काठमाडौं । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आउनुभएको छ । आइतबार काठमाडौं आउनुभएका विदेश सचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा मिस्रीसँग भएको शिष्टाचार भेटमा ‘द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको’ राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेललाई भेट्नुअघि मिस्री प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्री कार्यालय सिंहदरबार पुग्नुभएको थियो । मिस्रीसँगको भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन असर न्यूनीकरणका लागि नेपाल भारत मिलेर काम गर्नुपर्ने बताएको उहाँको सचिवालयले जनाएको छ ।
पौडेलले नेपालको विकासमा भारतको ठूलो सहयोग रहेको उल्लेख गर्दै सचिव मिस्रीको कार्यकालमा ‘दुवै देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास’ व्यक्त गरेको सचिवालयले जनाएको छ । भारतीय विदेश सचिव मिस्रीले ऊर्जा, कृषि, पर्यटनजस्ता नेपालको प्राथमिकतामा रहेका परियोजनामा भारत पनि काम गर्न इच्छुक रहेको बताउनुभएको थियो । मिस्रीले भारतले ‘स्थिर, शान्त र समृद्ध नेपाल हेर्न चाहेको’ भेटका क्रममा बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताउनुभएको छ ।
प्रधानमन्त्री ओली र मिस्रीबीच द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटका अवसरमा दुई पक्षीय र मित्रवत् सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले उल्लेख गरेको छ । भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल र ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलगायत सहभागी रहनुभएको थियो ।
यस्तै, भारतीय विदेश सचिव मिस्रीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गर्नुभएको छ । आइतबार प्रचण्डको निजी निवास खुमलटारमा उहाँहरूबीच भेट भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान परराष्ट्र सचिव सेवा लम्सालले उहाँलाई स्वागत गर्नुभएको थियो । काठमाडौं आएलगत्तै उहाँले नेपाल भाषा परिषद्को नवनिर्मित भवन उद्घाटन गर्नुभएको थियो । गत असार १४ गते भारतको विदेश सचिवमा नियुक्त भएका मिस्री पहिलोपटक नेपाल भ्रमणमा आउनुभएको हो । नेपालमा रहँदा उहाँले समकक्षी लम्सालसँग द्विपक्षीय हितबारे कुराकानी गर्ने बताइएको छ । दुवै देशहरूले मिस्रीको भ्रमणलाई काठमाडौं र दिल्लीबीच भइरहेका नियमित ‘उच्चस्तरीय भ्रमणहरूको सिलसिला’ भनेका छन् । यद्यपि, नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको सरकार बनेपछि भारतबाट भएको पहिलो उच्चस्तरीय भ्रमण भएकाले यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ । परराष्ट्र सचिव लम्सालले सचिव मिस्रीका लागि रात्रिभोजको आयोजना गर्नुभएको थियो । सो कार्यक्रममा पनि नेताहरूसँग भेटघाट भएको बताइएको छ । आज (सोमबार) बिहान ११ः४५ बजे उहाँले परराष्ट्र मन्त्री आरजु राणा देउवालाई भेटेर साँझ भारत फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
भारतको विदेश मन्त्रालयले गत शुक्रबार जारी गरेको विज्ञप्तिमा पनि नेपालकी परराष्ट्र सचिव सेवा लम्सालको निम्तोमा उहाँ नेपाल भ्रमणमा आउन लागेको जनाइएको थियो । मन्त्रालयले यो भ्रमण दुई देशबीचको ‘नियमित उच्चस्तरीय भ्रमणको परम्परालाई निरन्तरता दिने’ खालको भएको विज्ञप्तिमा उल्लेख गरेको थियो । त्यस्तै, भ्रमणले भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत उसले नेपालसँगको सम्बन्धलाई प्राथमिकता दिन्छ भन्ने कुरालाई पनि झल्काउने उसले जनाएको थियो । भारतीय विदेश मन्त्रालयका अनुसार नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध र सहकार्य पछिल्ला दिनहरूमा अझ सुदृढ भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच