै खाट, पलङ्मा हात्तीको दाँत जडित गर्नु वा सजाउनु शुभ मानिएको छ । बृहत्संहितामा (७९।१९-२६) यसरी हात्तीका दाँतको लक्षण, दाँत काट्ने समय आदिको पनि शुभकाल भने विचार गर्नुपर्ने बताइएको छ । मिश्रित काठबाट बनेका शैय्याको मिश्रित फल बताइएको छ ।
शैय्याको आकार
व्यक्ति अनुसार खाट वा पलङ्को आकार पनि शास्त्रमा उल्लेख गरिएको छ । राजाका निम्ति सय अङ्गुल लम्बाइको शैøया उपयुक्त हुने प्रमाण बताइएको छ :
‘कर्माङ्गुले यवाष्टकमुदरासक्तं तुषैः परित्यक्तम् ।
अङ्गुलशतं नृपाणां महती शैøया जयाय कृता ।।’
(बृहत्संहिता, ७९।८) अर्थात् राजाका निम्ति १०० अंगुल, युवराजका निम्ति ९० अंगुल, सचिवका लागि ८४ अंगुल, सेनापतिका निम्ति ७८ अंगुल, पुरोहितका निम्ति ७२ अङ्गुल लम्बाइ भएको शैय्या उपयुक्त हुन्छ । शैøयाको आधाको आठौँ भाग बराबरको चौडाइ हुनुपर्दछ भनी बृहत्संहितामा उल्लेख गरिएको छ ।
शयन गर्दा ध्यान दिनुपर्ने कुरा
उपयुक्त काठको शैय्या निर्माण गरेपछि कुन दिशामा शिरान गर्दा शुभ हुन्छ भन्ने विषयमा पनि शास्त्रले चर्चा गरेका छन् । विशेषतः पूर्व र दक्षिण शिरान गर्नु शुभ मानिएको छ । उत्तर या पश्चिमतर्फ शिरान गर्नाले आयु क्षीण हुन्छ भनी बताइएको छ :
‘प्राच्यां दिशि शिरश्शस्तं याम्यायामथ वा नृप ।
सदैव स्वपतः पुंसो विपरीतं तु रोगदम् ।।’
(विष्णुपुराण, ३।११।११३) यही कुरालाई वामन पुराणमा पनि उल्लेख गरिएको छ : ‘सदैव वज्र्यं शयनमुदक्शिरास्तथा प्रतीच्यां रजनीचरेश ।’ (वामनपुराण, १४।५१) पूर्वतर्फ शिरान गर्नाले विद्या प्राप्त हुन्छ यसैले विद्यार्थीले पूर्व शिरान गरेर शयन गर्नुपर्दछ । यसै गरी दक्षिण शिरान गर्नाले धन र आयुको वृद्धि हुन्छ भनी बताइएको छ । पश्चिम शिरान गर्नाले प्रवल चिन्ता मिल्छ भने उत्तर शिरान गर्नाले आयु क्षीण हुन्छ वा घट्छ भनी आचारमयूखमा बताइएको छ :
‘प्राक्शिरः शयने विद्याद्धनमायुश्च दक्षिणे ।
पश्चिमे प्रवला चिन्ता हानिमृत्युरथोत्तरे ।।’
(आचारमयूख) यसरी दिशा निर्धाण गर्नुमा पनि विशेष करण रहेको पाइन्छ । आवश्यक ऊर्जाका भण्डार क्षेत्र तत् दिशा रहेकाले पनि यस्तो निर्धारण गरिएको हो ।
यसै गरी अधोमुख भएर वा घोप्टिएर शयन गर्नु वा सुत्नु हुँदैन । यसका साथै नाङ्गै पनि नसुत्नू भनिएको छ । अर्काको शयनमा पनि सुत्न निषेध गरिएको छ । यसका साथै भाँचिएको खाट वा पलङ्मा, मान्छे नभएको घरमा पनि नसुत्नु भनी बताइएको छ :
‘अवाङ्मुखो न नग्नो वा न च भिन्नासने क्वचित् ।
न भग्नायान्तु खट्वायां शून्यागारे तथैव च ।।’
(लघुव्याससंहिता, २।८८-८९) यसै गरी ठूलो ओछ्यानमा पनि नसुत्नु भनिएको छ । यसका साथै बिग्रिएरको ओछ्यान, धेरै अग्लो, मैलो, केही नबिछ्याएको ओछ्यानमा पनि सुत्न निषेध गरिएको छ :
‘नाविशालं न वै भग्नं नासमां मलिनां न च ।
न च जन्तुमयीं शैय्यामधितिष्ठेदनास्तृताम् ।।’ (विष्णुपुराण, ३।११।११२)
यही कुरालाई आयुर्वेदको चरक संहितामा पनि यसरी बताइएको छ : ‘नानास्तीर्णमनुपहितमविशालमसमं वा शयनं प्रपद्यते ।।’ (चरकसंहिता, सूत्र, ८।१९) । भाँचिएको वा टुटेफुटेको खाट वा पलङमा शयन गर्नुहुँदैन : ‘न भग्ने नावशीर्णे च शयने प्रस्वपीत च ।’ (महाभारत, अनु. १०४।४९) । बाँस वा पलाँसको काठले बनेका खाटमा कहिल्यै सुत्नु हुँदैन भनी कूर्मपुराणमा उल्ले गरिएको छ : ‘नानुवंशं न पालाशे शयनं वा कदाचन ।।’ (कूर्मपुराण, उ. ११।२९) । यसै गरी शिरलाई तल बनाएर पनि सुत्नु हुँदैन भनी सुश्रुत संहितामा बताइएको छ : ‘नार्वाक्शिराः शयीत ।’ (सुश्रुतसंहित, चिकित्सा.२४।९८) ।
जुठो मुख लिएर पनि सुत्नु हुँदैन ‘न चोच्छिष्टोद्रपि संविशेत्’ (महाभारत, अनु. १०४।६७) यसै गरी नाङ्गै सुत्न पनि निषेध गरिएको छ : ‘न च नग्न सयीतेह’ (मनुस्मृति, ४।७५) गौतमधर्मसूत्रमा (१।९।६०) पनि नाङ्गै सुत्न निषेध गरिएको छ । देवमन्दिरमा, श्मसानघाटमा पनि नसुत्नु भनिएको छ : ‘न श्मसानशून्यालयदेवतायतनेषु’ (विष्णुस्मृति, ७०) । यसै गरी चिसा गोडा लिएर पनि सुत्नु हुँदैन भनी बताइएको छ : ‘नाद्र्रपादस्तु संविशेत्’ (मनुस्मृति, ४।७६) यही कुरा अत्रिस्मृति, विष्णुस्मृति, महाभारत, पद्मपुराण, स्कन्दपुराणमा पनि बताइएको छ ।
यसै गरी सुन्तुभन्दा पहिले मुखलाई शुद्ध राख्नुपर्दछ । कुनै वस्तु खानु हुँदैन । निधारमा टीका आदि पनि लगाउनु हुँदैन । भनी विष्णुधर्मोत्तर पुराणमा बताइएको छ : ‘अवगुण्ठ्य शिरो रात्रौ न शयीत कदाचन ।’ (विष्णुधमोत्तर पुराण, २।८९।२४) ।
सामान्यतः दिनमा नसुत्नु भनिएको छ । यसैगरी रातिको पहिलो र पछिल्लो भागमा पनि सुत्नु हुँदैन । रातको दोस्रो र तेस्रो प्रहरमा शयन गर्नु उत्तम मानिएको छ । सुश्रुतसंहितमा ग्रीष्म ऋतुमा दिनमा सुत्न निषिद्ध नरहेको बताइएको छ । यसका अतिरिक्त बालक, वृद्ध, रोगी, क्षीण, यान वहान यात्रामा, परिश्रमपूर्व थकान भएको अवस्थामा, भोजन नगरेकाले, रोगी, अजीर्णले दिनमा एक मुहूत्र्त (४८ मिनेट) सुत्न सकिन्छ । यसै गरी रातमा जागरण रहेनेले उक्त जागरण रहेको आधा समय बराबर दिनमा सुत्न सक्दछन् भनी सुश्रुतसंहितामा यसरी बताइएको छ : ‘सर्वर्तुषु दिवास्वापः प्रतिसिद्धोद्रन्यत्र ग्रीष्मात् ।
.... स्वेदकफरसरक्तक्षीणानामजीर्णिनां च मुहूर्तं दिवास्वपनमप्रतिषिद्धम् । रात्रावपि जागरितवतां जागरितकालादर्धमिष्यते दिवास्वपनम् ।।’ (सुश्रुतसंहिता, शरीर, ४।३८) ।
सन्ध्याको समयमा सुत्ने, स्त्रीसम्भोग गर्ने व्यक्ति रोगी र दरिद्र हुन्छन् भनी बताइएको छ :
‘दिवसे सन्ध्ययोर्निद्रां स्त्रीसम्भोगं करोति यः ।
यसै गरी बिहानको समय र बेलुकीको समयमा सुत्नु हुँदैन भनी बताइएको छ । यसै गरी सुतेको व्यक्तिलाई जगाउनु हुँदैन भनिएको छ : ‘न शयानं प्रबोधयेत्’ (याज्ञवल्क्यस्मृति, १।१३८) तर विद्यार्थी, सेवक, बटुवा, भोको व्यक्ति, आतुर, भण्डारको कार्य गर्ने व्यक्ति, द्वारपाल वा सुरक्षाकर्मी रक्षकलाई भने उठाउन सकिन्छ भनिएको छ :
‘विद्यार्थी सेवकः पान्थः क्षुधाद्रद्रर्तो भयकातरः ।
भण्डारी प्रतिहारी च सप्त सुप्तान् प्रबोधयेत् ।।’ (चाणक्यनीति, ९।६) यसैगरी पतिको उत्तरक्र्त वा बायाँ पत्नी शयन गर्नुपर्दछ भनिएको छ : ‘शयने भोजने चैव पत्नी तूत्तरतो भवेत् ।’ (संस्कार गणपति, म.म. १५६)
यसरी शास्त्रमा शयनसँग सम्बद्ध विशद् विवेचना गरिएको छ । वास्तुशास्त्रमा पनि शयन वास्तुको विशेष महिमा गान गरिएको छ । उपयुक्त भूमि, उपयुक्त गृह यसका साथै शयन कक्ष, शयनकक्षमा राखिने शैय्या,शैय्याको काठ, शयन गर्दा शिरानको दिशा आदि हरेक विषयवस्तुका बारेमा शास्त्रले विशेष चर्चा गरेका छन् । आरोग्य प्राप्तिका साथै साथै सहज, सुखद र स्वास्थ्यवद्र्धक जीवन यापनका लागि नै शयनसँग सम्बद्ध शास्त्र निर्देश पाइन्छ । व्यक्तिको निद्रा बिग्रियो भने त्यसको असर हरेक कुरामा पर्ने गर्दछ । यसैले शयनलाई सहज बनाउनका निम्ति नै हाम्रा शास्त्रमा उपयुक्त वास्तु विन्यासको चर्चा गरिएको पाइन्छ । जसको प्रयोग हाम्रा लागि कल्याणकारी रहने देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच