काठमाडौं । आध्यात्मिक कवि हरिभक्त सिग्देल महेशको महाकाव्य ‘एकमात्र’ तथा शीर्ष कवि कलानिधि दाहालको कवितासङ्ग्रह ‘खाली खाली भएछु म’ शनिबार एक समारोहबीच लोकार्पण भएका छन् । कार्यक्रम प्राडा. अर्जुनदेव भट्टको सभापतित्वमा आयोजित भएको थियो ।
नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ सभाकक्षामा आयोजना भएको समारोहमा प्राडा.गोविन्दराज भट्टराई प्रमुख अतिथि र प्राडा.ऋषिराम पोखरेल, प्राडा.कुलप्रसाद कोइराला, प्रा.पुरुषोत्तम दाहाल तथा प्राडा.रामप्रसाद ज्ञवाली विशिष्ट अतिथि रहनुभएको थियो । लोकार्पण भएका कृतिहरूमध्ये कलानिधि दाहालको ‘खाली खाली भएछु म’ को प्राडा.रामप्रसाद ज्ञवालीले तथा हरिभक्त सिग्देलको ‘एकमात्र’ को प्राडा.ऋषिराम पोखरेलले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा प्राडा.कुलप्रसाद कोइराला, प्रा.पुरुषोत्तम दाहाल तथा प्राडा.खेम कोइराला बन्धुले शुभकामना दिनुभएको थियो । युवा कवि भैरवी भूगोलले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा लेखक द्वय सिग्देल तथा दाहालले लेखकीय मन्तव्य व्यक्त गर्नुभएको थियो । रामचन्द्र घिमिरेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा प्रमुख अतिथि प्राडा.भट्टराईले कलानिधिका कविताको विशिष्ट चरित्र र गुण भएको बताउनु हुँदै निरन्तरताको अपेक्षा गर्नुभएको थियो । एकमात्र महाकाव्यको समीक्षा गर्दै पूर्वीय दर्शनका विख्यात प्राडा.पोख्रेलले एकमात्र महाकाव्य पूर्वीय चिन्तनका अनेक दार्शनिक पक्षलाई उद्बोधन गर्न सफल भएको विचार प्रकट गर्नुभएको थियो ।
नेपाली साहित्यका धुरन्धर समालोचक तथा कवि प्राडा.रामप्रसाद ज्ञवालीले खाली खाली भएँछु म कविता कृतिका अनेक सबल र दुर्वल पक्ष केलाउँदै कलानिधि दाहाल मानक कवि भइसकेको हुनाले गल्ती गर्ने छुट नभएको टिप्पणी गर्नुभएको थियो । प्राज्ञ साहित्यकारहरूको अत्यन्त आकर्षित उपस्थितिमा सम्पन्न सो कार्यक्रममा लोकार्पित दुवै पुस्तकहरूबाट विभिन्न कविले लयबद्ध कविता वाचन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच