पाल्पा । पाल्पाको तानसेन नगर सरकारले आफैले बनाएका संरचना अलपत्र छाडेको छ । नगरपालिकाले टुँडिखेल मैदान सुधारसहित जेष्ठ नागरिकमैत्री र बाल उद्यान निर्माण गरे पनि त्यसको संरक्षणमा ध्यान नदिई अलपत्र अवस्थामा छाडेको हो ।
नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा टुँडिखेल सुधार योजना अन्तर्गत टुँडीखेलमा जेष्ठ नागरिकमैत्री र बाल उद्यान बनाउने गरी काम अगाडि बढाएको थियो । योजना अनुसार बाहिरी संरचना निर्माण भए पनि भित्री संरचना भने अझै बनेका छैनन् । बनेका संरचनाको समेत संरक्षण हुन सकेको छैन ।
टुँडिखेल मर्निङवाक, फुटलबल मैदानसहित विश्राम गर्न आउने नागरिक, बालबालिका र अन्यका लागि आराम गर्न मिल्ने गरी संरचना बनाउन खोजिए पनि त्यसले पूर्णरुपमा मूर्त रुपमा पाउन सकेको छैन् । मैदानभित्र बस्तुभाउ छिर्न नसक्ने गरी पर्खाल, फलामको रेलिङ, बाउण्डरी वाल, फुटपाथ ब्लक र मिनी स्टेज बनाइए पनि अहिले त्यसको कुनै संरक्षण नै गरिएको छैन । अहिले पार्क भित्र हिड्न नमिल्ने गरी घाँस उम्रिएको छ । नगरपालिकाले आफैले निर्माण गरेको संरचनाको संरक्षणमा चासो देखाएको छैन भने योजना अनुसारको काम नगरी त्यसै छाडेको छ । टुँडिखेलमा घाँस उम्रिएको र पानी जमेर हिलो, खाल्डाखुल्डी हुँदा समेत नगरपालिकाले त्यसको मर्मत सम्भारमा ध्यान नदिएको स्थानीयको आरोप छ ।
टुँडिखेल सुधारका लागि मोटो रकम खर्चिएको छ । नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठका अनुसार उक्त योजनाका लागि करिब ४ करोड २२ लाख बजेट छुट्याइएको हो । उहाँले टेण्डर भएको दुई वर्षभित्र काम सक्ने गरी काम भए पनि ढिला गरी काम सकिएको बताउनुभएको छ । इञ्जिनियर श्रेष्ठले टेन्डर अनुसारको काम सकिएको भने पनि नगरको योजना अनुसारको काम भने भएको छैन् । जेष्ठ नागरिक र बाल उद्यानपार्क निर्माण भए पनि त्यस भित्रका संरचनाहरु अझै बनाइएको छैन् । बाल उद्यानमा केटाकेहीहरु खेल्न र भुल्नको लागि बगैचा निर्माण गर्ने भनिए पनि त्यो बनेको छैन । टुँडिखेल वरिपरि विभिन्न किसिमका फूल रोपेर सुन्दरता बढाउने भनिएको थियो । त्यो काम पनि अहिले अलपत्र छाडिएको छ ।
तानसेनवासीले पटक–पटक नगरपालिकालाई टुँडिखेल भित्र सरसफाई गर्न आग्रह गरे पनि त्यसको वेवास्ता गरेको छ । केही समय अघि पार्क वरपर घाँस उम्रिएर जान नसक्ने भएपछि स्थानीय अशोक महर्जन र सुरेश लिगलले घुम्न आउने स्थानीयहरुसँग सहयोग जुटाइ घाँस काटेर सरसफाई गरेका थिए । बर्खाको समय भएकाले अहिले फेरी अवस्था उस्तै भएको छ ।
नगर प्रमुख सन्तोषलाल श्रेष्ठसँग पटक–पटक भेटेर पार्क भित्र सरसफाई गर्न आग्रह गर्दा पनि नसुनेपछि स्थानीयसँग पैसा उठाएर घाँस काट्न लगाएको स्थानीय अशोक महर्जनले बताउनुभयो । नगर प्रमुख श्रेष्ठले भन्नुभयो नगरपालिकासँग तत्काल सरसफाइको लागि पर्याप्त जनशक्ति नभएको र केही समयमा त्यो काम गर्ने भने पनि स्थानीय साथीहरुले पैसा उठाएर काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो‘ हामीले काम गछौं भन्दा भन्दै साथीहरुले सहयोग जुटाएर गर्नु भएछ, केही छैन् अब हामीहरुले पार्क सरसफाइमा ध्यान दिन्छौं ।’
‘आफ्नो कार्यालय अगाडिको हरि बिजोग नदेख्नेले नगरको विकास गर्छ भनेर के आशा गर्नु ?’ स्थानीय सुरेश लिगलले आक्रोस पोख्दै भन्नुभयो । आन्तरिक तथा बाह्य पर्यटकको पहिलो आँखा लाग्ने ठाउँ नै टुँडिखेल भएकाले यसको संरचना आकर्षण बनाउन नगरपालिकाको ध्यान पुग्नु पर्ने स्थानीय बसन्त सिमाङ्गैडा बताउनुहुन्छ । टुँडिखेलमा फुटबल मैदान र पैदलमार्गको काम निवर्तमान मेयर अशोक कुमार शाहीको पालामा नै ठेक्का लागेर सुरु भएको थियो । वर्तमान नगर प्रमुखको टिम आएपछि टुँडिखेलको संरचना बनाउन केही काम नभएको अमन श्रेष्ठले बताउनुभयो ।
टुँडिखेल मात्र होइन पञ्चायत कालमा बनेको विरेन्द्र पार्कको पनि उस्तै हरिबिजोक छ । त्यहाँ भित्र जान सक्ने अवस्था छैन् । केही वर्ष अघिसम्म चारैतिर रंगीविरगी गुलावको फूल फुलेका हुन्थे । त्यहाँ पुग्ने जो कोही भित्र पसेर रमाउने गर्थे । तर पार्क अहिले शौचालय जस्तो बनेको स्थानीय सुरेन्द्रमान कर्माचार्यको गुनासो छ । पाल्पा उद्योग वाणिज्य संघको आर्थिक सहयोगमा त्यहाँ केही वर्ष अघि पार्क सरसफाई र रगं रोगन गरिएको थियो तर नगरपालिकाले त्यसलाई निरन्तर नदिदाँ अहिले नाम मात्रको फुलबारी बनेको संघका अध्यक्ष शैलेन्द्र भट्टटाईले बताउनुभयो । ‘तानसेन नगरपालिकाले कर उठाउँदा राजश्व पहिला भन्दा बढेको नगर प्रमुखले कार्यक्रममा भन्ने गरेको सुनिन्छ कहाँ के कामका लागि त्यो रकम खर्च हुन्छ कही देखिन्न’ मोहन सुवालले प्रश्न गर्नुभयो ।
तानसेन भन्दा पछिको सहर बुटवलको आकर्षकस्थल फूलबारीले देशैभरी चर्चा पाएको छ । तर श्रीनगर त्यो भन्दा धेरै रमणीय ठाँउ हो तर त्यसको विकास सधैं भाषणमा मात्र हुन्छ । त्यहाँ जाँदा घाँसे मैदान र प्लाष्टिक यत्रतत्र छरिएका र फुटेका सिसा बाहेक अरु केही देख्न छैन् । प्रकृतिले बरदान दिएको ठाँउ तानसेन पाल्पा ढाका र करुवाले मात्र चर्चा पायो तर सहर आर्कषण बनाउने योजना न त विगतमा भयो नत अहिले नै बनेको छ ।
हरेक वर्ष योजना बन्छ, बजेट खर्च हुन्छ तर नगरको सुन्दरता बढाई आर्कषक बनाउने योजना कहिल्यै नभएको तानसेनवासीको गुनासो छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच