काठमाडौं । चिनियाँ गाडी बिवाइडी आपूर्तिकर्ता साइमेक्स इन्कका सञ्चालकले आफू विरुद्धको अनुसन्धान सकाउन सरकारलाई दबाब दिइरहेका छन् । कर छलीको मुद्दामा उन्मुक्ति पाउन बिवाइडीको नेपालस्थित बिक्रेता साइमेक्स इन्कका सञ्चालकले राजस्व अनुसन्धान विभाग पुगेरै अनुसन्धान सकाउन दबाब दिन थालेका हुन् । साइमेक्स इन्कका मुख्य सञ्चालक यमुना श्रेष्ठ र समीर श्रेष्ठ हुन् । उनीहरूले अनुसन्धान प्रक्रिया चाँडै टुंग्याउन विभागका अधिकृतहरूलाई दबाब दिइरहेको विभाग स्रोत बताउँछ । दबाब दिएर चाँडै अनुसन्धान सकाउँदा उन्मुक्ति पाइने श्रेष्ठद्वयको ठम्याइ छ ।
साइमेक्स इन्कले बिवाइडीको विद्युतीय गाडी (इभी) आयात गर्दा कर छली गरेको विषयमा विभागले अनुसन्धान गरिरहेको छ । तर, सरकारसँग इभीको क्षमता मापन गर्ने च्यासी डाइनोमोमिटर र मोटर डाइनोमोमिटरलगायत मेसिन छैन । सरकारसँग क्षमता मापन गर्ने मेसिन नभएकै बेला अनुसन्धान सकाउँदा कागजपत्र मिलाएर उन्मुक्ति पाइने ठानेर उनीहरूले दबाब दिइरहेको विभागका एक अनुसन्धान अधिकृतले बताउनुभयो ।
साइमेक्स इन्कले बढी किलोवाटको इभी गाडीलाई कम किलोवाट देखाएर धमाधम राजस्व छली गर्दै आइरहेको आशंकामा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । यसका लागि विभागले साइमेक्स इन्कको बिवाइडीसम्बन्धी कारोबारका सबै कागजात नियन्त्रणमा लिएर छानविन गरिरहेको छ । विभागले बिवाइडी मात्रै नभएर नेपालमा आयात हुुने सबै प्रकारका विद्युतीय गाडी आयात गर्दा भन्सारमा पेस गरेका विवरण मगाएर विस्तृतमा अनुसन्धान गरिरहेको छ ।
विभागसँग साइमेक्स इन्कलगायत अन्य कम्पनीले नेपालमा हालसम्म आयात गरेका इभी गाडीको सम्पूर्ण विवरण, आयातकर्ताको नाम, मोटर क्षमतालगायत सम्पूर्ण विवरण माग गरेको छ । ‘साइमेक्स इन्क लगायतले भन्सारमा घोषणा गरेका विषय र पेस गरेका कागजातलाई मात्रै आधार मान्न सक्ने अवस्था रहेन । इभी गाडीको क्षमता मेसिनबाटै मापन गरेर वास्तविकता पत्ता लगाउनुपर्ने निष्कर्षमा पुगेका हौँ,’ विभाग स्रोतले भन्यो, ‘इभीलगायत गाडीको क्षमता मापन गर्ने मेसिन नेपालका कुनै निकायसँग छ कि भनेरसमेत सोधखोज गरिरहेको विभागले जनाएको छ । विभागका कर्मचारीले यसबारे आधिकारिक ‘कोट’ दिन भने मानेनन् ।
मेसिन ल्याएरै अनुसन्धान गर्ने तयारीमा विभाग
साइमेक्स इन्कका सञ्चालकले अनुसन्धान सकाउन दबाब दिए पनि विभागले भने कागजातलाई मात्रै आधार मानेर अनुसन्धान टुंग्याउन नसकिने निष्कर्ष निकालेको छ । नेपालमा आयात गरिएका विद्युतीय गाडीको क्षमता नापेरै अनुसन्धान गर्नुपर्ने विभागका अनुसन्धान अधिकृतको जोड छ । ‘नेपालमा आयात गर्दा भन्सारमा पेस गरिएका कागजातलाई मात्रै आधार मानेर अनुसन्धान सकिने अवस्था छैन । आयात गरिएका सबै गाडीको क्षमता मापन नगरी अनुसन्धान सकिँदैन,’ विभागका एक अनुसन्धान अधिकृतले भन्नुभयो, ‘त्यो नगर्दासम्म अनुसन्धान पूरा हुँदैन ।’
विद्युतीय गाडीको क्षमता नाप्ने मेसिन विदेशबाट मगाएरै भए पनि जाँच गर्नुपर्ने विभागका कर्मचारीको भनाइ छ । ‘अहिले हामीसँग विद्युतीय गाडीको क्षमता नाप्ने मेसिन छैन । मेसिन नभई गाडीको क्षमता यकिन हुँदैन,’ विभागका ती कर्मचारीले अगाडि भन्नुभयो, ‘मेसिन ल्याएर जाँच नहुँदासम्म अनुसन्धान जारी रहन्छ । मेसिनले क्षमता मापन गरेपछि मात्रै अनुसन्धान टुंगिन्छ ।’
पाँच करोडको मेसिन किन्न सरकारी उदासिनता
प्राविधिकहरूका अनुसार इभीको चक्कामा के कति पावर छ ? भनेर नाप्न च्यासी डाइनोमोमिटर प्रयोग गरिन्छ भने गाडीको वास्तविक क्षमता मापन गर्न मोटर डाइनोमोमिटर प्रयोग गरिन्छ । नेपालमा यी दुवै उपकरण छैनन् । उपकरण नहुँदा आयातकर्ताले गाडीको क्षमताबारे जस्तो कागजात पेस गर्छन् त्यसैलाई विश्वास गर्नुपर्ने अवस्था छ । विदेशमा भने सरकारी निकायले नै यस्ता गाडीको क्षमता नापेर राजस्व लिने गरेका छन् ।
ती मेसिनको मूल्य झण्डै पाँच करोड मात्रै पर्छ । सरकारले पाँच करोडको मेसिन किन्न नसक्दा इभी गाडीबाट लिनुपर्ने झण्डै पाँच अर्ब बराबरको राजस्व गुमेको विभाग स्रोत बताउँछ । सरकारी निकायले पाँच करोड मात्रै पर्ने मेसिन किन्न उदासिनता देखाउनुलाई शंकाका रूपमा हेरिँदै आइएको छ । हाल नेपाली बजारमा इभी गाडीको बिक्री ७० प्रतिशत छ । यति धेरै मात्रामा इभी गाडी बिक्री हुँदा पनि पाँच करोडको मेसिन किन्न नसक्नुले सरकार आयातकर्ताबाट प्रभावित भएको हो कि भन्ने प्रश्न उठेको छ ।
राजस्व अनुसन्धान विभागका अनुसार हालसम्म नेपालमा २३ हजार तीन सयभन्दा बढी इभी गाडी भित्रिसकेका छन् । यसअघि बजेटको समयमा सूचना चुहिँदा २५ सय इभी गाडी रातारात नेपाल भित्रिएका थिए । यातायात व्यवस्था विभागअन्तर्गत रहेको सवारी परीक्षण कार्यालयलका एक अधिकृतका अनुसार दुई वर्ष अघिसम्म १५० किलोवाटकै गाडी आयात गर्ने गरिएको थियो तर, अहिले आएर एक सय किलोवाटको गाडी आयात गर्ने गरिएको कागजपत्र पेस हुने गरेको छ, जुन शंकास्पद छ । बिवाइडीले किलोवाट घटाएर गत वर्ष मात्रै करिब तीन हजार गाडी बिक्री गरेको दाबी स्रोतको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच