जुम्लामा ३ वर्षमा ९१ सवारी दुर्घटना, २८ जनाको मृत्यु

विजय रावत जुम्ला, संवाददाता
Read Time = 5 mins

जुम्ला । जुम्लामा तीन वर्षको अवधिमा ९१ वटा दुर्घटना भएको ती दुर्घटनामापरि २८ जनाले मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालय जुम्लाका अनुसार आर्थिक वर्ष २०७८/७९,आव २०७९/८० र आव २०८०/८१ मा ९१ वटा सवारीसाधन दुर्घटनामा परेर २८ जनाको मृत्यु भएको हो ।

आर्थिक वर्ष २०७८/२०७९ मा ३१, २०७९/२०८० मा २५, र गत आवमा २०८०/२०८१ मा ३५ दुर्घटना गरेर जम्मा ९१ दुर्घटना भएको तथ्यांक छ । ती सवारी दुर्घटनामा परि सोही आर्थिक वर्षमा २८ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रमुख प्रहरी सहायक निरीक्षक केशवसिंह धामीले जानकारी दिनुभयो ।

यस्तै तीन वर्षमा ६ वटा ट्रक,४ वटा बस, १६ वटा जीप/कार र १५ वटा ट्याक्टर दुर्घटनामा परेकाछन् । सबैभन्दा धेरै ३१ वटा मोटरसाइकल र १८ वटा अटो दुर्घटनामा परेकाछन् । यो अवधिमा ४३ जना गम्भीर घाइते र १२७ जना सामान्य घाइते भएको प्रहरी सहायक निरीक्षक धामीले बताउनुभयो ।

ट्राफिक कार्यालयले दुर्घटनाको कारणको आधारमा विश्लेषण सबैभन्दा बढी तीव्र गतिको कारणले दुर्घटनाहुने गरेको जनाएको छ । त्यस्तै, यान्त्रिक, सडकको अवस्था र लापरबाहीको कारणले ट्राफिक नियम उल्लंघनको कारणले दुर्घटना बढी हुने गरेको छ ।

तीनवटै आर्थिक वर्षमा दुर्घटना कारणको आधारमा विश्लेषण गर्ने हो भने सबैभन्दा बढी तीव्र गतिको कारणले दुर्घटना हुने गरेको ट्राफिक कार्यालय जुम्लाले जनाएको छ । सडक दुर्घटना न्युनिकरणका लागि कार्यालयले सचेतनामुलक कार्यक्रम समेत गर्दै आएको छ । सवारी चेकजाँचमासमेत कडाई गरिएको छ ।

जिल्लामा पाँच वटा अस्थाई ट्राफिक पोष्ट छन् । पातारासी गाउँपालिकाको उर्थुमा एकजना,तिलाको रारालिहीमा दुईजना, तातोपानीको लिताकोटमा एकजना, हिमाको बड्कीमा एकजना र कनकासुन्दरीको गुठीज्युलामा एकजना जनशक्ति कार्यरत रहेको ट्राफिक कार्यालय जुम्लाले जनाएको छ ।

सवारी दुर्घटनाको कारण मानिसको ज्यान जाने, अंगभंग हुने तथा दीर्घकालीन अपाङ्गता हुने दर दिनानुदिन बढ्दै गएको पाइन्छ । यसबाट राज्यलाई पनि सवारी दुर्घटनाको कारण उपचार, अनुसन्धान, बीमा, क्षतिपूर्ति लगायतका विभिन्न आर्थिक पक्षमा र अनुत्पादक दायित्वमा वृद्धि प्रहरी विश्लेषण रहेको छ ।

दुर्घटना कम गर्न यस्तो छ प्रहरीको सुझाव

ट्राफिक प्रहरीले कर्णाली प्रदेशलाई सडक सुरक्षाको दृष्टिकोणले सुरक्षित क्षेत्र बनाउनको लागि प्रदेश, जिल्ला र पालिकास्तरीय सडक सुरक्षा सम्मेलन गरी सरोकारवाला निकायहरूलाई प्रतिबद्धता गराई कार्ययोजना बनाई निरन्तर रुपमा समन्वय, सहकार्य गरी प्रभावकारी कार्यान्वयनमा ल्याउन सके जुम्ला लगायत कर्णाली प्रदेशमा हुने सडक दुर्घटनाबाट भएको क्षतिमा कमी ल्याउन सकिने ट्राफिक कार्यालय जुम्लाले सुझाव दिएको छ ।

त्यस्तै, समग्रमा कर्णाली प्रदेशको ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन ट्राफिक प्रहरीलाई भौतिक श्रोत साधन सम्पन्न गराउनु पर्ने साथै ट्राफिक सचेतनात्मक कार्यक्रमहरुलाई नियमित प्रभावकारी बनाउन नीतिगत रुपमा नै कार्यक्रम बजेटको विनियोजन हुने व्यवस्था मिलाइनुपर्ने आवश्यकता रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?