नवलपरासी । पश्चिम नवलपरासीमा रहेको यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा २० करोड ३८ लाख ७ हजार एक सय ५६ रुपैयाँ राजस्व संकलन गरेको छ । गत असारमा मात्रै एक करोड २६ लाख ५० हजार सात सय ९० रुपैयाँ राजस्व संकलन भएको छ ।
यातायात व्यवस्था कार्यालयले सबैभन्दा धेरै सवारी साधन करबाट राजस्व संकलन गरेको छ ।
सवारी साधन करबापत १५ करोड चार हजार सात सय ५१ रुपैयाँ, सवारी चालक अनुमतिबाट दुर्ई करोड ७७ लाख १७ हजार रुपैयाँ, सवारी नवीकरणबाट एक करोड ६४ लाख ४३ हजार सात सय, यातायात क्षेत्रको आम्दानी पटके तथा विविधबाट ४० लाख ६७ हजार दुई सय ९०, आयकरबाट ५५ लाख ७४ हजार चार सय १५ रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख मुक्तिप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७९/८० मा १२ करोड रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले गत वर्र्ष करिब आठ करोड रुपैयाँ वृद्धि भएको उहाँले जानकारी गराउनुभयो । पाण्डेले भन्नुभयो, ‘अघिल्लो वर्ष १२ करोड संकलन भएको थियो । अहिले २० करोडभन्दा बढी छ । हामीले करिब ६६ प्रतिशत हाराहारीमा यस कार्यालयबाट राजस्व संकलनमा वृद्धि गरेका छौँ ।’ आर्थिक बर्ष २०७८/७९ देखि यातायात व्यवस्था सेवा कार्यालय परासीमा खुलेसँगै कार्यालयको राजस्व संकलनमा निरन्तर वृद्धि भइरहेको छ । सेवा कार्यालयले नवलपरासीका सातै पालिका र रूपन्देहीका केही पालिकाबासीलाई सेवा लिन सहज भएको छ ।