कृष्णप्रसाद सुवेदी/स्वतन्त्र पत्रकार
काठमाडौं । वैदेशिक रोजगारीको लागि दुबई पुगेका करिब पन्ध्र हजार नेपाली कामदारको अवस्था दयनीय रहेको खुल्न आएको छ । नेपालका विभिन्न म्यानपावर कम्पनीबाट रोजगारीमा गएका उनीहरूले नेपालमा सम्झौता गरे बमोजिमको सेवासुविधा र तलबमान नपाउँदा उनीहरू कठिन अवस्थामा गुज्रिरहेका छन् ।
पासपोर्ट नम्बर ११०७०५०९ र अन्तिम श्रम स्वीकृति स्टिकर नम्बर ०४७०१९०९० रहेका धादिङका रेशम भण्डारी यूएईको ‘टि म्याक्स अन डिमाण्ड लेवर सप्लाई’ कम्पनीमा सन् २०२३/११/मा अन्तिम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानु भएको थियो । नेपालमा गरे बमोजिमको करार सम्झौता नभएपछि रोजगारीमा गएको आठ महिनापछि भण्डारी आफन्तको सहयोगमा बल्लतल्ल नेपाल फर्किन सफल हुनुभएको छ । भण्डारीले एक लाख २५ हजार म्यानपावर कम्पनीलाई बुझाउनु भएको थियो ।
भण्डारीसँग वैदेशिक रोजगार विभागमा दर्ता कायम रहेको इजाजत नम्बर १६०६ इगल म्यानपावर कन्सलट्यान्टले रकम लिएको थियो भने कागजात प्रक्रिया मिलाएर इजाजत नम्बर ९८४ सब इन्टरनेश्नल हृयुमन रिसोर्सले अन्तिम श्रम स्वीकृति लिएर रोजगारीमा पठाएको थियो । यो वैदेशिक रोजगार ऐन २०६४ विपरितको कार्य हो । ऐनको दफा ४७ र दफा ५५ बमोजिम कारबाही भएको भए म्यानपावरलाई जरिवान, कैद सजायँ र पीडितलाई सम्झौताविपरीत दिएको कम तलबको पूरै हर्जनासहित क्षतिपूर्ति दिनुपर्ने थियो ।
यसरी एउटा म्यानपावर कम्पनीले रोजगारीको नाममा रकम असुल्ने र केही रकम दिएर अर्को म्यानपावर कम्पनीबाट अन्तिम श्रम स्वीकृति लिई रोजगारीमा पठाउन मिल्दैन । यसरी अन्तिम श्रम स्वीकृतिमात्र लिने म्यानपावर कम्पनीले जनही ३० हजारदेखि पचास हजारसम्म रकम लिएर मान्छे उडाउने काम गर्दै आएका छन् । यो विगतदेखि कै परम्परा हो ।
हामी त आफ्नै देशमा बिक्री भएका रहेछौं : पीडित भण्डारी
दुबईबाट नेपाल फर्कनुभएका धादिङका रेशम भण्डारी वैदेशिक रोजगारीमा गएकाहरूको अवस्था ज्यादै दयनीय भएको गुनासो गर्नुहुन्छ । उहाँ विदेशमा ठगीनेभन्दा पनि आफ्नै देशकाबाट ठगीने गरेको बताउँनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मैले आफूले काम गरेबापतको सत्र सय दिराम छाडेर नेपाल फर्केको छु । मलाई नेपालबाट आठ सय बेसिक तलब र दुई सय पचास ओभर टाइमको गरी एक हजार पचास दिराममा होटल क्लिनरको काममा सम्झौता गराइएको थियो । तर, दुबई पुगेपछि ‘वोयर हाउसमा काम गर्न लगाइयो ।’ सब इन्टरनेश्नल हृयुमन रिसोर्सले दिल्ली ट्रान्जिट बनाएर दुबई लग्यो । दुबई पुगेपछि डेढ घण्टा लिन आएन । त्यो दिन हामीहरू भोकभोकै सुत्यौं ।’ हामीसँगको कुराकानीमा उहाँले आफ्नो पीडा आफ्नै शैलीमा व्यक्त गर्नुभएको छ ।
त्यो सप्लायर्स कम्पनीका १२ भन्दा बढी क्याम्प छन् । ती क्याम्पमा २० हजारदेखि ३० हजारसम्म कामदार काम गर्छन् । त्यसमा नेपालीहरू १७ हजारको हाराहारीमा छन् । उनीहरूको अवस्था मेरोभन्दा पनि नाजुक छ । उनीहरूलाई सम्झौताविपरीतको काम गर्न बाध्य पारिएको छ । बेसिक छ सयभन्दा बढी तलब कसैलाई दिइएको छैन । कम्पनीमा प्रत्येक महिना दुईजनाभन्दा बढी कामदारले आत्महत्या गर्छन् । आत्महत्या गरेका कामदारको इन्स्युरेन्सलगायत प्राप्त रकम नेपाली म्यानपावर कम्पनी र रोजगारदाता सप्लायर्स कम्पनी मिलेर खाने गरेका छन् । नेपालमा लाशमात्रै पठाउने हो । यस्ता कुराहरू गोप्य राखिन्छ ।
हामीले इगललाई रकम र सबै कागजात बुझाएको हो । त्यसपछि उनीहरूले सव इन्टरनेश्नलमा पु¥याएछन् । श्रम स्वीकृति र कागजात सव इन्टरनेश्नल हृयुमन रिसोर्सको छ । हामीलाई अन्तर्वार्ता लियो । हामीले रकम इगललाई बुझाएको हो । इगलले कागजात सव इन्टरनेटमा पठाएको रहेछ । हामीलाई त्यो कुरा थाहा भएन हामी त आफ्नै देशमा बिक्री भइसकेका रहेछौं । इगल म्यानपावर कनसलट्यान्टले इन्टरभ्युका लागि हामीलाई बसुन्धरा जान भन्यो । इन्टरभ्यु दियौं । त्यतिबेलासम्म हामीलाई पनि थाहा भएन हामी अर्कै म्यानपावरबाट जान लागेका छौं भन्ने कुरा ।
इगलले पैसा लिएर आउनु भन्यो । हामीहरू पैसा लिएर म्यानपावर कन्सलट्यान्ट पुग्यौं । पैसा बुझाएको रसिद माग्दा तपाईंहरूको भिजा, टिकट, कागजात र रसिद एकै पटक आउँछ । अहिले सर हुनुहुन्न भनियो । हामीले सुरुमा एक लाख पचास हजारमा डिल गरेका थियौं । तर, पैसा लिएर गएपछि एक लाख २५ हजार चाहिन्छ भन्यो । हामीले दियौं । त्यो म्यानपावर चक्रपथ कतार भिजा सेन्टरको विपरीत ५०० मिटरभित्र छ ।
इगल कन्सलट्यान्टलाई पैसा बुझाइसकेपछि अर्को दिन आउनु भनेर पठायोे । हामी गयौं, त्यसपछि हामीलाई सव इन्टरनेश्नल हृयुमन रिसोर्सबाट सबै काम भएको छ । त्यहीबाट कागजात लिएर जानु भनेर पठाइयो । बल्ल हामीलाई थाहा भयो हामीलाई वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनी सव इन्टरनेश्नल हृयुमन रिसोर्स रहेछ भनेर । हामीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँदिल्ली ट्रान्जित बनायो । नयाँदिल्लीमा १४ भण्टा ट्रान्जिटमा बसेर दुबई एयरपोर्ट पुग्यौं । तर, डेढ घण्टासम्म लिन आएन । त्यो रात हामी भोकभोकै सुत्यौं । हामीलाई झुक्काइयो ।
नेपाली दूतावासका एक कर्मचारीसँग भएको चिनजानको आधारमा म नेपाल फर्कन सफल भएको हो । दुई वर्षका लागि भनेर गएको आठ महिनामा फर्कनु पर्यो । मैले काम गरेकोे क्याम्पमा सत्र सय जति नेपालीहरू काम गरेका छन् । प्रत्येक महिना दुई/तीनजना हाम फालेर आत्महत्या गर्छन् । मान्छेको मृत्यु भएपछि पाउनुपर्ने क्षतिपूर्ति, बीमाबापतको रकम सबै कम्पनीले नै खाने गरेको छ । इन्स्युरेन्सलगायत दुवई कानुन बमोजिम प्राप्त हुने रकम नेपाली म्यानपावर कम्पनी र त्यो रोजगारदाता कम्पनीले नै खाने गर्दछन् । लाशमात्र बाक्सामा हालेर पठाइदिन्छ । नेपालमा कुनै रकम आइपुग्दैन ।
हामी होटल क्लिनरमा गएको हो । हजार पचास दिरामको सम्झौता गरेर गएको हो । हामीलाई तीन दिनसम्म ‘वोयर हाउस’मा काम गर्न लगायो । तीन दिनपछि होटल क्लिनरमा हुन्छ भन्यो तर वोयर हाउसमै बलजफती काम गर्न लगायो । वेशिक आठ सय ओभर टाइम दुई घण्टा र खान बस्न २५० हो । त्यसपछि क्याम्पमा लगेर छाड्यो हामी त्यो दिन पनि भोकभोकै सुत्यौं ।
कम्पनीले तीन दिन काम गर त्यसपछि होटल क्लिनरमा लगाउँछु अहिले भिजा छैन भन्यो । कमाउन आएको हो भनेर हामीले काम गर्ने निर्णय गर्यौं । तर, होटल क्लिनरमा कामल गाएन उल्टै धक्कावाजी गरेर म र मेरो साथीलाई १५० का दरले फाइन गराएर जरिवाना लगायो । हामीले ४०० बढी तिरेंका छौं । प्रत्येक महिनाको ८०० र २५० हो तर हामीलाई बेसिक ६०० दिराम मात्र दिइयो ।
१० घण्टाको करार सम्झौतामा गएकोमा बलजफती १४ घण्टासम्म काम गरायो । हामी इण्डोरमा गएको हो । १० घण्टा भनेर १४ घण्टासम्म काम गरायो । कमाउन गएको हो भनेर काम ग¥यौं । तर, काम गर्न नसक्ने अवस्था भएपछि दुःख पाएर आठ महिनामा फर्केको हो । मैले वोयर हाउसमा ६ महिना सावेल हानेर आएको हुँ । लोडिङ, अनलोडिङ गर्न लगायो । यो करार सम्झौताविपरीतको कार्य थियो । आफन्तको सहयोगमा बल्लतल्ल नेपाल फर्कन सफल भएँ । म जस्ता दुःख पाएका हजारौं नेपालीहरू पीडामा छन् ।
सम्झौता बमोजिमको बाहेक काम गर्दिनँभन्दा जबरजस्ती धम्काएर, फाइन लगाएर काम गर्न लगाउँथ्यो । तेरो बाऊको कम्पनी हो भन्थ्यो कम्पनीले । त्यो कम्पनीका १०, १२ भन्दा बढी क्याम्प छन् । ती प्रत्येक क्याम्पमा १५ सय बढी नेपाली कामदार छन् मैले काम गर्ने कम्पनीमा १५ सयजति नेपाली कामदार थिए । सबै क्याम्पमा गरेर १५ देखि १७ हजार बढी नेपाली मैलेभन्दा पनि दुःख पाएर बसेका छन् ।
मैले काम गर्ने क्याम्पमा एकजना नेपाली छतबाट हामफाल्न खोज्नुभयो, तर बचाउन सफल भयौं । त्यो कुरा भित्रभित्रै गुपचुप बनाइयो । मैले नेपाली दूतावासमा गएर म जस्तै दुःख पाएका नेपालीहरू धेरै छन्, उनीहरूको रक्षा गर्दिनुस्, बचाइदिनुस् भनेको थिएँ । दूतावासले हामी कारबाही गर्छौं भनेको छ । कारबाही गर्यो कि गरेन मलाई थाहा भएन ।
मैले यूएईस्थित नेपाली दूतावासमा गएर हाम्रो कम्पनीमा काम गर्ने नेपालीहरूको हालत मेरोभन्दा पनि खराब छ, तपाईंहरू प्रहरी लिएर आउनुहुन्छ कि तपाईंहरूमात्र आउनु हुन्छ भनेर भनेको थिएँ । उहाँहरू जानुभयो कि जानु भएन मलाई थाहा छैन अहिले ।
इन्टरभ्यु दिन जाँदा अरू म्यानपावरका मान्छे पनि जानसक्नु हुन्छ भन्यो । तपाईंहरूको शनिबारको टिकट छ भन्यो । एक लाख पचास हजारमा डिल भएको थियो । त्योभन्दा अगाडि मैले १५ हजार बुझाएको थियो । १५ हजार भएपछि तपाईंहरूको स्वास्थ्य परीक्षण र अन्य काम अगाडि बढ्छ भनियो । काम सुरु हुन्छ भने इगलका कृष्ण ढकालले । एक लाख ८५ हजार नै चाहिन्छ भन्नु भयो । मैले बुझाएको रकमको रसिद माग्दा तपाईंहरूको भिजा र टिकटसँगै आउँछ भनेर रकम असुली भयो । अहिले एक लाख क्षतिपूर्ति दियो । त्यसैमा चित्त बुझाएर बसेको छु । सब इन्टरनेश्ल हृयुमन रिसोर्सका सञ्चालकहरूमा सञ्जितकुमार पटेनी र कमलबहादुर निरौला हुन् भने इगल म्यानपावर कन्सलट्यान्ट सञ्चालक रमेश सिंह खड्का हुन् । हामीले सञ्चालकद्वयलाई सम्पर्क गर्न खोज्दा उहाँहरू कार्यालयमा नभएको जानकारी गराइयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच