संगीत नै सबैभन्दा नजिकको साथी : पूर्णिमा लामा, गायिका

गीता अधिकारी
Read Time = 6 mins

डेढ दशकदेखि गायनमा निरन्तर सक्रिय गायिका हुनुहुन्छ पूर्णिमा लामा । ‘हिजोसम्म मलाई माया’, ‘डाँडापारि मेरो माया’, ‘आमा’, ‘भाग्यले नि छल्छ’, ‘मुटु जली खरानी भो’ लगायत कैयौँ चर्चित गीतमा स्वर भर्नुभएकी पूर्णिमा छोटो समयमै गायन क्षेत्रमा आफ्नो नाम स्थापित गर्न सफल गायिका हुनुहुन्छ । उहाँका ‘आगो’, ‘बन्दुक र गोली’ लगायतका गीतले मिलियन बढी भ्युज पाएका छन् । गल्छी गाउँपालिका ७ मछेडीखोला, धादिङमा जन्मी हुर्किनुभएकी पूर्णिमा लामासँग गीत संगीत, प्रेम र जीवनबारे हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंश :-

यहाँको गायन यात्रा कसरी अघि बढिरहेको छ ?
यो वर्ष मेरा धेरै गीतहरू रेकर्ड भएका छन् । गायनसँगसँगै यही वर्ष नै मैले देशविदेशका थुप्रै कार्यक्रममा सहभागिता जनाउने मौका पनि पाएँ । यस अर्थमा मेरो यो वर्ष व्यक्तिगत रूपमा र सांगीतिक रूपमा निकै फलदायी रहृयो भन्नुपर्ला ।

डेढ दशकदेखि गायनमा निरन्तर सक्रिय गायिका हुनुहुन्छ पूर्णिमा लामा । ‘हिजोसम्म मलाई माया’, ‘डाँडापारि मेरो माया’, ‘आमा’, ‘भाग्यले नि छल्छ’, ‘मुटु जली खरानी भो’ लगायत कैयौँ चर्चित गीतमा स्वर भर्नुभएकी पूर्णिमा छोटो समयमै गायन क्षेत्रमा आफ्नो नाम स्थापित गर्न सफल गायिका हुनुहुन्छ । उहाँका केही गीतले मिलियन बढी भ्युज पाएका छन् ।

के कस्ता गीत आए यहाँका यो वर्ष बजारमा ? र, कुन-कुन देशमा कार्यक्रमका लागि जानुभयो ?
केही समयअघि मात्रै ‘धेरै माया नगर्नु यहाँ, चोखो माया गर्छु भन्थ्यो, जीवनको यो आफ्नै नाटक, आउन सँगै, रिसले हो कि मायाले’ लगायतका गीत बजारमा आए । जसले राम्रै चर्चा पनि पाए । सांगीतिक कार्यक्रमको कुरा गर्नुपर्दा म यो वर्ष दुबई र बहराइन पुगेर कार्यक्रम सकेर फर्किएकी हुँ । त्यस्तै देशभरका विभिन्न स्थानमा हुने कार्यक्रममा त नियमित जस्तै नै छु । दुबई र बहराइनअघि हङकङ, कोरिया, कतारमा आयोजना गरिएका कार्यक्रममा भाग लिएर फर्किएकी हुँ ।

यहाँका कैयौँ गीत चर्चामा छन् ? केही गीतले मिलियन भ्युज पनि पाएको पाइन्छ नि ?
यहाँले भने जस्तै युट्युबमा मिलियन भ्युज पाएका मेरा केही प्रस्तुति रहेका छन् । तिनको नाम लिनुपर्दा ‘हिजोसम्म मलाई माया’, ‘डाँडापारि मेरो माया’, ‘आमा’, ‘भाग्यले नि छल्छ’, ‘मुटु जली खरानी भो’ लगायत थुप्रै गीत छन् । हालसम्म मेरो स्वरमा ३५० भन्दा बढी गीत रेकर्ड भइसकेका छन् ।

यहाँको सांगीतिक जीवन कसरी सुरु भयो ?
म एक दशकअगाडि काठमाडौं प्रवेश गरेकी हुँ । श्री वागेश्वरी उमावि, बैरेनीबाट २०७२ मा एसइई पास गरेपछि थप पढाइ र संगीतका लागि म काठमाडौं आएँ । सामाखुसीस्थित लिंकन कलेजबाट होटेल म्यानेजमेन्ट विषय पढेपछि औपचारिक रूपमा म्युजिक विषय नै पढ्ने इच्छाले अघि बढँे । र, मैले औपचारिक रूपमा डोरेमी इन्स्टिच्युटमा र गान्धर्व संगीत विद्यालयमा संगीतको अध्ययन पनि गरँे ।

एक दशकदेखि यो क्षेत्रमा हुनुहुन्छ, संगीत के रहेछ ?
मेरा लागि संगीत नशा हो । सबैभन्दा नजिकको साथी हो । संगीत सुन्दर चिज हो । कुनै पनि काम संगीतबिना अपुरो नै हुन्छ । संगीत मेरा लागि कर्म, धर्म हो । सधैं अनुशासन पालना गरेर अगाडि बढ्नेछु । खान लाउन नपाए पनि यसैमा समर्पित हुनेछु । गीत संगीतबाट घर बनाउँछु, पैसा कमाउँछु भन्ने छैन । तर, यसैमा समर्पित हुन मन छ ।

कार्यक्रममा जाँदा फ्यानको प्रेम प्रस्ताव आउँछ ?
हाँस्दै त्यो त कति कति । तर पनि म उहाँहरूको मायालाई सम्मान गर्छु ।

अनि विवाहबारे के छ योजना ?
म सैनिक परिवारकी छोरी हुँ । मेरो बुबा रिटायर्ड नेपाली सेना हो । मेरो एक दाइ र एक भाइ हुनुहुन्छ । दिदी पाँचजना हुनुहुन्छ । रोलक्रम अनुसार अझै केही समय लाग्ला ।

यहाँको भावी लक्ष्य के छ ?
ममा त्यस्तो ठूलो महत्वाकांक्षा केही छैन । गीत, संगीतमै रमाउन, जीवन बिताउन चाहन्छु । यसैमा भविष्य देखेको छु ।

गीत, संगीत क्षेत्रमा आउन चाहनेलाई के सुझाव दिनुहुन्छ ?
गीत संगीतको ज्ञान सदाबहार चाहिन्छ । बिनाअध्ययन र ज्ञान संगीत अधुरो छ । आफूलाई टिकाइराख्ने हो भने ज्ञान चाहिन्छ भन्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *