चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक बर्षमा तीन लाख बढी पर्यटक भित्रिएका छन् । आर्थिक बर्ष २०८०/८१ मा स्वदेशी र विदेशी गरी तीन लाख ६ हजार पर्यटक भित्रिएकाे निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले गत आर्थिक वर्षमा तीन लाख ६ हजार ८३७ जना पर्यटकले निकुञ्ज प्रवेश गरेको जानकारी दिनुभयो । चितवन मुलुकको तेस्रो पर्यटकीय गन्तव्य राखेका जिल्ला हो । चितवन आउने ७५ प्रतिशत पर्यटक सौराहा आउछन् । २५ प्रतिशत पर्यटक जिल्लाका अन्य पर्यटकीय स्थलहरुको अबलोकन गर्ने गरेका छन् । सौराहा आएका ८० प्रतिशत पर्यटकले निकुञ्ज अबलोकन गर्ने गरेको सुचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।
चितवन भित्रिएका कुल पर्यटक मध्ये ३० हजार ५५१ विदेशी, ३६ हजार ४७१ सार्क राष्ट्र र ९४ हजार ५० जना अन्य मुलुकका पर्यटक रहेका छन्। निकुञ्जले सो वर्ष ३६ करोड ७२ लाख ९२ हजार ८ सय ७ रूपैयाँ राजश्व संकलनगर्न सफल भएको छ । सो आर्थिक बर्षमा पर्यटकको संख्या र राजश्व संकलन अहिले सम्मकै उच्च रहेको तिवारीले बताउनुभयो । अघिल्लो आव २०७९/०८० मा निकुञ्ज प्रवेश गर्ने पर्यटक संख्या दुई लाख ९९ हजार ४१२ थियो । आर्थिक बर्ष२०८०/८१ भन्दा गत गएको आर्थिक बर्षमा विदेशी पर्यटकको संख्या वृद्धि भएको तथ्याङ्कले देखाएको छ । आर्थिक बर्ष २०७९/०८० मा ९२ हजार ८०० विदेशी पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् ।
गत आर्थिक बर्षमा एक लाख ३० हजार बढीले घुमेका छन् तर आन्तरिक पर्यटकको संख्या भने निकुञ्जमा घटेको छ । अघिल्लो आर्थिक बर्ष दुई लाख पाँच हजार पर्यटकले निकुञ्ज घुम्दा गएको वर्ष एक लाख ७६ हजार ३१६ जनाले निकुञ्ज भ्रमण गरेका थिए । अघिल्लो आवमा २९ करोड ८९ लाख ६५ हजार ४९५ रूपैयाँ राजश्व संकलन भएको थियो । पछिल्लो १० वर्षमा सबैभन्दा कम आर्थिक बर्ष २०७२/०७३ मा ८७ हजार ३९१ र कोरोना भाइरसको महामारी फैलिएको आर्थिक बर्ष २०७७/०७८ मा ९८ हजार २२८ पर्यटक चितवन भित्रिएका थिए ।
कोरोना महामारी त्यसपछि आर्थिक मन्दीका कारण सुस्ताएको सौराहासहितको चितवनको पर्यटनले विस्तारै गतिलिन थालेको क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष गंगा गिरीले बताउनुभयो । पछिल्लो दुई बर्षमा जिल्लामा भित्रिएका पर्यटकको संख्याले व्यवसायीलाई उत्साहित बनाएको उहाँले बताउनुभयो । कोरोनापछिका केही बर्ष होटल बेच्नु पर्ने अबस्था आयो उहाँले भन्नुभयो- 'खर्च धान्न नसकेर केही समय होटल बन्द समेत गरेर बस्यौं ।' अध्यक्ष गिरीले पछिल्लो पर्यटकको संख्या बृद्धि हुन थालेपछि पर्यटन क्षेत्रमा आशाको किरण सञ्चार भएको बताउनुभयो । चितवनमा पर्यटकको संख्या बृद्धि भएपछि निकुञ्जमा राजश्व संकलनसमेत बढ्न थालेको छ ।
आर्थिक बर्ष २०८०/८१ मा ३६ करोड ७२ लाख ९२ हजार ८०७ रूपैयाँ राजश्व संकलन भएको छ । सबैभन्दा धेरै पर्यापर्यटनबाट ३० करोड ५७ लाख १८ हजार र गैरकाठ तथा वनपैदावार बिक्रीबाट चार करोड ६५ लाख ३५ हजार राजस्व संकलन भएको सुचना अधिकारी तिवारीले जानकारी दिनुभयो । संकलित राजस्वको ५० प्रतिशत रकम निकुञ्जले मध्यवर्ती क्षेत्रमा उपलब्ध गराउँदै आएको छ भने वन्यजन्तुले मानव तथा मानव बस्ती र खेतीबालीमा क्षति पुर्याएमा सोवापत राहत रकमसमेत निकुञ्जले उपलब्ध गराउँदै आएको छ ।
सौराहामा १३० वटा पर्यटकीय होटल तथा ९० बढी रेष्टुरेन्टहरु रहेका छन् । चितवनमा सफारीकै लागि स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् । यहाँ आउने पर्यटकहरु निकुञ्ज अबलोकन, हात्ती सफारी, डुंगा सयर, जिप सफारी तथा थारु संस्कृतिमा रमाउने गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच