काठमाडौं । भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका-१५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण थालेको छ । प्यारापिटमुनि ढुंगाको सोलिङको काम धमाधम भइरहेको महानगरपालिकाको शहरी पूर्वाधार महाशाखका प्रमुख सन्तोष आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार निर्माणमा प्रयोग हुने स्थानीय सामग्रीको महानगरपालिकाको प्रयोगशालामा परीक्षण भइरहेको छ भने रड प्रयोगशाला परीक्षणका लागि काठमाडौं पठाइएको छ । निर्माण कम्पनीका प्राविधिक एवं कर्मचारी फिल्डमा खटिएर काम सुरु गरेको उहाँले बताउनुभयो ।
महानगरपालिका प्रमुख रेनु दाहालले निर्धारित समयमा काम पूरा गर्न कम्पनीका प्रमुख एवं प्राविधिकलाई अनुरोध गर्दै नगरपालिकाका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कुनै समस्या भएमा तत्काल समाधान गर्न उहाँले कर्मचारीलाई निर्देशन दिनुभएको छ । निर्माणमा सहजीकरण गर्न महानगरपालिकाले निर्माणस्थलमा कार्यालय स्थापना गरिने उहाँले बताउनुभयो ।
महानगरपालिकाका उपनिर्देशक इञ्जिनियर जगन्नाथ अर्यालका अनुसार १० हजार दर्शक बस्न मिल्ने प्यारापिटसहित मैदान तयार गरिनेछ । रंगशाला निर्माणको लागत ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँ छ । विसं २०८३ पुस २२ गतेसम्ममा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।
चालु आर्थिक वर्षमा संघीय सरकारले २५ करोड रुपैयाँ र भरतपुर महानगरपालिकाले चार करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् । बागमती प्रदेश सरकारले कुल ठेक्का रकमको ७० प्रतिशत बेहोर्ने सहमति गरेको छ । सुरुमा रंगशाला निर्माण थालेको धुर्मुस सुन्तली फाउण्डेसनले पाँच हजारजना अट्ने प्यारापिट तयार गरिसकेको छ । त्यसका लागि २८६ वटा पिलर खडा भइसकेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच