दिवंगत सन्तनेता कृष्णप्रसाद भट्टराईसँग निकट मानिने कांग्रेस नेता दीपकुमार उपाध्याय पार्टीका तर्फबाट मन्त्री पनि बन्नुभयो । भारतीय नेताहरूसँग किसुनजीकै पालामा बलियो सम्बन्ध बनाउनु भएका नेता उपाध्याय कालान्तरमा त्यो देशको राजदुतको भूमिकामा पनि पुग्नुभयो । नेपालमाथिको नाकाबन्दीका समयमा आफ्नो जिम्मेवारीमा रहेका उहाँकै सक्रियता र राजनीतिक पहलपछि हट्यो भनिन्छ । मन्त्रिस्तरीय राजदूत रहेका नेता उपाध्यायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाल सम्बन्ध र हितबारेको कुरा उठाउँदा भारतले सुरक्षाकर्मी खोसेको सम्मको अनुभव छ । कपिलवस्तुबाट लामो समय सांसद हुँदै मन्त्री बन्नुभएका नेता उपाध्यायसँग सीमावासीले भोगेका समस्याको गहिरो ज्ञान छ, यो विषयलाई भारतमा जिम्मेवारीमा रहँदा प्रखर रूपमा उठाउनुभयो । नेपालले भारतसँग प्रष्ट आफ्ना कुरा राखेर तमाम समस्या सुल्झाउनुपर्ने मान्यता राख्ने नेता उपाध्यायसँग भारतीय विदेश सचिव विक्रम मिस्रीको भ्रमणलगत्तै अनि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको भारत भ्रमणको बेला न्यूज एजेन्सी नेपालले गरेको कुराकानी :-
भारतीय विदेशसचिव विक्रम मिश्री पदभार सम्हालेको केही दिनमै नेपाल भ्रमणमा आएर उच्चस्तरको भेटवार्ता सकेर फर्किनुभयो, विदेशमन्त्री आएसरह देखियो उहाँको भ्रमणको चहलपहल, पद सम्हालेलगत्तै यति हतारिएर नेपाल किन आउनुभयो होला ?
अहिलेको वैश्विक अवस्था बडो तरलतापूर्ण छ । भारतको पनि छिमेकीहरूसँगको सम्बन्ध तरंगहरू हामीले बुझेकै छौं । यस्तो अवस्थामा भूटान, नेपालजस्ता छिमेकमा उनीहरू आउनु राष्ट्रिय हितका लागि जायज कुरा हो । किनभने सरकारले त एउटाले अर्कोसँग इन्गेजमेन्ट मन परे पनि नपरे पनि गर्नुपर्छ । यो कूटनीतिको रमाइलो पक्ष हो ।
पहिला पहिलाको अभ्यासमा अलि समय लाग्थ्यो, यसपालि (विदेश सचिव) बन्नासाथ नेपाल भ्रमण भएको देखियो, यसमा भारतले भन्न खोजेको केही अर्थ छ कि ?
अन्त जान सहज पनि त हुनुपर्यो नि । भूटान र नेपालमा सरल बुझेर आए । यसलाई अन्यथा लिन हुँदैन । हामीले कस्तो व्यवहार गर्ने भन्ने महत्वपूर्ण प्रश्न हो । नेपालीहरू बरू टुट्न सक्छन् तर झुक्दैनन् भन्ने मोदीजीलाई पनि थाहा छ । २४सै घण्टामा सबैलाई भेट्नुपर्ने व्यवहार अनावश्यक देखियो । उनीहरूले त प्रयास गर्छन् नि । मैले त्यहाँ बस्दा देखेको छु । एउटा नेतालाई भारतमा औपचारिक कार्यक्रममा परराष्ट्र सचिवकहाँ जाँदा वा अझ त्योभन्दा माथि भेट्न पापड बेल्नुपर्छ । तर, यहाँचाहीँ शतर्क भएर हिनताबोध, लघुताभाष हेर्दा पनि नराम्रो देखिने प्रवृत्तिबाट सरकारमुक्त हुन नसकेकोमा मलाई दुःख लाग्यो ।
त्यसरी सबैले भेट्नु हुँदैन भन्न खोज्नुभएको ?
त्यसरी भेट्नु आवश्यक थिएन । कूटनीति भनेको रेसिप्रोसिटी (पारस्परिक) पनि हो । हाम्रोमा भारतीय दूतावासले गर्ने कार्यक्रममा सबै लाइन लागेर जान्छन् । तर दिल्लीमा हामीले कार्यक्रम गर्दा कति गाह्रो छ । मैले त भोगेँ देखेँ । हामीले पारस्परिकताको रूपमा बिस्तारै समानस्तरको व्यवहारबारे भारतलाई कन्भिन्स गर्नुपर्छ ।
उहाँले राष्ट्रपति प्रधानमन्त्रीदेखि परराष्ट्रमन्त्रीसम्म वार्ता गर्नुभयो, तर ठोस केही सम्झौता वा समझदारी त भएन नि ?
कूटनीतिमा धेरै कुरा अदृश्य हुन्छन् । वान टु वान भन्छन् नि । एक्लाएक्लै वार्तामा धेरै कुरा भइरहेको हुन्छ । राष्ट्रको हितमा भारतले पनि आफ्नो प्रयास गर्छ । नेपालले पनि गर्नुपर्छ । जसमा हामी चुकिरहेका छौं । हामीले हाम्रा समस्या प्रष्ट भन्न नसकेपछि भारतले पनि बुझ्न सक्दैन । अनि दोषारोपणमा रमाएर बस्ने अवस्था अब छैन । किनभने हामीसँग बलियो सरकार छ, समय राम्रो छ । तयारीसाथ काम गर्नुपर्छ भन्ने मेरो आग्रह हो ।
नेपालसँग भारतको असहमति चाहीँ के रहेछ त ?
प्रधानमन्त्री मोदीले नेपाल के चाहन्छ प्रष्टसँग भन्नुपर्यो भन्नुहुन्थ्यो । मैले हाँसेर तपाईंहरूको पनि के हो भन्नुपर्यो नि त भनेर भन्थें । तपाईं त आध्यात्मिक मान्छे समाधान पनि छ । समाधान नै नखोजेर त परिणाम आउँदैन भनेको थिएँ । सीमा विवादका कुरा हामी भन्नै डराउने गरिरहेका छौं । अब भनेर समाधान खोज्नुपर्छ नि । धेरै समस्या छन् नि त हाम्रो भारतसँग । कोशी र गण्डकीको बारेमा हामी नेपालीले गाली खाएको खाइ गर्नुपर्छ तपाईंहरूले सम्झौताअनुसारको पानी र क्षतिपूर्ति पनि नपाउने तपाईंहरूले कार्यान्वयन नगर्दाको अवस्था छ । समस्या समाधान गरौं भनेर अरुण जेट्लीसँग पनि मैले कुरा गरेको थिएँ । पानी भनेको यो शतकको महरूवपूर्ण सम्पती हो । यसमा भारतको पनि स्वार्थ छ । हाम्रो पनि स्वार्थ छ । यसको उपयोग गरे हाम्रो तराई र भारतको युपी बिहार पनि स्वर्ग हुन्छ ।
मोदीले चाहीँ के भने त ?
राजनीतिक तहबाट हस्तक्षेप नहुँदासम्म यो छायायुद्ध समस्या समाधान हुँदैन भन्नेसम्म कुरा भएको थियो । बरु भिडियो कन्फ्रेन्सबाट कुरा गरौं न नेपालको मन्त्री र भारतको मन्त्रीले एक महिनामा १० मिनेट भिडियो कन्फरेन्स गर्ने । नेपालले प्रतिवद्धता गरेको कुरा के अड्क्यो भारतको कुरा कहाँ गएर अड्क्यो भन्ने संवाद सुरु भयो कि भन्ने कुरा पनि चलेको थियो ।
पहिला त निकै बलियो थिए, अहिले त विपक्षी पनि हैसियत लिएर आए भारतमा विपक्षीको भूमिका बढ्ने गरी सरकार आउनु र अहिलेको विदेश सचिवको भ्रमणले भारतले नीतिगत रूपमा आफ्नो छिमेक नीति बदल्न खोजेजस्तो लाग्दैन ?
पुनरावलोकन समयको माग हो । भारतको पनि पहिलेको जस्तै अवस्था छैन । उनीहरूले पनि गठबन्धन संस्कृति राम्रैसँग चलाएका छन् । अब त संवैधानिक बाध्यता पनि छ । नायडु र नितिशकुमारको सहयोगबीना सरकार रोकिन सक्छ । यो नेपालका लागि राम्रो अवसर हो । नेपालको पानीको सरोकार युपी र विहार हो । बिहार पानी र पावरको भोको छ । नेपालमा लगानी गर्न पिपिए गर्न चाहन्छ, जुन हाम्रा लागि अवसर पनि हो । यो संवेदनशीलता बुझेर यो पानीको दशक हो । नेपालको पानीको बहुउपयोगमा भारतलाई उपयोग गर्नुपर्छ । भारतले पनि पत्याउने अन्तर्राष्ट्रिय एजेन्सी होला उसलाई लगाएर भए पनि डीपीआर बनाओस् । नभए अन्तर्राष्ट्रिय अदालतमा कानुन, सन्धि सबै हेरेर भारत र नेपाल जाऔं त । नेपाल र भारतबीचको सारा समस्या समाधान हुन्छ । युपी र बिहारमा मानिसहरू जय जयकार गर्छन् । पिउने पानीकै अहिले समस्या विश्वभर छ । हामीले भारतसँगको सम्बन्धलाई भूगोल, इतिहास र सांस्कृतिक विरासतसँग जोडेर हेर्नुपर्छ । यसलाई ध्यानमा राखेर नेपालले धेरै गर्न सक्छ । तर प्रयास गर्नुुपर्छ ।
तपाईंले मन्त्री र राजदूत भएर पनि काम गर्नुभयो, सक्नुपर्ने कुरा भन्न सकिएन भनेर स्वीकार गर्नुभएको छ, हाम्रा नेताहरूले भारतसँग भन्न किन सक्दैनन् वा भनेका कुरा किन कार्यान्वयन हुँदैन त ?
समय पनि महत्वपूर्ण कुरा हो । समय नआई हुँदो रहेनछ । लगानी बोर्डबाट भारतीय योजनामा भएका धेरै झन्झट शेरबहादुरजी प्रधानमन्त्री भएका बेला समाधान निकालियो । अरुण अगाडि बढ्यो । हामी नेपालीले भारतसँग भूपरिवेष्ठतका हिसाबले भन्न सक्नुपर्छ । नेपालमा भएको हरित ऊर्जा सस्तो दिनलाई पनि यसो त्यसो भन्ने हो र । चिनियाँ ठेकेदार छन् भनेर हुन्छ र ?
चिनियाँ लगानी भएका आयोजनाबाट विद्युत् नकिन्ने भारतको नीतिले गर्दा कतिपय चिनियाँ कम्पनी जलविद्युत्बाट बाहिरिएको अवस्था छ, यसमा भारतको स्वार्थ के होला ?
यसको भारतमा पनि विरोध भइरहेको छ । युपी र भारतका जनता दुःखी छन् । उनीहरू सस्तो बिजुली खोजिरहेका छन् । नरेन्द्र मोदी गुजरातको मुख्यमन्त्री हुँदा चिनियाँले गुजरात र प्रधानमन्त्री भएपछि राष्ट्रिय तहमा लगानी गरे । अझै पनि व्यापार संलग्नता हेर्नुभयो भने छ त । त्यसलाई नजरअन्दाज गर्ने नेपाललाई चाहिँ सानो कुरामा पनि समस्यामा पार्ने ? उनीहरूको प्रशासनयन्त्रमा केमा दोष लगाउने त भन्ने प्रवृत्ति देखियो । मोदीजीले यो कुरा बुझ्नुभएको छ । उच्च राजनीतिक तहमा यो बुझिएको छ । मैले त बुझाउने काम गर्थें । मैले भन्दाखेरि नेपालले यो पहल गर्नुपर्छ भारतले यो पुनरावलोकन गर्नुपर्छ । पानीको सदुपयोग दुवै देशको लाभ हुनेगरी कसरी गर्ने भनेर सोचों न सकियो त । तर हामी भन्नै नसक्ने अनि भारतले के बुझ्छ त ?
हामीले भन्न किन नसक्ने त, तपाईंको अनुभव के रहृयो ?
कूटनीतिमा नराम्रो कुरा नगरौ । हामी हीनताबोध र लघुताभाषबाट मुक्त हुनुपर्छ ।
विगतमा पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा भारतको विश्वास जित्न प्रयत्न गरे भनिन्छ, तर उनी पनि बहिर्गमनको बाटोमा गए र कतिपयले नेपालमा अहिले बनेको समीकरणमा भारतीय संस्थापनको ठूलो तप्काको रिजर्भेसन थियो भनिन्छ, यसमा पश्चिमा प्रभावले भूमिका खेलेको भन्ने उसको बुझाइ छ, यस्तोमा अहिलेको ओली नेतृत्वको सरकारको भारतसँगको सम्बन्धमा कत्तिको चुनौती वा अवसर रहला ?
म झण्डै एक महिना भयो स्वास्थ्यका कारण कसैसँग सम्पर्क हुन त पाएको छैन । तर पनि अन्तर्राष्ट्रिय सूचनाबारे त म जानकार नै छु । तर पनि मलाई के लाग्छ भने भारत र नेपालले पनि पुनरावलोकन गर्नुपर्छ । अब वैश्विक परम्परा परिवर्तन हुँदैछ । अब भारतले पनि आफ्ना कुरा प्रष्ट भन्नुपर्छ । हामीले पनि डुबानदेखि पानीको समस्या भन्न सक्नुपर्छ । पानीको बहुउपयोगमा जानुपर्छ । पन्चेश्वर कोशीलगायतका कुरा भन्न सक्नुपर्छ । अन्तर्राष्ट्रिय कन्सल्ट्यान्ट नै राखेर (पानीको उपयोगमा) दुवैतिर स्वर्ग हुनेगरी बनाएर विन विन गरौंभन्दा कसलाई आपत्ति हुन्छ र ?
भारतीय विदेश सचिवसँग वार्ता गरेलगत्तै परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमणमा निस्कनुभएको छ नि ?
उहाँले नेपालको भारतसँगको समस्या के-के हुन् भनेर पुनःस्मरण गर्नुपर्यो । साथै, सम्भावित समाधान के हो भनेर समस्या पहिचान गरे पछि समाधान आउँछ । भारत र बंगलादेशको बीचमा पनि ठूलै सीमा विवाद थियो जुन उनीहरूले सुल्झाए । समुद्रको सिमाना अन्तर्राष्ट्रिय अदालतमा गएर पनि सुल्झाए । एउटा समाधान त भयो नि । नेपालसँग पनि समस्या छ । जस्तो व्यापारका कुरा छन् । नेपालजस्तो सानो मुलुकको उत्पादन उनीहरूलाई सहुलियत दिँदा के फरक पर्ला ? नेपालले पनि तेस्रो देशको उत्पादन पठाउनु भएन । भारतले पनि नेपालका कृषि उत्पादनलाई अनेक बहानामा रोक्ने काम गर्नुभएन । विद्या भण्डारीलाई राष्ट्रपति हुँदा जुटको उत्पादन भारतले रोक्दा मैले आग्रह गरेको थिएँ । भारतबाट जुट पनि आउने कामदार पनि भारतका भनेर राष्ट्रपतिले जोडदार कुरा उठाउनुभयो । गण्डकीमा भनिएजस्तो पानी आएको छैन । तर अझै समाधान निक्लेको छैन । अब चाहिँ अरूको तुलनामा आरजु देउवासँग शेरबहादुरजीको श्रीमती, कांग्रेसजस्तो ठूलो पार्टीको ठूलै नेता भएका नाताले केही फाइदा पनि छ । देशको हितमा जति परिणाम देखाउन सकिन्छ त्यो अवसर पनि हो चुनौती पनि हो ।
यी समस्या त धेरै अघिदेखि नै ज्युँका त्युँ छ, हामीले यसपटक केही होला भनेर आशा कसरी गर्ने ?
हामीले मौका चुकाइरहेका छौं । केपी ओलीजीको पालामा विगतमा पनि बलियो सरकार थियो । अहिले फेरि बलियो सरकार छ । यो अवसर हो । कमसेकम अवधि पनि झण्डै तीन वर्ष छ । योबेला पहल त हामीले गर्नुप¥यो नि । हाम्रो समस्या हामीलाई कहाँ दुखेको छ हामीले नभन्दिने अनि अर्को (भारत)ले त के वास्ता गर्छ र ? भारतको कर्मचारीतन्त्रले हामीले नेपाल चलाएका छौं भन्छ । चलाएकैमा रहने कि हामीले हाम्रो पीडा भन्ने ?
नेपाल-भारत व्यापार घाटा उच्च छ, हामीले सबै माल वस्तु आयात गर्ने अवस्था छ, अहिले दुई देशबीच भएको बंगलादेशसम्मलाई विद्युत बेच्ने समझदारीबाट देशले व्यापार घाटा घटाउन कसरी बढी फाइदा लिनसक्ला ?
म त कांग्रेस र एमालेको दोष देख्छु । प्रचण्डजीलाई दोष दिनहुन्न । आफ्नो स्वार्थमा बढाइदिएपछि उहाँको महत्वकांक्षा बढ्यो । आफ्नो सवार्थमा कांग्रेस र एमालेले पटक-पटक निर्लज्जताका साथमा काँध थापेर नैतिक मूल्य मान्यता, सिद्धान्त र आदर्शलाई तिलाञ्जलि दिएर गल्ती गरे ।
दुई देशबीच जे जति राम्रो सम्बन्ध भए पनि नेपाल र भारतबीच तिक्तता पनि उत्तिकै छ, हाम्रो सीमा मिचेको र डुबान आदिका कारण नेपालमा भारतविरोधी मनोविज्ञान पनि बेला-बेला बढ्ने गर्छ, तपार्ईंले भारतमा चाहिँ नेपालप्रतिको मनोविज्ञान कस्तो पाउनुभयो ?
त्यो बेलामा मैले भारतका उच्च तहका नेतालाई मैले केही कुरा भन्थें । चीनतिर फर्कियो भन्ने मिडियाको हल्ला थियो । राजनीतिक तहमा त्यस्तो थिएन । त्यो बेला अहिलेका विदेशमन्त्री विदेश सचिव हुनुहुन्थ्यो । उहाँसँग कुरा गर्दा राजनीतिक तहमा त्यस्तो खराब सम्बन्ध होइन । किनभने चीनसँगको व्यापार संलग्नता त हाम्रोभन्दा भारतको कति गुणा बढी समस्या छ । नेपालले आफ्नो हित हेर्ने हो । बिमस्टेकमा भारतको पूर्ण प्रतिबद्धता छ । भुटान र नेपालले बढी भएको विद्युत बेच्न खोज्दा सहजीकरण भारतले गर्ने भन्ने छ । तर त्यसबाट पछि हटेर भारतले जस लिन चाहन्छ । त्यो त हाम्रो अधिकार हो । हामीले भन्न सक्नुपर्यो । बंगलादेशले विद्युत चाहन्छ भने बाटो दिनुस् भन्नु पनि पर्यो नि । त्यसमा १० हजार निगाहसाथ दिने भएँ भन्दा गमक्क परेर अब त केही हुने भयो भन्छौं । पहिले देशभित्र राष्ट्र हितमा एकता हुनपर्छ नक्साका बारेमा सहमति बन्यो । त्यस्तै अरू पनि देशको हितमा एकता थियो नि । सुदूरपश्चिममा आँखा अगाडि मान्छे बेपत्ता हुँदा उसबारे खोज्ने अनुसन्धान गर्ने कुरामा पनि असहयोग गर्ने, पैसा तिरेको खोप पनि नपठाउने तपार्इंहरूको के कूटनीति हो भन्दा उनीहरू नाजवाफ हुन्थे ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कस्तो पाउनुभयो ?
उहाँ सनातन धर्म, परम्परा मान्ने नैतिकवान आहार विचारमा प्रष्ट व्यक्ति हो । नेपालमा उहाँको अराध्यदेव पशुपतिनाथ अरू पनि तीर्थव्रत छन् । नेपालको हितका लागि संसद्मा पहिलो भाषण दिनुभयो नि उहाँको भित्री हृदयको स्पन्दन त्यही हो । तर कूटनीतिमा गाह्रो हुने रहेछ । भारतमा एकल बहुमत भयो भन्दैमा, व्यक्तित्व र उचाइ छ भन्दैमा नेपालसँगको सम्बन्धमा परराष्ट्र नीति फेर्न पाउँछन् भनेर त्यहाँ (कर्मचारीतन्त्रबाट) प्रश्न उठ्थ्यो ।
भनेपछि प्रधानमन्त्री मोदी नेपालसँगको बाधा अड्काउ फुकाउन चाहन्थे तर त्यहाँको कर्मचारीतन्त्रले रोक्यो ?
मैले त्यस्तो धेरै भोगें । हामीले चलाएकै छौं त । नेपाललाई मिलाएर राखेकै छौं भन्थे उनीहरू (कर्मचारीहरू) । म त राजनीतिक तहबाट मन्त्रिस्तरीय राजदूत भएर गएको थिएँ । शेरबहादुरजी भए पनि ओलीजी भए पनि प्रचण्डजी प्रधानमन्त्री हुँदा पनि तपाईंलाई त्यसै पठाएको हो र ? विवेक देखेर गर्नुस् भनेपछि पानी डुबान विवादबारे प्रधानमन्त्री कार्यालयमा गएर कुरा गरे । तपाईंहरूको हामीप्रतिको व्यवहार सार्वभौम नै भएन भनेर मैले कुरा राखें । पानीको असमान वितरण त अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएन र भनेर मैले कुरा राखेपछि व्यक्तिगत आग्रह गरेपछि मन्त्रालयमा होहल्ला भयो । नेपालको सहमतिबेगर जति पनि बाँध बनाएको छ वा पानीमा अवरोध गरेकोमा नेपालको सहमति छैनभन्दा ठूलो खैलाबैला भयो । प्राकृतिक पानीको बहाव सीमामा रोक्ने काम अन्तर्राष्ट्रिय कानुनको विपरीत गरेको छ र नेपालको सहमति पटक्कै छैन भनेर मैले अडान लिएको थिएँ । भारतमा ब्रिटिशले बनाएको एउटा प्रणाली आफ्नै किसिमको छ । प्रधानमन्त्री मोदीले चाहेर पनि नेपाल सम्बन्धमा केही हुने अवस्था छैन । मोदीजीको नेपालमा हुने उच्चस्तरीय भ्रमणमा म साथमै हुन्थें । परराष्ट्र मन्त्रालयको प्रबन्धनमा पनि प्रधानमन्त्री कार्यालयले सूक्ष्म निगरानी गरेर नेपाललाई असजिलो छ आफ्नो किसिमबाट छुट्टै रुपमा हेर भनेर भन्ने गरेको मैले पाएको थिएँ । मोदीजीको नेपालप्रतिको सद्भाव थियो तर त्यसलाई हामीले उपयोग गर्न सकेनौं । हामीले पनि यसलाई स्वीकार गर्नुपर्छ । तर हाम्रा राष्ट्रिय मुद्दा र प्राथमिकतामा एक भएर कुरा गरौं त फरक पर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच