काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निलम्बित महामन्त्री डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विभिन्न १५ सुझाव दिनुभएको छ । सोमबार प्रधानमन्त्री ओलीलाई भेटेर आफूले विभिन्न १५ बुँदामा सुझाव पेस गर्नुभएको हो । उहाँले पछिल्लो पटक आफू देशका विभिन्न ३८ वटा जिल्लामा समीक्षा यात्राका लागि पुगेको र उक्त भेटघाट पार्टीको तर्फबाट भए पनि आम नागरिकको हैसियतमा सुझाव संकलन गरेको बताउनुभएको छ ।
प्रशासन सुधार, स्थानीय सरकार, भ्रष्टाचार, मिटर ब्याज पीडितको समस्या समाधान, खानेपानी, अस्पताल, शिक्षा लगायतका विषय छुट्याएर ढकालले सुझाव बुझाउनुभएको हो । उहाँले पछिल्लोपटक चर्चामा रहेको संविधान संशोधनको एजेण्डामा पनि सुझाव दिनुभएको छ । प्रदेश, जिल्ला समन्वय समिति, उपराष्ट्रपति पद खारेज हुनुपर्ने उहाँले बताउनुभएको छ । ‘इन्तु, किन्तु, परन्तु केही नलगाई प्रदेश खारेज हुनुपर्छ, जनतामा प्रदेश संरचनालाई लिएर व्यापक निराशा र आक्रोश छ,’ उहाँले सुझावमा भन्नुभएको छ ।
सुझावमा अघि भनिएको छ, ‘थ्रेसहोल्ड बढाउने, एउटै मतपत्रमा निर्वाचन गर्ने, एकपटक समानुपातिक निर्वाचनबाट निर्वाचित व्यक्ति फेरि समानुपातिक निर्वाचित हुन नपाउने जस्ता व्यवस्था गरे वर्तमान निर्वाचन प्रणाली नै सुधार गर्न सकिनेछ ।’ साथै, उहाँले एकपटक नेपाली नागरिकता लिएको व्यक्तिले फेरि नागरिकता लिए त्यस्तो व्यक्तिलाई पुनः मनोनयन वा नियुक्त गर्न नहुने तर्क पनि गर्नुभएको छ । ‘एकपटक नेपाली नागरिकता त्यागेका व्यक्तिले फेरि नेपाली नागरिकता लिएमा त्यस्तो नेपाली नागरिकलाई नेपालको संविधानको धारा २८९ (१) बमोजिम मनोनयन वा नियुक्त हुन दिनुहुँदैन,’ उहाँले सुझावमा भन्नुभएको छ, ‘वयस्क भइसकेपछि नागरिकता त्याग्ने व्यक्ति राज्यको महत्वपूर्ण उच्च ओहदामा नियुक्ति हुँदा, ती व्यक्तिको मगजमा फेरि राष्ट्र त्यागिदिने मनोविज्ञान नआउला भन्न नसकिने भएकाले यो व्यवस्था संविधानको मर्म कार्यान्वयनका लागि संविधानमा नै राखिन आवश्यक छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच