बंगलादेशका युवाहरूले लाठीको भरमा गरेको विद्रोहले ल्याएको परिवर्तनको राजनीतिक प्रभाव बंगलादेशमा मात्रै सीमित नभएर संसारभरै फैलिने निश्चित छ । परिवर्तन मतदानबाट होइन विद्रोहबाट भन्ने शैली राजनीतिको ध्वंसात्मक राजमार्ग सभ्य, शिष्ट र परिवर्तन शान्तिपूर्ण मतदानबाट गर्ने संसारका लागि किमार्थ शोभनीय मानिँदैन । बंगलादेशकी शेख हसिनाजस्तो शक्तिशाली प्रधानमन्त्रीलाई जनताको लाठीले देश छोड्न बाध्य हुनुपर्यो । उनलाई केही महिनाअघिको निर्वाचनमा पराजित गर्न यी युवाहरूले किन सकेनन् ? शान्तिपूर्ण मतदानबाट पराजित गर्न असमर्थहरू लाठीबाट झुकाउन किन सफल भए ?
देशका युवाहरूले मन मस्तिष्कबाट डर झिके भने जस्तोसुकै शक्तिशाली बन्दुकलाई पनि लाठीले पराजित गर्छ भन्ने भनाइ एकपटक फेरि बंगलादेशका युवाहरूले प्रमाणित गरेका छन् । यसले संसारका वंशानुगत तथा निर्वाचित तानासाहलाई यदि सुध्रन प्रेरित गर्न सक्यो भने बंगलादेशको यो परिवर्तनले संसारलाई नै लाभान्वित गर्न सक्छ । बंगलादेशमा लाठीले ल्याएको परिवर्तनले द्वन्द्वको बीजारोपण भयो भने यो घटनाक्रम बंगलादेशका जनताका लागि दुर्भाग्य पनि हुनसक्छ । विद्यार्थीहरूले आन्दोलनपछिको नेतृत्व छनौट गर्दा बंगलादेशका विद्वान् तथा नोबेल पुरस्कार विजेता तथा गरिबी निवारणका क्षेत्रमा अभूतपूर्व योगदान गरेका व्यक्तिलाई छानेका छन् ।
तर, विगतमा उनी पनि शेख हसिनाबाटै पीडित थिए भन्ने समाचारले कतै उनी अघिल्लो शासनप्रति पूर्वाग्रही बने भने यसले नागरिक असन्तुष्टिलाई बढाउँछ भन्ने कुरामा पक्कै सोच्लान् । जो सत्तामा आउँछ ऊ आग्रह र पूर्वाग्रहबाट मुक्त हुनसकेमात्र सफल हुन्छ । युनुसको नेतृत्वको प्रभाव कस्तो पर्छ हेर्न पर्खनै पर्छ । धेरैजसो लाठीले भएका परिवर्तन दीर्घकालमा फलदायी हुन नसकेका उदाहरणले यस परिवर्तनप्रति विश्वजनमत सशंकित छ । राजनीतिक परिवर्तनका लागि राजनीतिक परिवर्तन भयो र यदि बंगलादेशमा अशान्तिको बीजारोपण भयो भने संसारकै दुर्भाग्य हुन्छ ।
हसिनाको कार्यकालमा बंगलादेशमा आर्थिक समृद्धिको राम्रो पूर्वाधार तयार गरेकी थिइन् तर विकास र सुशासनलाई एकसाथ लैजान असमर्थ रहेको कुरालाई विद्रोहले भने पुष्टि गर्यो ।
बंगलादेशकी शक्तिशाली बहालवाला प्रधानमन्त्री तथा बंगलादेशका निर्माता तथा पूर्वराष्ट्रपति शेख मुजिबुर रहमानकी उत्तराधिकारी शेख हसिना विद्यार्थी विद्रोहको सिकार किन भइन् ? किन लखेटिइन् ? किन जबरजस्ती निर्वासित जीवन बिताउन बाध्य भइन् ? यस घटनाले संसारका निर्वाचित तानासाहलाई सचेतना र सजग रहन पाठ सिकायो भने बाँकी संसारका लागि भने सकारात्मक घटना बन्न सक्छ । निर्वाचित हँुदैमा त्यो अवधिभर सत्तामा रहन जनताको समर्थनविना सकिँदैन भन्ने शिक्षा बंगलादेशको घटनाबाट विश्वका निर्वाचित तानासाहहरूले यदि लिए भने यस घटनाक्रमलाई सकारात्मक लिनुपर्छ ।
यदि नसुध्रदा निर्वाचित तानासाह कसरी सक्किन्छन् भन्ने राम्रो विश्व उदाहरण बनेकी छन् शेख हसिना । बिरासत र बहुमतको दम्भ जनताको आक्रोशको अघि गल्र्यामगुर्लुंम भएर कसरी ढल्छ भन्ने उदाहरण हुन् हसिना र उनको सरकार साथै आवामी लिग पार्टी । प्रजातन्त्रमा बहुमतका लागि सत्तामा हुँदा जुनसुकै हर्कत गर्ने र जनभावनालाई बेवास्ता गर्नेहरूको राजनीतिक अवसान कति दर्दनाक हुन्छ भन्ने नजिर बनिन् हसिना । बहुमतको मात, आरक्षणको लात साथै विपक्षीप्रति असहिष्णु व्यवहार, आन्दोलनलाई दमन गरेर सत्तामा टिक्छु भन्ने सत्ता र शक्तिको घमण्ड नै उनी लखेटिनुपर्ने प्रमुख कारण बने ।
उनको कार्यकालमा बंगलादेशमा आर्थिक समृद्धिको राम्रो पूर्वाधार तयार गरेकी थिइन् तर उनले विकास र सुशासनलाई एकसाथ लैजान असमर्थ रहेको कुरालाई यस विद्रोहले भने पुष्टि ग¥यो । जनतालाई चिढ्याएपछि आर्थिक विकास गरे पनि सत्तामा टिक्न सकिँदैन भन्ने उदाहरण हुन् हसिना । त्यसैले विकासका नाममा दमन र कुशासनको साहारामा शासन गर्ने निर्वाचित तानासाहलाई यस घटनाले सजग र सतर्कताको निर्मम सन्देश दिएको छ । सबै परिवर्तन देश र जनताका लागि फलदायी हुन्छन् नै भन्ने ग्यारेन्टी हुँदैन ।
प्रगतिपथमा रहेको बंगलादेशका लागि यो परिवर्तन नेपालमा माओवादको विद्रोह जस्तै अग्रगमनको नाममा पश्चगमनतिर भावी राजनीति निर्देशित भयो भने बंगलादेशका लागि फेरि अर्को दुर्भाग्य निम्तिन्छ । नेपालमा भएका परिवर्तनले राजनीतिक व्यवस्थालाई परिवर्तन गरे तर सबै परिवर्तन जनताको अवस्थामा सकारात्मक परिवर्तन ल्याउन सर्वथा असफल प्रमाणित भए । कतै बंगलादेशीहरूको नियति पनि नकारात्मक दिशातिर निर्देशित त हुँदैन भन्ने आशंका सुरक्षित छ । देशमा भएको राजनीतिक परिवर्तनपछि जहाँ अल्पसंख्यक हिन्दुमाथि हमला र हिंसा भएका समाचार सार्वजनिक भएका छन् र उनीहरूको धनमाल असुरक्षित भएको विषय र समाचारले विश्वजनमतलाई निराश बनाएको छ ।
परिवर्तनपछिको निराशाले जनताको समर्थनमात्रै होइन शान्ति सुरक्षा र निर्वाचनबाट सत्ता हस्तान्तरण हुन्छ भन्ने विश्वास डग्मगाउँछ । कतै अदृश्य शक्तिले प्रजातान्त्रिक शासनलाई असफल बनाएर बंगलादेशलाई पुनः सैनिक शासनको भुमरीमा होम्ने त होइन भन्ने आशंकालाई अन्यथा मान्न सकिँदैन । अहिले सत्ता जोबाट जसकोमा हस्तान्तरण भए पनि मूलभूत विषय भनेको जनताले सुरक्षाको अनुभूति गर्न पाउने र निर्वाचनको सुनिश्चित जस्ता पूर्वशर्तमा कहीँकतै सम्झौता हुन सक्दैन ।
नेपालमा परिवर्तनपछि विकासको कुरै छोडौं विनाश गर्नेसमेत सत्ताको तर मार्ने वातावरण र अवस्थाले जनतामा चरम निराशाको विकास भयो । जनताको खबरदारीको सधैं बेवास्ता गर्ने चरित्रमा कहीँकतै सुधारका लक्षणहरू आजका मितिसम्म देखिएका छैनन् । जनताले निर्वाचन परिणामका माध्यमले प्रतिपक्षमा बस्ने आदेश जारी गर्दागर्दै सत्ताको तर मार्न विभिन्न षड्यन्त्र र फट्याइँ गर्नेहरूको बलमिच्याइँको चपेटामा सरकारको चाबी छ । सबैभन्दा बढी संख्या भएको पार्टीले सरकार चलाउनुपर्नेमा जनादेशविपरीतको हानाथापले भ्रष्टाचारका लागि सरकार बन्छन् भन्ने प्रमाणित हुन्छ तर जो भ्रष्ट छ उसैले सुशासनको बखान गर्दा ताली ठोक्नेहरूको जमातले नै देशलाई रसातलतिर डोहो¥याउने परिस्थिति नै नेपाल र नेपालीको दुर्भाग्य हो ।
नेपालमा विगत तीस वर्षमा जस्तै अबका दिनमा पनि भ्रष्टाचार, अनियमितता, नातावाद र कमिसनतन्त्र साथै अनुत्पादक खर्चको भुमरीमा देशलाई होम्ने शैलीले यदि अझै निरन्तरता पाउने हो भने नेपालमा सत्तारुढमात्रै होइन पालैपालो गठबन्धनमा सहभागी हुने पक्ष र प्रतिपक्षी सबै एकमुष्ट लखेटिन सक्ने सम्भावनालाई बंगलादेशको घटनाक्रमले जबरजस्त पुष्टि गरेको छ । बंगलादेशको वर्तमान विद्रोहले विश्वका कुशासन र भ्रष्टाचारका अगुवालाई एकमुष्ट खबरदारीसमेत गरेको छ ।
आन्दोलनको प्रारम्भिक समयमै आरक्षणलाई हटाइएको भए शेख हसिनाले बंगलादेशबाट रुँदैरुँदै भाग्नुपर्ने थिएन । सत्तामा सधैं राइँदाइँ गर्ने सोच पाल्नेहरू बढारिन्छन्, लखेटिन्छन् अझ मारिन्छन् पनि । नेपालमा राजनीतिको पानी उम्लने बिन्दुमा छ । आगोमा थोरै हररर बल्ने दाउरा थपिदिने बित्तिकै उम्लिहाल्छ । सत्तामा हुनेहरू जोकोहीले जनताका अपेक्षा र आकांक्षाको होली अबका दिनमा नखेल । शेख हसिना लखेटिएपछि शासकीय अत्याचार टिक्दैन सत्ता र शक्तिको अगाडि जनता कहिल्यै झुक्दैनन् भन्ने कुरा प्रमाणित भएको छ । नेपाली राजनीतिका जिम्मेवारहरूले पनि अब भ्रष्टाचार गर्न छोड्ने कि देश छोड्ने दुईमध्ये एक रोज्न जनताले निसंकोच ढिलोचाँडो आदेश जारी गर्छन् ।
विश्वका निर्वाचित तानासाहहरूले पारदर्शिता, नैतिकता, इमानदारीलाई राजीनामा गरेर गरिने राजनीतिले भ्रष्टाचार र कुशासनको बिगबिगी छ । नेपाली राजनीति, राजनीतिकर्मीहरूले यी तीन विशेषतालाई तिलाञ्जलि दिएकाले नै भ्रष्टाचार मौलाएको छ ।
त्यो आदेशको पालना यदि भएन भने संसारका जनविरोधी शासकहरूले शेख हसिनाको जस्तै कष्टकर बाटो अख्तियार गर्न विवश हुनैपर्छ । बंगलादेशकी शक्तिशाली र विकासकी अभियन्ता शेख हसिना कसरी र किन क्षणभरमा शरणार्थी बनिन् ? यो विषयलाई अध्ययन मनन गर्न र सबै दम्भी निर्वाचित तानासाहहरूलाई जनताको भावना र चाहनाविपरीत शासन गर्नु हुँदैन भन्ने पाठ सिकाएको छ । मैले प्रजातान्त्रिक आन्दोलनको लामो संघर्ष गरेको थिएँ । मैले सशस्त्र युद्धको नाममा धनयुद्धमा योगदान गरे भनेर स्वास्नीलाई मन्त्री, माननीय, छोराछोरी, सालालाई मेयर, साली र गर्लफ्रेन्डलाई राजदूत, भाइभतिजलाई संवैधानिक अंगहरूमा नियुक्ति, प्रहरीको उच्च पदमा नियुक्ति, सरुवामा असुली गर्नेहरूलाई सत्तामा बस्ने हक छैन् भनेर नेपाली युवाहरू जागे भने कतै भाग्नेसम्मको बाटो बन्द गरेर जनकारबाही हुने दह्रो सम्भावनालाई बेवास्ता नगर ।
राणाहरूका र शाहहरूका दरबार राष्ट्रियकरण गरेजस्तै अहिलेका प्रजातान्त्रिक शासक हुँ भन्ने निर्वाचित तानासाहका घर र सम्पत्तिसमेत राष्ट्रियकरण हुने दिन पनि कतै नजिकै आएको त होइन ? मडारिँदो जनअसन्तुष्टिलाई न प्रहरीले सामना गर्नसक्छ न त सेनाले त्यसैले होसियार हुँदै भ्रष्टाचारबाट जम्मा गरेको अकूत धनलाई स्वेच्छाले फिर्ता गरेर प्रायश्चित्त गर्ने अभियान कमसेकम एकजनाबाट सुरुवात त गर । अन्यथा हस्तिनापुरको राजबाट एकैचोटि शेख हसिनाको जस्तै रुँदै, आँसु पुच्दै देशबाटै खेदिनुपर्छ र चपरीमुनिको बास हुनसक्छ । अब राजनीतिक जिम्मेवारीमा रहने जोकोहीले कि त भ्रष्टाचार गर्ने चरित्रलाई परित्याग गर्नुपर्छ कि त देश छोड्न बाध्य हुनुपर्छ ।
देश रोज्नेले भ्रष्टाचार छोड्नुपर्छ यदि भ्रष्टाचार रोज्ने हो भने देश छोड्नुपर्छ । यो मूलमन्त्र नेपालका राजनीति गर्नेहरूले अब बुझ्न ढिलो भइसकेको छ । संसारभरका शासकहरूको कुशासनको, भ्रष्टाचारको र दम्भको हिसाबकिताब अब युवाबाट हुने सन्देश बंगलादेशका युवा विद्यार्थीले दिएका छन् । जसले यी विषयलाई अन्यथा गर्छ उसले बंगलादेशका प्रधानमन्त्रीको नियति भोग्नैपर्छ । निर्वाचित तानासाह भन्दा वंशानुगत तानासाह कम भ्रष्ट हुन्छन् किनकि वंशानुगत तानासाहलाई आफ्ना सन्ततिको राज्य सञ्चालको अवसर नगुमोस् भनेर डराउँछन् तर निर्वाचित तानासाहलाई त्यो डर नहुँदा उनीहरू निष्फिक्री भ्रष्टाचार गर्छन् भन्ने नजिर नेपालका अहिलेसम्मका सबै निर्वाचित तानासाहहरूले स्थापित गरेका छन् । संसारमा बंशानुगत तानासाहको तुलननमा अहिले निर्वाचित तानासाह भ्रष्टाचारमा अगाडि छन् ।
प्रजातान्त्रिक शासनको विशेषता भनेको पारदर्शिता, नैतिकता, इमानदारीको शासन हो । विश्वका निर्वाचित तानासाहहरूले पारदर्शिता, नैतिकता, इमानदारीलाई राजीनामा गरेर गरिने राजनीतिले भ्रष्टाचार र कुशासनको बिगबिगी छ । नेपाली राजनीति, राजनीतिकर्मीहरूले यी तीन विशेषतालाई तिलाञ्जलि दिएकाले नै भ्रष्टाचार मौलाएको छ । जहाँ भ्रष्टाचार मौलाउँछ भनिन्छ त्यहाँका शासकहरू बौलाउँछन् । नेपाली शासकहरूका बोली र व्यवहारमा त्यो कुरा देखिएको छ । यसलाई वर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीका हिजोका र अहिलेका भाषणले पुष्टि गर्छ । उनका अनुसार एमालेले सरकारमा खुट्टा टेक्यो कि सरकारको कामको गति पाँच नम्बर गेयरमा जान्छ ।
हालसम्मका कुनै पनि सरकारहरूले देश विकासको दीर्घकालीन सपनालाई साकार गर्ने काम कुनै सरकारले नगरेको र गर्न नचाहेको कुरा जग जाहेर भएको अवस्थामा ओली सरकारको गाडीको गेयर देश बनाउन होइन बरू कुशासन र भ्रष्टाचारका नयाँ नयाँ काण्डका सन्दर्भमा भने पाँच नम्बर गेयरमै दौडेको होला । देशमा गरिबी हटाउने अभियानमा सफल प्रधानमन्त्री त सत्तामा टिक्न नसकेर भाग्नुपर्ने अवस्था आयो भने ओलीले वैदशिक ऋणलाई अनुत्पादक क्षेत्रमा खर्चेर गरिबी बढाएका छन् । यिनीहरू वास्तवमा सच्चिनेतिर यदि अविलम्ब प्रयास गरेको अनुभूति जनताले तुरुन्तै गर्ने अवस्था नबने यिनीहरू सक्किन्छन् ।
यिनीहरूको अवस्था शेख हसिनाभन्दा अझ कष्टकर हुन्छ । राजनीति परिवार, गुट र पार्टीका हितका लागि नगरेर यदि आमजनताका लागि भयो भने म, परिवार, पार्टीका कार्यकर्ता पनि जनताको र देशको उत्थानको साझा अभियानसँगै सबैको उत्थान हुन्छ भन्ने विश्वासका साथ राजनीति अब भएन भने निर्वाचनमा प्राप्त दुईतिहाइको जहाज जुनसुकै बेला दुर्घटनाग्रस्त हुन्छ भन्ने शिक्षा संसारका बंशानुगत र निर्वाचित तानासाहले ग्रहण गरे भने बंगलादेशका युवाहरूको यो अभियानलाई विश्व राजनीतिले सम्झने छ । (अष्ट्रेलियाको मेलबर्नबाट)
अत्यन्त यथार्थपरक समसामयिक लेख सर। वंशीय तानाशाह राष्टियताकाे सबालमा इमान्दार हुन्छन् । वंश परंपरा थाम्न पनि कम भ्रष्टाचार गर्छन्। तर निर्वाचित तानाशाह यस विपरीत हुँदा रहेछन्।