आन्तरिक पर्यटकको गन्तव्य बन्दै सिप्टिचौर

निर्पेन्द्रबहादुर मल्ल
Read Time = 5 mins

मुगु । मुगु स्थित छायानाथ रारा नगरपालिका वडा न ७ मा पर्ने सिप्टीचौर पाटन आन्तरिक पर्यटकहरुको रोजाइमा पर्न थालेको छ ।
देश कै ठूलो ताल राराताल पुग्दा जुम्लाको बुलबुले क्षेत्र कटेपछी यहि पाटन भएर आउनु पर्ने भएकाले पर्यटकहरु यो पाटनमा नओर्ली रहन सक्दैनन ।

वरिपरि परि घना जङ्गल,पाटनमा चरिरहेका वस्तुभाउ, चराचुरुङ्गीहरुको चिरचिराट अनि हरियो गलैचा विच्छाए जस्तो विचमा पाटन छेउ मै सेतो सडक यस्तो दृश्य देखे कस्को मन नलोभिएला र ? रारा घुम्न आउने पर्यटकलाई यो पाटनमा पुगेपछी रमाइलो गर्न र व्यक्तिगत तथा सामुहिक फोटाहरु खिच्न मन लागि हाल्छ ।

सुर्खेत,नेपालगन्ज भएर गाडीको यात्रा गर्दै रारा गन्तव्य बनाएर आएका पर्यटकहरुलाइ यहि सिप्टिचौरले थकान मेटाउन तथा प्राकृतिक सुन्दरताले स्वागत गर्न बसेको जस्तो लाग्ने गरेको सिप्टिचौरमा भेटिएका रारा घुम्न आएका बर्दिया तारातालका रन्जन शर्माले बताउनु भयो ।
उहाँसङ्गै बाइकमा सवार बर्दिया कै निकल बस्नेतले कर्णालीको विजोक सडक, दुर्गमतामा जटिल यात्रा गर्दै आउँदा यहि सिप्टिचौरले सबै कष्ट, दुख भुलाएकाे यहाँ पुग्दा बेग्लै संसारमा पुगेकाे अनुभुति भएकाे बताउनुभयाे ।

सिजनमा दैनिक जसो यहाँ प्राकृतिक सुन्दरतामा रमाउन सय दुइसय जना आन्तरिक पर्यटकहरु पुग्ने गरेको छायानाथ रारा नगरपालिका वडा नं. ७ का निवर्तमान वडा अध्यक्ष हरिचन्द्र शाही बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ- 'बर्खा सिजनमा यो पाटनमा गाई ,भैसीका खर्कसमेत हुने भएकाले यो पाटन भएर आउने पर्यटकहरुले प्राकृतिक सुन्दरतामा रमाउनुका साथै दहि, दूध, घ्यु पनि धित मरुन्जेल खान पाउँछन् ।'

पछिल्लाे समय रारा पुग्ने पर्यटकहरुको रोजाइमा परेको यो पाटनमा विभिन्न व्यक्ति, कार्यालय तथा संघ संस्थाहरुले उत्सव मनाउने, कार्यक्रम आयोजना गर्ने गर्दै आएका छन् ।

यो पाटनबाट सवारी साधन भएर रारा ताल पुग्न १ घण्टा मात्र लाग्ने भएकाले पर्यटकहरु अघिल्लो रात बुलबुलेमा रहेका होटेलमा बास बस्ने, विहान १/२ घण्टा सिप्टीचौरमा रमाउने र त्यसपछि रारा पुग्ने गरेका छन् ।

सिप्टिचौरमा पर्यटक मैत्री भौतिक पुर्वाधारको कुनै पनि विकास गरिएको छैन । अहिले जे छन् ति प्राकृतिक मात्र छन् । यहाँ पर्यटकहरुलाई भुलाउने अन्य संरचनाहरु बनाउन सकिएमा पर्यटकहरुको बसाइ लम्विने र मुगु तथा जुम्लाका जनताले यस्को फाइदा लिन सक्ने सामाजिक अभियन्ता मीन रावल बताउनु हुन्छ ।

उहाँ हिरिसडेक नेपाल नामक गैर सरकारी संस्थाका संस्थापक अध्यक्ष हुनुहुन्छ । शनिवार उहाँको संस्थाको १७ औ बार्षिक साधारण सभा तथा ५ औ जिल्ला अधिबेशन यहि सिप्टिचौरमा आयोजना गरिएको थियो । 'प्राकृतिक सुन्दरतासङ्गै रमाउदै कार्यक्रम गर्नुको मज्जा भनेर साध्य छैन', उहाँ भन्नुहुन्छ -'यो ठाउमा जति रमाए उति रमाउँ रमाउँ र बसौँ बसौँ लाग्छ ।'

सिप्टिचौर रारा राष्ट्रिय निकुन्ज अन्तर्गत मध्यवर्ती क्षेत्रमा पर्ने यहाँ पुग्ने पर्यटकहरुले निकुन्जको नियम भित्र रहेर आफ्ना गतिविधि गर्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?