काठमाडौं । यस वर्षको मनसुन सकिनै लाग्दा देशभर ९८.५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार देशभर कुल १३ लाख ९८ हजार नौ सय ८५ हेक्टर धानखेतीयोग्य क्षेत्रफलमध्ये भदौ ७ गतेसम्म १३ लाख ७८ हजार छ सय ११ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो । गत वर्ष सोही अवधिसम्म ९४.६ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो । मधेश प्रदेशमा सबैभन्दा कम ९७.३ प्रतिशत रोपाइँ भएको छ ।
जुन प्रदेशमा सबैभन्दा बढी तीन लाख ८७ हजार एक सय ५० हेक्टरमा धानखेती हुने गरेको छ । सोमध्ये हालसम्म तीन लाख ७५ हजार ६१४.५ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो । सुदूरपश्चिममा शतप्रतिशत र कर्णालीमा ९९.२ प्रतिशत रोपाइँ भएको छ भने कोशी प्रदेश ९९.६ बागमती ९९.२, गण्डकी ९७.८ र लुम्बिनी प्रदेशमा ९८.३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
हालसम्मको रोपाइँको अवस्था र मल समस्या नदेखिएका कारण यस वर्ष पनि धान उत्पादन बढ्न सक्ने सम्भावना रहेको अधिकारीहरू बताउँछन् ।
गत वर्ष धान उत्पादन हालसम्मकै उच्च थियो । पछिल्ला वर्षहरूमा धानको उत्पादन प्रतिहेक्टर ३.९८ मेट्रिकटन रहेको छ । गत वर्र्ष ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिकटन धान उत्पादन भएको थियो । रोपाइँको अवस्था र मल समस्या नदेखिएका कारण यस वर्ष पनि धान उत्पादन बढ्न सक्ने सम्भावना रहेको अधिकारीहरू बताउँछन् । नेपालको अर्थतन्त्रमा कृषि वन तथा मत्स्य क्षेत्रको योगदान २४.९ प्रतिशत रहेको छ । त्यस्तै कृषि वन तथा मत्स्य क्षेत्रमा धानको मात्रै योगदान १६ प्रतिशतभन्दा धेरै छ । समग्रमा अर्थतन्त्रको पूर्ण आकारमा धानको मात्रै योगदान करिब पाँच प्रतिशत रहेको छ ।
जसमध्ये करिब चार प्रतिशत बर्खे धानको योगदान र एक प्रतिशत चैते धानको योगदान रहेको छ । अर्थतन्त्रको आकार मापन गर्ने १८ क्षेत्रमध्ये आठ क्षेत्रको मात्रै पाँच प्रतिशतभन्दा बढी योगदान रहँदै आएको छ ।