काठमाडौं । सांसदहरुले होटल हायातमा रहेको तारा गाउँ विकास समितिको जग्गासम्बन्धि विवाद टुंगो लगाउने गरी तत्काल कार्ययोजना ल्याउन सरकारसँग माग गरेका छन ।
लामो समयदेखि विवादमा रुपमा रहेको सो जग्गा लिजमा दिने क्रममा तत्कालीन प्रधानमन्त्री, मन्त्रीहरुले पनि ठूलो घोटाला गरेको हुनसक्ने निष्कर्ष निकाल्दै सांसदहरुले सो समस्याको तत्काल निरुपण हुनेगरी कार्ययोजना तत्काल बनाउन सरकारसँग माग गरेका हुन् ।
आईतवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सो जग्गा लिजमा लिने क्रममा ठूलो घोटाला भएको हुनसक्ने जिकिर गर्दै सो सम्बन्धि विवाद टुंगो लगाउने गरी कार्ययोजना तत्काल बनाउन सरकारसँग माग गर्नुभयो । उहाँले हायात होटेलले १५० रोपनी सरकारी जग्गा हडप्ने प्रयास गरिरहेको भन्दै त्यसलाई रोक्ने उपायको खोजी गर्न पनि सरकारलाई दबाब दिनुभयो ।
सत्तारुढ नेपाली काँग्रेसका सांसद नारायणप्रकाश (एनपी) साउदले सरकार फेरिँदैपिच्छे दोहन गर्ने वस्तुको रुपमा सरकारी जग्गालाई उपयोग गर्ने गरिएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले जग्गा लिजमा दिने विषयमा सरकारले तत्काल कानून बनाएर अघि बढ्नुपर्ने पनि बताउनु भयो । सांसद साउदले संसदीय समितिले पनि दिगो र भरपर्दो किसिमले सरकारी जग्गा हडप्नेमाथि कारबाही हुने गरी निर्देशन दिनुपर्ने पनि बताउनु भयो । सार्वजनिक जग्गालाई कौडीको मूल्यमा बिक्री गर्ने काम सरकारले तत्काल बन्द गर्न सक्नुपर्ने उहाँको भनाई थियो ।
सत्तारुढ नेकपा (एमाले)का सचिव एवं पूर्वपर्यटनमन्त्री भीमप्रसाद आचार्यले हायात होटेलले सरकारी जग्गा हडप्न खोजेको आरोप लगाउँदै त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारलाई सचेत गराउनु भयो । उहाँले संसदीय समितिले पटक पटक यस विषयलाई सरकारलाई निर्देशन दिएकाले फेरि निर्देशन दिने काममा हतार गर्न नहुने बताउनु भयो ।
सांसदहरुले सो जग्गा घोटाला प्रकरणमा संलग्न देखिएको तत्कालीन प्रधानमन्त्री र पर्यटनमन्त्रीहरुलाई पनि छानविनको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सार्वजनिक जग्गा बेचेर कमिसन खाने प्रधानमन्त्री, मन्त्री र सम्बन्धित सबै अधिकारीहरुलाई सरकारले तत्काल छानविनको दायरामा ल्याउनुपर्ने बताउनु भयो । उहाँले गुठीको जग्गा, गोकर्ण रिसोर्टमा रहेको सरकारी जग्गा पनि कौडीको मूल्यमा बिक्री वितरण हुने काम गरिएको भन्दै आपत्ति जनाउनु भयो ।
सांसद सुवालले सरकार चलाउनेहरु आफैँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुन तस्करीको कब्जामा रहेको स्वीकार गरेको जिकिर गर्दै उनीहरुलाई पनि छानविनको दायरामा ल्याउन सरकारले ढिलाई गर्न नहुने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच