अस्थिरता फैलाउने प्रयासलाई निस्तेज पार्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अस्थिरतातर्फ लैजाने प्रयास भइरहेको बताउनुभएको छ । सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो भन्नुभएको हो । ‘अनेक प्रकारका सो कल्ड, कहिले के नाममा, कहिले के नाम, कोही मुक्तिका नाममा, कोही पहिचानका नाममा, कोही धर्मका नाममा अनेक प्रकारका शक्तिहरू समाजमा शान्ति खलबल्याउन र समाजलाई बिथोल्नका लागि प्रयासरत छन् । उनीहरूलाई देशको विकाससँग सरोकार छैन । देशमा शान्ति, सुव्यवस्था र अमनचयनसँग सरोकार छैन । अरूका अधिकारमाथि अतिक्रमण गर्नुहुँदैन भन्ने कुराको चेत गुम भइसकेको छ । देशलाई अझ बढी अन्योल, अस्थिरता र अराजकतातर्फ लिएर जाने प्रयासहरू भएको छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रहरीका लागि चुनौतीपूर्ण ठाउँ नै राजधानी रहेको भन्दै उहाँले सेवालाई अझै प्रभावकारी बनाउन आग्रह गर्नुभयो । वर्तमान सरकारको प्रवृत्ति फरक भएको भन्दै उहाँले राज्य शक्तिको दुरुपयोग गरेर कसैलाई नफसाउने पनि बताउनुभयो । ‘सरकार एउटा समीकरण बनाउनका लागि मात्र बनेको होइन । एउटा प्रवृत्तिको ठाउँमा, एउटा अस्थिरताको ठाउँमा स्थिरता दिने हो । ठीक प्रवृत्तिलाई अगाडि बढाउने संकल्पका साथ सरकार बनेको हो,’ निष्पक्ष भएर काम गर्न प्रहरीलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, ‘कानुन, संविधानले तपाईंहरूलाई मार्गदर्शन गर्छ । तर, अहिलेको सरकारले फलानो अपराधी हो, नसमाउनु भनेर आदेश दिँदैन । फलानोलाई फसाउनुस् भनेर पनि आदेश दिँदैन । राज्यको शक्ति दुरुपयोग गरेर दोषी करार गर्ने राज्यको आपराधिक क्रियाकलाप गर्नुहुँदैन । निर्दोषितामा दोषी करार गर्ने काम हुँदैन । ढुक्क हुनुहोस् । मनोगत होइन, वस्तुगत ढंगले काम गर्नुहोस् ।’ यो सरकारको सेवाको भाव मात्रै भएको उहाँको भनाइ थियो ।

‘अहिलेको सरकार भात/रोटी खान्छ, पैसा र घुस खाँदैन’
सरकारले राष्ट्रसेवाका लागि काम गर्ने भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिलेको सरकार भात/रोटी खान्छ, पैसा र घुस खाँदैन । हामीले राष्ट्रको सेवाका लागि काम गर्ने हो । त्यसअनुसार सरकार चल्छ । त्यसैअनुसार चल्न तपाईंहरूलाई निर्देशन दिन्छु ।’ उहाँले नयाँ भवनबाट प्रभावकारी सेवा दिन निर्देशन दिनुभयो । प्रधानमन्त्री ओलीले नयाँ आधुनिक र सुविधा सम्पन्न कार्यालय भवन निर्माण गर्न सफल भएकोमा बधाई दिँदै यस कार्यालयबाट जनतालाई गुणस्तरीय, आत्मीयतापूर्ण र परोपकारी भावका साथ सेवा सुविधा उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको लामो इतिहास र अनुभव रहेको चर्चा गर्दै नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्न एवं अपराध अनुसन्धान तथा रोकथाममा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । आधुनिक प्रविधिको प्रयोग गर्दै आफ्ना कार्यहरू दक्षताका साथ सम्पन्न गर्नसमेत नेपाल प्रहरी सक्षम रहेको उहाँले उल्लेख गर्नुभयो ।

कानुनको कार्यान्वयन गर्ने प्रमुख अंग प्रहरी : गृहमन्त्री लेखक
नवनिर्मित भवन उद्घाटन समारोहमा गृहमन्त्री रमेश लेखकले सरकारले नागरिकलाई सेवा प्रदान गर्ने क्रममा संविधान र कानुनको कार्यान्वयन गर्ने अंग मध्येको नेपाल प्रहरी प्रमुख अंग रहेको बताउनुभयो । मुलुकमा प्रचलित कानुन कार्यान्वयन एवं नागरिकले प्राप्त गर्ने प्रहरी सेवामा नवनिर्मित भवनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो । ‘मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्यसम्म देशलाई पु¥याउनको लागि सरकार अगाडि बढेको चर्चा गर्दै सरकारले जनतालाई प्रदान गर्ने सेवामा कुनै किसिमको कमी कमजोरी नहोस्’, उहाँले भन्नुभयो । जनताले विधिको शासन तथा शान्ति सुव्यवस्थाको अनुभूतिका साथै सरकारको लक्ष्य एवं उद्देश्यअनुरूप नेपाल प्रहरीले कार्य गर्नुपर्ने उहाँको भनाइ थियो । नेपाल प्रहरीले सीमित स्रोतसाधनका बाबजुद पनि उल्लेखनीय कार्य गर्दै आइरहेको चर्चा गर्दै गृहमन्त्री लेखकले जनताका मुद्दालाई प्राथमिकतामा राखेर उच्च मनोबलका साथ काम गर्न सबै प्रहरी कर्मचारीहरूलाई अग्रह गर्नुभयो ।

प्रहरीलाई समयानुकूल व्यावसायिक एवं गतिशील बनाउँछौँ : गृहसचिव अर्याल
सो अवसरमा गृहसचिव एकनारायण अर्यालले नवनिर्मित भवनबाट अझ प्रभावकारी सेवा प्रवाह हुने र सेवाग्राही लाभान्वित हुने अपेक्षा रहेको बताउनुभयो । नेपाल प्रहरीलाई समयानुकूल व्यावसायिक एवं गतिशील बनाउँदै लैजाने सरकारको नीतिअनुरूप नवनिर्मित भवनलाई महत्वपूर्ण उपलब्धिको रूपमा लिएको बताउँदै यसले प्रहरी कर्मचारीको उत्प्रेरणा र मनोबल मात्र अभिवृद्धि नगरी नेपाल प्रहरीका काम कारबाहीलाई नागरिकमैत्री, व्यावसायिक एवं परिष्कृत बनाउँदै सेवाग्राहीले समेत शान्ति सुरक्षा र अमनचयनको महसुस गरी प्रत्यक्ष रूपमा नागरिकलाई सहज, सुलभ र पारदर्शी सेवा दिनसक्ने विश्वास व्यक्त गर्नुभयो ।

परिवर्तनको गति र नागरिकको चाहनालाई आत्मसाथ गर्छौं : महानिरीक्षक कुँवर
नवनिर्मित भवन उद्घाटन समारोहमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले धन्यवाद ज्ञापन व्यक्त गर्दै नेपाल प्रहरी स्थापन कालदेखि नै समाजमा हुने हर तरहका अपराधका घटना रोकथाम, नियन्त्रण र अनुसन्धान एवं शान्ति सुरक्षा कायम राख्ने सन्दर्भमा राज्यको प्रमुख अंगको रूपमा कार्यसम्पादन गर्दै आइरहेको बताउनुभयो । समाजको परिवर्तनको गति र नागरिकको चाहनालाई आत्मसाथ गर्दै प्रहरीको सेवा पनि थप जनमुखी, परिष्कृत, उत्तरदायी, सेवामुखी र सर्वस्वीकार्य बनाउन नेपाल प्रहरी प्रधान कार्यालय कटिबद्ध रहेको बताउनुभयो । उहाँले समयसापेक्ष सांगठनिक विकास तथा प्रहरी सेवामा प्रभावकारिता वृद्धि गर्दै आन्तरिक सुदृढीकरण र शुद्धिकरण गर्ने उद्देश्य कार्यान्वयनलाई प्रमुख प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले प्रहरीको भौतिक संरचनाहरू व्यवस्थित र गुणस्तरीय हुँदा यसले कर्मचारीको स्वास्थ्य र मनोबलमा सकारात्मक प्रभाव पर्ने तथा स्वच्छ कार्यमैत्री वातावरण निर्माण भई आम नागरिकमा हुने सेवा प्रवाह थप गुणस्तरीय एवं प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो । नवनिर्मित सुविधा सम्पन्न भवनले राज्यको प्रमुख सुरक्षा निकायको दरिलो भौतिक उपस्थिति मात्र होइन, नेपाल प्रहरीका काम कारबाहीलाई थप नागरिकमैत्री एवं परिष्कृत बनाउनसमेत महत्वपूर्ण भूमिका निर्वाह हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । नयाँ भवनबाट सम्पादन हुने प्रहरी सेवा प्रवाह पनि थप ऊर्जामय, नागरिकमैत्री, नवीन सोच र उच्चस्तरको हुनुपर्ने र सम्पादन हुने कार्यशैलीले सेवा प्रवाहमा स्तरवृद्धिको सांगठनिक प्रतिविम्बित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

भवन एक अर्ब २६ करोड ७५ लाखमा निर्माण
ओली पहिलोपटक प्रधानमन्त्री हुँदा २०७६ असार १० मा उहाँकै नेतृत्वको मन्त्रिपरिषद्ले खाद्य संस्थानको १५ रोपनी जग्गा काठमाडौं प्रहरीको नाममा खरिद गर्ने निर्णय गरेको थियो । भद्रकालीमा निर्माण सम्पन्न भएको अत्याधुनिक भवन केपी शर्मा ओलीले नै उद्घाटन गर्नुभएको छ । दुई चरणमा निर्माण सम्पन्न भएको भवन कुल एक अर्ब २६ करोड ७४ लाख ९६ हजार ९९ रुपैयाँ ८१ पैसाको लागतमा निर्माण भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नवनिर्मित भवनमा चार सय प्रहरीका लागि ब्यारेक र तीन सय थुनुवा राख्न मिल्ने थुनुवा कक्ष रहेको प्रहरी प्रधान कार्यालयका एसएसपी रामकुमार चौधरीले जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *