✍️ लेखनाथ पोखरेल
गत २३ गतेको अंकबाट क्रमश :
आफ्नो निर्णयबाट टसमस नभएको उसले भन्यो-‘मैले रोजेकी केटीमा तपाईंहरूले खोटमात्र देख्ने । तपाईंहरूले रोजेकी मलाई मन नपर्ने । भइहाल्यो, उसो भए म विवाह नै गर्दिन । बरू घर छोडेर हिँड्छु’ भन्दै गर्दन फुलाएर बाहिर निस्कियो ।
छोराको घर छोडेर हिँड्ने धम्की सुन्दा अवाक भए दुवै बुढाबुढी । श्रीमतीतिर फर्किएका दिव्यराजले गहिरो निस्वास छोड्दै भने-‘हेर गंगा, मानिसको जीवनमा आफू आनन्दपूर्बक बाच्नुभन्दा ठूलो कुनै उद्देश्य हुँदैन । यहाँ कोई कसैको लागि बाँचेको हुँदैन, सबै आफ्नो ‘म’ को लागि बाँचेका हुन्छन् । चाहे कोई आकाशमा उडेर जाओस् चाहे पातालमा धसियोस्, अरूका लागि न कोई दुःखी हुन्छ यहाँ, न त आनन्दित नै । सबै आफ्नै लागिमात्र हुने हो । आफूबाहेक अन्य कसैको मतलब हुँदैन । यस जगतको नियम हो यो ।’
लामो स्वास लिँदै केही बेर चुप लागेका दिव्यराजले अगाडी भने-‘अब हामी बुढाबुढी घर-बासविहीन बन्ने निश्चितप्रायः भयो गंगा । दिप्तिको मोहजालमा फंसेर अन्धो बनेको छोराले न हाम्रो मर्म बुझ्ने प्रयास गर्दछ न त भनेको नै मान्दछ, के गर्नु ? ठिकै छ, उसैको इच्छा पूरा होस् । यो घर बैंकमा धितो राखेर जाओस अष्ट्रेलिया । उसले चाहेको पनि यही त हो ! ‘भन्दै गर्दा उनको आँखाबाट तप..तप आँसु झरे । छेउमा बसेकी श्रीमतीको नजरमा आफ्नो आँसु नपरोस् भन्नका लागि पूरा संकल्प शक्ति जुटाएर रोक्ने प्रयास गरे । तर आँसुको बाडी थामिएन ।
दिप्तिको ढाक्रे बनेर गएको मुकुन्द कामको खोजीमा निस्कियो । हप्ता दिनको खोजीपश्चात बल्लतल्ल उसले माछाका कत्ला सफा गर्ने र टुक्र्याउने काम पायो । कुनै दिन शारीरिक श्रम नगरेको, जागिरे बाबुको पुल्पुलिएको छोरो त्यसमाथि बैंकको अधिकृत, मुकुन्दको लागि त्यो फोहोरी काम पहिलो गाँसमा नै दांतमा ढुंगा लागेजस्तो भयो ।
आँसु पुछ्दै भने-‘बलिको बोकाले कसैको कुनै बिझांई गरेको हुँदैन गंगा ? तर पनि गर्दन काटिने त उसैको हो ! छोराको खुशीको लागि हामी पनि बलिको बोका बन्ने भयौं अब ।’
श्रीमानको अनुहारमा हेर्दै गरेकी गंगाले भनिन- ‘हाम्रो छोरा उच्च-शिक्षाको लागि अस्ट्रेलिया जाँदैछ । धितो राखेको घर कमाएर उकासिहाल्छ नि ! किन यति धेरै पिर लिनुहुन्छ ?’
‘तिमीले खै कुरा बुझेकी गंगा ! हाम्रो छोरा पढ्न जाने कुरा भए म किन यति चिन्तित हुन्थें र ? यो सबै खर्च दिप्तिको लागि हो । हाम्रो छोरा त उसको आश्रित बनेर जाने हो । यो कुरालाई यसरी बुझ–ऊ भारी बोक्ने एउटा ढाक्रेमात्र हो जसले अष्ट्रेलिया पुगेर पनि उसका लागि कमाई गरिदिनुपर्ने हुन्छ ।’
श्रीमान्को कुरा सुनेर छक्क परेकी गंगा केही बोल्न सकिनन् ।
बरन्डामा उभिएर बाबुआमाको बार्तालाप सुनिरहेको मुकुन्द उनीहरूको अन्तरिक वेदना सुनेर क्षणभरका लागि स्तब्ध भयो । उमेरले सात दसक पार गरेका बाबुआमाप्रति आफूले ठूलो अत्याचार गर्न लागेको कुराको अनुभूति हुँदा आफूले बाटो बिराए जस्तो लाग्न थाल्यो । उसले टाडासम्म हेर्न खोज्यो । तर दिप्तिको रूपको सुन्दरताले सबैतिर छोपिदियो । न बाटो देखिन्थ्यो न सुझबुझले काम गरिरहेको थियो । उसको मन अनायास अपराधबोधले आक्रान्त बन्यो । अष्ट्रेलिया जाने कुरालाई लिएर पुनराबलोकन गर्ने सोच बनाएको उसले अर्को दिन दिप्तिसंग पुनः एकपटक छलफल गर्ने निधो गर्यो ।
मुकुन्दले घरजम गरेर काठमाडौंमा नै बसौं भन्दै एक हप्तासम्म सम्झाउने प्रयास गर्दा पनि दिप्ति अष्ट्रेलिया जाने कुराबाट टसमस भइन । अष्ट्रेलियाबाट कन्फरमेसन नआएसम्म बैबाहिक सम्बन्ध पनि नजोड्ने कुरामा दृढ संकल्पित ऊ उल्टै, मुकुन्दलाई फकाउने प्रयासमा लागी ।
अष्ट्रेलियाको पी.आर.को माखे-सांग्लोमा प्रेमको बुट्टा भर्दै गरेकी दिप्तिले वाचाल कथाबाचक पण्डितले स्वर्गको बखान गरे जसरी अष्ट्रेलियाको बैभव, त्यहाँको सम्पन्नता, सुन्दरता र त्यहाँ हुने डलरको ठूलो कमाइकोबारेमा लामो प्रबचन दिई । अष्ट्रेलिया छिर्नमात्र पाएमा छोटो अधिमा नै आफ्नो पी.आर.हुने र परिवारजनको आर्थिक उन्नतिले शिखर चुम्ने कुरामा विश्वस्त पार्दै गरेकी उसले मुकुन्दको दिमाग धोई-पखाली गरेर आफू अनुकूल बनाउन सफल भई । दिप्तिको ‘पको सुन्दरतामा पागल बनेको मुकुन्द उसले बुनेको माखे-सांग्लोमा फस्ने निश्चित भयो ।
तीन वर्षसम्म कुनै ताकेता नगर्ने र सोह्र वर्षको अवधिमा ऋण भुक्तान गरिसक्नुपर्ने शर्तमा तीस लाख रूपैयाँमा घर बैंकमा धितो रहृयो । अष्ट्रेलियाबाट भिसा पनि आयो । मुकुन्द र दिप्तिको वैवाहिक कार्यक्रम पनि सुसम्पन्न भयो । अष्ट्रेलिया जान पाउने भएकोमा मुकुन्द र दिप्तिको खुशी छचल्किँदो थियो । ‘भुइँमा न भाँडामा’ भएका थिए उनीहरू । तर, बाबुआमाको मनको पीडा कसले बुझ्ने ?
छोराबुहारीको बिदाइको अवधिभरि आँसु रोकेर बसेका बुढाबुढी बिदाइपश्चात् भक्कानिएर रोए ।
अष्ट्रेलिया पुगेका मुकुन्द र दिप्तिलाई स्वर्गको नन्दनवनमा प्रवेश गरेको अनुभूति भयो । एक हप्तासम्म त गगनचुम्बी घरहरू, चिल्ला सडकमा कुद्दै गरेका चम्चमाउँदा गाडी, विशाल प्रशान्त महासागरका किनारमा देखिने मनमोहक दृश्यका रंगीचंगी फोटोग्राफहरू फेसबुक र इन्स्टाग्राममा पोष्ट गर्न भ्याई- नभ्याई भयो । बाबुआमा र साथीभाइसँग दैनिकजसो मेसेन्जर र भाइबरमा कुराकानी पनि भइरहृयो । तर नेपालबाट लगेको थोरैतिना रूपैयाँले कति दिन चल्नु र ! हप्ता दिन पनि नबित्दै ‘सोसल मिडिया’ मा पोष्ट गर्ने कुरा शून्यतिर झर्दै गए ।
दिप्तिको ढाक्रे बनेर गएको मुकुन्द कामको खोजीमा निस्कियो । हप्ता दिनको खोजीपश्चात बल्लतल्ल उसले माछाका कत्ला सफा गर्ने र टुक्र्याउने काम पायो । कुनै दिन शारीरिक श्रम नगरेको, जागिरे बाबुको पुल्पुलिएको छोरो त्यसमाथि बैंकको अधिकृत, मुकुन्दका लागि त्यो फोहोरी काम पहिलो गाँसमा नै दांतमा ढुंगा लागेजस्तो भयो । दिनभरि माछाका कत्ला सफा गर्दा उसको शरीर दुर्गन्धित भएको हुन्थ्यो । डेरामा पुगेर तीन पटकसम्म साबुन दलेर नुहाउँदा पनि माच्छाको गन्ध हराउँदैनथ्यो । छ महिना त्यही काममा बिताएको उसले त्यसपछि एउटा रेस्टोरेंटमा भाँडा माझ्ने काम पायो ।
खाना पकाएका बढेमानका डेक्ची र जुठो भाँडा माझ्नु पर्दा रुन मन लाग्थ्यो मुकुन्दलाई । तर भोकको अगाडि आँसुको के मुल्य हुन्छ र ! त्यसैमा अभ्यस्त हुँदै गयो ऊ । एक वर्षको कष्टकर समय बिताएपश्चात उसले एउटा डिपार्टमेन्टल स्टोरमा काम पाएको थियो । त्यो काम पाउँदा उसलाई उच्च ओहदाको कुनै सम्मानित जागिर पाएजस्तो लाग्यो ।
दिप्तिको पहिलो वर्षको पढाइ सफलतापूर्बक सम्पन्न भएकोमा गौरवान्वित भएको मुकुन्दलाई दोस्रो वर्षको पढाइको खर्च जुटाउन सहज थिएन । त्यसो त महिनामा बीस घण्टा काम दिप्तिले पनि गर्ने गर्थी । तर त्यसबाट हुने आय, दिप्तिले उपयोग गर्ने प्रशाधन र उसको घुमफिरलाई पनि पुग्दैनथ्यो ।
एक्लो ज्यानको कमाईले दुईजना पालिने र पढाइको खर्च जुटाउने कुरा जतिसुकै विकशित देश किन नहोस् कहाँ सहज हुन्छ र ¤ तीन ठाउँमा काम गर्न सुरु गरेको मुकुन्दले आफ्नो श्रमको अवधि बढाएर दैनिक चौध घण्टा पु¥यायो । थाकेर लखतरान भई डेरामा पुग्दाको क्षण दिप्तिको अँगालोमा आश्रय पाउँदा भने आफू धन्य भएको ठान्ने मुकुन्दलाई अर्को दिन बिहान उठ्दासम्म रिचार्ज भएको सेलफोन जसरी फ्रेस भएको अनुभूति हुन्थ्यो । यही क्रममा बित्यो अर्को एक वर्ष पनि ।
एक साँझ, एक्लै कोठामा बसेको मुकुन्दको मन उदास थियो । सात दिनका लागि भन्दै साथीसँग घुम्न गएकी दिप्ति फर्किएकी थिइन । उसले त्यहींबाट आफूले फाइनल परिक्ष्या पास गर्न नसकेको कुरा जानकारी गराएकी थिई । दिप्तिको फोन कल सुन्दै गरेको मुकुन्दलाई अग्लो छाँगाबाट तल खसेजस्तो लाग्यो । भिसाको अवधि थप हुने सम्भावना नदेखेको उसलाई आफ्नो होस् हराउलाजस्तो भएर आयो । भविष्य अन्धकारमा बिलिन हुँदै गरेको अनुभूति हुँदा टाउको समातेर थचक्क भुइँमा बस्यो ।
चिसो रात, जाडो बढ्दै थियो । संसार गहिरो निद्रामा हराउने प्रयास गर्दै थियो तर मुकुन्दलाई शरीरमा आगो दन्किएजस्तो भइरहेको थियो । उसको आँखामा निद्रा थिएन । दुई वर्षको अवधि बित्दासम्म पनि अष्ट्रेलिया आउँदा लिएको ऋणको किस्ता पठाउन सकेको थिएन उसले ।
ओच्छ्यानमा छटपटिँदै गरेको मुकुन्दले बाबुआमा र घर सम्झियो । त्यस्तैमा मोबाइलमा मेसेन्जरको घण्टी बज्यो । त्यो कल थियो बुबा दिव्यराजको । बुबाआमालाई ढोगभेट गरेपश्चात आफू सुखपूर्वक रहेको र बैंकको किस्ता केही महिनामा नै पठाउने आस्वासन दिएर फोन बन्द गर्यो ।
कालको गती विचित्रको हुन्छ । बाउंटिएर कुन बेला कता मुन्टो फर्काउने हो भन्ने कुरा कसलाई थाहा हुनु ¤ कालको गतीसँगै हुने स-सना परिवर्तनले मानिसको जीवनमा ठुल्ठुला उथलपुथल मच्चिन्छन् । त्यो वर्ष अष्ट्रेलिया सरकारले म्यानेजमेन्ट पढ्ने कुनै पनि विदेशी विद्यार्थीले पी.आर.नपाउने घोषणा गरेसँगै त्यहाँ अध्ययनरत विद्यार्थीको जीवनमा ठूलो भूकम्प ल्यायो ।
त्यो कुरा थाहा पाउँदा मुकुन्दको मनमा हाहाकार मच्चियो । उसलाई संसार एकाएक उल्टोपाल्टो भएजस्तो लाग्न थाल्यो । ओठको हाँसो उडेर कता पुग्यो अत्तोपत्तो भएन । आँखामा चिन्ता व्याप्त भयो । ज्वरोले आक्रान्त भए जसरी उसको शरीर काम्न थाल्यो, खुट्टा लर्बराउन थाले । उसको ओठ र तालु दुवै सुके । मुखबाट आवाज निस्किन गाह्रो भयो । समस्या यति जटिल थियो कि, भविष्यमा के होला भन्ने कल्पना गर्नसम्म पनि डर लाग्न थाल्यो उसलाई ।
सौन्दर्य प्रदर्शन र शारीरिक हाउभाउले मोहित बनाएर आफ्नो दुनु सोझो पार्नु दिप्तिका लागि कुनै नौलो कुरा थिएन । त्यसको अतिरिक्त पुरुषलाई छक्याउने कुरामा असाधारण रूपले सिपालु थिई ऊ । अप्ठ्येरो परिस्थितिमा पुरुषलाई अचानु बनाएर आफू सहज ढंगले उम्किने कुरामा उसलाई कसैले भेट्दैनथ्यो । अस्ट्रेलिया पुगेको छोटो अवधिमा नै दिप्तिको दिनचर्यामा यस प्रकारका धेरै घटना घटिसकेका थिए । तर, ती सब कुराबाट अनभिज्ञ थियो मुकुन्द ।
भनिन्छ, स्त्रीको चरित्र र पुरुषको भाग्य ईश्वरले पनि जान्न सक्दैनन् अरे ! प्रेम र कर्तव्यलाई सर्वोपरि ठान्ने सोझो र सिधा स्वभावको विचरा मुकुन्दले के बुझोस् दिप्तिले कुन खेल खेल्दैछ भन्ने कुरा । दिप्तिको छल-कपटबाट अनभिज्ञ ऊ तेल पेल्ने कोलमा जोतिएको गोरु जसरी आफ्नो घण्टे-जागिरमा फनफनी घुमिरहृयो ।
अष्ट्रेलिया आएदेखि नै दिप्तिको रूपको सुन्दरता र चपलताका प्रशंसक मित्र-मण्डलीको एउटा जमात उसको अघि-पछि घुमिरहेको हुन्थ्यो । तिनै मित्र-मण्डलीसँग घुम्न जाने भन्दै हप्तौसम्म हराउने गर्थी दिप्ति । सुरु–सुरुमा त उसको त्यो व्यवहारलाई सहज ढंगले लिएको हुन्थ्यो मुकुन्दले । तर, विगत एक वर्षदेखि दिन प्रतिदिन स्वछन्द हुँदै गएकी दिप्तिको व्यवहारमा आएको अनपेक्षित परिवर्तनले आफू उपेक्षित हुँदै गएको अनुभूति हुन थालेको थियो उसलाई । दिप्तिमा आएको परिवर्तन र उसको व्यवहारले क्षुब्ध हुँदै गएको मुकुन्द आफ्नो भविष्यप्रति चिन्तित हुने गथ्र्याे ।
अष्ट्रेलियाको पी.आर.नपाउने यकिन भएको केही महिनापश्चात् दिप्तिको स्वभावमा देखिएको नकारात्मक परिबर्तनले स्तब्ध हुने गथ्र्याे मुकुन्द । विनाकारण मुकुन्दसँग निहुँ खोज्थी, स-साना कुरामा झगडा गर्थी । उसको रिस र चिडचिडाहट दिन प्रतिदिन बढ्दो थियो । आफूले आफैंलाई कोस्दै केही भन्न खोजे झैं गर्थी तर भन्न सकिरहेकी थिइन् ।
दिप्तिको क्षुद्र र उद्दण्ड व्यवहारलाई पी.आर.नपाउनुको पीडाको परिणाम ठानेको मुकुन्दले त्यसलाई सहज रूपमा लिने गथ्र्यो । तर पनि, सम्बन्धको न्यानोपनलाई कता-कता चिसोले सोस्दै गरेको अनुभूति हुन थालेको थियो उसलाई । केही महिना किमकर्तव्य विमुढको स्थितिमा बिते । त्यो बीचमा दिप्ति पन्द्र दिनका लागि भन्दै कुनै साथीसँग तस्मानियाँतिर लागी ।
घुमफिरपश्चात् फर्किएकी दिप्तिको व्यवहार झन्-झन् रूखो हुँदै गयो । एक दिन साँझपख, गहिरो निःस्वास छोड्दै मुकुन्दको छेउको कुर्सीमा आएर बसी । बोल्नुभन्दा पहिले उसले जिब्रोले आफ्ना ओठ भिजाउँदै भनी- ‘म आज तिमीसँग खास कुरा गर्न चाहन्छु मुकुन्द !’
‘भन न, के कुरा हो ? ‘मुकुन्दले सहज ढंगले सोध्यो ।
गहिरो स्वास लिएर छोड्दै गरेकी दिप्ति भनी- ‘यो लैला-मजनुको कथा-काल होइन मुकुन्द । जुन बेला मानिस प्रेमको लागि जीवन उत्सर्ग गर्न पनि पछि पर्दैनथे । जमाना बदलिएसँगै प्रेम र सम्बन्धको परिभाषा पनि बदलिएको छ । यथार्थमा प्रेम एउटा क्षणिक शारीरिक खेलमात्र हो मुकुन्द । त्यो खेल आवश्यकता अनुसार कसैसँग पनि खेल्न सकिन्छ । त्यो टिकाउ हुनुपर्छ भन्ने जरुरी पनि हुँदैन । आजको यान्त्रिक युगमा प्रेम जसरी आउँछ त्यसरी नै जान्छ पनि ।
‘के भन्न खोज्दैछ्यौ दिप्ति तिमी ? के हाम्रो प्रेम पनि यान्त्रिक भयो अब ?’
व्यंगात्मक स्वरमा भनी- ‘हो मुकुन्द हाम्रो प्रेम पनि यान्त्रिक नै हो । साँच्चो कुरा सुन्न चाहन्छौं भने सुन– यदि साँच्चो प्रेम हुन्थ्यो भने म तिमीलाई अष्ट्रेलियाको यो अँध्यारो कुवामा हाम्फाल्न दिने थिइन । विवाहपश्चात् कुशल गृहिणी बनेर घरजम गर्दै आनन्दपूर्बक नेपालमा नै बसेकी हुन्थे । नपुग्दो के थियो र त्यहाँ ?’
दिप्तिले भन्दै गई, ऊ सुन्दै गयो- ‘तिमी मलाई ह्रिदयदेखि प्रेम गर्छौ भन्ने कुरा मैले राम्रैसंग बुझेकी थिएँ र छु पनि । तर आज म तिमीलाई एउटा तीतो यथार्थ सुनाउँन गइरहेकी छु मुकुन्द । विवाहपश्चात् हामीले अनगिन्ति दिन र रात मोज-मस्तीमा बितायौं । शारीरिक तृप्तिको लागि तिमीजस्तो स्वस्थ र ‘यान्डसम युबक पाउनुमा म आफूलाई भाग्यमानी ठान्दछु । मैले तिमीबाट हर तरहको शारीरिक र मानसिक तृप्ति प्राप्त गरें । तर आज आएर यो कुरा भन्न मलाई रत्तिभर संकोच छैन कि, मैले आफ्नो तन तिमीलाई निसंकोच सुम्पिए पनि मन सुम्पिन कहिल्यै सकिन । मैले तिमीलाई हृदयदेखि कहिल्यै प्रेम गरिन मुकुन्द । तिमी त मेरो अष्ट्रेलिया आउने सपना पूरा गर्ने एउटा साधनमात्र थियौं ।’
एक हदसम्म मैले यो कुराको अन्दाज गरेको पनि थिएँ । हेर दिप्ति, प्रेम जति तीव्र हुन्छ, घृणा उत्तिकै उत्कट हुन्छ । लक्ष्मण-रेखा पार गरिसकेकी तिमीजस्ती स्त्रीलाई फर्किएर आऊँ, मसँग बस भन्न मेरो आत्मसम्मानले पनि दिँदैन । बरू, आवेशमा आएर मबाट कुनै अकल्पनीय घटना घट्नुपूर्व नै ल्याउ त्यो डिभोर्स पपेर’... ।
केहीबेर चुप लागेकी दिप्तिले आफ्ना कुरा अगाडि बढाउंदै भनी ‘प्रेमको आडमा मैले बुनेको रंगिन माखे सांग्लोमा त्यति सहज ढंगले तिमी फंसौला भन्ने कुरामा अन्तिम समयसम्म पनि मलाई विश्वास थिएन मुकुन्द । तर, तिम्रो ईमान डगमगाएन । तिमीले मेरो जीवनको पहिलो र अन्तिम सपनालाई साकार रूप दियौ । त्यसको लागि आज म तिमीलाई धन्यबाद भन्दन्छु ।’
दिप्तिको कुरा सुनेर छाँगाबाट खसे जस्तो भएको मुकुन्दले केही उत्तेजित हुँदै भन्यो- विवाह भएको यतिका वर्षपछि अब आएर तिमी कुन खेलबाड गर्न खोज्दैछ्यौ दिप्ति ? मलाई प्रष्ट कुरा भन । तिमीले भन्न खोजेको कुरा मैले बुझिन ।’
‘भावनामा बगेरमात्र जीन्दगी बिताउन सकिँदैन मुकुन्द । जीउनका लागि यथार्थको धरातल चाहिन्छ । मेरा अनगिन्ति इच्छाहरू छन् । म एक्लैले आफ्ना अनगिन्ती इच्छा पूरा गर्न सम्भव पनि छैन । त्यसका लागि एउटा साधन सम्पन्न साथीको आवश्यकता पर्दछ । जसले मेरो शारीरिकमात्र नभएर मानसिक र भौतिक संशाधनलगायतका इच्छा पूरा गर्न सकोस् । अष्ट्रेलियामा मेरो पी.आर.नहुने निश्चित भयो । अब कुनै पनि बेला तिमीले जसरी मैले पनि यो देश छोड्नुपर्ने हुन्छ । यतिका वर्ष अष्ट्रेलियामा बिताएपश्चात् म अब फर्किएर नेपाल जान चाहन्न । त्यसैले म एउटा निर्णयमा पुगेकी छु ।’
केहीबेर चुप लागेकी दिप्तिले भनि-‘अष्ट्रेलियाा बस्न पाउने बाँकी बाँचेको यो छोटो अवधि मेरो लागि अत्यन्त मूल्यवान छ । म यो मूल्यवान समय त्यत्तिकै गुमाउन चाहन्न । अब तिमी र मसँगै बस्ने कुराको सम्भावना पनि छैन मुकुन्द । म तिमीबाट छुटकारा चाहन्छु । मलाई डिभोर्स चाहियो ।’
ई सब कुरा भन्दै गर्दा दिप्तिको आँखामा न लज्जा नामको कुनै कुरा थियो न त पश्चातापको कुनै भाव नै । उसले आफ्नो पर्सबाट निकालेर मुकुन्दको अगाडि डिभोर्स पेपर तेस्र्याइँ । त्योसँगै कठोर हुँदै गएको दिप्तिको अनुहार देख्दा क्षणभरको लागि स्तब्ध भयो मुकुन्द ।
दिप्तिले भनेका एक-एक शब्द पेचकसले कसेको स्क्रु जसरी मुकुन्दको मनलाई चिर्दै थियो । तर पनि उसले सबै सुन्यो र बुझ्यो कि यहाँ हात्तीको दांत खानलाई एउटा र देखाउनलाई अर्को हुन्छ । दिप्तिको निर्णय फिर्ता हुने सम्भावना नदेखेको मुकुन्दसँग कुनै जवाफ पनि त थिएन । गहन सोचमा डुब्दै केही बेरसम्म आँखा चिम्लिएर बसेको उसले आफूलाई संयमित बनाउँदै भन्यो- ‘सह-जीवन समझदारी र सम्झौताबाट मात्र सम्भव हुन्छ दिप्ति । कुनै समस्या आइपरेमा समाधान पनि निस्किन्छ । तर, तिमीले समाधानको कुरा नगरेर छुटकाराको मात्र कुरा ग¥यौ । तिमीले जब आदर्श र प्रेमलाई नै तिलाञ्जलि दियौ भने अब अगाडि केही भन्नु पर्दैन, मैले सब कुरा बुझेँ । तिमीले कुन चक्कर चलाउँदैछ्यौ भन्ने कुरा विगत एक वर्षदेखि बुझ्ने कोसिस गर्दै थिएँ । त्यसको पर्दाफास भयो आज ।
तिमीले म जस्तै उल्लु कुनै पी.आर.होल्डरको गर्दन निमोठ्ने तयारी गरिसकेको कुरा थाहा पाउँदा मलाई कुनै अनौठो लागेन । एक हदसम्म मैले यो कुराको अन्दाज गरेको पनि थिएँ । हेर दिप्ति, प्रेम जति तीव्र हुन्छ, घृणा उत्तिकै उत्कट हुन्छ । लक्ष्मण-रेखा पार गरिसकेकी तिमीजस्ती स्त्रीलाई फर्किएर आऊँ, मसँग बस भन्न मेरो आत्मसम्मानले पनि दिँदैन । बरू, आवेशमा आएर मबाट कुनै अकल्पनीय घटना घट्नुपूर्व नै ल्याउ त्यो डिभोर्स पपेर’ भन्दै दस्तखत गरेपश्चात् तत्काल आफ्नु गन्तव्यतिर लाग्न सुझाव दियो ।
दिप्ति आफ्ना सरसामान लिएर त्यही साँझ घरबाट निस्किई ।
सित्तल रात थियो, आरामदायी ओछ्यान थियो तर मुकुन्दको आँखामा निद्रा थिएन । दिप्तिले गरेको विश्वासघातले उकुसमुकुस भएको उसले आफ्नो घर-परिवार, वृद्ध भइसकेका आमाबाबुको निन्याउरो अनुहार झल्झली सम्झियो । अनि सम्झियो आफू अष्ट्रेलिया आउँदा लिएको बैंक ऋणको काहाली लाग्दो गरी बढ्दै गएको ब्याज र त्यसको सावाँ । जसको एक किस्तासम्म पनि तिर्न सकेको थिएन ।
आमाबाबुलाई सम्झिँदा अपराधबोधले ग्रस्त भएको उसको आँखाबाट धरधरी आँसु झरे । भावनाको उथलपुथलमा एक्कासि विक्षिप्ततातर्फ उन्मुख हुँदै गएको मुकुन्दले ब्युँझिएर नै काट्यो त्यो रात । उज्यालो हुँदासम्म उसले जीवनदेखि हार मानिसकेको थियो । आफू बाँच्नुको कुनै सार नदेखेको ऊ पूर्णरूपमा विक्षिप्त भइसकेको थियो ।
बिहान सबेरै गाडी लिएर प्रशान्त महासागरको किनारतिर लागेको मुकुन्दलाई दोहोर्याएर कसैले देखेन । तेस्रो दिन प्रशान्त महासागरको निर्जन तटमा गस्ती-प्रहरीले फेला पारेको उसको निर्जीव शरीर सञ्चारमाध्यमको हेड-लाइन बनेको थियो । समाप्त ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच