ओखलढुंगा । कुनै समथर जमिनमा, बालुवा र माटोले भरिएको अखडालाई पनि जित्ने गरी यतिखेर मोलुङ गाउँपालिकामा पर्ने पैह्रे खोला राजनीतिको कंश अखडामा परिणत भएको छ । ओखलढुंगा जिल्ला मोलुङ गाउँपालिका-२ मा पर्ने पैह्रे खोला आधा वर्ष अर्थात् करिब ६ महिना चर्चाको शिखरमा त्यसै पुग्ने गरेको छैन । संघीय सांसद रामहरि खतिवडा र प्रदेश सभा सदस्य प्रदीप सुनुवार जस्ता राजनीतिका बाहुवली मात्रै होइन छिर्के हान्न सिपालु पूर्वसांसद यज्ञ सुनुवार पनि पैह्रे खोलाको पैरोमा शक्ति जमाउन खप्पिस देखिनुभएको छ । ओखलढुंगा बजार पश्चिमको मूल ढोकामा बग्ने सानो खहरे विस्तार हुँदै अब आतंकमा परिणत भएको छ । वर्षा प्रारम्भ हुनासाथ यो आतंकले ओखलढुंगासँग पश्चिमका पाँचवटा भन्दा बढी गाउँपालिकालाई सम्पर्कविहीन बनाउने गरेको छ । वर्षामा मात्रै होइन जुनसुकै बेलाको पानीको प्रवाहको सिकार भइरहेको यो पैह्रे खोलामा पुल बन्ने जनताको आशा काकाकुलको पानी इच्छामा परिणत भएको छ ।
पानी पर्नासाथ ढुंगा, मुढा, लेदोको प्रकोप सुरु हुन्छ । जुन प्रकोपबाट पैदल यात्रु, मालवाहक, सवारीसाधन सबै नै भीरको चिचिण्डो जस्तो गरी अड्किनुपर्छ । यो क्रम करिब असार महिनादेखि असोज महिनासम्म तीव्र हुन्छ । जब लेदोले यातायातका साधनलगायत बाटो हिँड्ने बटुवालाई रोक्न थाल्छ अनि विकासे राजनीतिका कला प्रदर्शित हुन लाग्छन् । केही दिन पहिले राजधानीमा नेपाली कांग्रेस ओखलढुंगा सम्पर्क समितिको भेलामा यस्तो विकासे कला पर्याप्त देखिएको उपस्थितहरू बताउँछन् । तर, हिउँद लागेर पानी पर्न छाडेपछि विकासे कलाको अकस्मात् मृत्यु हुन्छ र अखडा भताभुंग हुन्छ । किनकि हिउँदको समयमा एक थोपा पानी हुँदैन खोलामा ।
स्थानीय सरकारका प्रमुखदेखि सांसदहरू समेतले यो खोल्साको नाम लिएर भाषण गर्ने, मोटरेबल पूल निर्माण गरिहाल्ने आश्वासन दिनु उनीहरूको वाकशैलीको प्रदर्शन र प्रतिनिधि धर्म भएको छ । यतिखेर दया गरी सिद्धिचरण नगरपालिका र त्यस पालिकाका मेयरले प्रत्येक बाढीको सतास सोहोर्न डोजर पठाउने हुनाले अल्पकालीन सुविधा अनुभव नहुने होइन । तर, ती डोजर अन्यत्र पनि जानुपर्ने र पर्याप्त नभएको अवस्थामा मानिसहरूलाई बीच बाटोबाट फर्किनुपर्ने बाध्यता हुन्छ ।
प्रदेश सभा (क)बाट निर्वाचित प्रदेश सांसद प्रदीपकुमार सुनुवार र संघीय सांसद रामहरि खतिवडा चुनाव जितेलगत्तै उक्त खोलामा उपस्थित भएर मोटरेबल पुल निर्माण सुरु गर्ने बताएको दुई वर्ष पुग्न लागेको छ । त्यसअघि पाँच वर्ष यसरी नै बिताउनुभएको थियो यज्ञराज सुनुवारले पनि । तर, अहिलेसम्म पुल निर्माणको कुनै छाँटकाँट देखिएको छैन । जिल्लाका पाँचवटा स्थानीय तहका नागरिकहरूले यो सडक प्रयोग गरेर जिल्ला सदरमुकामलगायत राजधानी काठमाडौं र तराईंका जिल्लाहरूमा आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ । मोलुङ गाउँपालिका, खिजीदेम्बा गाउँपालिका, लिखु गाउँपालिका, चम्पादेवी गाउँपालिका र सुनकोशी गाउँपालिकाका दुईवटा वडाका नागरिकहरूलाई यो सडकको प्रयोग गर्नुपर्ने बाध्यता छ । खिजीदेम्बा र लिखु गाउँपालिकाले वैकल्पिक सडकको रूपमा रामेछापका विभिन्न सडकहरू प्रयोग गर्दै सदरमुकाम आउने गरेका छन् । मोलुङका नागरिक र चम्पादेवीका अधिकांश नागरिकलाई भने यो सडकको विकल्प छैन ।
रामेछापको मन्थली हुँदै खुरकोटको सडक प्रयोग गरेर सदरमुकाम आउने खिजीदेम्बा र लिखुका नागरिकलाई सरदर दुई दिन लाग्ने गरेको छ । ढाँडे, सिरिसे, सालु देउराली मन्थली, खुर्काेट हुँदै सदरमुकाम आउनेहरूलाई एक दिनमा आइपुग्ने सम्भावना रहन्छ । उहाँहरू खुर्काेट आएर काठमाडौंबाट आएका सवारी साधन प्रयोग गर्नुपर्ने हुन्छ । यदि खुर्काेटमा काठमाडौंबाट आउने सवारीसाधन नेभेटेको खण्डमा एक दिन त्यहीँ बस्नुपर्ने हुन्छ । खिजीदेम्बाका नागरिकहरू भने बेलुका खुर्कोट बास बसेर भोलीपल्ट काठमाडौंबाट आएको सवारीसाधन प्रयोग गरी आवतजावत गरिरहेका छन् ।
मोलुङ गाउँपालिकाबाट प्रत्येक दिन काठमाडौंका लागि बिहान बस छुट्ने गरेको छ भने अन्य साना गाडीहरू पनि प्राय दिनभरी नै सञ्चालन भइरहेका हुन्छन् । प्रदेश राजधानी विराटनगरलगायत तराईका अन्य जिल्लाहरूका लागि पनि सवारीका साधनहरू यही सडक भएर आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ ।
आर्थिक वर्ष ७९/८० मा पुल निर्माणका लागि प्रदेश सरकारबाट बहुवर्षे योजना स्वीकृत भएको थियो । आर्थिक र प्राविधिक प्रस्ताव पास भई २०८० वैशाख १३ गते टेण्डरको सूचनासमेत जारी भएको थियो । सोही जेठ १२ गते प्राविधिक प्रस्ताव खोलिएको थियो भने चारवटा फर्मले प्रस्ताव पेस गरिसकेका थिए । प्रस्तावको मूल्यांकन भई आर्र्थिक प्रस्ताव खोल्ने सूचना जेठ २९ गते जारी भएको थियो ।
जिल्ला पूर्वाधार कार्यालय ओखलढुंगाले सूचना जारी गरी निर्माण कम्पनीहरूसँग प्रस्तावसमेत लिइसकेको थियो । निर्माण कम्पनीबाट प्रस्ताव लिइरहेकै बेलामा प्रदेश सरकारले बजेट कटाउने निर्णय गरेको थियो । करिब पौने तीन करोड लागतमा निर्माण सम्पन्न हुने गरी टेण्डर आहृवान गरिएको भए पनि प्रदेश सरकारले बजेट नपठाउने निर्णय गरेपछि पुनर्निर्माण कार्य अनिश्चित भएको छ । सडक निर्माण भएको करिब १७/१८ वर्ष हुँदा पनि यहाँ पुल निर्माण हुन नसक्दा ओखलढुंगाका हजारौँ नागरिकहरूले दुःख भोगिरहेका छन् । तर, केन्द्रीय सरकार जनताको दुःखमा आँसु झार्दैन, प्रदेश सरकार गीत गाउनमै व्यस्त छ, स्थानीय सरकारहरूको स्रोतले धान्दैन, नेतृत्वमा पुग्नेहरू विकासभन्दा पनि भोलिका लागि मतपरीक्षा गर्नमा व्यस्त छन् । सानो पैह्रे खोलाको ठूलो बाढीमा भोलि कसकसले डुब्नुपर्ने हो जनता प्रश्नसामु प्रतीक्षारत छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच