काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषाको लोकप्रियता नेपाल र भारतमा मात्र नभई विश्वमै बढ्दै गइरहेको बताउनुभएको छ । जयतु संस्कृतम् संस्थाले शीतल निवासमा शुक्रबार आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले विश्वका विभिन्न विश्वविद्यालयमा संस्कृत वाङ्मयको पठनपाठन हुनुले यसको महत्व विश्वव्यापी हुँदै गएको पुष्टि हुने बताउनुभएको हो । उहाँले संस्कृत अमृत भाषा भएको उल्लेख गर्नुहुँदै यसभित्र अमर सन्देश छन्, जसबाट अहिले पनि मानव जगत् आहृलादित भइरहेको छ भन्नुभयो ।
उहाँले सबै भाषाभाषीहरूले सबै भाषाभाषीहरूलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा प्रत्येक भाषाको संरक्षण र समुत्थान सम्भव हुने विचार व्यक्त गर्नुभयो । ‘कुनै भाषाले कुनै भाषालाई निषेध गर्नुहुँदैन, सबै भाषाभाषीहरूले सबै भाषाभाषीहरूलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा प्रत्येक भाषाको संरक्षण र समुत्थान सम्भव छ,’ उहाँले भन्नुभयो ।
‘संस्कृत भाषा र संस्कृत वाङ्मय ज्ञानविज्ञानको भण्डार हो, यो भाषा र वाङ्मयको विस्तार आवश्यक छ,’ राष्ट्रपति पौडेलले भन्नुभयो । शुक्ल यजुर्वेदलगायतका कैयौं ग्रन्थ नेपालमै लेखिएका थिए भन्ने अनुसन्धाताको विचार पाइन्छ भन्दै उहाँले वेदव्यास, वाल्मीकि, विश्वामित्रजस्ता कैयौं ऋषिहरूको तपोभूमि पनि नेपाल हो भन्नुभयो ।
२००४ सालमा बोल्न, लेख्न र संगठन गर्न नपाउने जनविरोधी एकतन्त्रीय राणाशासनको युगमा संस्कृत अध्ययन गर्ने छात्रहरूले काठमाडौंमा सशक्त आन्दोलन गरेर राणा सरकारलाई झुक्न बाध्य बनाएको प्रसंग उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘जयतु संस्कृतम् आन्दोलनले नै स्वतन्त्रताको विगुल फुकेको थियो र प्रजातन्त्रको बीजारोपण गरेको थियो, नेपालमाा प्रजातन्त्रको स्थापनामा जयतु संस्कृतम् आन्दोलनको ठूलो योगदान छ ।’
संस्कृतमा वसुधैव कुटुम्बकम् भनेर विश्वबन्धुत्वको भावना, लोकाः समस्ता सुखिनो भवन्तु भनेर विश्वमानव समुदायको कल्याणको कामना र सर्वे भवन्तु सुखिनः भनेर मानवमात्रको सुख र समृद्धिको संकल्प गरिएको पाइन्छ भन्दै उहाँले यी उदात्त भावना र विचारलाई हामीले मनन र प्रयोग गर्न सक्नुपर्छ भन्नुभयो ।
जयतु संस्कृतम् आन्दोलनको मूल प्रवाहमै रहेर अभियान स्वरूप थालिएको यस संस्थाले संस्कृतका ग्रन्थहरूको लेखन र प्रकाशन, विद्वत्सम्मान, संस्कृत गुरुकुल र विद्यालयको संरक्षण र विकासमा कार्य गर्नु खुसीको विषय भएको उहाँको भनाइ थियो ।
सो अवसरमा राष्ट्रपति पौडेलले प्राध्यापक नीलमणि ढुंगाना र आचार्य पूर्णचन्द्र ढुङ्गेललाई पुरस्कार अर्पण गर्नुभएको थियो । साथै राष्ट्रपति पौडेलले प्रा.डा. ऋषिराम पोखरेल, प्रा.डा. दीर्घराज घिमिरे, प्रा.डा. रामचन्द्र गौतम, प्राध्यापक गोविन्द चौधरी र प्राध्यापक चेतोनाथ आचार्यलाई अभिनन्दन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच