काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विद्यालय दिवा खाजाका लागि रैथाने परिकारको रेसिपी तयार गरेको छ । विभागले विद्यालय दिवा खाजा व्यवस्थापन सहयोगी पुस्तिका २०७७ मा समावेश गरिएका १० क्षेत्रगत आधार मेनुमध्येबाट १० प्रकारका रेसिपीका आधारमा दिवा खाजाको परिकार विकास गरेको हो ।
१० परिकारहरूमा टिक्की, पोषिलो रोटी, पोषिलो चुकौनी, कोदो मिश्रित आलु पराठा र मिश्रित तरकारी, कोदो मिश्रित पोषिलो पास्ता, कोदो मिश्रित च्युराको पुलाउ, भेजिटेबल क्वाँटी, मकैको पिठोको हलुवा र तरकारी, मिश्रित पिठोको सातु र मिश्रित पिठोको बिस्कुट रहेका छन् । उल्लेखित परिकारका लागि आवश्यक कच्चा पदार्थ, बनाउने तरिका, तयारी परिकारको पोषक तत्वको अवस्थासमेत उल्लेख गरिएको छ ।
विद्यालय दिवा खाजाले सामान्य एक बालकले खानाबाट प्राप्त गर्नुपर्ने कुल शक्तिको कम्तीमा ३० प्रतिशत शक्ति दिवा खाजाबाट प्राप्त गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता रहेको छ । उमेर समूहअनुसार चारदेखि १२ वर्षसम्मका विद्यार्थीलाई औसत दैनिक रूपमा १८ सय ५० केजी क्यालोरी शक्ति आवश्यक पर्छ । सो मात्राको ३० प्रतिशत शक्ति दिवा खाजाबाट, विभिन्न खाद्य समूहका स्रोतबाट, तिनमा पाइने कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो र अन्य सूक्ष्म पोषक तत्वसमेत पूर्ति गर्नुपर्छ ।
१० परिकारमा टिक्की, पोषिलो रोटी, पोषिलो चुकौनी, कोदो मिश्रित आलु पराठा र मिश्रित तरकारी, कोदो मिश्रित पोषिलो पास्ता, कोदो मिश्रित च्युराको पुलाउ, भेजिटेबल क्वाँटी, मकैको पिठोको हलुवा र तरकारी, मिश्रित पिठोको सातु र मिश्रित पिठोको बिस्कुट रहेका छन् ।
खाद्य प्रविधि विकास तथा पोषण महाशाखाको आर्थिक वर्ष २०७९/८०, २०८०/८१ मा विद्यालय दिवा खाजाको परिकार विकासअन्तर्गत गरिएको दिवा खाजाका रेसिपी अध्ययन परीक्षणबाट प्राप्त नतिजालाई सरोकारवालालगायत सर्वसाधारण समक्ष पुर्याउने लक्ष्यसाथ सबैले बुझ्ने सरल भाषामा रेसिपीको संगालो प्रकाशन गरिएको विभागले जनाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा प्रकाशित ‘विद्यालय दिवा खाजा व्यवस्थापन सहयोगी पुस्तिका २०७७ मा समावेश गरिएका १० क्षेत्रगत आधार मेनुमध्येबाट १० प्रकारका रेसिपीका आधारमा दिवा खाजाको परिकार विकासको प्रयास गरिएको खाद्य प्रविधि विकास तथा पोषण महाशाखाका उपहानिर्देशक सोमकान्त रिजालले उल्लेख गर्नुभएको छ ।
उहाँका अनुसार विभागको महाशाखाअन्तर्गतको प्रयोगशालामा तिनको पोषक तत्व र लागतसमेत विश्लेषण गरी विद्यालय दिवा खाजाका परिकारको संगालो पुस्तिका प्रकाशन गरिएको हो । पुस्तिका नेपालका दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने सामुदायिक विद्यालय र पोषणका क्षेत्रमा कार्यरत अन्य संघ संस्थालगायत सर्वसाधारण गृहिणीदेखि दिवा खाजा उत्पादन तथा आपूर्ति गर्न इच्छुक सम्भावित उद्यमी व्यवसायीका लागिसमेत उपयोगी हुन सक्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले बताउनुभएको छ ।
स्वस्थ जनशक्ति मुलुकको समृद्धिको प्रमुख आधार हो । बालबालिकालाई सक्षम र सवल मानव पुँजीका रूपमा विकास गर्न उनीहरूको पोषण अवस्थामा सुधार आवश्यक रहेकाले समग्र नेपालको पोषण अवस्थामा सुधार ल्याउन सरकारले बहुक्षेत्रीय पोषण योजना प्रथम २०६९/२०७३ ) र दोस्रो (२०७५/७६-२०७९/८०) लागू भई हाल २०८०/८१-२०८७ /८८) समेत कार्यान्वयनमा रहेको छ । बहुक्षेत्रीय पोषण योजना तेस्रोको दीर्घकालीन सोच ‘कुपोषण अन्त्य, मानव पुँजी निर्माण र समग्र सामाजिक आर्थिक विकास’ रहेकाले पोषणको माध्यमबाट बालबालिकाको स्वास्थ्य सुधार गरी स्वस्थ मानव पुँजी निर्माणमा सहयोग पुर्याउने लक्ष्यका साथ पोषण महाशाखाले पनि खाद्य तथा पोषणको माध्यमबाट देशमा विद्यमान कुपोषण समस्या समाधान गर्न विभिन्न पौष्टिकयुक्त कृषि उपज पहिचान गरी त्यस्ता उपजको अधिकतम् उपभोग बढाउन सस्तो तथा सरल रेसिपीहरूको विकास गर्ने कार्य गर्दै आएको छ ।
आर्थिक वर्ष २०७७/७८ देखि सुरु भई हाल देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने प्रारम्भिक बाल विकासदेखि छ कक्षासम्मका सबै विद्यार्थीलाई दिवा खाजा व्यवस्थापन गर्न सरकारले बजेट विनियोजन गर्दै आएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले खाद्य विभागको प्राविधिक सहयोगमा ‘नेप्लिज फुड कम्पोजिसन टेवल २०१७– मेनु प्लानिङ टुल’ प्रयोग गरी सैद्धान्तिक मानहरूका आधारमा विभिन्न क्षेत्रगत दिवा खाजाका मेनु समावेश गरी विद्यालय दिवा खाजा व्यवस्थापन सहयोगी पुस्तिका २०७७ समेत प्रकाशन गरेको छ ।
कृषि तथा रैथाने अभियन्ताहरूले विद्यालय दिवा खाजामा रैथाने परिकारलाई अनिवार्य गरिनुपर्ने माग गर्दै आएका छन् । खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी, कृषि विज्ञ डा. कृष्णप्रसाद पौडेल, राष्ट्रिय कृषक समूह महासंघ, कोदो तथा कोदोजन्य बालीविज्ञलगायतले रैथाने परिकार प्रवद्र्धनमा जोड दिँदै आएका छन् । विद्यालय दिवा खाजामा बजारमा पाइने तयारी जंकफुडको व्यापक प्रयोगले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पुर्याएको भन्दै स्वास्थ्यकर्मीहरूले समेत जंकफुडलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच