काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि नेतृत्व हस्तान्तरणको आन्तरिक दबाब पर्न थालेको छ । कांग्रेस सभापति देउवा २०७२ साल चैतदेखि पार्टीको नेतृत्व गरिरहनु भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने विगत ३५ वर्षदेखि निरन्तर पार्टी नेतृत्वमा रहनुभएको छ । केही दिनयता दुई राजनीतिक दल नेपाली कांग्रेस केन्द्रीय समिति र नेकपा माओवादी केन्द्रको स्थायी कमिटी चलिरहेको छ । कांग्रेसको केन्द्रीय समिति बैठक र माओवादीको स्थायी कमिटी बैठकमा विचार, संगठन र नेतृत्वबारे चर्को बहस भइरहेको छ । दुवै पार्टीका बैठकमा नेताहरूले नेतृत्वको कमी कमजोरीको खुलेर आलोचना गरेका छन् । नेताहरूको लक्ष्य कमी कमजोरीप्रति मात्र छैन नेतृत्वको कार्यक्षमतामाथि प्रश्न उठाउँदै नेतृत्व हस्तान्तरणसम्म छ । कांग्रेस र माओवादी दुवै दलका नेताहरूले आ-आफ्नो नेतृत्वमाथि प्रश्न गर्दै नेतृत्व हस्तान्तरण गर्न दबाब दिइरहेका छन् ।
देउवामाथि शेखरको दबाब
नेपाली कांग्रेसको सभापतिमा हाल शेरबहादुर देउवा दोस्रो कार्यकाल सम्हालिरहनु भएको छ । २०७८ सालमा सम्पन्न १४औँ महाधिवेशनमार्फत डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा सभापतिमा निर्वाचित हुनुभएको हो । विधानतः देउवाले तेस्रो कार्यकालको नेतत्व गर्न पाउनु हुनेछैन । तर, आगामी २०८२ साल मंसिरमा गर्नुपर्ने १५औँ महाधिवेशन देउवाले अनेक बहानामा पर सार्ने हुन् कि भन्ने त्रास मुख्यगरी शेखर कोइराला र संस्थापन इतर समूहमा देखिन्छ । केन्द्रीय समिति बैठकमा समयमै सभापतिले महाधिवेशन गर्न आलटाल गर्नुहुन्छ कि भन्ने आशंका बढेको टिप्पणी गर्दै डा.कोइरालाले महाधिवेशन सार्ने प्रपञ्च गरे पार्टी नै दुर्घटनामा पर्नेसमेत चेतावनी दिनुभएको छ । जवाफमा सभापति देउवाले समयमै महाधिवेशन हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
प्रचण्डमाथि शर्मा र पुनको हमला
पछिल्ला दिनहरूमा माओवादी केन्द्रमा कांग्रेसमा भन्दा चर्को ढंगले नेतृत्व हस्तान्तरणको मुद्दा उठेको छ । माओवादी केन्द्रको बैठकमा उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन दुवैले अध्यक्ष प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न दबाब बढाउनुभएको छ । शर्मा र पुनको भाषाशैली फरक÷फरक भए पनि आशय प्रचण्डले अब नेतृत्व छोड्नुपर्ने नै हो । माओवादी स्थायी कमिटी बैठकमा नेता शर्माले त लिखित डकुमेन्ट नै पेस गरेर नेतृत्व हस्तान्तरण गर्न प्रचण्डलाई आग्रह गर्नुभएको छ । प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न र भूमिकालाई सुनिश्चित गर्न अबको बाँकी समय वैचारिक र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका प्रचण्डले चाहेकै व्यक्तिलाई हस्तान्तरण गर्नुपर्ने शर्माको जिकिर छ । शर्माले मात्र होइन प्रचण्डकै विश्वास पात्र पुनले पनि प्रचण्डको विकल्प खोज्ने बेला भइसकेको स्थायी कमिटी बैठकमै बताउनुभएको छ । प्रचण्डले जनयुद्धपूर्वदेखि शान्ति प्रक्रियासम्म अविच्छिन्न रूपमा ३५ वर्ष नेतृत्व लिने अवसर पाएको तर अब भने त्यस्तो हुन नहुने पुनको तर्क छ ।
३५ वर्षपछि प्रचण्डप्रति शंका लागेको टिप्पणी
नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य एवं पूर्वसभामुख ओनसरी घर्तीले पहिलोपटक अध्यक्ष प्रचण्डप्रति शंका बढेको टिप्पणी गर्नुभएको छ । स्थायी कमिटी बैठकमा नेतृ पुनले विधि र पद्धतिको कुरा गर्नेलाई पार्टी विभाजनको आरोप लगाउने नेतृत्वको कार्यशैली आपत्तिजनक भएको समेत जिकिर गर्नुभएको छ । राज्यसत्ता पार्टीकै नेतालाई सकाउन लागिपरेको गम्भीर आरोपसमेत लगाउँदै पुनले भन्नुभयो, ‘राज्यसत्ता हामीतिर नै लगाउन खोजियो । पार्टीमा आशंका र अविश्वास यति बढ्यो कि ३५ वर्षको यात्रामा अध्यक्ष प्रचण्डप्रति पहिलोपटक शंका लाग्यो । पार्टीकै नेताहरूविरुद्ध राज्यसत्ताको प्रयोग गरेर गलत हल्ला फिँजाइयो । ‘कोरी (कुष्ठरोगी) नै भए पनि बाउ त मान्नुपर्यो । मान्नकै लागि प्रचण्डलाई अध्यक्ष स्वीकारिएको छ ।’
पहिलोपटक नीति र नेतृत्व दुवै फेर्ने प्रस्ताव
नेकपा माओवादी केन्द्रमा पहिलोपटक नीति र नेतृत्व फेर्ने कुराले प्रवेश पाएको हो । ३५ वर्षदेखि पार्टीमा एकछत्र नेतृत्व गरिरहनु भएका प्रचण्डलाई चुनौती दिने गरी कोही नेता तयार नभए पनि माओवादीको वैचारिक कार्यदिशा र नेतृत्व दुवैको समीक्षा गर्नुपर्ने प्रस्ताव नेताहरूले राखेका हुन् । पार्टी कमजोर भएको, जनतासँगको सम्बन्ध बिग्रेको, आफ्नो वर्गबाट टाढा भएको र नेताहरूको चरित्रमा ह्रास आएको छ भन्ने कुरामा सबैको स्वीकारोक्ति छ । नेताहरूले अहिलेको नीतिले पार्टी नचल्ने र जनताको मन जित्न नसक्ने भन्दै बदल्नुपर्ने धारणा राखेका छन् । उपमहासचिव वर्षमान पुनले नीति र नेतृत्व विकास गरेर जाने प्रस्ताव गर्नुभएको छ । अर्का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्ड र पार्टीको कार्यदिशामै पुनरावलोकन गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ ।
प्रचण्डसामु १४ वर्षपछि फेरि आएको संकट
डा.बाबुराम भट्टराईले माओवादी छोडेपछि नौ वर्षदेखि चुनौतीरहित देखिनुभएका प्रचण्डको नेतृत्वप्रति पार्टीभित्रै गम्भीर प्रश्न उठेको छ । ९ असोज २०७२ मा बाबुरामले माओवादी छोडेपछि नेतृत्वप्रति अहिलेसम्म कसैले चुनौती दिएका थिएनन् । एमालेसँग एकता र फेरि माओवादी पुनःस्थापना हुँदा पनि प्रचण्ड निर्विवाद नेतृत्व भएको निष्कर्ष निकाल्ने होड चल्ने गरेको थियो । तर, उपमहासचिव शर्माले त्यो होडलाई बिथोल्ने गरी प्रस्ताव ल्याउनुभएको छ । बाबुरामले माओवादी छोड्नु अघिसम्म प्रचण्डलाई चुनौती दिने नेताहरू पार्टीभित्र थिए । बेलाबेला प्रचण्डविरुद्ध नेताहरू देखिने भएकाले माओवादीभित्र ‘बमवार्ड द हेडक्वाटर्स’ प्रचलित नै थियो । २०६७ सालमा त धोबीघाट गठबन्धन भएकैले बाबुरामलाई प्रधानमन्त्री छोड्न प्रचण्ड बाध्य हुनुभएको थियो । तर, केही समयभित्रै प्रचण्डविरुद्ध धोबीघाट गठबन्धन गर्नेहरूदे पार्टी छोडे । अहिले कतिपयको आफ्नै पार्टी छन् भने केही नेता एमालेमा छन् । चुनौती दिने नेताहरूले नै पार्टी छोड्दा निर्विकल्प जस्तै बनेका प्रचण्डले आफ्नो चाहनाअनुसार पार्टी चलाउँदै आउनुभएको थियो । आफूअनुकूल पार्टी चलाइरहनु भएका प्रचण्डलाई योपटक भने विगतका आफ्नै सहयोगी रहनुभएका उपमहासचिवद्वय शर्मा र पुनले चुनौती दिनुभएको छ । पार्टीभित्रैबाट प्रचण्डसामु देखिएको पछिल्लो चुनौतीलाई धोविघाट प्रकरणको पुनरावृतिको रूपमा समेत लिने थालिएको छ ।
कांग्रेस बैठक भदौ ७ गते सम्मका लागि स्थगित
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भदौ सात गतेसम्मका लागि स्थगित भएको छ । साउन २३ गतेबाट सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी छ । सोमबार केन्द्रीय समितिको बैठक समापन गर्ने भनिए पनि नेताहरूले धारणा राख्नेक्रम बाँकी रहेको तर मंगलबारदेखि संसद् बैठक रहेकाले ७ गते बस्ने गरी बैठक स्थगित गरिएको कांग्रेसले जनाएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय कार्यसमितिको अर्को बैठक भदौ ७ गते शुक्रबार बिहान ११ः०० बजे बस्नेछ ।
समाजवाद शब्द हटाउन कांग्रेस नेता घिमिरेको माग
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक तथा केन्द्रीय सदस्य श्याम घिमिरेले पार्टीको मूल आदर्शका रूपमा रहेको ‘समाजवादी’ शब्द हटाउन माग गर्नुभएको छ । जारी केन्द्रीय समिति बैठकमा घिमिरेले कांग्रेसले समाजवादी शब्द राख्दा कम्युनिष्टहरूलाई फाइदा भएको तर्क गर्दै भन्नुभयो, ‘संसारका कुनै पनि लोकतान्त्रिक मुलुकले आफूलाई समाजवादी भन्दैनन्, हामी र कम्युनिष्ट पार्टीबीचको अन्तर छुट्टाउन पनि कांग्रेसले समाजवाद शब्द हटाउनुपर्छ । आज बिपी जीवित हुनुभएको भए समाजवादको रटान लगाइरहनु हुन्थ्यो ? के हामीले भनेजस्तो स्केन्डेभियन मुलुकहरूले आफूलाई समाजवादी भन्छन् कि, सोसल डेमोक्र्याट ?’
चौधरीको प्रश्न- ‘निजी क्षेत्रको लिड गर्ने पार्टी कुन हो ?’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरीले निजी क्षेत्रका लगानीकर्ता निराश रहेको बताउनुभएको छ । ८० प्रतिशतभन्दा बढी लगानीको अभिभारा निजी क्षेत्रसँग रहेको भन्दै उहाँले लगानीकर्ता अहिले निराश र त्रसित रहेको जिकिर गर्नुभयो । सोमबार पार्टीको केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रममा चौधरीले भन्नुभयो, ‘कांग्रेस पार्टीले निजी क्षेत्रको आकांक्षा, चाहनाको नेतृत्व गर्छ कि गर्दैन ? निजी क्षेत्रको लिड गर्ने पार्टी कुन हो ? कांग्रेसले यो अवसर गुमाउने त होइन भन्ने चिन्ता मलाई छ । कांग्रेसको आर्थिक नीति र दृष्टिकोण अहिलेसम्म अस्पष्ट छ । हाम्रा पार्टीका संस्थापक एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले उतिबेला भन्नुभएको उत्पादन बिनाको वितरणले समाजवाद ल्याउन सक्दैन भन्ने कुरा यति बेला प्रमाणित भइसकेको छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच