लिस्बन । पोर्चुगलको राजधानी लिस्बनस्थित अवैतनिक महावाणिज्यदूतावास बन्द हुँदा यहाँ रहेका नेपालीले समस्या खेप्नुपरेको छ । महावाणिज्य दूतावास बन्द हुँदा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायतका कागजात प्रमाणीकरणमा सास्ती खेप्नुपरेको पोर्चुगलवासी नेपालीले गुनासो गरेका छन् ।
उनीहरूले पोर्चुगलमा दूतावास स्थापना नभएसम्मका लागि लिस्बनबाटै कागजात प्रमाणीकरण लगायतका कन्सुलर सेवा सञ्चालन गर्न माग गरेका छन् । कागजात प्रमाणीकरणको समस्याले पोर्चुगल बसाइको वैधानिकताको प्रक्रियामा रहेका हजारौं नेपाली प्रभावित भएका छन् ।
लिस्बनबाटै प्रवाह हुँदै आएको सेवा बन्द भएपछि विशेषतः यहाँको आवास अनुमतिपत्र (रेसिडेन्सी कार्ड) का लागि आप्रवासी मामिला हेर्ने निकाय (आइमा) मा बायोमेट्रिकको तयारीमा रहेका नेपाली बढी मारमा परेका छन् । यहाँको कागजी प्रक्रियाको प्रयोजनका लागि नेपालबाट ल्याइने प्रहरी चारित्रिक प्रमाणपत्र, जन्मदर्ता, नाता प्रमाणित, विवाह दर्तालगायत कागजात प्रमाणीकरणको सेवा लिस्बनबाट नपाउँदा यहाँ रहेका नेपालीले सास्ती भोग्नुपरेको हो ।
महावाणिज्यदूतावास बन्द हुँदा कागजात प्रमाणीकरणका लागि समस्या झेल्नुपरेको इलामका हरिबहादुर मुखियाले बताउनुभयो । आवास अनुमतिपत्रका लागि पेस गर्नुपर्ने प्रहरी रिपोर्टको प्रमाणीकरणको झन्झटले तनाव बनाएको मुखियाले गुनासो गर्नुभयो ।
यस्तै, बुटवलका हरिप्रसाद पाण्डेको समस्या पनि उस्तै छ । फ्रान्स हुँदै दुई वर्षअघि पोर्चुगल आउनुभएका पाण्डेको पनि यही सेप्टेम्बरमा बायोमेट्रिकको मिति तय भएको छ । पेस गर्नुपर्ने सबै कागजपत्र तयार भए पनि प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरण रोकिँदा दुई साता रनभुल्लमै बितेको पाण्डेले सुनाउनुभयो ।
मुखिया र पाण्डेको जस्तै कागजात प्रमाणीकरणको समस्याले सर्लाहीका विक्रम आले पनि तनावमा पर्नुभएको थियो । दूतावास बन्द हुँदा कागजात प्रमाणीकरणमा समस्या भएको आलेले गुनासो गर्नुभयो । आवास अनुमतिपत्रका लागि बायोमेट्रिकको तयारीमा रहनुभएका आलेले पनि एक साताअघि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्न दलालमार्फत भारत पठाएको बताउनुभयो ।
यसैबीच, फ्रान्सको पेरिसस्थित रहेको नेपाली दूतावासले शुक्रबार एक सूचना जारी गर्दै पोर्चुगलका नेपालीलाई कागजात प्रमाणीकरणको सेवा दिने जानकारी दिएको छ । जसमा प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गरे बापतको दस्तुर एक सय युरो अर्थात् झण्डै १४ हजार सात सय रुपैयाँ लाग्ने दूतावासले उल्लेख गरेको छ ।
महावाणिज्यदूतावासले भने सोही प्रकृतिको प्रहरी रिपोर्टको भाषा अनुवादसहित प्रमाणीकरण गरेवापतको दस्तुर १२ युरो अर्थात् झण्डै एक हजार आठ सय रुपैयाँ लिने गरेको थियोे । दूतावासले प्रहरी रिपोर्ट प्रमाणीकरणवापतको दस्तुर चर्को तोकेको भन्दै पोर्चुगलका नेपालीले असन्तुष्टि जनाएका छन् भने लिस्बनबाटै कन्सुलर सेवा पाउनुपर्ने माग गरेका छन् ।
नेपाल प्रहरीले प्रहरी रिपोर्ट पूर्णतः निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ । त्यसमाथि विश्वको जुनसुकै मुलुकमा रहेका नेपालीले सहज र सरल रूपमा अनलाइनको माध्यमबाट प्रहरी चारित्रिक प्रमाणपत्रका लागि आवेदन दिन र अनलाइनबाटै पाउन सक्ने व्यवस्थासमेत गरेको छ भने उक्त प्रमाणपत्रलाई काठमाडौंस्थित रहेको कन्सुलर विभागले समेत जम्मा पाँच सय रुपैयाँमै प्रमाणीकरण गरी अनलाइनबाटै सहज र सरल रूपमा सेवा उपलब्ध गराउँदै आएको छ ।
महावाणिज्यदूतावास बन्द हुँदा बायोमेट्रिकको तयारीमा रहेका हजारौं नेपाली मारमा परेको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य राजकुमार थापाले बताउनुभयो । पछिल्लो समय आप्रवासीका लागि पोर्चुगलले समेत कडाइ गरेको अवस्था छ । कागजात प्रमाणीकरणको झमेलाले नेपालीहरू थप मारमा परेका छन् । पोर्चुगलवासी नेपालीको सहजताका लागि लिस्बनबाटै कन्सुलर सेवा सुचारू हुनुपर्ने थापाको भनाइ छ । फ्रान्समा रहेको नेपाली दूतावासले कागजात प्रमाणीकरणको सेवा दिने भए पनि चर्को सेवा शुल्कका कारण पोर्चुगलका नेपाली मारमै परेको थापाले बताउनुभयो ।
गैरआवासीय नेपाली संघ पोर्चुगलका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले महावाणिज्यदूतावास बन्द हुँदा कागजात प्रमाणीकरणमा समस्या देखिएको बताउनुभयो । लिस्बनबाटै पाइँदै आएको सेवा बन्द हुँदा कागजात प्रमाणीकरणका लागि नेपाली दूतावास फ्रान्स र भारतको नयाँदिल्लीस्थित रहेको पोर्चुगिज दूतावास र नेपाली दूतावासबाट प्रमाणीकरण गर्नुपर्ने बाध्यता सिर्जना भएको सापकोटाले बताउनुभयो ।
सूचनाविना नै अकस्मात् महावाणिज्यदूतावास बन्द हुँदा यहाँ रहेका हजारौं नेपालीले समस्या भोग्नुपरेको नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार रानामगरले बताउनुभयो । कागजात प्रमाणीकरणको समस्याले पोर्चुगलमा नेपालीको अवस्था विकराल बनेको उहाँको भनाइ छ ।
यता पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले भने पोर्चुगलमा देखापरेको समस्याका विषयमा आफू जानकार रहेको र सो सम्बन्धमा समाधानका लागि प्रयास भइरहेको बताउनुभयो ।
दूतावासले बायोमेट्रिकको तयारीमा रहेका नेपालीलाई लक्षितगरी प्रहरी रिपोर्टको प्रमाणीकरणका लागि आएका कागजात सकेसम्म छिटो उपलब्ध गराउने गरी काम गरिरहेको उहाँले जानकारी गराउनुभयो । प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणवापत दस्तुर अत्यधिक बढी भयो भन्ने गुनासोका सन्दर्भमा राजदूत भट्टराईले दस्तुर दूतावासले तोकेको नभई राज्यले तोके बमोजिम नै उल्लेख गरिएको स्पष्ट पार्नुभयो ।
गत साउन १५ गते महावाणिज्यदूतावास बन्द भएपछि दुई साताभन्दा बढी कागजात प्रमाणीकरणलगायत कन्सुलर सेवा ठप्प भएको थियो । कागजात प्रमाणीकरण के-कसरी र कहाँबाट गर्ने भन्ने अन्योल सिर्जना भएको थियोे । पोर्चुगलको आवास अनुमतिपत्र, पारिवारिक पुनःमिलन वा अन्य कागजी प्रक्रियाको प्रयोजनका लागि नेपालबाट ल्याइने जन्मदर्ता, प्रहरी चारित्रिक प्रमाणपत्र, विवाह दर्ता, नाता प्रमाणितलगायत कागजातलाई नेपाल सरकारको आधिकारिक निकायले प्रमाणिकरण गर्नुपर्ने हुन्छ ।
पोर्चुगलमा नेपाली दूतावास नभए पनि हालसम्म कागजात प्रमाणीकरण लगायतका कन्सुलरसम्बन्धी काम लिस्बनस्थित रहेको महावाणिज्यदूतावासले गर्दै आएको थियो । दूतावास बन्द भएपछि पोर्चुगलको आवास अनुमतिपत्र र पारिवारिक पुनःमिलनका लागि नेपालबाट ल्याइने जन्मदर्ता, प्रहरी चारित्रिक प्रमाणपत्र, विवाह दर्ता, नाता प्रमाणितलगायत कागजातलाई फ्रान्सस्थित रहेको नेपाली दूतावास र भारतको नयाँदिल्लीस्थित रहेको पोर्चुगिज दूतावास र दिल्लीस्थित रहेको नेपाली दूतावासबाट प्रमाणीकरण गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।
पोर्चुगलका लागि राजदूत नियुक्त भइसकेको भए पनि दूतावास कहिलेसम्म आउने भन्ने तिथिमिति भने तय भइसकेको छैन । सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाशमणि पौडेललाई पोर्चुगलका लागि राजदूत सिफारिश गरेको छ । यसअघि पोर्चुगलका लागि राजदूत सिफारिश भएका सनिल नेपाल भने पोर्चुगल आउन नपाइ फिर्ता बोलाइएका थिए । हाल उहाँ स्पेनका लागि राजदूत सिफारिश हुनुभएको थियो ।
हालसम्म नेपाली दूतावास नभएको पोर्चुगलमा अवैतनिक महावाणिज्यदूतावासले विगत १० वर्षदेखि कागजात प्रमाणीकरण लगायत कन्सुलरसम्बन्धी सेवा दिँदै आएको थियो । पोर्चुगलमा नेपालीको यकिन तथ्यांक नभए पनि अनुमानित ५० देखि ६० हजारको हाराहारीमा रहेको अनुमान छ ।
यसैबीच केही दिनअघिमात्रै राहदानी विभाग काठमाडौं र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोलीले राजधानी लिस्बनमा घुम्ती शिविर सञ्चालन गरेर तीन हजार आठ सय बढी नेपालीलाई राहदानी सेवा दिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच