काठमाडौं । नेपालले द्विपक्षीय सम्झौताबमोजिम भारतका बिहार र हरियाणा राज्यलाई थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले हरियाणा राज्यलाई थप १२५.८९ मेगावाट र बिहारलाई एक सय २५ मेगावाट मध्यकालीन सम्झौताबमोजिम निर्यात गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको हो ।
प्राधिकरणका अनुसार १० जलविद्युत् आयोजनाबाट उत्पादित एक सय २५ मेगावाट विद्युत् बिहारलाई र दुई जलविद्युत् आयोजनाबाट उत्पादित थप १२५.८९ मेगावाट विद्युत् हरियाणा राज्यका वितरण कम्पनीहरूलाई बिक्री गरिनेछ । प्राधिकरणले हरियाणा राज्यलाई हाल एक सय नौ मेगावाट विद्युत् बिक्री गरिरहेको छ । नेपालमा खपत गरी बढी भएको वर्षायामको विद्युत् हरेक वर्ष जुनदेखि अक्टोबरसम्म बिहार र हरियाणालाई बिक्री गरिनेछ । यससँगै मध्यकालीन सम्झौताबमोजिम भारतका राज्यस्तरका वितरण कम्पनीहरूलाई बिक्री गरिने विद्युत््को परिमाण तीन सय ६० मेगावाट पुगेको प्राधिकरणले जनाएको छ ।
आगामी अक्टोबरसम्म बिक्री गरिने उक्त विद्युत््को बिक्रीदर प्रतियुनिट आठ रुपैयाँ ७२ पैसा (५.४५ भारु) रहेको छ । गत वर्ष हरियाणालाई बिक्रीका लागि स्वीकृति दिएको एक सय नौ मेगावाटको प्रतियुनिटदर आठ रुपैयाँ ४० पैसा (५.२५ भारु) छ । यसमा भारततर्फको प्रसारण लाइन शुल्क, चुहावट, ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्क प्राधिकरणले बेहोर्नुपर्ने छैन । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को रियल टाइम मार्केट, डे-अहेड बजारमा प्रतिस्पर्धी दर र मध्यकालीन विद्युत् सम्झौताबमोजिम हरियाणालाई बिक्री गरिरहेको छ । भारतबाट स्वीकृति पाएसँगै अब बिहारलाई पनि विद्युत् बिक्री सुरु हुने प्राधिकरणले जनाएको छ । प्रतिस्पर्धी बजार र मध्यकालीन सम्झौताबमोजिम भारतीय बजारमा २८ आयोजनाबाट उत्पादित नौ सय ४१ मेगावाट विद्युत् बिक्री हुनेछ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतीय पक्षबाट स्वीकृति पाएसँगै अब छिट्टै बिहार र हरियाणामा थप विद्युत् निर्यात सुरु गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्वीकृत परिमाणको १० प्रतिशत थप विद्युत्् निर्यात गर्न सक्ने हुँदा अब एक हजार मेगावाटभन्दा बढी निर्यात गर्न सक्ने अवस्था बनेको छ, थप दुई सय मेगावाट निर्यात स्वीकृति प्रक्रियामा छ, छिट्टै स्वीकृति पाउनेमा विश्वस्त छौँ । अब विद्युत् निर्यात परिणाम बढ्दै जानेछ, चालु आवमा २५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गर्ने लक्ष्य राखिएको छ ।’
११.६४ मेगावाट दोर्दी- ११४.४५३ मेगावाट मायाखोला, ९.९९१ मेगावाट डाउन पिलुवा, १०.६७ मेगावाट तल्लो खारे, ११.६४ मेगावाट माथिल्लो खिम्ती, ६.८ मेगावाट माथिल्लो खिम्ती-२,१४.४ मेगावाट मोदी, १४.६ मेगावाट गण्डक, १९.२१ मेगावाट माथिल्लो सोलु र ११.६४ मेगावाटको दूधकुण्ड जलविद्युत् आयोजनाबाट उत्पादित एक सय २५ मेगावाट विद्युत् बिहार निर्यात हुनेछ । बिहारसँग प्रसारण लाइन जोडिएका कटैया, रक्सौल र रामनगर बिन्दुमार्फत् विद्युत् निर्यात गरिनेछ । ७५ मेगावाट लिखु-१ र ५०.८९ मेगावाटको लिखु-२ बाट उत्पादित १२५.८९ थप विद्युत् हरियाणा राज्यमा बिक्री गरिनेछ । प्राधिकरणले सुक्खायाममा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जल विद्युत््गृहहरूबाट विद्युत् उत्पादन घट्ने हुँदा गत आर्थिक वर्ष भारतबाट एक अर्ब ८९ करोड युनिट अर्थात् १६ अर्ब ९३ करोडको विद्युत् आयात गरेको थियो भने सोही अवधिमा एक अर्ब ९५ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरी १७ अर्ब छ करोड आम्दानी गरेको थियो । गत आर्थिक वर्ष आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच