काठमाडौं । तीस दिनअघि स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हाल्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले भन्नुभएको थियो- अस्पतालहरूमा लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य गराउँछु । स्वास्थ्यमन्त्रीको घोषणालाई धेरैले महत्वाकांक्षी योजनाका रूपमा चित्रण गरे । कतिपयले अस्पतालमा लाइन बस्नुपर्ने अवस्थाको मात्रै अन्त्य गर्नसके मन्त्री सफल हुने विश्लेषण गरे । मन्त्री भएको २७ दिनपछि आफ्ना कार्ययोजना सार्वजनिक गर्दा मन्त्री पौडेल अझ बढी महत्वाकांक्षी देखिनुभयो । खासगरी स्वास्थ्य बिमाबाट पाँच लाखसम्मको उपचार व्यहोर्ने योजनालाई पत्रकार सम्मेलनमा उपस्थित धेरैले अझ महत्वाकांक्षी भने । मन्त्री पौडेल भने आफ्ना योजनालाई महत्वाकांक्षी नभएर अपरिहार्य मान्नुहुन्छ । ती योजना कार्यान्वयनका लागि प्रदीपमा प्रष्टतासमेत देखिन्छ ।
मंगलबार मात्रै स्वास्थ्यमन्त्री पौडेलले सातवटै प्रदेशमा मानव अधिकार अंग प्रत्यारोपण केन्द्र स्थापना घोषणा गर्नुभयो । ‘भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रले मात्रै अब पुग्दैन । तत्काल सातवटै प्रदेशमा यसको शाखाको रूपमा उपकेन्द्रहरू स्थापना गर्छौं । यसको सुरुआत कोशी प्रदेशबाट हुन्छ’, मन्त्री पौडेलले भन्नुभयो । एकपछि अर्को महत्वपूर्ण घोषणा गर्दै आउनुभएका मन्त्री पौडेलले काम थालेको एकमहिना मात्रै भएको छ । अहिले नै कामको मूल्यांकन गरिहाल्ने बेला भइसकेको छैन । यद्यपि मौजुदा मन्त्रिपरिषद्मा प्रभाव देखिने गरी काम गर्ने हुटहुटी र प्रयत्न मन्त्री पौडेलले देखाउनुभएको छ ।
लाइन हटाउन के हुँदै छ ?
देशभरका सरकारी अस्पतालहरूमा बिरामीको चाप बढी छ । बिरामीको चापअनुसार पर्याप्त जनशक्तिको प्रबन्ध छैन । यही कारण सबैजसो अस्पतालमा बिरामीले सेवा लिन लामो समय लाइनमा बस्नुपर्ने अवस्था छ । स्वास्थ्यमन्त्री पौडेलले पहिलो दिनदेखि नै लाइन हटाउने योजना कार्यान्वयन गर्न तदारुकता देखाउनुभएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सबै सरकारी स्वास्थ्य संस्थाहरूले भिड व्यवस्थित गर्न, सहज सेवा प्रदान गर्न र लाइन हटाउन आवश्यक प्रबन्धको थालनी गरिसकेको जनाएको छ । मन्त्रालयमा प्रतिवेदन बुझाएका १७ संघीय अस्पतालहरूले विस्तारित स्वास्थ्य सेवाको समय थप तथा सिफ्ट व्यवस्थापन, चिकित्सक राउण्ड तथा बिरामी भर्ना÷डिस्चार्ज बीचमा समन्वय, डाक्टरहरूको राउण्ड तालिका तय गर्ने, डिजिटल प्रणाली अवलम्बन, अनलाइन दर्ता र भुक्तानी जस्ता कार्यलाई प्राथमिकता दिएको जनाएका छन् ।
स्वास्थ्यमन्त्री पौडेल अस्पतालको लाइन हटाउने कुरा समग्र स्वास्थ्य सेवा सुधारको सन्दर्भमा सानो प्रयत्नमात्रै रहेको बताउनुहुन्छ । ‘हामीले गर्नुपर्ने धेरै काम छन् तर जनताले अनूभूति गर्ने सानो र महत्वपूर्ण काम भनेको लाइन हटाउने हो । सरकारी अस्पतालमा सेवा लिन कुर्नुपर्ने, लाइनमा धेरैबेर उभिनुपर्ने, अल्मलिनुपर्ने र झन्झटिलो छ भन्ने जनगुनासो सम्बोधन गर्न प्रयास थालेका हौँ’, मन्त्री पौडेलले भन्नुभयो । उहाँले अबको केही समयमै जनताले अनूभूति गर्नेगरी अस्पतालका सेवा सुधार हुने बताउनुभयो ।
स्वास्थ्य बिमाको सुविधा पाँच लाख !
सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रमबाट हालसम्म बिमितले अधिकतम एक लाख सम्मको स्वास्थ्य सुविधा प्राप्त गर्दै आइरहेका छन् । स्वास्थ्यमन्त्री पौडेलले भने आफ्नो कार्ययोजनामै समेटेर स्वास्थ्य बिमाको सुविधा पाँच लाखसम्म बनाउने घोषणा गरेका छन् । साथै स्वास्थ्य बिमा सुविधा लिन बिमितले व्यहोर्नुपरेका सास्ती अन्त्य गर्ने पनि पौडेलको दाबी छ । स्वास्थ्य बिमाको सुविधा बढाउन हालसम्म स्रोतको सुनिश्चितता छैन । यद्यपि, स्वास्थ्यमन्त्री पौडेल आफैँले स्रोत व्यवस्थापनको उपाय पनि पहिल्याएर प्रष्टता देखाउनुभएको छ । ‘स्वास्थ्य बिमाको सुविधा बढाउनैपर्ने छ । यसका लागि स्रोतको व्यवस्थापन गर्न सकिन्छ भनेर कार्ययोजना बनाएको हुँ । ४० अर्ब नपुग्ने हो, त्यो जुटाउनेछौँ’, मन्त्री पौडेलले भन्नुभयो । उहाँले स्वास्थ्य करकोष थप गर्ने, चिनीजन्य खाद्य एवं पेय पदार्थमा अनिवार्य कर लगाउने र विभिन्न संगठित संस्थाका उपचार कोषलाई स्वास्थ्य बिमामा जोड्दै लैजाने योजना सुनाउनुभयो । आफ्नो योजना कार्यान्वयनका लागि अपनत्व लिन पौडेलले कांग्रेस केन्द्रीय समितिको बैठकमा प्रस्तावसमेत गर्नुभएको छ ।
काम गरेर देखाउँछु : मन्त्री पौडेल
स्वास्थ्यमन्त्री प्रदीप पौडेल जनतासँग प्रत्यक्ष सरोकार राख्ने भूमिका आफूले पाएकोले त्यसलाई इमान्दारीसाथ पूरा गर्ने बताउनुहुन्छ । हरेक नागरिकले सहज स्वास्थ्य सेवा पाउनुपर्नेमा आफू स्पष्ट रहेको भन्दै उहाँले आफ्ना कार्ययोजना पूरा गर्न सबैले सहयोग गर्ने बताउनुभयो । ‘मैले आम मानिसका समस्यालाई महसुस गरेर कार्ययोजना ल्याएको हुँ । यसलाई सफल बनाउन सबैको सहयोग जरुरी छ । मेरो कार्यकालमा स्वास्थ्य क्षेत्र सुधारमा केही सकरात्मक पहल गरेरै छाड्छु’, उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच