काठमाडौं । पहिलोपटक हुन लागेको फ्रेन्चाइज महिला भलिबलमा काजकिस्तानकी खेलाडीले मधेश युनाइटेडबाट खेल्नुहुने भएको छ । एभरेस्ट वुमन्स भलिबल लिगमा फ्रेन्चाइज टोली मधेश युनाइटेडले काजकिस्तानकी अनुभवी खेलाडी कालिनोभा यभजिनियालाई आबद्ध गरेको जनाएको हो ।
३५ वर्षे येभजिनिया स्पाइकर हुनुहुन्छ । काजकिस्तानको राष्ट्रिय टिमका साथै काजकिस्तानको लिग खेल्नुभएकी उहाँको उचाइ १८० सेन्टिमिटर छ । दशैँअगाडि हुने भनिएको भलिबल लिगका लागि घोषणा गरिएकामा नेपाल आउन लाग्नुभएकी उहाँ पहिलो विदेशी खेलाडी हो ।
कालिनोभाले मधेश युनाइटेडसँग अनुबन्ध भएकामा खुसी व्यक्त गर्दै मधेश युनाइटेडबाट खेल्न उत्साहित रहेको बताउनुभयो । ‘मधेश प्रदेशबाट पहिलो संस्करणको एभरेस्ट वुमन्स भलिबल लिग खेल्न म नेपाल आउँदै छु । मधेश युनाइटेडबाट खेल्दै छु । हाम्रो टिमलाई समर्थन गर्नुहोला,’ उहाँले मधेशको विज्ञप्तिमा भन्नुभएको छ ।
मधेश युनाइटेडकी अपरेसन हेड संज्ञा श्रेष्ठले कालिनोभालाई मधेश टिममा स्वागत गर्दै उहाँको अनुभवले टिमका लागि धेरै फाइदा पुग्ने बताउनुभयो । मधेश युनाइटेडको मार्की प्लेयरमा नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना हुनुहुन्छ । नेपाली खेलाडीहरूको नाम पनि यसअघि नै सार्वजनिक भइसकेको छ । जसमा राष्ट्रिय टिमकी संगम महतो र शान्तिकला तामाङ तथा यू-२० टिमकी एलिशा मानन्धर र आशिका क्षेत्री हुनुहुन्छ । यस्तै हिरा केसी, पूजा थारु र जसना महतो पनि मधेश युनाइटेडको टिममा हुनुहुन्छ । पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिगमा ६ टोलीले सहभागिता जनाउनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच