थाइल्याण्डमा हुने भनिएको बंगालका खाडी आश्रित राष्ट्रको संगठन बिमस्टेकको बैठक स्थगित भएको छ । यसको कारण राजनीतिक उथलपुथललाई मानिएको छ । थाइल्याण्डमा प्रधानमन्त्री परिवर्तन, बंगलादेशको राजनीतिक उथलपुथल, श्रीलंकाको निर्वाचनलगायत यस क्षेत्रको राजनीतिक कारण उक्त सम्मेलन स्थगित हुनुको कारण बताइएको छ । सार्कको निष्क्रियतापछि दक्षिणपूर्वी एशियाका राष्ट्रहरूको भरोसाका रूपमा बिमस्टेक देखापरेको थियो तर यसले पनि बिस्तारै सार्ककै पद चिहृन पछ्यायो भने पूर्वी तथा दक्षिण एशियाका राष्ट्रहरूबीचको सम्बन्धको गाँठो बिस्तारै खुस्किँदै जाने र आपसी समन्वय कमजोर हुने अवस्था सिर्जना हुन जानेछ । एउटा खोरमा दुईवटा शेर बस्न सक्दैनन् भन्ने उखानलाई चरितार्थ गर्दै भारत र पाकिस्तानबीचको प्रतिष्ठाको प्रतिस्पर्धाका कारण सार्क वितगत दश वर्षदेखि निष्क्रिय बनिरहेको छ ।
सार्कको स्थापनाको अवधारणा नेपालका राजा वीरेन्द्रले अगाडि सारेको हुँदा नेपालको सार्कप्रतिको लगाव अन्य सदस्य राष्ट्रहरूभन्दा बढी रहँदै आएको थियो । सार्कको सचिवालयसमेत नेपालमै थियो । वर्णानुक्रममा सार्कको अध्यक्षता गर्ने र वर्णानुक्रकै आधारमा महासचिव नियुक्ति हुने क्रममा नेपालले पनि तीन-चारपटक सार्कको अध्यक्ष्ताको जिम्मेवारी लिएको थियो र महासचिवको जिम्मेवारी र दायित्व पनि पूरा गरेको थियो । सूचना, सञ्चारको विकास, आतंकवादको नियन्त्रण, शिक्षा, स्वास्थ्य तथा संस्कृतिको विकास र आदानप्रदान, खेलकुदको विकास, खाद्य सुरक्षाका लागि खाद्य भण्डारको स्थापनालगायत अनेकौं राम्रा काम सार्कबाट हुँदै आएका थिए । भौगोलिक अवस्थितिका आधारमा बीचमा विशाल देश भारत र वरिपरि नेपाल, भुटान, बंगलादेश, श्रीलंका, माल्दिप्स रहेकाले भारत सधैं सार्कमा नेतृत्वदायी भूमिकामा रहने गरेको थियो ।
पाकिस्तान यीमध्ये बढी शक्तिशाली र भारतसँग प्रतिस्पर्धामा उत्रिरहने भएकाले यी दुईबीच सम्बन्ध चिसिँदै गएपछि नेपालमा आयोजित सार्क शिखरसम्मेलनमा भारतले हवाई मार्ग नदिँदा पाकिस्तानका राष्ट्रपति चीनको बाटो भएर काठमाडौं आउनुपर्ने अवस्था सिर्जनासमेत भएको थियो । यसको बडापत्रमा कुनै पनि निर्णय बहुमतबाट पारित गर्ने भनिएको थिएन, सर्वसम्मत निर्णयबाट पारित हुने व्यवस्था गरिएको थियो । सुरुमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनका नाममा स्थापना हुँदा यसका सात राष्ट्रहरू सदस्य रहेकोमा पछि अफगानिस्तान पनि थपिएर सदस्य राष्ट्रहरू आठवटा पुगेका थिए । तर, कुनै पनि यन्त्रको एउटामात्र पुर्जा बिग्रिए पनि समग्र यन्त्र बिग्रने अवस्था आएजस्तै सार्क राष्ट्रहरूबीचको सम्बन्ध पनि यसरी नै निष्क्रिय बनेको छ ।
एकताका सार्कको चमक (क्रेज)नै विश्वको ध्यान तान्ने खालको थियो जुन अहिले फिक्का बन्न पुगेको छ । अब बिमस्टेक पनि यसरी नै निष्क्रिय बन्न पो पुग्ने होकि भन्ने भय उब्जिन थालेको छ । हालै थाइल्याण्डमा हुने भनिएको सम्मेलन स्थगित हुनाले भय सिर्जना गराएको हो । बंगालको खाडी पूर्वी तथा दक्षिण एशिया क्षेत्रका लागि बरदान हो भन्ने मान्यताका आधारमा यसलाई उपयोग गर्ने र यसबाट प्रभावित हुने देशहरूका बीचको व्यापार प्रवद्र्धन गर्ने उद्देश्यका साथ बिमस्टेको स्थापना भएको हो । यस क्षेत्रमा मनसुनी वर्षा गराउनेदेखि व्यापारको अभिवृद्धि गराउने समेतमा बंगालको खाडी (बे अफ बंगाल)को महत्वपूर्ण भूमिका रहँदै आएको छ र यसलाई सकेसम्म बढी उपयोग गर्ने उद्देश्य यसले लिएको छ ।
यसको उद्देश्य सार्कको भन्दा भिन्न छ । सार्क राजनीतिक उद्देश्य केन्द्रित र क्षेत्रीय हित प्रवद्र्धन गर्ने भावनामा केन्द्रित छ भने बिमस्टेक आर्थिक व्यापारिक उद्देश्यलाई केन्द्रमा राखेर स्थापना भएको हो । यसमा दक्षिण एशियाली र पूर्वी एशियाली देशहरू सदस्य छन् । सार्कका सबै सदस्य राष्ट्रहरू यसका सदस्य छैनन् । म्यानमारलगायत थाइल्याण्डलगायत राष्ट्रहरू सदस्य छन् । नेपाल सुरुमा यसको पर्यवेक्षकमात्र थियो तर पछि सदस्य बन्यो । नेपालमा सार्ककै जसरी बिमस्टेक (बे आफ बंगाल इनिसिएटिभ फर मल्टिसेक्टरल टेक्निकल एण्ड इकनमिक कोअपरेटिभ)को पनि सम्मेलन भइसकेको छ । हाल नेपाल यसको अध्यक्ष राष्ट्र रहेको छ ।
तर, हालै यसको थाइल्याण्ड बैठक स्थगनले यसले कतै सार्ककै पलचाप पछ्याउने त होइन भन्ने भय सिर्जना गरेको छ । त्यसो भएको खण्डमा दक्षिण एशियाली राष्ट्र जसरी हालका दिनमा निन्याउरो अनुहार लगाइरहेका छन् त्यसरी नै बिमस्टेकको सदस्य बनेका केही दक्षिण एशियाली र केही पूर्वी एशियाली राष्ट्रहरूको अवस्था पनि त्यस्तै बन्न जाने हो कि भन्ने सन्देह पैदा भएको छ । हुन त कुनै बैठकको मिति सर्नु र बैठक सथगित हुनु सामान्य अवस्था हुनसक्छ । यदि त्यसो भएको हो भने त्यो स्वाभाविक मानिन्छ तर यसमा पनि निहित कारण भएकाखण्डमा भने सार्ककै नियति यसले पनि भोग्नु नपर्ला भन्ने छैन ।
त्यस्तो भयो भने यसका सदस्य राष्ट्रहरूबीचको एकता र सम्बन्धको गाँठो कसिलो बन्न सक्दैन, सामूहिक आर्थिक समृद्धिका पाइला रोकिन पुग्नेछन् । यस्तो अवस्थाको सिर्जना नहोस् भन्ने कामना हरेक सदस्य राष्ट्रहरूको रहनु स्वाभाविक हुनजान्छ । यस क्षेत्रका सदस्य राष्ट्र सबैले आआफ्नो देशको आन्तरिक राजनीतिलाई मत्थर पार्ने कोेसिस गर्नुपर्ने आवश्यकता छ । विशेषगरी म्यानमार (बर्मा)र बंगलादेशको राजनीतिक अवस्था संलिनुपर्ने टड्कारो आवश्यकता छ । बिमस्टेकले निर्भीकताका साथ अझै परसम्मको यात्रा गर्न पाओस्, सार्कको जस्तो नियति यसले भोग्नु नपरोस् हालका लागि सबै सदस्य राष्ट्रहरूले गर्ने कामना यही हुनसक्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच