भारत भ्रमण फलदायी : परराष्ट्रमन्त्री

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा ६ दिने औपचारिक भारत भ्रमण सम्पन्न गरेर नेपाल फर्कनुभएको छ । गत आइतबार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएकी मन्त्री राणाले त्यहाँ रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, परराष्ट्रमन्त्री एस. जयशंकर लगायतसँग उच्चस्तरीय भेटवार्ताहरू गर्नुभएको थियो ।

स्वदेश फर्कने क्रममा परराष्ट्रमन्त्री राणालाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटनमन्त्री बद्री पाण्डे, वन राज्यमन्त्री रूपा विक, कांग्रेस केन्द्रीय सदस्य लक्ष्मी खतिवडा लगायतले स्वागत गर्नुभयो । त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा पत्रकारहरूसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री राणाले भ्रमण सफल भएको र दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन फलदायी रहेको बताउनुभयो । भारतले नेपाललाई आफ्नो प्राथमिकतामा राखेको र नेपालको विकासमा साथ दिन चाहेको यथार्थ भ्रमणका क्रममा प्रकट भएको राणाले बताउनुभयो ।

परराष्ट्रमन्त्री राणाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चासोका साथ नेपालको कुरा सुनेको र सहकार्यका लागि तयार देखिएको बताउनुभयो । ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई देशको सम्बन्ध र आपसी हित विस्तारका बारेमा गम्भीर छलफल भयो । उहाँले हामीले राखेका चासोहरू राम्रोसँग सुन्नुभयो र सहकार्यका लागि तयार रहेको बताउनुभयो’, परराष्ट्रमन्त्री राणाले भन्नुभयो ।

भारतले महत्व दियो
परराष्ट्रमन्त्री राणाले नेपालले व्यक्त गरेको चासोलाई भारतले महत्वका साथ हेरेको बताउनुभयो । उहाँले भारतीय प्रधानमन्त्रीसँगको भेट, भारतीय विदेश मन्त्रीसँगको भेट र अन्य दुईपक्षीय संवादहरू सार्थक रहेको उल्लेख गर्नुभयो । ‘मेरो भ्रमणका क्रममा व्यापार तथा पारवहन, ऊर्जा, कनेक्टिभिटी, लगानी, हवाई मार्ग, बाढी तथा डुबान समस्या, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकुद, सीमा पूर्वाधारलगायत नेपाल भारत सम्बन्धका समग्र पक्षमा सार्थक संवाद भएको छ’, राणाले भन्नुभयो । दुवै देशबीच दुईपक्षीय संयन्त्रहरूमार्फत विभिन्न तहमा हुने छलफललाई निरन्तरता दिने सहमति पनि भएको राणाले उल्लेख गर्नुभयो । ‘यो भ्रमणले दुई मुलुकबीच रही आएको मैत्रीपूर्ण सहयोगात्मक, बहुआयामिक घनिष्ठ सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुद बनाउन सहयोग पुगेको मैले विश्वास गरेको छु’, परराष्ट्रमन्त्री राणाको भनाइ छ ।

पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री राणाले नेपाल भारत सम्बन्ध सधैँ विशेष रहने गरे पनि भारतले यसपटक उच्च महत्वका साथ नेपाली पक्षलाई आतिथ्य गरेको बताउनुभयो । आफूलाई गरिएको स्वागतलाई नेपालकै सम्मानका रूपमा आफूले लिएको उहाँले बताउनुभयो । भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणालाई प्रधानमन्त्री सरहकै सम्मान दिइएको चर्चा नेपाली सञ्चार माध्यममा हुँदै आएको छ । भारतका प्रधानमन्त्री मोदीले पनि राणाको भ्रमणकै दौरान सामाजिक सञ्जाल एक्समा ‘परराष्ट्रमन्त्री आरजू राणा देउवालाई स्वागत गर्न पाउँदा खुसी लागेको’ लेख्नुभएको थियो ।

मोदीलाई राजकीय भ्रमणको निम्तो
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई राजकीय भ्रमणको निम्तो गर्नुभएको छ । परराष्ट्रमन्त्री डा.आरजु देउवाले आफ्नो भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको तर्फबाट मोदीलाई राजकीय भ्रमणको निम्तो गर्नुभएको हो । ‘भेटका बखत सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीबाट भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीलाई नेपालको राजकीय भ्रमणका लागि दिनुभएको निमन्त्रणा पत्र औपचारिक रूपमा मैले हस्तान्तरण गरेको छु’, परराष्ट्रमन्त्री राणाले भन्नुभयो । भेटका क्रममा मोदीले नेपाल भ्रमणका लागि सधैँ उत्सुक रहेको बताउँदै उपयुक्त समयमा नेपाल आउने जनाउनुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *