काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत् बक्यौता, त्रिभुवन विश्वविद्यालय, संविधान संशोधन लगायतका विषयमा सरकारलाई प्रश्नैप्रश्न सोध्नुभएको छ । पूर्व-प्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अहंकारपूर्ण र गलत बाटोतिर अग्रसर भएको आरोपसमेत लगाउनुभएको छ । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोल्नुभएका अध्यक्ष प्रचण्डले ४० दिनमा सरकारको नियत र गन्तव्यको अवलोकनपछि आफू यो निष्कर्षमा पुगेको जिकिर गर्दै भन्नुभयो, ‘सरकार अहंकारपूर्ण तर गलत बाटोतिर अग्रसर छ । संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर छ । जनताभन्दा स्वार्थ समूह अझ माफियाहरूको सेवामा छ ।’ सरकारमा संख्याको उन्माद देखिएको भन्दै प्रचण्डले जसको फलस्वरूप शक्तिको दुरुपयोगतर्फ अग्रसर भएको जिकिर गर्नुभएको छ ।
‘कांग्रेस वा एमालेसँग मिलेर अब सरकारमा जाँदैनौँ’ अध्यक्ष प्रचण्डले सत्तामा हिस्सेदारी माग्न कांग्रेस र एमाले नेताहरूसमक्ष नजाने बताएका घोषणा गर्नुभएको छ । आफूहरू झगडा गरेर लौ न प्रचण्डजी भन्दै फकाउन नआउन दुवै दलका नेताहरूलाई चुनौती दिँदै प्रचण्डले भन्नुभयो, ‘कांग्रेस–एमालेका साथीहरूलाई म यही रोष्ट्रमबाट सम्बोधन गर्दछु । प्रचण्ड अब सत्ताको खेलमा लाग्ने छैन, तपाईंहरू कहाँ सत्तामा हिस्सेदारी माग्न आउने छैन । आन्दोलनको पुनर्गठनमा छ । त्यही पुनर्गठनका बलमा भोलि माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने तहको पार्टी बनाउने छौँ । पहिला पनि बनाएका हौँ, अब पनि बनाउने छौँ । त्यति बेलासम्म कृपया तपाईंहरू मिलिदिनु होला । बीचैमा झगडा गरेर लौ न प्रचण्डजी भन्दै फकाउन र फुक्र्याउन नआइदिनु होला ।’
‘संविधान संशोधनबाट भाग्दैनौँ’
प्रचण्डले माओवादी संविधान संशोधनबाट नभाग्ने दाबी गर्नुभएको छ । संविधानका हरेक धारा र बुँदामा छलफल गरेर संविधान संशोधन गर्न तयार रहेको उल्लेख गर्दै प्रचण्डले भन्नुभयो, ‘माओवादी केन्द्रको अध्यक्ष र प्रमुख प्रतिपक्ष दलको नेताका रूपमा तपाईंहरूलाई वचन छ मेरो, माओवादी संविधान संशोधनबाट भाग्दैन । यो सम्मानित संसद्मा संविधानका एक-एक बुँदा, एक-एक धारा र एक-एक दफामा छलफल गर्न माओवादी केन्द्र तयार छ । तर, उत्पीडित वर्ण, वर्ग र समुदायले असाध्यै ठूलो बलिदानपछि प्राप्त गरेका समावेशी र समानुपातिक अधिकार खोस्ने दुस्साहस भए हामी डटेर प्रतिवाद गर्नेछौँ ।’
भुटानी शरणार्थी काण्ड सामसुम पार्न चलखेल भएको आरोप
अध्यक्ष प्रचण्डले सरकार नक्कली भुटानी शरणार्थी काण्डलाई सामसुम पार्न अग्रसर भइरहेको आरोप लगाउनुभएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गरिरहेका प्रहरी अधिकृतको सरुवा गरी अनुसन्धान रोक्न खाजेको र शरणार्थी प्रकरण अनुसन्धान निस्तेज पार्न सरकार नै लागि परेको आरोप लगाउँदै प्रचण्डले भन्नुभयो, ‘भुटानी शरणार्थी काण्डको अनुसन्धानमा भुटानी शरणार्थी काण्डको राजनीतिक कडीमा प्रवेश गरेका प्रहरीका विशेष ब्युरो प्रमुखको सरुवा भयो । हिजोको सरकारले भुटानी शरणार्थी, बाँसबारी, बालमन्दिर लगायतका थुप्रै काण्डको सफल छानविन गर्दै थियो । नक्कली भुटानी शरणार्थी काण्डलाई सामसुम पार्न र अरू अपराधीहरूलाई जोगाउन सरकार जे गर्दै छ, त्यो खतरनाक छ । नक्कली शरणार्थी काण्ड तपाईंहरूले एक–अर्कालाई जोगाउन र उन्मुक्ति दिन मिल्ने सामान्य अपराध होइन ।’
प्रमुख प्रतिपक्षी दलको नेता आफैँसँग राख्न चुनौती
प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लेखा समितिको सभापति मात्र होइन, आवश्यक पर्छ भने प्रमुख प्रतिपक्षी दलको नेता पनि आफैँसँग राख्न सत्तारूढ दलहरूलाई चुनौती दिनुभएको छ । सार्वजनिक लेखा समितिको सभापति सत्तापक्षले प्रतिपक्षीलाई नदिन कुतर्क गरिएको भन्दै आपत्ति जनाउनुभएका प्रचण्डले भन्नुभयो, ‘संसदीय परम्परामा संसारभरि नै लेखा समितिको सभापति प्रतिपक्षले पाउने गरेको छ । अहिले यो संसद्मा पनि प्रतिपक्षले लेखा समितिको सभापति पाउनुपर्ने हो तर नदिन अनेकथरी कुतर्क गरिँदै छ । तर, सुन्नुहोस् कांग्रेस-एमालेका साथीहरू, हाम्रो भूमिका खोसेर तपाईंहरू हामीलाई जनताको आवाज उठाउनबाट रोक्न सक्नुहुन्न । मेरो च्यालेन्ज भयो, लेखा समिति मात्रै किन ? चाहिन्छ भने प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत पनि तपाईंहरूसँगै राख्नोस् ।’
२२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद्बाटै गर्न चेतावनी
अध्यक्ष प्रचण्डले विद्युत् प्राधिकरणले उठाउन बाँकी करिब २२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद्बाटै गर्न सरकारलाई चुनौती दिनुभएको छ । प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै प्रचण्डले सामाजिक सञ्जालमा प्रस्ताव गरेर नभई क्याबिनेटबाट निर्णय गराउन चुनौती दिँदै भन्नुभयो, ‘प्रधानमन्त्रीले नौ वर्षसम्म किन २१ अर्ब ८८ करोड महसुल उठाइएन भनेर पनि फेसबुकबाटै सोध्नुभएको छ । नियत सही भएको प्रधानमन्त्रीले क्याबिनेटबाट सोध्नुपर्ने हो यो प्रश्न । खासमा यो प्रश्न सोध्ने होइन, जवाफ दिनुपर्ने व्यक्ति नै प्रधानमन्त्री ओली आफैँ हो । प्राधिकरणलाई आफ्नो काम आफैँ गर्न नदिएर यो विवाद निम्त्याएको कसले हो ?’ उद्योगहरूमा विद्युत्को लाइन काटेको भनेर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने नियतका साथ मन्त्रिपरिषद्बाटै सातदिने स्पष्टीकरण सोधिएको भन्दै उहाँले आपत्तिसमेत जनाउनुभयो ।
प्रचण्डलाई पन्तको सुझाव : ‘प्रतिपक्षी दलको नेताको जिम्मेवारी जनार्दनलाई दिनुस्’
सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेका नेता एवं सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षी दलको नेताको जिम्मेवारी भारी भए पार्टीका नेता जनार्दन शर्मालाई दिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सुझाव दिनुभएको छ । प्रचण्डले प्रतिपक्षी दलको नेताको गरिमा कायम राख्न नसकेको उहाँको आरोप छ । प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद पन्तले प्रधानमन्त्री छाड्दाको छटपटी र औडाहा संसद्मा नदेखाउन प्रचण्डलाई सुझाव दिँदै भन्नुभयो, ‘लोकतान्त्रिक संसदीय व्यवस्था रहेको मुलुकमा प्रतिपक्षी दलको नेताले १०० दिनसम्म रोष्ट्रममा उभिएर हत्तपत्त आलोचना गरिँदैन । उहाँले नजिर तोड्नुभयो । संविधान पढ्नुस्, प्रमुख प्रतिपक्षी दलको नेता दिएर या खोसेर पाउने होइन । तपाईंको दलले पाएको हो, मन लाग्दैन भने सँगै बसेका जनार्दन शर्मालाई दिनुस् न । प्रधानमन्त्री छाड्दाको औडाहा र छटपटी किन देखाउनु परेको ? राजनीतिक अस्थिरताका कारण तपाईं होइन ? जता सत्ता त्यतै प्रचण्ड भनेर स्थापित होइन ! फेरि सत्ताका लागि नफकाउने भन्दै हुनुहुन्छ । अब तपाईंलाई फकाउन को आउँछ ? तपाईंलाई सरकारको नेतृत्व गर्न राजनीतिक नैतिकता, जनमत र संसद्को गणितले त दिँदैन ।’
प्रचण्डप्रति चित्र बहादुरको कटाक्ष : ‘सत्तामा छँदा परिवारवाद, बाहिर गएपछि डुक्रिने ?’
राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले सत्तामा छँदा सुशासनको पक्षमा केही काम नगरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सत्ताबाहिर आएपछि डुक्रेको आरोप लगाउनुभएको छ । सत्ताबाहिर पुग्दा प्रचण्ड पानी बिनाको माछोजस्तो भएको उहाँको टिप्पणी छ । मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा अध्यक्ष केसीले प्रचण्डका चर्का कुरा सुन्दा आफूलाई अचम्म लागेको टिप्पणी गर्दै भन्नुभयो, ‘चर्का कुरा सुनियो, पूर्व–प्रधानमन्त्रीका । ओलीविरुद्ध उफ्रिनुभयो, त्यस्तो जान्दा-जान्दै दुईचोटि बालकोट किन पुग्नुभयो ? अचम्म लागेको छ । सत्तामा छँदा परिवारवाद, सत्ताबाट बाहिर पर्दा पानीबाट निकालेको माछाजस्तो । कसले पत्याउने ? सत्ताबाहिर गरेको कुरा कसले पत्याउने ?’
प्रचण्डको अभिव्यक्ति सत्ताबाट बाहिरिनु पर्दाको आक्रोश : खतिवडा
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रचण्डले आक्रोशपूर्ण अभिव्यक्ति दिएको बताउनुभएको छ । मंगलबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले सरकार बनेको छोटो समयमै यस प्रकारको आक्रोश देखाउनु सरकारबाट बाहिरिनु पर्दाको पीडा रहेको उल्लेख गर्नुभयो । उहाँले अध्यक्ष प्रचण्डको आक्रोश कांग्रेस र एमालेप्रति र डेडिकेटेड लाइन र ट्रंक लाइनको बारेमा मात्रै रहेको बताउनुभयो । उहाँले विगतमा प्रचण्ड नेतृत्वको सरकारका कामहरू पनि आफूले हेरेको भन्दै जिम्मेवारीका साथ प्रस्तुत हुन नसकेको बताउनुभयो । उहाँले सार्वजनिक लेखा समितिको सभापतिको विषयमा तत्कालीन प्रतिपक्ष दललाई नै दिइएकाले विगतमा पनि सत्ता पक्षमा पुगेपछि प्रतिपक्षलाई नदिइएका धेरै उदाहरणहरू रहेको बताउनुभयो । उहाँले लेखा समितिको बारेमा पनि अध्यक्ष प्रचण्डले जिम्मेवारीका साथ नबोलेको बताउनुभयो ।
प्रचण्डले राजनीतिबाट संन्यास लिएको घोषणा गर्नुभयो : बर्तौला
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रचण्डले राजनीतिबाट संन्यास लिएको घोषणा गर्नुभएको टिप्पणी गर्नुभएको छ । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले संसद्मा अध्यक्ष प्रचण्डले बोलेको कुरा नियाल्दा कुनै पनि नेताले आफ्नो योजना र रणनीतिअनुसार सरकारको नेतृत्व गर्ने लक्ष्य राख्नुपर्ने भए पनि उहाँले अब माओवादी केन्द्र र आफू कुनै पनि सत्ताको खेलमा नलाग्ने घोषणा गर्नु नै राजनीतिबाट पराजय स्वीकार गर्नुसरह रहेको उल्लेख गर्नुभयो । उहाँले सत्ताको खेलमा कहिल्यै नलाग्ने उद्घोष गर्नु नै एक प्रकारको संन्यासको घोषणा रहेको बताउनुभयो । उहाँले सामान्य संवैधानिक प्रावधानलाई पनि ख्याल नगरी अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षको संसदीय दलको नेताको भूमिकाबारे प्रश्न कुण्ठा व्यक्त गर्नुभएको बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्षको दलको नेताको भूमिकाबाट पनि छिट्टै नै जनताले हटाउने भन्दै अब धेरै समय कुर्नु नपर्ने बताउनुभयो ।
प्रचण्डलाई महाकालेश्वर दर्शन गराएको स्मरण
सत्तारूढ दल नेपाली कांग्रेसका सांसद एनपी साउदले प्रमुख प्रतिपक्षी दल माओवादीलाई शान्ति र स्थिरताको पक्षमा रचनात्मक भूमिका खेल्न देवादी महादेवसँग प्रार्थना गर्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भारतको उज्जैनस्थित महाकालेश्वरदेखि तिब्बतको मानसरोवर घुमाएको प्रसंग कोट्याउँदै सांसद साउदले भन्नुभयो, ‘प्रचण्डजीसँग उज्जैनको महाकालेश्वर दर्शनका लागि पनि गयौँ, त्यहाँबाट फर्केपछि पशुपतिनाथको दर्शन ग¥यौँ । कैलाश मानसरोवरमा पनि पुग्यौँ । म प्रार्थना गर्न चाहन्छु देवादीदेव महादेवलाई । अहिलेको अवस्थामा प्रतिपक्षलाई राष्ट्रिय सहमतिको राजनीति गर्नको लागि रचनात्मक प्रतिपक्षको भूमिका खेल्नको लागि प्रतिपक्षलाई देवादी महादेवले सद्बुद्धि दिऊन् ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच