काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बितेको साढे तीन दशकदेखि पार्टी नेतृत्वमा हुनुहुन्छ । पहिलोपटक तत्कालीन नेकपा मशालको महामन्त्री हुँदा प्रचण्डको उमेर ३५ वर्ष थियो । अहिले उहाँ ७० वर्षको पुगिसक्नु भएको छ । २०७८ साल पुसमा सम्पन्न महाधिवेशनबाट अध्यक्षमा पुनः निर्विरोध निर्वाचित भएपछि प्रचण्डले आफ्ना लागि सम्भवतः अन्तिम अवसर रहेको बताउनुभएको थियो । यतिबेला माओवादीभित्र नेतृत्व हस्तारन्तरणको प्रश्न उठेको छ र त्यसलाई निस्तेज पार्न प्रचण्ड प्रयत्न जारी छ ।
२०७९ मंसिरमा सम्पन्न संसदीय निर्वाचनमा तेस्रो दल बने पनि माओवादीले सत्ताको नेतृत्व गर्ने अवसर पायो । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी लगायतका पार्टीलाई आलोपालो साथ लिदै प्र्रचण्डले डेढ वर्ष सत्ताको नेतृत्व गर्नुभयो । गत महिना कांग्रेस-एमाले सात बुँदे सहमतिपश्चात् प्रचण्डले सत्ताबाट बहिर्गमन हुनुप¥यो । त्यसयता प्रचण्डले पार्टी रूपान्तरणको धारणा राख्दै आउनुभएको छ । माओवादी उपमहासचिव जनार्दन शर्माले पार्टी रूपान्तरणका लागि नेतृत्व परिवर्तन अपरिहार्य भएको भन्दै लिखित प्रस्ताव नै पेस गर्नुभएको छ ।
माओवादीको जारी बैठकमा उपमहासचिव शर्माले ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा प्रस्ताव पेस गर्नुभएको छ । जसमा अध्यक्ष प्रचण्डलाई संरक्षकको रूपमा रहन र नेतृत्व हस्तान्तरण गर्न सुझाइएको छ । अर्का उपमहासचिव वर्षमान पुनले पनि अध्यक्षको कार्यकाल तोक्न माग गर्नुभएको छ । उहाँले तत्कालै नेतृत्व नछाडेसम्म प्रचण्ड कहिलेसम्म नेतृत्वमा रहने भन्ने विषय टुंगो लाग्नुपर्ने बताउनुभएको छ । बैठकमा माओवादी नेतृ ओनसरी घर्तीले पनि प्रचण्डका पछिल्ला व्यवहारले आशंका बढाउँदै लगेको उल्लेख गर्नुभएको थियो ।
माओवादीभित्र सबैले बोल्न नचाहे पनि नेतृत्व परिवर्तनको पक्षमा अभिमत बढ्दै गएको छ । यद्यपि, प्रचण्डका लागि यो नौलो विषय होइन । विगतमा आफ्नो नेतृत्वविरुद्ध उभिएका मोहन वैद्य, डा.बाबुराम भट्टराईदेखि नेत्रविक्रम चन्द समेतलाई प्रचण्डले पाखा लगाइसक्नु भएको छ । माओवादीमा प्रचण्डबारे उठेका प्रश्नहरू नयाँ होइनन् । खासगरी संसदीय सत्ता राजनीतिमा अलमलिएर जनवादी कार्यदिशाबाट विचलित भएको आरोप उहाँलाई लाग्दै आएको छ । यस्ता आरोपको सके प्रतिवाद गर्ने नसके आरोप लगाउनेलाई नै बहिर्गमनका लागि बाध्य बनाउने नीति प्रचण्डले अँगाल्दै आउनुभएको छ ।
अहिले पनि प्रचण्डले आफूमाथि उठेका प्रश्नहरूलाई निस्तेज पारिछाड्ने उहाँनिकट नेताहरूको भनाइ छ । ‘अझै पनि माओवादीमा प्रचण्डको नेतृत्व अपरिहार्य छ । यदाकदा उहाँविरुद्ध लगाइएका आरोप वा हठात नेतृत्व बदल्ने प्रस्ताव आफैँ निस्तेज हुन्छन्’, प्रचण्डनिकट एक नेताले भन्नुभयो । ती नेताका अनुसार केन्द्रीय कमिटी बैठक सम्पन्न हुने बेलासम्म आत्मालोचना गरेर भए पनि प्रचण्डले आफूलाई सुरक्षित गर्नुहुने छ ।
एकातिर सत्ता गुमेको छ, अर्कोतिर पार्टी नेतृत्व छाड्न दबाब छ । तर पनि अध्यक्ष प्रचण्ड आफूलाई कुनै टेन्सन नभएको बताउनुहुन्छ । हालै पत्रकारहरूको प्रश्नमा उहाँले आफूलाई कुनै टेन्सन नरहेको बताउनुभएको थियो । ‘हामीलाई कुनै टेन्सन छैन । टेन्सन पत्रकारलाई मात्रै हो । सबै कुरा मिलेर जान्छ’, प्रचण्डको भनाइ छ । उहाँले सबै कुुरा मिलेर जान्छु भन्नुका पछाडि माओवादीमा तत्काल नेतृत्व परिवर्तनको सम्भावना छैन भन्ने आशय लुकेको छ । लामो समयपछि बसेको पार्टीको बैठकमा उठेका आन्तरिक सवालहरू सम्बोधन गरेर जाने तयारी प्रचण्डको छ ।
केन्द्रीय कमिटीमा प्रचण्डका पक्षमा भारी बहुमत भएकाले तत्काल उहाँलाई कुनै ‘टेन्सन’ नभएको हुनसक्छ । तर, माओवादी आन्दोलनमा निरन्तरको क्षयीकरण र नेतृत्वबारे निरन्तरको आरोपले माओवादी नेतृत्वका बीच ‘विश्वासको संकट’ पैदा गर्ने निश्चित छ । विगतमा पनि उपमहासचिवद्वय शर्मा र पुनसँगै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि प्रचण्डको विकल्प खोज्नुपर्ने प्रस्ताव गरिसक्नु भएको थियो । नेतृत्वलाई आरोपित गर्ने तर आफैँ नेतृत्वको निकट भएर स्वार्थ पूरा गर्ने प्रवृत्ति माओवादीमा नयाँ होइन । प्रचण्डलाई आलोपालो आरोपित गर्ने र प्रचण्डकै सरकारमा आलोपालो अवसर लिनेमा शर्मा र पुन अग्रपंक्तिमा हुनुहुन्छ । यसर्थ यसपटक पनि नेतृत्व हस्तान्तरणको प्रश्नले प्रचण्डलाई छुने देखिँदैन । किनकि प्रश्नकर्ताका कमजोरीमा खेल्न र नेतृत्वमा जमिरहन प्रचण्डलाई बानी परिसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच