काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र युद्धजस्तै समाजवादी क्रान्तिको तयारीमा लागेको बताउनुभएको छ । शनिबार राजधानीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीभित्रको अन्तरसंघर्षलाई व्यवस्थित गर्दै समाजवादी क्रान्तिको नेतृत्व गर्ने दाबी गर्नुभयो । पार्टीभित्र नेतृत्व, विचारको बहस गर्दै अघि बढेको स्मरण गर्दै पछिल्लो समय देखिएको पार्टीको अन्तरसंघर्षलाई समाधान गरी समाजवादी क्रान्तिको बाटोमा अघि बढ्ने बताउनुभयो । ‘हामी नयाँ समाजवादी क्रान्तिको तयारीमा छौँ । जसरी जनयुद्धको तयारी अवस्थामा थियौँ । त्यतिबेला आवश्यक विचार, राजनीतिक, संगठन, प्राविधिक तयारी जसरी गरिएको छ,’ उहाँले भन्नुभयोे, ‘समाजवादी क्रान्ति गर्ने तयारीका साथ अघि बढेको छु । त्यतिबेला विचार, लाइन र बहसको विवाद थियो । विवादबीच जनयुद्ध यहाँसम्म आइपुग्यो । अहिले आत्तिनुपर्ने कारण छैन । यो बहसले पार्टीलाई अझै एकताबद्ध बनाउने छ । माओवादीले समाजवादी क्रान्तिको नेतृत्व गर्छ भन्ने विश्वास छ ।’
उहाँले स्थायी समितिमा आफू र उपमहासचिव जनार्दन शर्माबीच भएका आशंका समाधान भएको दाबी गर्दै शर्माले पार्टी विभाजन गर्ने भ्रमको अन्त्य भइसकेको बताउनुभयो । आफू र शर्माबीच विवाद हुनुलाई ‘अगुल्टो ठोसेर आगो बाल्ने’ नीतिको रुपमा लिन कार्यकर्तालाई आग्रह गर्नुभयो । ‘मेरो र प्रभाकर (शर्मा) बीच बेलाबेला अगुल्टो ठोसिएझैँ हुने गरेकै छ । यो आगो बाल्नु, खाना पकाउनका लागि भएको छ,’ उहाँले भन्नुभयोे, ‘मेरो अघि हुँदा मलाई महान् नेतृत्व भन्ने, बाहिर गएपछि धारे हात लगाउने प्रवृत्ति बढेको छ । यसपटक प्रभाकरजीको मनको कुरा बाहिर आओस् भन्ने थियो । मैले प्रभाकरले पार्टी फुटाउँदैछ भनेको होइन ।’
उहाँले शर्माले पार्टी निर्माणका लागि राखेका नेतृत्व हस्तान्तरण, पार्टीको नाम र चुनाव चिह्न परिवर्तनलगायत विषय केन्द्रीय समितिमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा उल्लेख गर्ने बताउनुभयो । ‘दस्तावेज बनाउँदै गर्दा प्रभाकरले उठाएका मत आत्मसाथ गर्ने स्थायी समितिबाट स्वीकृत भएको छ,’ उहाँले यो बीचमा दुई नेताबीच गम्भीर आशंका भए पनि निराकरण भएको दाबी गर्दै भन्नुभयो, ‘हामीबीच केही गम्भीर आशंका थिए । केही कुरा अध्यक्ष र प्रभाकरले सँगै बसेर अध्ययन÷अनुसन्धान गर्ने भन्ने भयो । जरुरी परे पार्टी केन्द्रबाट टीम बनाएर त्यस आशंका निराकरण गर्ने निर्णय भएपछि जे भ्रम थिए, मूलभूत रूपमा चिरिएको छ ।’
अध्यक्ष दाहालले पार्टीमा विधिको बारेमा पनि समझदारी बनेको उल्लेख गर्दै शर्माले पार्टी फुटाउँदै भन्ने खारेज भएको बताउनुभयो । ‘पार्टी फुटको भ्रम खारेज गरिएको छ । त्यो भ्रममा कोही नपरौँ । अब देशैभरि सन्देश सभा गर्नुपर्ने छ,’ उहाँले भन्नुभयोे, ‘आगामी दिनमा विभाजित माओवादी एकताबद्ध गर्ने प्रयास छ । हामी एकताबद्ध छौँ, एकताबद्ध रहन्छौँ । पार्टी एकताबद्ध छ, प्रभाकरले पार्टी फुटाउँदैछ भन्ने गलत सिद्ध भइसकेको छ ।’
उहाँले आफ्नो सरकारका बेला सुशासन, भ्रष्टाचार नियन्त्रण, सरकारी जग्गा फिर्ता गर्ने प्रयास समाजवादी क्रान्तिको आधार निर्माणका लागि गरेको बताउनुभयो । उहाँले भ्रष्टाचारीलाई कारबाही गर्न खोज्दा प्रतिपक्षमा पुगेको बताउनुभयो । उहाँले फेरि समाजवादी क्रान्तिका लागि आवश्यक तयारीमा लाग्नुपर्ने बताउनुभयो । ‘हामी जनताको बीचमा गएर नयाँ क्रान्तिको तयारीको संकल्प गर्नुपर्ने बेला छ । ढिलो वा छिटो नेपालमा ठूलो रेडिकल मुभमेन्ट हुन्छ । गुणात्मक आन्दोलन हुन्छ,’ उहाँले भन्नुभयो । उहाँले आफूले चुनवाङ बैठकमा गणतन्त्रका लागि ठूलो क्रान्ति हुने गरेको स्मरण गर्दै अब समाजवादी क्रान्तिको नेतृत्व माओवादीले गर्ने बताउनुभयो ।
उहाँले कांग्रेस एमालेको पक्षमा संसद्मा संख्या भए पनि जनमत आफ्नो पक्षमा भएको दाबी गर्नुभयो । बंगलादेशमा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको बहुमत भए पनि जनमतका कारण पछिल्लो परिणाम भोग्नुपरेको बताउनुभयो । ‘संख्या तिनीहरू (कांग्रेस, एमाले) को पक्षमा छ, तर जनमत हाम्रो पक्षमा छ । जसरी बंगलादेशलगायत दक्षिण एसियामा घटनाक्रम अगाडि आएका छन्, संख्या नै सबै कुरा सरकारमा बस्नेहरूले सोचे भने विडम्बना हुनेछ ।’ उहाँले विगतमा संविधानमा हस्तक्षेप हुँदा, संविधान मिचेर संविधान विघटन हुँदा जनतालाई सडकमा ल्याएर परास्त गरेको बताउनुभयो ।
प्रचण्डंलाई हटाएर अध्यक्ष हुने कुनै चाहना छैनः जनार्दन शर्मा
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले आफू सधैँ पार्टी नेतृत्वको पक्षमा उभिएको बताउनुभएको छ । पार्टी स्थायी समिति बैठकमा आफूले अबको दुई सय वर्षसम्म पनि नेपालको वैचारिक नेतृत्व लिने गरी विचार निर्माण गर्न र सत्ताको नेतृत्व लिँदा र आफूले अध्यक्ष प्रचण्डलाई सुझाव दिँदा कसरी नेतृत्व विरोधी भएँ ? भनी प्रश्न पनि गर्नुभयो । अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी कार्यक्रममा बोल्दै उहाँले अध्यक्ष दाहाललाई तपाईंको भूमिका विचार निर्माणमा रहोस्, सत्ताको नेतृत्व गर्नुस्, संगठनको जिम्मा अरूलाई दिनुस् भन्दा आफूमाथि नेतृत्व विरोधी कुरा गरेको आरोप लगाउने काम गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
उपमहासचिव शर्माले अध्यक्ष दाहालतिर फर्कँदै तपाईंलाई हटाएर आफू अध्यक्ष हुने कुनै चाहना नराखेको बताउनुभयो । पार्टीलाई समाप्त हुन नदिनका लागि आफूले अध्यक्ष दाहाललाई वैचारिक धारको नेतृत्व गर्न आफूले प्रस्ताव गरेको पनि उपमहासचिव शर्माको स्पष्टीकरण थियो । उहाँले आफूमाथि पार्टी विभाजन गर्न खोजेको आरोप पार्टी हेडक्वार्टरबाट आएको जिकिर गर्दै अध्यक्ष दाहाल आफैँले त्यसको सार्वजनिक रूपमा खण्डन गर्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, सत्ताको नेतृत्व गर्नुस् । संगठनको जिम्मा अरूलाई दिनुस् भनेको हो मैले । यो के अन्याय हो ? यो के उहाँप्रति अपमान हो ? यो के उहाँहरूलाई हटाएर म अध्यक्ष हुन खोजेको हो ? मलाई चाहिएको छैन । मैले भनेको छु उहाँलाई । मलाई चाहिएको छैन । तपाईँलाई हटाएर मलाई अध्यक्ष हुनु छैन । तर यो पार्टी आन्दोलन बनाउने हो भने यो छलफल चाहिन्छ भनेर मैले पार्टीमा छलफल राखेको हो ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच