
काठमाडौं । सवारी साधनहरूको व्यापार मेला नाडा अटो शो २०२४ मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । भृकुटीमण्डपमा आयोजित अटो शो उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्दै अटोमोबाइल क्षेत्रलाई सरकारले पुरानै नजरमा नहेर्ने बताउनुभयो । सरकार कुनै पनि व्यवसायीलाई दुःख दिने कुरामा विश्वास नगर्ने भन्दै उहाँले कसैले दुःख दिए सिधै आफूलाई भन्न आग्रहसमेत गर्नुभयो । व्यापारबाट उत्पादनोन्मुख हुनु नेपालको अटोमोबाइल क्षेत्रका लागि सुखद् भएको भन्दै मन्त्री पौडेलले अध्ययन गरेरमात्रै विद्युतीय गाडीबारेका नीति परिवर्तन गरिने जानकारी गराउनुभयो ।
साथै उहाँले मन्त्रीहरूलाई काम गर्न दबाब दिन पनि निजी क्षेत्रलाई आग्रह गर्नुभयो । मन्त्रीले काम गर्ने कि भाषण गर्ने भन्ने असहजता मन्त्रीहरूलाई हुने गरेको भन्दै भाषण गर्न बोलाउनेभन्दा काम गर्न प्रेरित गर्नुपर्ने उहाँले बताउनुभयो । बोलाएको कार्यक्रममा नजाँदा यथोचित मर्यादा र आदर नभएको गुनासो आउने गरेको मन्त्री पौडेलको गुनासो थियो । उहाँले भन्नुभयो, ‘मन्त्रीलाई एउटा अप्ठ्यारो हुने रहेछ । काम गर्ने कि भाषण गर्ने । म यहाँहरूसँग के राख्न चाहन्छु भने अहिले मन्त्रीहरूलाई भाषण होइन, काम गर भनेर सबैले उत्प्रेरित गर्नुपर्छ भन्ने मलाई लाग्छ ।’
सरकार कुनै पनि व्यवसायीलाई दुःख दिने कुरामा विश्वास नगर्ने भन्दै कसैले दुःख दिए सिधै आफूलाई भन्न अर्थमन्त्री पौडेलले व्यवसायीलाई आग्रह गर्नुभएको छ ।
उहाँले देश, जनता र कानुन ख्याल गरेर सफल व्यवसाय गर्न आग्रह गर्दै त्यस्ता व्यवसायीलाई राज्यले साथ र संरक्षण गर्ने स्पष्ट पार्नुभयो । अहिलेको संसद्बाट बनेको पछिल्लो सरकार सबैभन्दा स्थिर सरकार भएको र वर्तमान सरकारको स्थिरताले नीतिगत स्थिरताको बलियो आधार दिएको दिएको दाबी गर्दै उहाँले नीतिगत स्थिरता सुरक्षित गर्ने हिसाबले वर्तमान सरकार अघि बढ्ने बताउनुभयो । नेपालमा गुणस्तरीय उत्पादन गर्न सके अन्तर्राष्ट्रिय बजार नेपालका लागि पनि सुरक्षित हुने उहाँको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गाडी प्रयोग दैनिक जीवनमा हुने भएकाले विलासिता वस्तुका रूपमा व्याख्या गर्न नहुने बताउनुभयो भने नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मौद्रिक नीतिको खुकुलो नीतिले अटो बजार चलायमान बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल चेम्बरका अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले पेट्रोल वा विद्युतीय गाडी खरिद गर्ने ग्राहकको छनोट रहेको भन्दै पेट्रोल गाडीमा कर घटाउन माग गर्नुभयो । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले नाडा अटो शो अटो व्यवसायीको दशैँ भएको भन्दै अटो शो गाडी बिक्रीका लागि मात्र नभई समग्र मोबिलिटीका लागि पनि कोशेढुंगा हुने गरेको बताउनुभयो । साथै उहाँले एक खर्ब लगानी गरेका अटो व्यवसायी सरकारको अस्थिर नीतिले मारमा परेको गुनासोसमेत गर्नुभयो । अटो शोमा चारपांग्रे, दुर्ईपांग्रे, हल्का व्यावसायिक सवारी साधन, अटो कम्पोनेन्ट र वित्तीय संस्थालगायका स्टल रहेका छन् । मेलामा २४ चारपांग्रे ब्राण्ड, १९ दुर्ईपांग्रे ब्राण्ड र १२ हल्का व्यावसायिक सवारी साधन ब्राण्ड रहेका छन् भने ३३ कम्पनी लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्ट र सात वित्तीय संस्था गरी कुल एक सय ३० स्टल रहेका आयोजकले जनाएको छ । छ दिनसम्म सञ्चालन हुने अटो शोमा १५ देखि २० अर्ब रुपैयाँसम्मको कारोबार हुने आयोजकको अपेक्षा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच