घटेको छैन इञ्जिनियरिङमा विद्यार्थी आकर्षण

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । इञ्जिनियरिङ पढाइप्रति विद्यार्थीको आकर्षण बढ्दो छ । शिक्षा, मानविकीलगायतका क्षेत्रमा स्नातक तहमा विद्यार्थी अभाव भइरहेका बेला इञ्जिनियरिङप्रतिको आकर्षण भने घटेको छैन । जुन कुरा नेपाल इञ्जिनियरिङ कलेज दुवाकोट चाँगुनारायण भक्तपुरमा शनिबार भएको प्रवेश परीक्षाबाट पुष्टि भएको हो । प्रवेश परीक्षामा उत्साहजनक विद्यार्थीको सहभागिता देखिएको थियो ।

प्लस टु उत्तीर्ण गरेका अण्डरग्राजुयट विद्यार्थी स्नातक तहमा भर्ना हुन योग्यता पुग्छ । सोहीअनुसार कलेजमा स्नातक तहका इञ्जिनियरिङका विभिन्न विधामा भर्ना हुन चाहने विद्यार्थीका लागि प्रवेश परीक्षा भएको हो । कलेजका प्राचार्य एसोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारीले प्रवेश परीक्षा सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउनुभयो । छोटो समयको अन्तरालमा विभिन्न समस्याका बाबजुद पनि प्रवेश परीक्षामा उत्साहजनक रूपमा विद्यार्थी सहभागी भएको देखिएको उहाँले बताउनुभयो । भण्डारीका अनुसार कलेजमा चाहिने कुल विद्यार्थीको आधाभन्दा बढी विद्यार्थी पहिलो चरणको प्रवेश परीक्षामै सहभागी भए । कलेजले आवश्यकताअनुसार निरन्तर चरण-चरणमा प्रवेश परीक्षा चलाउने गर्छ । कलेजमा सबै मिलाएर चार सय ८० विद्यार्थी कोटा उपलब्ध छ ।

स्नातक तहमा सिभिल, सिभिल एण्ड रुरल, कम्प्युटर, इलेक्टोनिक्स एण्ड कम्युनिकेसन, इलेक्टोनिक्स एण्ड इलेक्ट्रिकल, सिभिल फर डिप्लोमा होल्डर्सका इञ्जिनियरिङका स्नातक तहमा पढाइ हुन्छ । नाफा नलिने उद्देश्यसाथ भक्तपुरको चाँगुनारायण नगरपालिका दुवाकोट भक्तपुरमा सञ्चालित कलेज स्थापना भएको ३० वर्ष पुगेको छ । कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालित छ । कलेजमा अधिकांश शिक्षकहरू पूर्णकालीन छन् भने विभिन्न विधामा छात्रवृत्तिको पनि व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *