देशको अनुहार झल्किने दुई कुराहरू भनेको शिक्षा र संस्कृति नै हुन् । जुन देशको शिक्षा गुणस्तरीय हुन्छ, त्यहाँको संस्कार पनि राम्रो हुन्छ । जहाँ शिक्षा क्षेत्र भद्रगोल हुन्छ, त्यहाँ उल्लेख गर्न लायकको केही भेटिँदैन । जहाँ असल संस्कृति बसेको हुन्छ, त्यहाँको समाज अनुकरणीय हुन्छ । जहाँ उल्लेख गर्न लायकको कुनै संस्कृति हुँदैन, त्यहाँको समाज अस्तव्यस्त हुन्छ । जुन समाजले उचित शिक्षा पाएको हुन्छ, त्यो समाजले आफ्ना पितापुर्खाको संस्कृति जोगाउँदै आएको हुन्छ । शिक्षाका नाममा विकृति भिœयाइएको छ भने परम्परागत संस्कृतिहरू लोप हुँदै जान्छन् । मौलिक संस्कृति लोप हुँदै गएको समाजको अस्तित्व पनि हराउँदै जान्छ ।
शिक्षा क्षेत्र ध्वस्त पारिदिने हो भने त्यो देश ध्वस्त पार्न कुनै मिहिनेत गर्नै पर्दैन । आर्थिक रूपले जतिसुकै सम्पन्न मुलुक पनि शिक्षामा अवनति सँगसँगै गरिब मुलुकमा परिणत हुन थाल्दछ । समृद्धिको कुनै पनि द्योतक त्यो देशमा बाँकी रहँदैन । निर्माण भइसकेका भौतिक संरचनाहरूमा समेत खिया पर्दै जान्छ । मानवस्रोतको विनाशको त कुरै गर्न पर्दैन । त्यस्तै संस्कृतिमा खलल पुग्न थाल्यो भने देशको पहिचानमा आघात पर्दै जान्छ । देशको पहिचान नै सकिँदै गएपछि न त्यो देशका राष्ट्र प्रमुखहरूको इज्जत विश्वपरिवेशमा रहन्छ न सर्वसाधारणले टाउको उठाउने ठाउँ नै भेट्दछन् ।
विद्यार्थीलाई पढाउनुपर्ने के हो, पढिसकेपछि विद्यार्थीको जिम्मेवारी के हो, कस्ता विद्यार्थीलाई कस्तो शिक्षा दिनुपर्दछ, कति विद्यार्थीलाई के पढाउनुपर्दछ जस्ता कुराहरूमा कुनै लक्ष्य निर्धारण नगरी नेपालको शिक्षा प्रणाली अघि बढिरहेको छ ।
आफ्नो संस्कार र संस्कृति जोगाउन समाज आफैं क्रियाशील हुनुपर्दछ । राज्यले पनि आफ्ना भूगोलमा पहिचानका रूपमा रहेका संस्कृति जोगाउन प्रयास गरेकै हुन्छ । नेपालमा नेपालीहरूको धर्म, संस्कृति, संस्कार, परम्परा आदिको संरक्षण, सम्बद्र्धन, प्रबद्र्धन र प्रचार गर्नका लागि संस्कृति मन्त्रालयको स्थापना गरिएको छ । जनता र भूगोल दुबैको मर्मस्थानमा पुगेर मौलिक नेपालमा प्रचलित संस्कार, संस्कृतिको संरक्षण सम्बद्र्धन गर्नुपर्ने संस्कृति मन्त्रालय भने परम्परागत प्रशासनिक झैझमेलाहरू धान्नमा मात्रै सीमित हुनपुगेको छ । मन्त्रालय अन्तर्गत पर्ने विभिन्न निकायका पदाधिकारीहरूको नियुक्ति, बढुवा र सरुवा आदिमै अल्झिने गरेको छ ।
अर्कोतिर राज्यको सबैभन्दा महत्वपूर्ण क्षेत्र शिक्षा कुहिरोको कागजस्तै बनेको छ । जग के हो, हाँगाबिँगा के हुन्, गन्तव्य कता हो कुनै छेउटुप्पोको जानकारी बिना नै नेपालको शिक्षा निरन्तर हिँडिरहेको छ । विद्यार्थीलाई पढाउनुपर्ने के हो, पढिसकेपछि विद्यार्थीको जिम्मेवारी के हो, कस्ता विद्यार्थीलाई कस्तो शिक्षा दिनुपर्दछ, कति विद्यार्थीलाई के पढाउनुपर्दछ जस्ता कुराहरूमा कुनै लक्ष्य निर्धारण नगरी नेपालको शिक्षा प्रणाली अघि बढिरहेको छ । आधारभूत तहमा के ज्ञान दिने, माध्यमिक तहको लक्ष्य के हो र उच्चशिक्षाको गन्तव्य कतातिर हुनुपर्दछ भन्ने पनि कुनै एकिन नगरी पढ्न आएकाहरूलाई पढाइ दिने मान्यता बोकेर नेपालको शिक्षानीति तर्जुमा गरिएको छ ।
शिक्षा मन्त्रालयमा हालीमुहाली भएको कुनै मान्छे बेलायततिर गएर त्यहाँको शिक्षा प्रणाली बुझेर आयो भने त्यही अनुरूपको प्रणाली नेपालमा लागू गराइन्छ । अर्को विद्वान् अमेरिकातिर गएर आएमा त्यहीँको पाठ्यक्रम लागू गराइन्छ । आफ्नो भन्ने केही बाँकी राखिँदैन । विदेशी प्रणाली नै सबैभन्दा उत्तम हो भन्ने परिभाषित गर्दै नेपालका अति उपयोगी प्रणालीहरूलाई समेत पाखा लगाउने गरिएको छ । वर्षेनी शिक्षा प्रणाली परिवर्तन गर्न हिच्किचाउने गरिएको छैन । गुरुकुल पद्धतिका कतिपय व्यवस्थाहरू विश्वकै लागि अनुकरणीय छन् तर तिनका बारेमा कसैले सोच्ने गरेको छैन । आर्थिक रूपले सम्पन्न मुलुकको नक्कल गर्नु नै गुणस्तरीय भन्ने व्याख्या गर्ने गरिएको छ ।
मुलुकको भविष्य निर्धारण गर्ने क्षेत्र नै शिक्षा र संस्कृति हुन् । समयानुकूल शिक्षानीति परिवर्तन गर्दै समयको माग बमोजिम र देशको आवश्यकता अनुसारको शिक्षा प्रदान गर्नुपर्नेमा पञ्चायतकालमा विसं २०२८ मा ल्याइएको शिक्षानीति नै आजसम्म पनि बर्करार छ । विसं २०४६ मा देशमा प्रजातन्त्र आयो, विसं २०६३ मा नेपालमा गणतन्त्र स्थापित भयो तर बदलिएको राजनीतिक अवस्थामा समसामयिक शिक्षा प्रणाली विकास गर्नुपर्नेमा पञ्चायती शिक्षानीतिलाई चलाउने हिम्मत कुनै पनि सत्ताधारीमा देखिएन । यसबाट के पुष्टि हुन्छ भने लोकतन्त्रको नारा बोकेर आन्दोलन गरेका नेतागण र राजनीतिक दलहरूमा शिक्षाका बारेमा कुनै ज्ञान नै थिएन वा उनीहरूले कुनै सोच नै निर्माण गरेका थिएनन् वा पञ्चायतकालको उक्त शिक्षानीति नै परिवर्तन गर्न आवश्यक देखिएको छैन ।
मुलुक निर्माणको दुई महत्वपूर्ण विधा शिक्षा र संस्कृति हाँक्नका लागि नेपालले अहिले दुई नयाँ एवं शालीन मन्त्रीहरू पाएको छ । उमेरले दुबै युवा नभए पनि वृद्ध होइनन् । जोश र जाँगरका दृष्टिले दुबै मन्त्रीहरू अब्बल नै छन् । पाको उमेरका नभए पनि भुइँतहको राजनीति गर्दै आएका दुबै परिपक्व नेता हुन् । कुनै पनि खराब राजनीतिक र आर्थिक दाग नलागेका व्यक्तिहरू शिक्षा र संस्कृति मन्त्रालयले पाएका छन् । दुबै मन्त्रीहरू अध्ययनशील र काममा तल्लीन हुने चरित्रका छन् । सस्तो प्रचारभन्दा असल परिणाम दिन खोज्ने उनीहरूको स्वभाव अहिलेसम्मका कामहरूबाट देखिएको छ तर एक महिनाको परिणाममा उल्लेख गर्न लायकको कुनै काम भएको भने पाइएको छैन ।
शिक्षासँग विज्ञान र प्रविधि पनि जोडिएको छ । संस्कृतिसँग पर्यटन जोडिएको छ । शिक्षा भन्ने बित्तिकै विद्यालयतहदेखि उच्च तहसम्मको सबैखाले शिक्षा समेटिएको छ । तीन-चार वर्षका बालबालिकादेखि पाका उमेरका मान्छेहरू सबैको शिक्षाको जिम्मा यसै मन्त्रालयले लिएको छ । साथै विश्वव्यापीरुपमा विज्ञानले गरेका नयाँ आविष्कारहरूदेखि नयाँ-नयाँ प्रविधिहरूलाई आत्मसात् गर्दै तदनुरूपको विकास नेपालमा भित्र्याउने जिम्मेवारी पनि शिक्षा मन्त्रालयकै छ । यसरी हेर्दा एउटा मन्त्रीले धान्नै नसक्ने जिम्मेवारी यो मन्त्रालयको छ । त्यसैले पनि होला आजसम्मका शिक्षामन्त्रीहरूले प्रशंसा गर्न योग्य कुनै काम गर्न सकेको देखिँदैन ।
संस्कृति मन्त्रीलाई पर्यटन क्षेत्रकै झण्झटले संस्कृतितिर नजर लगाउने फुर्सदै नमिले जस्तो देखिन्छ । पर्यटन मन्त्रीले अझ देशका जहाजहरू र एयरपोर्टहरू हेर्नुपर्ने भएकाले पनि मन्त्रीहरूको आकर्षण उतै देखिने गरेको छ । सवा सय जातका पन्ध्र सय संस्कृतिहरूको झमेलामा फस्नुभन्दा अरबका जहाज र दैनिक करोडका कारोबार हुने एयरपोर्टहरू नै मन्त्रीका लागि सम्वेदनशील हुनुलाई नौलो मान्ने कुरा पनि भएन । सयभन्दा बढी जातजातिले बोल्ने भाषा र तिनीहरूको संस्कार प्रबद्र्धनभन्दा सयभन्दा मुनिका संख्यामा रहेका जहाजहरूको व्यवस्थापन नै मन्त्रीका लागि चुनौतीपूर्ण र आकर्षणको केन्द्र हुनुलाई पनि अस्वाभाविक मानिएको छैन ।
शिक्षा मन्त्रालय, संस्कृति मन्त्रालय चुस्त दुरुस्त हुनसके मात्रै देशको शिक्षा र संस्कृति बलियो हुँदै जाने हो । असल मनसाय बोकेका यी दुई मन्त्रीहरूको प्रशंसनीय कामहरू हेर्न जनता लालायित छन् । गर्नुपर्ने कामलाई भोलि भनेर नटार्नु भन्ने रावणको गुरु मन्त्रलाई आत्मसात् गर्नै पर्दछ ।
बाहृय स्वभाव हेर्दा अहिलेका दुबै मन्त्री त्यस्ताखाले आकर्षणभन्दा टाढा रहन रुचाउने जस्ता देखिएका छन् । शिक्षामन्त्रीले स्टन्टभन्दा टाढा रहेर काम गर्ने बताए पनि यसभन्दा अघिकी शिक्षामन्त्रीले स्टन्टकै माध्यमबाट केही चर्चा बटुलेका कारण जनताले देख्ने गरी काम गर्न त्यति सहज पनि देखिएको छैन । उता पर्यटन एवं संस्कृति मन्त्रीलाई भने पदबहाली गर्दा नगर्दै भएका दुई हवाई दुर्घटनाहरूले थाल खाऊँ न भात खाऊँको स्थितिमा पुर्याएको छ । ठूला पदका व्यक्तिलाई आउने समस्याहरू ठूलै हुने भएकाले यस्ता अवरोधबाट नआत्तिई कार्यकालको अन्तिममा असल परिणाम दिन सक्नुमा नै स्वयं मन्त्रीहरूका साथै देश र जनताको भलाई अन्तर्निहित हुन्छ ।
हिन्दुहरूका मन्दिरमा हिन्दुहरूकै नियन्त्रण रहनुपर्दछ । मस्जिदहरूमा मुसलमानहरूकै अधिकार रहेको हुन्छ । क्रिस्चियनहरूका पादरी हिन्दु, किराँत, मुस्लिम वा अन्य कुनै जाति बन्न सक्दैनन् । मदरसामा मुुसलमानहरूले नै पढाउने हो । गुरुकुलहरूमा हिन्दुहरूकै बाहुल्य हुने कुरामा कुनै शंका रहँदैन । यस्तोमा कतै घुसपैठ भएको देखियो भने कसैले पनि सहज मान्न सक्दैन । सबै धर्मावलम्बीहरूले आफ्नो धर्मको संरक्षण, परिपालन र आचरण निर्भय गर्न पाउनुपर्दछ । अर्काको हस्तक्षेप हुनथाल्यो भने त्यसबाट निस्किएको राँको निभाउन मुस्किल पर्दछ । संस्कृतिमन्त्री यस्ता कुराहरूमा सचेत हुनैपर्दछ ।
नेपालमा स्वभावतः अन्य धर्मावलम्बीहरूका भन्दा हिन्दूहरूका मन्दिर, संस्था र मूर्तिहरू बढी छन् । मन्दिरहरूको संरक्षण सम्बद्र्धन हेतु विभिन्न निकायहरू सरकारी र गैरसरकारी तबरमा खडा गरिएका छन् । सरकारको संस्कृति मन्त्री हिन्दु, बौद्ध, किरात, मुस्लिम, क्रिस्चियन जो पनि हुनसक्दछ तर मन्त्रीका हैसियतले नियुक्ति गर्ने अवसर मिल्यो भनेर पशुपति विकास कोषको पदाधिकारीमा हिन्दुबाहेकका व्यक्ति पठाउने धृष्टता कसैबाट हुन मिल्दैन । विगतमा यस्ता प्रयासहरू भएका कारण अहिले पनि छद्म भेषमा कोही त्यसरी त आउने होइनन् भन्नेमा वर्तमान मन्त्री सचेत हुनैपर्दछ । हिन्दुकामा मात्रै होइन अरू धर्मावलम्बीहरूकामा पनि त्यही अवस्था हो ।
पशुपति विकास कोषमात्रै होइन, पर्व सुधार समिति, पञ्चांग निर्णायक समिति आदि जस्ता थुप्रै संस्थाहरू छन् । त्यस्ता संस्थामा कतै घुसपैठ भएको त छैन भनेर हिन्दुधर्मको मर्म बुझेका र संस्कृत पढेका संस्कृति मन्त्री पक्कै चनाखो भएकै होलान् भन्ने ठान्नुपर्दछ । धर्मान्तरणका लागि भइरहेका प्रयास नियन्त्रणका उपाय पनि खोज्ने जिम्मेवारी कसको हो आजसम्म कसैले थाहा पाउन सकेको छैन । संविधानले धर्म परिवर्तन गर्न उक्साउनुलाई दण्डनीय भनेकै छ । संविधानको रक्षा गर्नु सरकारको कर्तव्य नै हो र यसमा कोही पनि चुक्नु हुँदैन ।
उता शिक्षामन्त्रीले समयमा काम फत्ते गरेको देखिएको छैन । नेपाल संस्कृत विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष र सदस्यको पदावधि सकिएको वैशाखमै हो । आगामी असोजमा उपकुलपतिको समेत म्याद सकिँदैछ । खाली भएका पदमा नियुक्तिको कुनै सुरसार देखिएको छैन भने खाली हुने पदका लागि पनि तयारी गरिएको छैन । मन्त्रीले सबै काम समयमै सम्पन्न गर्न सक्नुपर्दछ । ढिलो न्याय दिनुभनेको न्याय नदिनु सरह नै हो भन्ने मन्त्री पदमा आसीनलाई बुझाइरहनु पर्दैन । त्यसैले आफ्ना मातहतका निकायलाई चुस्त दुरुस्त राख्न मन्त्रीले प्रयास गर्नैपर्दछ ।
आर्थिक अनियमितता गर्नुमात्रै भ्रष्टाचार होइन । आफू मातहतका संस्थाहरूलाई सुसञ्चालित हुन नदिनु पनि भ्रष्टाचार हुन्छ भन्ने मन्त्री पदमा पुगेकालाई कसैले बुझाउनु पर्दैन । संस्थाका नेतृत्व पदहरू महिनौं रिक्त हुनुलाई मन्त्रीको असल आशय भनेर चित्त बुझाउन सकिँदैन । मातहत निकायका पदाधिकारीहरू आपसमा झगडा गरेर संस्था ध्वस्त पार्दैछन् भने त्यसको निकास पनि समयमै दिन सक्नुपर्दछ । गल्ती गर्दिनँ भनेर गल्ती नगर्नु मात्रै मन्त्रीको सफलता हुँदैन, सही समयमा उपयुक्त काम गर्न पनि सक्नुपर्दछ ।
शिक्षा मन्त्रालय, संस्कृति मन्त्रालय चुस्त दुरुस्त हुनसके मात्रै देशको शिक्षा र संस्कृति बलियो हुँदै जाने हो । असल मनसाय बोकेका यी दुई मन्त्रीहरूको प्रशंसनीय कामहरू हेर्न जनता लालायित छन् । गर्नुपर्ने कामलाई भोलि भनेर नटार्नु भन्ने रावणको गुरुमन्त्रलाई आत्मसात् गर्नै पर्दछ । हेरौं, के गर्छन् ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच