सहकारीमार्फत् आयआर्जनमा जोडिँदै दाङका महिला

हिमालय टाइम्स
Read Time = 5 mins

दाङ । पछिल्लो समय सहकारी संस्थाका कारण महिला स्वरोजगार बन्दै गएका छन् । जिल्लामा खुलेका सहकारी संस्था महिलाका लागि आम्दानीका स्रोत बन्दै गएका हुन् ।

विगतमा घरको काम र घाँसपातमा व्यस्त हुने महिला गाउँघरमा सहकारी खुलेपछि अहिले आफ्नो र परिवारका लागि रकम जम्मा गर्नाका साथै ऋण लिएर आयआर्जनसमेत गर्न थालेका छन् । बेफुर्सदिला हुन थालेका अधिकांश महिलाले रकम झिक्ने र राख्ने गर्दा सहकारी संस्था पनि फलदायी तथा नाफामुखी बन्दै गएका छन् ।

दाङको राप्ती गाउँपालिका-५ सिसहनियामा रहेको सिसहनिया साना किसान कृषि सहकारी संस्थामा आबद्ध हुनुभएका राप्ती–८ पिपरीका बेला नेपाली सहकारीमा जोडिएको एक वर्ष भयो । कृषिसम्बन्धी बीउ, मल पाउँदा उहाँ खुसी हुनुहुन्छ । उहाँले व्यावसायिक रूपमा कृषि व्यवसाय गर्दै आउनुभएको छ ।

उहाँ सहकारीमार्फत सहुलियतमा ऋण लगेर लगानी गरेको बताउनुहन्छ । यस वर्षमात्र घरमा खाएर बचेको चार–पाँच क्विन्टल आलु बेच्ने गरेको उहाँले बताउनुभयो । आफ्नोतर्फबाट धेरै महिला दिदीबहिनीलाई पनि सहकारीमा जोड्न सफल भएको उहाँले बताउनुभयो ।

संस्थामा आबद्ध भएपछि थोरै भए पनि बचत गर्नुपर्छ भन्ने बानीको विकास भएको किसान नेपालीले बताउनुभयो । “संस्थामा बचत गरेको रकमले आफूलाई समस्या परेको समयमा निकालेर समस्या समाधान गर्न सकिन्छ”, उहाँले भन्नुभयो । सहकारी संस्थामा मासिक रु पाँच सय बचत गर्दै आएको उहाँ बताउनुहुन्छ ।

उहाँजस्तै सहकारीका अर्का सदस्य राप्ती गाउँपालिका-८ का श्यामकली चौधरी सहकारीमा आबद्ध भएपछि खुसी हुनुहुन्छ । आवश्यक परेको बेला मल, बीउ, कृषि औजारजस्ता सामग्री अनुदानमा पाइने भएकाले कृषि व्यवसाय गर्न सहज भएको उहाँ बताउनुहुन्छ । अहिले १० कठ्ठामा आलुखेती, १७ कठ्ठामा मकैखेती गर्दै आएको उहाँ भन्नुहुन्छ ।

चौधरीले भन्नुभयो, “दुःख नगरेर कृषिमा आम्दानी हुँदैन, आफैँ खटिएर काम गर्ने हो भने राम्रो आम्दानी लिन सकिन्छ ।” दुई-चार रुपैयाँ आवश्यक परेको बेला अरुसँग हात थाप्नुभन्दा आफैँ कृषि व्यवसाय गरेर आम्दानी पनि राम्रो हुँदै गएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “खाली समयमा घरमा बस्नुभन्दा कृषि पेशा आम्दानीको राम्रो स्रोत भएको छ ।” उहाँले कृषि पेशाबाटै मासिक रु १०-१५ हजार बचत गर्ने गरेको बताउनुभयो । चौधरी आफूजस्तै अन्य दिदीबहिनीलाई पनि कुनै न कुनै पेशा-व्यवसायमा जोडिन आग्रह गर्नुहुन्छ ।

सोही ठाउँका सुनिताकुमारी चौधरी पनि नौ महिनादेखि सहकारीमा आबद्ध हुनुहुन्छ । सिसहनिया साना किसान कृषि सहकारी संस्थाबाट समयमा मल पाउने हुँदा उहाँले १८ कठ्ठामा मकैखेती र १४ कठ्ठमा आलुखेती गर्नुभएको छभने मकै लगाउन मेसिन, मकैको बीउ पनि ५० प्रतिशत अनुदानमा प्राप्त गर्दै आउनुभएको छ ।

सिसहनिया साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष विष्णु गुरुङले विगत सात वर्षदेखि सञ्चालनमा रहेको सहकारीमा महिला मात्र आबद्ध हुँदै आएको बताउनुभयो । हाल संस्थामा आठ सय ४० सदस्य हुनुहुन्छ । सहकारीका सदस्यले विभिन्न कृषिसम्बन्धी सहयोग प्राप्त गर्दै आएको उहाँले बताउनुभयो ।

सहकारीले महिलामा आपसी सद्भाव, सहकार्य, सिकाइ आदानप्रदानका कुरामा पनि महत्त्वपूर्ण भूमिका खेल्दै आएको उहाँले बताउनुभयो । सहकारीबाट सहुलियतमा ऋण लगेर विभिन्न पेशा, व्यवसायमा जोडिएर स्वावलम्बन बन्न सफल भएको उहाँ बताउनुहुन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *