चितवन । बागमती प्रदेशमा छ हजार बढी एचआइभी सङ्क्रमित रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । प्रदेशगतरुपमा सबैभन्दा बढी बागमती प्रदेशमा २६ प्रतिशत अर्थात् ६ हजार ४५८ जना एचआइभी सङ्क्रमित रहेको पाइएको हो ।
नेपाल नगरपालिकासंघले चितवनमा आयोजित एक औपचारिक कार्यक्रममा एफएचआई ३६० परियोजना सार्वजनिक गरेको तथ्याङ्कमा लुम्बिनी प्रदेशमा ४ हजार ६८९, मधेश प्रदेशमा ४ हजार ५८, सुदूरपश्चिम प्रदेशमा ३ हजार ६७५, गण्डकी प्रदेशमा २ हजार ८८६, कोशी प्रदेशमा २ हजार ३११ र कर्णाली प्रदेशमा ७१६ जना एचआइभी सङ्क्रमित रहेको जनाएको छ ।
कार्यक्रममा एफएचआई ३६० परियोजनाका कन्सल्टेन्ट ईश्वरनाथ मिश्रले नेपालमा एचआइभीको अवस्थाबारे प्रकाश पार्दै ६ लाख ८५ हजार जनसंख्या एचआइभी सङ्क्रमणको उच्च जोखिममा रहेको जानकारी दिनुभयो ।
असुरक्षित यौनसम्पर्क, लागू पदार्थ तथा लागूऔषध प्रयोगकर्ता, समलिङ्गी, तेस्रोलिङ्गी, यौनकर्मी महिला, आप्रवासी श्रमिक पुरूष र तिनका जीवनसाथी एचआइभी सङ्क्रमणको उच्च जोखिममा रहेको उहाँले बताउनुभयो ।
सन् २०२६ सम्म ९५ प्रतिशत सम्भावित एचआइभी सङ्क्रमित पत्ता लगाई उपचारको दायरामा ल्याउने लक्ष्य रहेको बताउँदै उहाँले नेपालमा १६ हजार पुरूष, १३ हजार महिला र एक हजार बालबालिकामा एचआइभी सङ्क्रमण रहेको तथ्याङ्क प्रस्तुत गर्दै बर्सेनि ४८८ जना नयाँ सङ्क्रमित थपिने गरेको जानकारी दिनुभयो । जसमध्ये बर्सेनि एड्सबाट मृत्यु हुनेको संख्या ३४४ जना रहेको र बर्सेनि आमाबाट बच्चामा एचआइभी सर्नबाट २३० जनाको रोकथाम हुने गरेको उहाँले बताउनुभयो ।
चितवनमा एक हजार १६० जना एचआइभी सङ्क्रमित उपचारको दायरामा आएका छन् । विभिन्न विदेशी दाताहरुले एचआइभी रोकथाम र नियन्त्रण कार्यक्रमको ३८ प्रतिशत बजेट घटाउँदै लगेको र अहिले पनि आइएनजिओको सहयोगबाटै एड्स तथा यौनरोग नियन्त्रण भइरहेको अवस्था रहेको उल्लेख गर्दै अब पालिकाहरुले पनि लगानी गरी एचआइभी प्रभावितका परिवारका लागि आयआर्जन तथा उद्यमशील कार्यक्रममा जोड्न आवश्यक रहेको मिश्रले सुझाव दिनुभयो ।
चितवनमा रहेको सहभागी संस्थाका कार्यक्रम सयोजक अर्चना न्यौपानेले सन् २००६ देखि एचआइभी संक्रमणको जोखिम वर्गहरुको प्रकृति हेरेर स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले चितवनमा पाँच सयको हाराहारीमा यौनकर्मी महिला रहेको भन्दै रत्ननगरमा मात्र दुई सय यौनकर्मी महिलाहरुले एआरटी सेन्टरबाट नियमित औषधि सेवन गरिरहेको बताउनुभयो ।
मानव सचेत समाजका कार्यक्रम सयोजक देवनारायण श्रेष्ठले आफूले विगत १९ वर्षदेखि एचआइभी सङ्क्रमितहरुको हकअधिकार र जोखिममा रहेका व्यक्तिहरुका लागि काम गर्दै आएको र रत्ननगर जिल्लामा दोस्रो जोखिमयुक्त पालिका भएकाले पर्यटकीय क्षेत्र, होटल, रेस्टुराँ र सम्भावित जोखिमपूर्ण क्षेत्रहरुको पहिचान गरी सुरक्षित यौनसम्पर्कको लागि जनचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच