✍️ जीवन भण्डारी
चितवनको सिमलतालबाट त्रिशूलीमा खसेर बेपत्ता भएका दुई बसका ६२ जना यात्रुमध्ये तीनजनाले पौडेर ज्यान जोगाए पनि अहिलेसम्म २४ जनाको मात्र शव फेला परेको छ । त्रिशूलीमा खसेका दुवै बस र अरू ३५ यात्रु अझै पत्ता लाग्न सकेका छैनन् । हराएको बस भेट्टाउन नेपालका सुरक्षाकर्मीले मात्रै नसकेपछि भारतका समेत सुरक्षाकर्मी र केही उच्च प्रविधि र उच्च क्षमताका उपकरणसमेत ल्याइएको थियो तर परिणाम हात लाग्यो शून्यजस्तो मात्र भयो । त्यसपछि सरकारले दुर्घटनाका बारेमा अध्ययन गर्न, क्षतिपूर्ति तथा राहतको सिफारिश गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन सुझाव पेश गर्न २०८१ असार ३१ गते गृहमन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा ६ सदस्यीय ‘सिमलताल दुर्घटना अध्ययन कार्यदल’ गठन गरेको थियो ।
सुरुमा १० दिन कार्यावधि दिइएको सो कार्यदलले झण्डै २० दिनमा सरकारलाई प्रतिवेदन बुझायो । प्रतिवेदनका अनुसार नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा २०८१ साल असार २८ गते बिहान करिब अढाई बजे दुई बस सिमलताल डेब्रिज बहावमा परेर एकै साथ त्रिशूली नदीमा खसेका हुन् । आफूखुशी सडक निर्माण गर्ने परीपाटी, सडकको अवस्थाका बारेमा सडक विभाग नै अपडेट नभएको र त्यस अनुसारको व्यवस्थापन नगरेकाले दुर्घटना भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । कार्यदलले दुर्घटना हुनुको मुख्यकारण पर्याप्त सूचना संकलन र आदानप्रदान नहुनुलाई मानेको छ भने सुझावका रूपमा पनि सडक सुरक्षासम्बन्धी एकीकृत सूचना प्रणाली प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ ।
नेपालमा कुनै पनि ठूला घटना भएपछि दुई चार दिन व्यापक बहस, छलफल, आलोचना, समालोचना, समीक्षा आदि हुने, व्यापक दबाब परेमा छानविन समिति पनि बन्ने तर दुई-चार दिनपछि फेरि पुरानै पारामा चल्ने, सुधारतर्फ कुनै कदम नचाल्ने भएकाले यस्ता घटना भइरहेका छन् ।
पर्याप्त सूचना संकलन र आदानप्रदान भएको भए दुर्घटना नहुने आशय प्रतिवेदनमा लेखिएको छ । यस्तो घटना यो मात्रै होइन । नेपालमा पर्याप्त सूचना संकलन र आदानप्रदान नगरेकै कारण अरू पनि धेरै दुर्घटना भएका छन् भने हजारौंको मृत्यु भएको छ । सडक दुर्घटनामात्रै नभई बाढी, पहिरो, डुबान जस्ता प्रकोपमा हुने धनजनको क्षति पर्याप्त सूचनाको अभावमा भएका हुन् । सूचनाको पर्याप्तआदान प्रदान हुने र पूर्वजानकारीको व्यवस्था भएको भए धनजनको क्षति धेरै न्यूनीकरण गर्न सकिने यस्ता धेरै प्रतिवेदनमा उल्लेख छ ।
नेपालमा कुनै पनि ठूला घटना भएपछि दुई चार दिन व्यापक बहस, छलफल, आलोचना, समालोचना, समीक्षा आदि हुने, व्यापक दवाव परेमा छानविन समिति पनि बन्ने तर दुई-चार दिनपछि फेरि पुरानै पारामा चल्ने, सुधारतर्फ कुनै कदम नचाल्ने भएकाले यस्ता घटना भइरहेका छन् । सुधारका लागि उपायहरू नभएका होइनन्, उपाय बारे जानकारी नभएको पनि होइन तर उपायहरूको अनुशरण तथा कार्यान्वयन नगरिएको मात्रै हो । विपद्का घटना न्यूनीकरणका लागि पहिलो कुरा यसका उपायहरू बारे जानकारी लिएर लागू गर्ने तत्परता हुनुपर्छ भने अर्कोतिर नयाँ नयाँ उपायहरूको खोजीतर्फ ध्यान दिइरहनुपर्छ । संसारमा धेरै नयाँ नयाँ उपायहरू आए पनि हामीले त्यसलाई अवलम्बन गर्न धेरै ढिला गरिरहेका हुन्छौं ।
विपद् व्यवस्थापनका लागि पनि नयाँ नयाँ सूचना प्रविधि र नयाँ नयाँ सूचना प्रणालीहरूको विकास भएका छन् । त्यसलाई अवलम्बन गर्ने प्रयासमात्रै गर्दा पनि क्षति धेरै कम गर्न सकिन्छ । पछिल्लो समय एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) विश्वविद्यालयका प्राध्यापक डा.इन्द्रजित पलले प्रतिपादन गर्नुभएको क्रिस्टा एपले चर्चा पाउन थालेको छ । धादिङको नीलकण्ठ नगरपालिकामा परीक्षणका रूपमा लागू भई सफल भएर अहिले धादिङका अन्य पालिकाहरूमा समेत लागू हुन थालेको क्रिस्टाबाट जनधनको क्षति कम गर्न सकिन्छ भन्ने अन्तर्राष्ट्रिय निकायहरूले पनि स्वीकार गरिसकेका छन् । उनीहरूले विपद्बाट हुने क्षति न्यूनीकरणका लागि क्रिस्टा एप सहयोगी हुने निष्कर्षका साथ त्यसको प्रयोग बढाउन प्रोत्साहन गरेका छन् ।
यदि सिमलताल क्षेत्रमा क्रिस्टा एप लागू गरिएको भए त्यहाँ देख्नेहरूले त्यो फोटो वा भिडियो खिचेर पठाइदिने थिए, त्यही अनुसार सम्बन्धित उद्धार टोली खटिने थियो । तर, सूचना संकलन र सम्प्रेषणको प्रभावकारी माध्यमको अभ्यास नगरिएकाले सूचना आदानप्रदान भएन, प्रहरी प्रशासनलगायत उद्धार टोलीलाई जानकारी भएन ।
यो एप लागू गर्न सबैभन्दा पहिले सम्बन्धित क्षेत्रको भौगोलिक अवस्थालगायत विवरण एपमा अपडेट गरिन्छ । त्यही अनुसार सामान्य सूचना प्रणाली जडान गरिन्छ । त्यसपछि सम्बन्धित क्षेत्रका बासिन्दालाई एप डाउनलोड गर्न आहृवान गरिन्छ । सम्बन्धित क्षेत्रमा कुनै पनि विपद्का घटनाको संकेत, सूचना, जानकारी केही भएमा थाहा पाउनेले तत्काल फोटो वा भिडियो वा अडियो वा अक्षरमा एपमार्फत् जानकारी गराउन सक्छ । थाहा पाउने व्यक्तिले ती विवरणहरू पठाउने बित्तिकै उद्धार टोली रहेको ठाउँमा आपत्कालीन धुन बज्छ । त्यसपछि त्यही सूचना, संकेत, फोटो, भिडियो, अडियोका आधारमा स्रोत साधनहरूको व्यवस्था गरेर उद्धार टोली तत्काल घटनास्थलमा पुग्न सक्छ । फोटो वा भिडियोमा सूचना तथा जानकारी दिँदा घटनाको अवस्था र आवश्यक सामग्रीहरू के के चाहिन्छ भन्ने यकिन गर्न सजिलो हुने भएकाले पनि यसको प्रभावकारिता देखिएको हो ।
यदि सिमलताल क्षेत्रमा क्रिस्टा एप लागू गरिएको भए त्यहाँ देख्नेहरूले त्यो फोटो वा भिडियो खिचेर पठाइदिने थिए, त्यही अनुसार सम्बन्धित उद्धार टोली खटिने थियो । तर, सूचना संकलन र सम्प्रेषणको प्रभावकारी माध्यमको अभ्यास नगरिएकाले सूचना आदानप्रदान भएन, प्रहरी प्रशासनलगायत उद्धार टोलीलाई जानकारी भएन । फलतः सडकमा जोखिमपूर्ण अवस्था हुँदाहुँदै पनि आवतजावतलाई रोक्ने निर्णय हुन सकेन । रिजाल नेतृत्वको कार्यदलको प्रतिवेदनमा पनि यही कुरा उल्लेख छ । प्रतिवेदनका अनुसार सडकको अवस्थाबारे सुरक्षाकर्मी र सवारी चालकले पूर्व सूचना प्राप्त नगरेको वा पूर्वानुमान गर्न नसकेको र सुरक्षाकर्मीले सवारी रोक्ने निर्णय गर्न नसकेकाले उक्त दुर्घटना भएको हो ।
त्यस क्षेत्रमा भारी वर्षा भइरहेको, सडकमा पहिरो गएको, माथिबाट ढुंगामाटोसहितको लेदो झरिरहेको भन्ने जानकारी दिने संयन्त्रमात्रै भएको भए यो दुर्घटना नै हुँदैनथ्यो भन्ने आशय प्रतिवेदनमा छ । त्यसैले सूचना प्रणालीहरूको अभ्यास गर्ने कुरालाई तत्काल आत्मसात गरेर व्यवहारमा लागू गर्नुपर्ने देखिन्छ । यस घटनाले पनि सूचना प्रणालीको आवश्यकता, उपयोगिता र महत्वलाई थप पुष्टि गरेको छ । तर, यसलाई सम्बन्धित पदाधिकारीले महसुस गरेर कार्यान्वयन गर्नेतर्फ नलाग्दासम्म दुई चार दिनका छलफल, बहस, अन्तिर्किया, चिन्ता, चासो, आलोचनाको औचित्य हुँदैन । यसलाई व्यवहारमै लागू गराउनका लागि जानेबुझेका र सरोकारवाला व्यक्ति तथा निकायहरूले खबरदारी र दबाब सिर्जना गरिरहनुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच