‘धरतीका यमराज’ सृजन लम्सालको लघुकथासङ्ग्रह हो । स्वदेश प्रकाशन प्रा.लि.प्रकाशक रहेको यस पुस्तकको यो पहिलो संस्करण हो जुन २०८० सालमा सार्वजनिक भएको छ । ५०१ प्रति प्रकाशित भएको पुस्तक डिएमआई साइजमा छापिएको छ । छपाइ स्तरीय छ र अशुद्धि कमै पाइन्छन् । पहेंलो हलुका कागजको प्रयोग भएको यस पुस्तकमा भूमिका खण्डमा १२ र पाठ्य खण्डका १०४ गरी जम्मा ११६ पृष्ठ छन् । पुस्तकको मूल्य ३०० रुपैयाँ छ । वसन्तराज अज्ञातको आवरण आकर्षक छ । नीलो पृष्ठभूमिमा बीचमा अमूर्त रूपमा पुस्तकको शीर्षक सुहाउँदो हुनेगरी यमराजको चित्र बनाइएको पाइन्छ । माथि सेता ठूला अक्षरमा ‘धरतीका यमराज’ भनेर पुस्तकको शीर्षक दिइएको छ भने तल सेता साना अक्षरमा पुस्तका लेखकको नाम दिइएको छ ‘सृजन लम्साल’ भनेर । पृष्ठ आवरणमा फोटोसहित लेखकको परिचय दिइएको छ जहाँ व्यक्तिगत विवरणका साथै उहाँले लेखेका पुसतकहरू तथा प्राप्त गरेका मानसम्मान र पुरस्कारहरूका बारेमा जानकारी दिइएको छ ।
यस पुस्तकका लघुकथाले हाम्रो समाजका विविधि क्षेत्रलाई समेट्ने प्रयास गरेको पाइन्छ । देवदेवताप्रतिको आस्था, महामारीको प्रकोप, चाडपर्व, सचेतता, प्रकृति चित्रण, सामाजिक विकृति र विसङ्गति, राजनीतिक खोक्रो प्रतिस्पर्धा, वर्तमान र जीवन दर्शनलगायत विषयलाई समेटिएका कथालाई माध्यम बनाएर प्रस्तुत गर्न खोजिएको छ ।
उहाँको जन्म २००३ साल असोज १५ गते तनहुँमा भएको हो भन्ने थाहा हुन्छ । उहाँको पिताको नाम चोभराज लम्साल र माताको नाम टङ्कमाया सुवेदी रहेको र लेखकको योग्यता बिए, बिएल भएको जानकारी पनि यहाँबाट हुन आउँछ । उहाँका एक दर्जन जति पुस्तक प्रकाशित भएकोमा आधा जति निबन्धात्मक कृति रहेका छन् भने अन्यमा कथाका पुस्तकहरू रहेको पाइन्छ । यसैगरी उहाँले आधा दर्जनभन्दा बढी पुरस्कार प्राप्त गर्नुका साथै विभिन्न समयमा संघसंस्थाबाट डेढ दर्जन जति मानसम्मान र अभिनन्दन प्राप्त गर्नुभएको र हाल उहाँ नवलपरासीको गैँडाकोटमा बस्तै आउनुभएको जानकारी यस पृष्ठबाट प्राप्त गर्न सकिन्छ । यस पृष्ठको तल प्रकाशक संस्था स्वदेश प्रकाशनको लोगोसहित नाम उल्लेख गरिएको छ ।
भूमिका खण्डमा पहिले लघुकथाक्रम भनेर विषयसूची दिएको पाइन्छ । यसबाट यस पुस्तकमा ७५ वटा लघुकथाहरू सङ्गृहीत गरिएको जानकारी पाइन्छ । श्रीओम श्रेष्ठ ‘रोदनको कोरोना र समाजका लघुकथा’ र लेखक लम्सालको ‘पाठकसमक्ष अनुरोध’ छन् । त्यसपछि लघुकथा प्रस्तुत भएका छन् । आफ्ना कथामा छोटाछोटा शीर्षक राख्ने प्रवृत्ति उहाँको पाइन्छ । ७५ वटा लघुकथामध्ये ३२ वटा कथामा एक शब्दको शीर्षक राख्नुभएको छ र २८ वटा कथामा दुई शब्दको शीर्षक राख्नुभएको छ । त्यसबाहेक ११ वटा शीर्षक तीन शब्दका छन् र बाँकी तीन-चारवटा कथाको शीर्षकमात्र लामा छन् ।
यसैगरी फैलावटका आधारमा हेर्दा उहाँका अधिकांश लघुकथा एक पृष्ठमा समेटिएका छन् । यस्ता कथाको सङ्ख्या ४६ छ भने बाँकी २९ वटा लघुकथा दुई पृष्ठसम्म फैलिएका पाइन्छन् । वास्तवमा लघुकथा एक सय शब्दसम्ममा लेख्नुपर्छ भन्ने मान्यता राखिन्छ तर नेपाली साहित्य क्षेत्रमा त्यसभन्दा निकै लामा चार पाँच सय शब्दका कथालाई पनि लघुकथा मान्ने गरिएको छ । लम्सालका लघुकथाहरू पनि कुनै-कुनै अलिक लामा पाइन्छन् । तैपनि पुस्तको एक वा डेढ पृष्ठभित्र ती समेटिएका छन् ।
उहाँका लघुकथाहरूले हाम्रो समाजका विविधि क्षेत्रलाई समेट्ने प्रयास गरेको पाइन्छ । नाता सम्बन्ध, देवदेवताप्रतिको आस्था, महामारीको प्रकोप, प्रहरी प्रशासन, चाडपर्व, सचेतता, पशुपक्षी र प्राणीहरू, समय, प्रकृति चित्रण, सामाजिक विकृति र विसङ्गति, मनवीय स्वभाव र कमजोरी, राजनीतिक खोक्रो प्रतिस्पर्धा, वर्तमान र जीवन दर्शन, मानिसमा भएको क्रोध, डाहा, इष्र्या, घमण्डलगायत विविध विषयलाई समेटिएका कथाहरूलाई माध्यम बनाएर प्रस्तुत गर्न चाहनुभएको छ । यस पुस्तकका लागि उहाँलाई बधाई तथा आउँदा दिनमा उहाँबाट यसरी नै विविध विषय समेटिएका पुस्तकहरू आइरहून् । हार्दिक शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच