✍️ कृष्णप्रसाद सुवेदी
हामीले कोठा खाली गर्दा एक महिना वा पन्ध्र दिनअगाडि घरवेटीलाई कोठा छोडँदैछु है भनेर भन्नुपर्ने तर हामीले भाडा दिँदा हप्ता दश दिन ढिला भयो भन्न नपाइने । अर्को बढी पैसा दिने मान्छे आयो भने कोठा खाली गरिदेउ, तत्कालै निस्केर जाउ भन्ने हामी शहरमा बस्ने दोस्रो दर्जाका नागरिक भयौं ।
म अर्काको उद्दार वा अर्काको समस्या लेख्दै, उठाउँदै हिँड्ने मान्छेले ३० वर्षभन्दा बढी घरवहालमै बसेको छु र घरवेटीबाट अन्याय, अत्याचार सहेर पिल्सिएरै बसेको छु । म जसरी अन्याय, अत्याचार सहेर पिल्सिएर बसेका लाखौ नागरिकहरू छन यो शहरमा । काठमाडौंलगायत नेपालको शहरी भू-भागमा घरवहालमा बस्नेहरू सबैको यो एउटै साझा समस्या हो । घरधनीले वहालमा बस्नेहरूलाई सुकुम्बासी या केही पनि नभएका भन्ने ठान्छन्, उनीहरू दोस्रो दर्जाको नागरिक सम्झिन्छन् । शहरमा घरधनीको मात्रै इज्जत र मान सम्मान छ । बहालमा बस्नेहरू भेडाबाख्रा जस्तै हुन्, उनीहरूको मान, सम्मान र इज्जत केही हुँदैन भन्ने ठान्छन धनीहरू ।
काठमाडौंलगायत नेपालको शहरी भू-भागमा घर वहालमा बस्नेहरू सबैको यो एउटै साझा समस्या हो । घरधनीले वहालमा बस्नेहरूलाई सुकुम्बासी या केही पनि नभएका भन्ने ठान्छन् उनीहरू दोस्रो दर्जाको नागरिक सम्झिन्छन् ।
म करिब ३० वर्षभन्दा बढी वहालमै बस्ने अवसर जुर्यो । म जहाँ-जहाँ र जुन घरधनीको घरमा बहालमा बसें अहिलेसम्म त्यही चक्र घुमिरहेको छ, चक्रभ्यू छ । घरवहाल कानुन नहुँदा भाडामा बस्नेहरू दिनदिनै पिल्सिएका छन् । प्रत्येक दिन घरधनीको अन्याय, अत्याचार, दुरव्यवहार सहेर बस्न बाध्य छन् । एउटा सामान्य परिवारले सात हजारदेखि माथि ३० हजारसम्म बसोवासको भाडा तिर्छौं भने व्यवसाय गर्नेहरूले महिनामा लाखौं रुपैयाँ भाडास्वरूप तिरेका हुन्छौं । शहरका अधिकांश घरधनीको मुख्य आयस्रोत नै घरवहाल हो ।
घरवहाल कानुन नहुँदा र घरधनीसँग करार सम्झौता नहुँदा राज्यले प्राप्त गर्नुपर्ने मासिक लाखौं रुपैयाँ घाटा व्यहोरिरहनु परेको छ भने घरवहालवापत बुझाएको रकमको दुरुपयोग भएको छ । राज्यका अन्य सबै क्षेत्रमा कर लगाइएको हुन्छ तर घरवहालकरमा घरधनीलाई छुट दिइएको छ । कतै-कतै घरवहाल कर सम्झौता भए पनि लाखौंको घरवहाल करलाई हजारमा परिणत गरेर घरवहालकर बुझाइरहेका छन् । यसको मुख्य समस्या भनेको कारबाही गर्ने निकाय र राज्यको उच्च तहमा रहनेहरूको नै घर शहरमा छ र उनीहरूले घरवहाल कानुन बनाउन चाहँदैनन् । राजनीतिक आस्थाका कारण घरवहालकर लगाउँदा भोट कट्ने सम्भावनाले पनि वहालकर लागू हुनसकेको छैन । त्यसैले शहरमा घरहुनेहरू पहिलो दर्जाका नागरिक हुन् भने हामी भाडामा बस्ने दोस्रो दर्जाका नागरिक हौं । यसमा कसैको दुईमत छैन यो ध्रुव सत्य हो । कसैले इन्कार गर्छ भने ऊ काँतर हो र सत्य छल्दैछ ।
घरधनीहरूले वहालमा बस्नेहरूलाई यतिसम्म दुःख दिन्छन् कि ‘सुरुमा बस्दा बत्ती, पानी, फोहोर सबै गरेर एउटा निश्चित रकम तोकिदिन्छन् । मान्छे वहालमा बस्छ । त्यसको केही समयपछि फेरि बत्ती, पानी, फोहोरलगायत वहालमा बस्नेले नै तिर्नुपर्ने वा कोठा खाली गर्न भन्ने धम्कीपूर्ण व्यवहार हुन्छ । बत्तीको प्रतियूनिट १४ रुपैयाँदेखिमाथि तिर्न बाध्य पारिन्छ । नतिरे कोठा छोडेर जान भनिन्छ । घरवहालमा बस्नेहरू बच्चाबच्चीको स्कुल, कलेज, अफिस, व्यापार, व्यवसायलगायतलाई पायक पर्ने ठाउँमा बसोवास गर्ने प्रचलन छ । वहालमा बसेको वर्ष दिन पनि नपुग्दै निस्किन सम्भव हुँदैन । बाध्य भएर घरधनीले जे भन्छन त्यो मान्नुपर्ने बाध्यता छ । यो घरधनीको अन्याय, अत्याचार सरकार र सम्बन्धित निकायलाई राम्रोसँग जानकारी छ । तर, कानुन बन्दैन, भएका कानुनले पनि काम गर्दैन । अर्कोतर्फ जसको घरमा बसिन्छ ऊ सँग झगडा गरेर, मुद्दामामिला, उजुरवाजुर गरेर बस्न सक्ने अवस्था र सम्भावना हुँदैन ।
शहरमा घर हुनेहरूलाई घरवाहलसमबन्धि विषयमा कुनै पनि कानुन लाग्दैन । उनीहरू कानुनभन्दा माथि छन । राजनीतिक दलदेखि प्रशासनिक क्षेत्रले यो विषयमा घरमालिकलाई नै साथ दिने गर्दछन् । घरधनीले कानुनी माध्यामबाट घर खाली गर्न प्रक्रिया चलाउँदैनन् । घरवहालमा बस्नेहरूले कानुनी प्रक्रियामा गराएर घरखाली गराउनु भन्दा एकैपटक घरमा ताल्चा लगाई दिने, हप्ता-दश दिनमा घरखाली गर्ने नगरेमा जे पनि हुनसक्ने धम्कीपूर्ण भाषा प्रयोग गर्छन । करार सम्झौता नहुँदा सम्बन्धित वडा कार्यालयले पनि गम्भीर रूपमा लिँदैन ।
ट्वाइलेट बाथरूम, किचनमा पानीको धारामात्र हुन्छन पानी आउँदैन । घरवेटीको घरको धारामा पानी आउने तर भाडामा बस्नेको धारामा पानी नआउने । शहरमा बढी बिरामीको चाप बढ्नुमा यो पनि एउटा समस्या हो, पानी नै छैन या पानी सफा छैन । बत्ती, पानी, फोहोको पैसा बढाउँदै जाने तिर्न नमाने भाडामा बस्नेलाई दुव्र्यवहार गर्नेजस्ता क्रियाकलापले हामीलाई दोस्रो दर्जाको नागरिकको दर्जा दिएको छ ।
उनीहरूलाई सरसफाइ हुनुपर्ने, राम्रो खानदानी, सम्पन्न देखिनुपर्ने त्यो पनि भाडामा बस्नेले दिएको घरभाडाले । तर, भाडामा बस्नेहरू सधैं डराएर ज्यू हजुर गरेर बस्नुपर्ने । घर धनीहरूलाई संविधानप्रदत्त हकअधिकारले छुँदैन भने भाडामा बस्नेहरू आफ्ना हकअधिकारबाट वञ्चित भइरहेका छन् । त्यसैले शहरमा घर हुनेहरू र भाडामा बस्नेहरू दुवै पक्षलाई मर्का नपर्ने कानुनी व्यस्था ऐन, कानुनमै व्यवस्था गर्नु जरुरी छ ।
म स्वयं पटक-पटक र दैनिकैजसो यसको शिकार भएको छु । मलाई कानुनी प्रक्रिया थाहा छ तर कानुनी प्रक्रियामा जाँदा म त्यही घरमा वहालमा बसेर कानुन लड्ने, न्याय खोज्ने कि अर्को घरमा सरेर पुरोनोसँग कानुनी लडाइँ लड्ने ? आखिर घरधनीको एउटै बोली व्यवहार हुन्छ । यो वास्तविक र यथार्थ प्रश्नलाई राज्य र कानुनले सम्बोधन गर्न शक्तैन । भाडामा बस्नेहरूलाई सफा खाने पानी पनि नचाहिने, घाम ताप्ने, कपडा सुकाउने, समयमा सरसफाइ र अन्य चर्पी जाने र बाथरूम प्रयोग गर्नु पनि नपर्ने । के यी भौतिक वस्तुहरूको उपभोग घरधनीलेमात्रै गर्ने हो ? भाडा बस्नेले उपभोग गर्नु पर्दैन? पर्छ भने स्थानीय तहदेखि राज्यको माथिल्लो निकायको उपस्थिति कहाँ छ ? यो गम्भीर र टड्कारो विषय हो ।
यो विषय सार्वजनिक वहस र छलफलको विषयस्तु बन्नुपर्छ, हुनुपर्छ । अन्यथा भाडामा बस्नेहरूले एकजुट भएर घरधनीसँग कानुनी लडाइँ लड्नुपर्छ । उनीहरूलाई कम्तीमा पनि ६ महिना भाडा रोकिदिउँ र उनीहरूको हैसियत के कस्तो अवस्थामा रहन्छ देखाइदिऊ ।
घरधनीहरू गम्भीर मानव अधिकार, वर्तमान संविधान र ऐन, कानुनको खिलापमा उभिएका छन् । त्यसैले पनि हामी भाडामा बस्नेहरूले कम्तीमा ६ महिना घरभाडा रोकेर घरधनीको हैंसियत देखाई दिऊ । कसको पैसाले उनीहरू हामीमाथि नै शासन गर्दा रहेछन । हामीहरू पनि मानवीय जीवन जिउन पाउनु पर्छ । भाडामा बस्नेहरू घरधनीका दास होइनन् । जसले घरधनीलाई पालेको छ उनीहरूलाई दास बनाइएको छ । यसको अन्त्य हुनु जरुरी छ । यसको अर्थ भाडामा बस्नेले जे पनि गर्न पाउनुपर्छ भन्ने होइन । हामीले त्यस्तो गलत अर्थ लगाउनु हुन्न र त्यस्तो अमानवीय व्यवहार पनि गर्नु हुन्न ।
सबैको आफ्नो स्थानमा सामाजिक मर्यादा, इज्जत, मान, सम्मान छ । भाडामा बस्नेहरू निर्धक्कसँग बस्न पाउनुपर्छ । बिहान उज्यालो नहुँदै होस् या बेलुका वा बाटोमा हिँड्दा पाहुनापाछा आउँदा मौका हेरेर भाडा माग्न आउने, सार्वजनिक रूपमा अपमान हुने चरित्र प्रदर्शन गर्ने काम बन्द गरिनुपर्छ ।
सबैको आफ्नो स्थानमा सामाजिक मर्यादा, इज्जत, मान, सम्मान छ । भाडामा बस्नेहरू निर्धक्कसँग बस्न पाउनुपर्छ । बिहान उज्यालो नहुँदै होस या वेलुका वा बाटोमा हिँड्दा पाहुना पाछा आउँदा मौका हेरेर भाडा माग्न आउने, सार्वजनिक रूपमा अपमान हुने चरित्र प्रदर्शन गर्ने काम बन्द गरिनुपर्छ । अन्यथा कम्तीमा ६ महिना घरभाडा रोकेर घरवेटीको हैंसियत हेरौं । ६ महिनापछि दिउँ, किनकी उनीहरू कसको पैसा, रकमले हामीमाथि अपमान र दुव्र्यवहार गरिरहेका छन् ।
घरवेटीको घरमा जति मान्छे थुप्रिँदा पनि हुने तर भाडामा बस्नेको घरमा पाहुनापाछा, साथीभाइ, इष्टमित्र आउन नहुने । कोठा कोठामा पसेर सामान चेकजाँच गर्ने, जासुसी गर्नेजस्ता अमर्यादित, कानुन विपरीत र अपमानजनक व्यवहारले गर्दा वहालमा बस्नेहरूको संवैधानिक र मानव अधिकारको हक हनन् भइरहेको छ । यसमा राज्यबाट समयमै चासो राखिएन भने कुनै एकदिन बंगलादेशमा भड्किएको हिंसाजस्तै शहरहरूमा हिंसा फैलिनेछ । त्यहिबेला राज्यका कुनै पनि निकायले सम्हाल्नसक्ने छैनन् र नागरिकका सामु बाध्य भएर घुँडा टेक्नुपर्नेछ ।
सफा पानी, सफा बाथरुम, धरवेटीको सबै धारामा आउने उनीहरूलाई मात्र चाहिने । उनीहरूभन्दा तल वा भाडामा बस्नेलाई कुनै सुविधा उपलब्ध हुनु नपर्ने, तर वहाल एक दिन पनि नकटाई दिनुपर्ने । भाडामा बस्नेलाई हेप्ने, माथिबाट पिसाब फेरेको पानी धोएर सुकाएका कपडा हुन् या मानिस उनीहरूको टाउकोमा फ्याकिदिने, बाटोमा हिँड्दा तल मान्छे छ कि छैन् नहेरी माथिबाट फोहोर पानी, पिसाब फ्याकिदिने, यही सत्य हो शहरको सभ्यता र संस्कार । अझ उनीहरूले हामीलाई घरको धम्की लगाउने, संस्कार र सभ्यता सिकाउने ?
आफ्नो कोठामा आउन निश्चित समयसिमा तोक्ने । उनीहरूले तोकेको समयसीमाभित्र प्रवेश गरिएन भने बाहिरै बस्नुपर्ने जस्ता अनगिन्ति र हजारौं समस्याहरूका बाबजुद दोस्रो दर्जाको नागरिक भएर शहरमा भाडामा बस्न बाध्य छौं, हामी दोस्रो दर्जाका नागरिकहरू । यो मेरोमात्र समस्या होइन । नेपालका प्रमुख शहरहरूमा भाडामा बस्ने नागरिकका समस्या हुन् । यी समस्या भाडामा बस्नेहरूको सबैभन्दा ठूला र जटिल साझा समस्या हुन् ।
मनोवैज्ञानिक असर
भाडमा बस्नेका सन्तान, इष्टमित्र, छरछिमेक पनि हुन्छन् भन्ने कुराको वोध नहुनुले गर्दा उनीहरूका बालबच्चाको मानसिकतामा घरवेटीको व्यवहारले मनोवैज्ञानिक असर परेको हुन्छ । डर, त्रास, दुव्र्यवहाले गर्दा स्कुल, कजेल अध्ययान गर्ने कलिला नानीबाबुहरूको दिमागमा नकारात्मक असर परेको छ । त्यस्तो नकारत्मक असरले उनीहरूको भविष्यलाई खतरामा पु¥याइदिन्छ । आफ्ना बाउआमाको वा घरमूलीको समस्याले छोराछोरीलाई मनोवैज्ञानिक असर पर्छ नै । यसै कारणले देशमा स्वास्थ्य जनशक्तिको अभाव खेप्नुपर्ने हुनसक्छ । घरवेटीकै कारणले गर्दा धेरै मानिस र तिनका छोराछोरीहरू डिपे्रसनमा गइसकेका हुन्छन् । अपराध बढ्नुको मुख्य कारक यो पनि हो । सम्मानजनक बसोवासका लागि घरवहाल कानुन बनाउनु र भएका कानुनलाई कडाइकासाथ पालना नगर्ने हो भने अबको केही वर्षभित्रै बिद्रोह शुरु हुनेछ ।
दलितलाई त झन् कोठा भाडामा दिइँदैन । शहरमा कोठा नपाइने भएपछि उनीहरूले आफ्नो नामै परिवर्तन गरेर हिँड्नुपर्ने अवस्था छ । त्यसकारण पनि घरवेटी र भाडामा बस्नेहरूले शर्तसहितको घरभाडा सम्झौता गरेर उनीहरूलाई कानुनी दायरामा ल्याउनु अनिवार्य देखिन्छ । त्यसो गर्दा राज्यलाई भाडामा बस्ने नागरिकले तिरेको पैसाको कर पनि प्राप्त हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच