सर्लाही । सर्लाहीको बागमती नगरपालिकाको कार्यबाहक नगरप्रमुखको जिम्मेवारी वडा नं. ४ का वडाध्यक्ष कृष्णकुमार लामालाई दिइएको छ ।
नगरप्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमार मुक्तानसहितलाई भ्रष्टाचार मुद्दा दायर भई निलम्बनमा परेपछि नगरसभाको बैठकले १२ वटा वडामध्ये ज्येष्ठताको आधारमा वडा नं. ४ का वडाध्यक्ष लामालाई कार्यबाहक नगरप्रमुख बनाउने निर्णय गरेको हो ।
नगरप्रमुख निलम्बनमा परेपछि नागरिकको कामकाज नै ठप्प भएको र नगरपालिकासमेत सञ्चालन नहुने अवस्था आएपछि प्रदेश ऐनलाई टेकेर नगरसभाबाट सबैको सहमतीमा ज्येष्ठ वडाध्यक्ष लामालाई कार्यबाहक नगरप्रमुखको जिम्मेवारी दिने निर्णय गरिएको बागमती नगरपालिका ८ का वडाध्यक्ष डम्बरबहादुर कार्कीले जानकारी दिनुभयो ।
सङ्घीय मन्त्रिपरिषद्बाट केही निर्णय आउने भनी लामो समयसम्म कुरेर बसेपनि कुनै निर्णय नआएपछि आफूहरुले ज्येष्ठ वडाध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिने निर्णय गरेर रोकिएका काम अघि बढाएको वडाध्यक्ष कार्कीले बताउनु भयो ।
बागमती ४ का वडाध्यक्ष लामाले आफ्नो वडासहित कार्यवाहक नगरप्रमुखको समेत सिफारिसमा हस्ताक्षर गरिरहेको बताएकाे छ । नेकपा माओवादी केन्द्रको एकल बहुमत रहेको बागमती नगरमा लामा २०७९ को स्थानीय तह निर्वाचनमा माओवादीबाटै निर्वाचित हुनु भएको थियो ।
नगरप्रमुख थापाविरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २९ गते विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापालाई ५ करोड ३३ लाख ५३ हजार १८१ रूपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।
२०७४ असोज ७ गते मेयरको जिम्मेवारी सम्हालेदेखि २०७९ माघ २९ सम्मको अवधि हिसाब गर्दा उहाँको कुल वैध आय ७ करोड ८६ लाख ५० हजार २ सय १ रूपैयाँ देखिएको तर १३ करोड २० लाख ३ हजार ३ सय ९१ रूपैयाँ खर्च देखिएकाले आम्दानी र खर्च मेल नखाएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
थापाकी श्रीमती, भाई र बुहारीमाथि पनि अख्तियारमा मुद्दा दायर भएको छ । गत चैत्र २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापालाई अकुत सम्पति आर्जन गरेको निष्कर्षसहित मुद्दा दायर गरेपछि बैशाख ५ बाट उपमेयर लीला कुमारी मुक्तानले कार्यवाहक मेयरको जिम्मेवारी सम्मालेको भएपनि अख्तियारले जेठ २९ गते विशेष अदालतमा मुद्दा दायर गर्यो । साे बेला कार्यवहाक मेयर समेत रहनुभएकी उपमेयर लीलाकुमारी मोक्तानविरुद्ध पनि माछा पोखरी निर्माणमा अनियमितताको आरोपसहित अख्तियारले मुद्दा दायर गर्याे । अख्तियारले मोक्तानलाई पनि ३० करोड २९ लाख रुपैयाँ बिगो कायम गर्नुपर्ने माग गरेको छ ।
बागमतीमा उपप्रमुख पनि निलम्बनमा परेपनि कार्यवाहक उपप्रमुख भने कसैलाई तोकिएको छैन । बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले नगरसभाबाट तत्कालका लागि कामचलाउका रुपमा नगरप्रमुख तोकिएको बताउनु भयो ।
कामचलाउ नगरप्रमुखबाट सामान्य सरसिफारिसका काम भइरहेपनि आर्थिक गतिविधि गर्न नमिल्ने भएकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको थप निर्णय पर्खेर बसिरहेको प्रमुख प्रशासकीय अधिकृत पुरीले जानकारी दिनुभयो ।
नगरप्रमुख, उपप्रमुख नभएपछि बागमती नगरपालिकाले चालू आर्थिक वर्ष २०८१/८२ को बजेट समेत ल्याउन नसकेको पुरीले जानकारी दिनुभयाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच