काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आइतबार पनि जारी रहृयो । पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार सुरु भएको बैठकमा गत फागुनमा सम्पन्न पार्टी महासमिति बैठकले पारित गरेका प्रतिवेदनलाई परिमार्जनसहित पारित गर्ने लगायतका विभिन्न ११ एजेण्डामा नेताहरूले धारणा राखिरहेका छन् । जारी बैठकमा निर्धारित एजेण्डा बाहेकका विषयमा पनि नेताहरूले धारणा राखिरहेका छन् । बैठकमा भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने र एक-एक वर्षमा मन्त्री फेर्नेदेखि पार्टी सभापति शेरबहादुर देउवालाई छैटौँपटक प्रधानमन्त्री बन्न नदिनेसम्मका प्रस्ताव आएका छन् ।
बैठकको चौथो दिन आइतबार केन्द्रीय समितिमा पार्टीको आसन्न १५औँ महाधिवेशनको बहसले प्राथमिकता पाएको छ । बैठकमा संस्थापनइतर समूहले नेतृत्वसँग पार्टीको १५औँ महाधिवेशनको सुनिश्चितता खोजेको छ । संस्थापन इतरका नेता एवं केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पार्टीको आउँदो १५औँ महाधिवशेन लम्बाउने कुनै प्रपञ्च नगर्न सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ ।
बैठकमा लिखित मन्तव्य राख्दै कोइरालाले सभापति देउवालाई समयमै महाधिवेशन गर्नेगरी अविलम्ब पार्टीका विधान र नियमावलीहरूलाई संशोधन समिति बनाउन प्रस्ताव गर्नुभएको छ । बैठकमा नेता कोइरालाले भन्नुभयो, ‘तपाईंको नेतृत्वमा विगत आठ वर्षदेखि कांग्रेसले राष्ट्रिय राजनीतिमा निर्वाह गरेको भूमिकाको समीक्षा म यहाँ गर्न चाहन्न । कांग्रेस हिजो किन खुम्चियो र आज फेरि किन गठबन्धनको कारण ठूलो दलको रूपमा संसद्मा उपस्थित छ, यद्यपि कांग्रेसको जनाधार खुम्चिएको निर्वाचनले देखाएको छ । मेरो आग्रह सबै केन्द्रीय कार्यसमितिलाई साक्षी राखेर के मात्र छ भने कांग्रेसको १५औँ महाधिवेशन लम्बाउने कुनै प्रपञ्च नगरौँ । पार्टीको विधान र नियमावलीमा गर्नुपर्ने संशोधनका लागि अविलम्ब समितिहरू बनाऔँ ।’
१४औँ महाधिवेशनदेखि थाँती रहेका क्रियाशील सदस्यता लगायतका समस्याहरू तत्काल समाधान गरी २०८२ मंसिरमा १५औँ महाधिवेशन गर्ने सुनिश्चितता यही केन्द्रीय समिति बैठकले गर्नुपर्ने माग गर्दै कोइरालाले भन्नुभयो, ‘यो वा त्यो बहानामा महाधिवेशन सार्ने काम भयो भने त्यसले कांग्रेस र लोकतन्त्र दुवैलाई दुर्घटनातर्फ लैजान्छ । ठीक चार वर्षमा कांग्रेसको महाधिवेशन होस् । मैले यसो भनिरहँदा म यहाँ बिग्रिएको प्रणालीलाई ट्र्याकमा ल्याउने मनसायबाट यो कुरामा जोड दिइरहेको छु ।’ अहिले राजनीतिमा लोकरिझ्याइँ (पपुलिज्म) हावी भएको र त्यसबाट कांग्रेस पनि अछुतो नरहेको धारणा राख्नुभएका कोइरालाले भन्नुभयो, ‘कांग्रेस पार्टीको आफ्नै मौलिकता, आदर्श र सिद्धान्त छ तर अहिले यसलाई बिर्सेर सामाजिक सञ्जाल र लोकरिझ्याइँले पार्टीलाई डो¥याउन खोजेको जस्तो देखिन्छ । यसले पार्टी कहाँ पुग्छ बेलैमा सोचौँ ।’
संघ र प्रदेशमा मन्त्री छनोटप्रति कोइरालाको असन्तुष्टि
संस्थापन इतरका नेता एवं केन्द्रीय सदस्य डा.शेखर कोइरालाले संघ र प्रदेशमा मन्त्री छनोटप्रति असन्तुष्टि जनाउनुभएको छ । केन्द्रीय समितिको बैठकमा आइतबार आफ्नो धारणा राख्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो । दुई ठूला दल (नेपाली कांग्रेस र नेकपा एमाले) सुशासनका लागि एक ठाउँमा आएको भनिए पनि व्यवहारमा त्यस्तो नदेखिएको टिप्पणी गर्दै कोइरालाले भन्नुभयो, ‘वर्तमान सरकार गठनको सन्दर्भमा नेपाली कांग्रेस र एमालेले सुशासनको धेरै प्रतिबद्धता गरेका छन् । तर, व्यवहारमा संघ र प्रदेशमा मन्त्रीहरू छनौटले सुशासनलाई जिस्काइरहेको छ । हामी किन यसरी सुशासनको सन्दर्भमा बारम्बार चुक्दै छौँ ?’
देउवाको जवाफ : ‘महाधिवेशन समयमै हुन्छ’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५औँ महाधिवेशन नियमित समयमा नै हुने प्रतिबद्धता जनाउनुभएको छ । आइतबार केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा नेता डा. शेखर कोइरालाले महाधिवेशन समयमै नहुने आशंका व्यक्त गर्दै १५औँ महाधिवेशन नियमित समयमै हुनुपर्ने माग गर्नुभएको थियो । कोइरालाले उक्त भनाइ राख्दाराख्दै देउवाले त्यसको प्रतिवाद गर्नुभयो । डा.कोइरालाले बोल्दाबोल्दै रोकेर देउवाले भन्नुभयो, ‘महाधिवेशन नियमित समयमै हुन्छ । सार्ने कुरै छैन । सबै एक भएर त्यसमा लागौँ ।’ नियमित समयअनुसार महाधिवेशन हुँदा २०८२ को मंसिरमा १५ औँ महाधिवेशन हुनुपर्दछ । १४ औँ महाधिवेशन २०७८ मंसिरमा भएको थियो ।
कार्यकर्ताको गुनासो झुलबाहिर लामखुट्टे कराएको जस्तो मात्रै ठानियो : केसी
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीमा नेतृत्वले जनता र कार्यकर्ताको आवाजलाई सुनेर न्यायोचित निर्णय गर्ने बानीको विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । केन्द्रीय समिति बैठकमा सम्बोधन गर्ने क्रममा नेता केसीले कार्यकर्ताको गुनासोलाई झुलबाहिर लामखुट्टे कराएको जस्तो मात्रै ठान्नुको सट्टा त्यसको सुनुवाइ गर्ने संयन्त्रको विकास गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, ‘जनभावना र कार्यकर्ताहरूको आवाजलाई झुलबाहिर लामखुट्टे कराएको जस्तो ठान्नु हुँदैन, सुनवाइ गर्ने संयन्त्रको विकास जरुरी छ । अन्यथा त्यसबाट उब्जिने प्रतिक्रिया घातक हुनसक्छ । अहिले आगो लगाउने नेतृत्व होइन आगो निभाउने । उत्तेजना र आवेग होइन, विवेक प्रस्तुत गर्ने । तोड्ने होइन, जोड्ने नेतृत्व आवश्यक छ ।’ नेता केसीले अहिलेको शासकीय खराबीका कारण देखिएका समस्याहरूलाई परास्त गर्न नसके ती नै खराबीहरूले आफूहरूलाई सिध्याउने चेतावनीसमेत दिनुभयो ।
सरकारले जनतामा आशा जगाउनेमा सन्देह छ : पोखरेल
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द पोखरेलले वर्तमान सरकारले जनतामा आशा जगाउने छनक नदेखाएको टिप्पणी गर्नुभएको छ । पार्टी केन्द्रीय समितिको आइतबार बसेको बैठकमा पोखरेलले वर्तमान सरकारमा पठाइएका मन्त्री, मधेश प्रदेशमा मन्त्रिपरिषद्को आकार, विभिन्न नियुक्ति, सरुवाबारे पनि नागरिक तहमा व्यापक आलोचना भएको उल्लेख गर्दै भन्नुभयो, ‘१०० दिन नपुग्दै समाजमा यो सरकारले आशा जगाउन सक्दैन कि भन्ने संशय पैदा भएको छ । त्यसैले हामीले बनाएका आर्थिक, सामाजिक र लोकतान्त्रिक संरचनाहरूका कमजोरीले भन्दा पनि राजनीति दलका नेतृत्वको कार्यशैलीबारे गरिएका टीकाटिप्पणीलाई मनन गरेर जनताको भावनाअनुसार सुधारिएर काम नगर्ने हो भने हामीले श्रीलंका र बंगलादेशको नियति भोग्न नपर्ला भन्न सकिँदैन ।’
सरकारले आशा जगाउन नसके जनतामा थप निराशा बढ्छ : शिवाकोटी
केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कांग्रेस र एमालेको वर्तमान सरकारले आशा सञ्चार गर्न नसके जनतामा व्याप्त निराशा थप बढ्नेप्रति नेतृत्वलाई सचेत गराउनुभएको छ । एक अर्काविरुद्ध विगतमा राजनीतिक आरोप प्रत्यारोप गरेको रेकर्डेड रहेको उल्लेख गर्दै शिवाकोटीले भन्नुभयो, ‘यही बैठकमा हिजो एक अर्काविरुद्ध गरिएका आरोप प्रत्यारोपको बारेमा प्रष्ट पार्नुपर्ने मत पनि आएको छ । आज सरकारमा सँगै आएका कारण मात्र हाम्रो धारणालाई त्याग गर्नुपर्छ भन्ने हो भने त्यो अरूले अरू नै कोणबाट उठाएर हाम्रै विरुद्ध प्रयोग गर्ने खतरा पनि छ ।’
देउवालाई छैटौँपटक प्रधानमन्त्री बन्न बाटो छेक्ने प्रस्तावले तरंग
नेकपा एमालेसँग भएको सात बुँदे सहमति कार्यान्वयन आए नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा २०८३ असारमा प्रधानमन्त्री बन्ने निश्चित छ । दुई दलबीच भएको सहमतिको चौथो बुँदा दुई वर्षसम्म नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने र त्यसपछि २०८४ मंसिरमा हुने निर्वाचनसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने उल्लेख छ । ओलीले सत्ताको नेतृत्व हस्तान्तरण गरे पनि संस्थापनइतर पक्ष भने सभापति देउवालाई छैटौँपटक प्रधानमन्त्री बन्नबाट रोक्ने प्रयासमा छ । त्यही प्रयासअनुसार इतर पक्षले संसदीय दलको नेता फेर्ने गृहकार्य जारी राखेको छ । जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले महासमिति बैठकमा पेस गरेको प्रतिवेदन ल्याउँदा देउवालाई प्रधानमन्त्री हुनबाट रोक्नेगरी अघि सार्नुभएको छ । महामन्त्री शर्माको परिमार्जित प्रतिवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाल तोक्नुपर्ने उल्लेख छ । तर, महामन्त्री शर्माको यो प्रस्तावको संस्थापन पक्षका नेताहरूले चर्को विरोध गरेका छन् । केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा परराष्ट्रमन्त्री आरजु राणा र प्रवक्ता डा. प्रकाशशरण महतसहित संस्थापन पक्षका नेताहरूले विरोध जनाएका छन् । पार्टी सभापति देउवालाई प्रधानमन्त्री बन्न रोक्नेगरी संविधानविपरीत प्रस्ताव ल्याइएको उनीहरूको आरोप छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच