✍️ खेमनाथ दाहाल
रातभर नसुतेपनि अन्य दिनभन्दा आज बिहान फुर्तिलो भएको छ मेरो मन र शरीर । म काम सकेर फुर्तीसाथ घर पुगेँ । नृति नुहाई-धुवाईको नित्यकर्म सकेर बिहानको चिया, चना, रोटी आदि तयार गर्दै रहिछन् । छेवैमा गए र ‘न्यूयोर्क जाने दिन त फूर्ति नै अर्को भएछ’ आश्चर्य मानेको भावमा उनलाई जिस्काउन खोजेँ । मेरो भनाइमा उनले ‘कुनै नयाँ ठाउँ होइन घुमेको न्यूयोर्क जान के ! उत्साह र फुर्ती हुनु बरू बिरामीका साथमा जाँदा उपचारको जोहो गरेर हिँड्नु पर्यो नि ?’ भनेर पुलुक्क हेरिन् । उनले यसोभन्दा मैले बुझेँ हिँडेपछि छिन्छिन्मा खानखोज्ने मेरो प्रवृत्तिलाई उनले गतिलो व्यंग्य कसिन् । उनको यो व्यंग्यलाई मैले सहज रूपमा लिएँ र ‘क्रिष्टिनासँग जाँदा के खानेकुरा बोक्ने ? उसको म्याक डोनाल्डको स्वाद टासिएको जिब्रोमा हाम्रो चना र रोटीको के प्रयोजन होला ?’ भनेँ । मैले यति भनिसक्ता नृतिले ‘अरूको चाहनालाई मात्र ध्यान राख्ने कि ? आफ्नो स्वास्थलाई पनि ख्याल गर्ने भन्दै मलाई कर्के आँखाले हेरिन् । उनको भनाइ र हेराइमा मलाई मनमन हास उठ्यो । मैले खण्डन गरिन बरू उनको कामको निरन्तरतालाई ध्यान दिएर हेरिरहेँ । मलाई मौन देखेर उनले छिट्टै नुहाएर तयार हुन सम्झाएझैँ गर्दै चाँडै तयार हुने ठाडो आदेश जारी गरिन् । म नुहाएर तयार हुनतिर लागेँ ।
झलक्क क्रिष्टिनालाई देख्ने वित्तिकै म विमोहित भए । म यति सुन्दरी अमेरिकन केटीसँग कसरी सम्पर्कमा आएँ र उसैको अनुरोधमा न्यूयोर्क घुम्न यहाँको भाषामा एकप्रकारको डेटिङमा जाँदैछु । मैले म जन्मेको नेपालको कुनादेखि वर्तमानसम्मलाई केही सेकेण्डमा सम्झिए अनि एकटकले क्रिष्टिनातर्फ हेरेँ ।
म आउँदा चिया र रोटीअगाडि राखेर मलाई पर्खिरहेकी उनीलाई देख्दा ढिलो गरेँ कि भन्ने अनुभूत भयो तर सोधिन । किनकि मैले सोध्ने वित्तिकै कहिले पो समयमा तयार हुने बानी छ र हजुर को ? भन्ने तयारी जवाफ अवश्य पाउनेछु । यो मलाई अवगत भएको कुरा पुनः किन सुन्ने ? यस्तै सोँच बनाउँदै म छेवैमा बसेँ र ‘आज रोटी चना नबोकौँ’ भनेँ । उनले केही प्रतिकार नगरी रोटी र चना फ्रिजमा थन्क्याइन ।
नृतिले तीनवटा कागजको ग्लासमा चिया भर्दै गर्दा क्रिष्टिनाले आइपुग्न लागेको खबर गरी । मैले स्टोर अगाडि भेट्ने पूर्वसल्लाह अनुसार हामी दश मिनटमा त्यही पुग्छौ भनेँ । तर, उसलाई त हाम्रो डेरा हेर्ने चाहना छ त्यसैले ढिलो हुन्छ भनेँ म डेरामा नै लिन आउँछु भन्न थाली । मैले हामी निस्किसक्यौ भनेर उसलाई सिधै स्टोर पुग्दा हुन्छ भनेँ र आज पनि टारेँ । वास्तवमै केही दिनदेखि क्रिष्टिना हाम्रो डेरामा आउन उद्यत् छे । तर, अति नै साँगुरो गोदाम जस्तो कोठामा जीविका चलाएको बेला कसरी उसलाई कोठामा प्रवेश गराउने ? हामी संकोचका कारण डेरा देखाउन भरिसक्य टारिरहेका छौ ।
छिट-छिटो गरेर हामी स्टोरमा पुग्दा क्रिष्टिना पनि सँगसँगै जस्तो आई पुगी । हामीलाई देख्ने वित्तिकै छेवैमा गाडी ल्याएर बस्ने संकेत गर्नुको साटो आफैं निस्किएर ढोका खोल्न थाली । वास्तवमा यो अमेरिकामा कमै गरिने कर्म देखेर नृति र मैले मुखामुख गर्यौ । मैले नृतिलाई अगाडि बस भने तर उनले भाषा समस्या देखाउँदै एक डेडघण्टा नबोलिबस्दा उसलाई पनि असहज हुन्छ भनेर मानिनन् । म र क्रिष्टिना अगाडिको सिटमा बस्यौ । नृति पछाडि एक्लै बसिन् । उनलाई एक्लै राख्दा मलाई कताकता असहज भयो । तथापि कुनै भाव प्रकट गरिन बरू मसँग छुट्टिएर बस्नुपर्दा उनलाई पनि कस्तो-कस्तो भएको उनको हाउभाउबाट अनुभूत गरेँ । हामी गाडीमा बस्यौँ ।
आज झलक्क क्रिष्टिनालाई देख्ने वित्तिकै म विमोहित भए । म यति सुन्दरी अमेरिकन केटीसँग कसरी सम्पर्कमा आए र उसैको अनुरोधमा न्यूयोर्क घुम्न यहाँको भाषामा एकप्रकारको डेटिंगमा जाँदैछु । मैले म जन्मेको नेपालको कुनादेखि वर्तमानसम्मलाई केही सेकेण्डमा सम्झिए अनि एकटकले क्रिष्टिनातर्फ हेरेँ । एकाएक मलाई धपधप बलेकी कृष्टिनाको स्फटिक समान सेता गालामा लहराएका केशराशिहरू हटाएर उसँग मायाप्रीति साटासाट गर्न मन लाग्यो । उसको सामीप्यता प्राप्तीकोे आकांक्षाले सताएको अनुभूत हुन थाल्यो । उसको सुन्दरताले यस बेला मेरो बुद्धि विभ्रम भएझैँ भयो र बेलाबेला म नृति मसँगै भएको बिर्सिएर उनको एकात्मक बारलाई नाघ्न कुचेष्टासमेत गर्न कोसिस गरिरहेको आभाष हुन थाल्यो । यसैबेला नृतिले बेलुका अलिक चाडै फर्कनु पर्ला ? भनेको शब्दले म झस्किएँ र यस्तो कल्पना गरेकोमा आफूलाई सयंमित बनाउन नृतितिर हेरेँ । उनी उन्नायस बीसकी हुदाँको उनको सुन्दरता सम्झँदै क्रिष्टिनालाई बिर्सने कोसिस गर्न थालेँ र मनमनै नृतिसँग माफी मागेँ ।
क्रिष्टिनाले गाडी सन् राइज हाइवेमा प्रवेश गराउने वित्तिकै नृतिले चिया कप निकालेर मतर्फ बढाइन । मैले ‘नेपाली चिया नेपाली हात !’ भनेर पहिलो कप क्रिष्टिनालाई दिएँ र उसको अनुहारलाई नियाल्न थालेँ । मैले सुरुदेखि नै एकहोरो भएर उसलाई हेरिरहेकको नृतिलाई असहृय भएको रहेछ क्यार ! त्यसैले ‘के सारो एकोहोरिएर त्यसलाई हेरेको ? हजुरलाई चिया दिन तन्काएको मेरो हात नै थाकिसक्यो !’ भनेर नृतिले पछाडिबाट भन्दा म झसँग भए र उनीतर्फ फर्किएँ । उनले चिया कप हातमा तेस्र्याएर मलाई अर्जुन दृष्टिले निगरानी पो गर्दै रहिछन् ! उनको यो भनाइ मलाई कताकता आक्रोश र वेदना मिश्रित तातो गोलीझैँ प्रतीत भयो ।
यो भन्दा पहिला क्रिष्टीनाको कुरा गर्दा यति कडा प्रतिवाद उनले गरेकी थिइनन् । अहिलेको यो गोलीलाई एक आदर्श महिलामा हुनुपर्ने अनुशासनको रुपमा लिए मैले । श्रीमतीले अलिकति लगाम खुकुलो पार्ने वित्तिएकै पात्तिने सांसारिक श्रीमान्हरूको रोगको निदानको पहिलो कडी यस्तै गोली नै हुन् । नृतिको कडा प्रतिवाद मैले यही अर्थमा बुझेँ । तुरून्त लाज पचाउँदै मैले उनको मन चोर्ने अभिप्रायले ‘चियाको पहिलो सुर्कीमा यसले अनुहार कस्तो पार्दिरहिछ ! भन्ने हेर्न खोजेकोमात्र हो’ भनेँ । मेरो कुरा सुनेर उनी झन् तातिन् र भनिन् ‘कस्तो पार्दा के हुन्छ हजुरलाई ?’ उनी तात्तिएको थाहा पाएर विस्तारै ‘त्यसबाट मेरी सुन्दरी श्रीमतीले मिहिनेत गरेर बनाएको चिया कस्तो मानिछे भनेर मापन हुन्छ !’ मैले हास्दै भुल्याउन खोजेँ ।
कागभन्दा कोइली चङ्ख भनेझैँ उनी मेरो भुल्याइमा के मान्थिन् । ‘भो बेसी बात नबनाउँ हजुरले आँ गर्दा म अलङ्कारले बुझ्छु, हामी गाडीमा बसेदेखि हजुरको दृष्टि त्यसैमा केन्द्रित छ । न बाबु तिरकी न आमा तिरकी त्यसलाई त्यत्रो महत्व दिन के आवश्यक पर्यो हजुरलाई ?’ भनेर आफ्नो मनोद्वेग पोखिन् । मैले ‘किन यसरी तातेकी त्यसले तिमी तातेको अनुमान गरिसकी ! ऊ हामीसँग घुमेर आनन्द लिन आएकी हो’ भनेर थामथुम पार्न खोजेँ । उनीे तुरून्त ‘त्यसलाई मात्र आनन्द चाहिन्छ !’ भन्दै फुसफुसाइन् र चित्त नबुझी नबुझी मत्थर भइन ।
यसैबेला क्रिष्टिनाले चियाको चुस्की लिदै ‘चिया कसले बनाएको, साह्रै मीठो रहेछ ?’ भनी र नृतिको अनुहार तिर नियाली । नृतिले हत्तपत्त आफ्नो मेघाच्छादित शुभ्र हिमाल सदृश अनुहारलाई चन्द्र वदनमा परिणत गर्दै ‘धन्यवाद !’ भनिन् । हाम्रोबीचमा भएको छलफल बुझेर वा नबुझी कुरा अर्कोतर्फ मोडेकोमा मैले मनमनै क्रिष्टिनालाई धन्यवाद दिएँ ।
नृतिसँग त्यति कुरा गरेर मुसुमुसु हास्दै क्रिष्टिनाले मतर्फ दृष्टि फ्याकी म नृतिको निगरानीमा डराउँदै डराउँदै ऊतर्फ फर्किएँ र बोल्ने बहानाको रुपमा ‘हामी के न्यूयोर्क पुगेर ब्रेकफाष्ट लिने हो ?’ भनेर कुराको सिलसिला सुरू गरेँ । कृष्टिनाले ‘रकभिलको स्टारवर्क, मेकडोनाल्ड कतै पसैला न’ भनेर आफ्नो छोटो प्रतिक्रिया दिइ । हामी आधाघण्टामा रकभिल पुग्यौ र मेकगोनाल्डमा पस्यौ । केही चिकेन नगेटस् लिएर बाहिर स्टारवर्गतिर लाग्यौ । स्टारवर्ग अगाडि गाडी रोकिने वित्तिकै म स्टोरभित्र छिरेँ ।
नृति कफी लिन अनिच्छु भएपछि मैले केवल दुईकफ क्यापाचिनोको पैसा तिरेँ र कफी हातमा बोक्दै बाहिर निस्किए । गाडी बिसाएर (एबचपष्लन) त्यहाँ आइपुगेकी क्रिष्टिनाले मैले पैसा तिरेको मन पराइन र प्रतिवाद गर्दै आजको सबै खर्च उसैले गर्ने भनेर उद्घोष गरी । मैले अमेरिकी चलन अनुसार सबैले भागबण्डामा तिरौँ भन्ने प्रस्ताव राखेँ तर उसले मान्दै मानिन ।
क्रिष्टिनाले पैसा तिर्न नपाएकाले होला अप्ठेरो मान्दै कफी लिएर गाडी हाक्न थाली । हामी कफी खाँदै कहिले नेपाल र कहिले न्यूयोर्कका दर्शनीय स्थानका बारेमा गफ गरिरहेकै बेला मैले मेरा हातको बाँकी कफी नृतिलाई दिए । मैले दुईचार घुट्की त्यैपनि जुठो कफी दिएको देखेर क्रिष्टिना मुसुक्क हासी । मैले यो मुस्कानलाई उपहासको रूपमा लिएँ र कताकता संंकोच महसुस गरेँ । त्यहीबेला मेरो सोचको विपरीत उसले ‘तिमीहरूको कस्तो ! सद्भावको संस्कृति छ हो कि ?’ भनेर नृतिलाई पुलुक्क हेरी । नृतिले कति सुनिन् सुनिनन् तर सुनेझेँ हासिन् र कफीको सुर्की तानिन् । उनले सुर्की लिएको देखेर क्रिष्टिनाले फेरि मुस्काउँदै भनी, ‘अमेरिकामा यसरी खाँदाखाँदैको जुठो कफी न त पतिले दिन्छ न त पत्नीले खान मान्छे बरू यहाँ त जुठो दिएकोमा अपमानको बात पो लाग्न सक्छ दिनेलाई ।’ उसको भनाइ सुनेर मैले हास्दै, ‘तिमीहरूको बीचमा पनि जुठो र चोखोको कुरा हुन्छ र तिमीहरू त झन् सार्वजनिक स्थानमा खुलमखुल्ला चुम्बन आदान प्रदान गर्दछौ । यसबेला तिमीहरूको बीचको मान अपमान कता हराउँ छ ?’ भनेँ । मेरो कुरा सुनेर उसले गम्भीर मुद्रामा भनी, ‘यो त समानताको कुरा भयो नि हामी दुवैले अ-आफ्नो आनन्दका लागि वा माया साटासाटका लागि एक आपसमा चुम्बन गरिरहेका हुन्छौ त्यस वखत ।’ उसको तर्क सुनेर मलाई हासो उठ्यो । म स्मित हासो हास्न थालेँ ।
हामीबीच एकछिन सन्नाटा छायो । बेलाबेला मलाई हेरिरहेकी क्रिष्टिनाले ठट्यौली पारामा भनी, ‘एकातिर तिमीहरू (पूर्वीयहरू) कामशूत्र लेख्छौ अर्कोतर्फ तिमीहरूको समाजमा चुम्बन वर्जित भएझैँ गर्छौ के तिमीहरूको समाजमा स्त्री पुरूषबीच चुम्बन हुँदैन त ?’ उसको कुरा सुनेर मैले, ‘किन हुँदैन हुन्छ तर तिमीहरू (पश्चिमाहरू)को जस्तो छाडापाराले हुँदैन’ भनेँ । मैले थप बोल्न नपाउँदै उसले एक आपसमा माया दर्शाउँदा पनि छाडा र शिष्टताको कुरा हुन्छ र ! भनेर अचम्म मानेझैँ गरी । मैले हाम्रोमा जे हुन्छ विधिसम्मत हुन्छ भनेँ । पुनः अचम्म मान्दै उसले चुम्बन गर्न पनि विधि ? भनेर मलाई हेरी । मैले, ‘हाम्रो समाजमा बिबाह पद्धति अनुसार बिबाहको मण्डपमा नै जुठो दही चाटाचाट गराएर विधिवत पति पत्नीबीच जुठो खान फुकुवा गरिदिएको हुन्छ । हाम्रो समाजले तिमीहरूको जस्तो अर्काको श्रीमान् श्रीमतिसँग चुम्बन साटासाट गर्न छुट दिँदैन । तथापि पूर्वीय समाजका पुरुषले पश्चिमी समाजका पुरूषले जस्तो सार्वजनिक रुपमा श्रीमतीको जुठो खादैनन् वा चुम्बन गर्दैनन्’ भनेर उसलाई बुझाउँन कोसिस गरेँ । मेरो भनाइ सुनेर ऊ हासी र भनी, ‘ए साच्चै ?’ उसको यो द्वयार्थक सोधाइ मेरो भनाइको उपहास हो कि ? उसको आत्मसात हो मलाई द्विविधा भयो । तथापि प्रत्युत्तरका रूपमा मैले तुरून्त भनेँ, ‘तर पर्दाभित्र भने सबैले एक आपसमा चुम्बन साटासाट गरिरहेका हुन्छन् ।’ मेरो कुरा सुनेर ऊ निकैवेरसम्म हासी र भनी, ‘पूर्वीय समाजमा ढोँग र नारी दमन चै बढी नै छ ।’ मैले उसको कुराको खण्डन गर्दै ‘ढोँग होइन अनुसाशन शिष्टता बढी छ । दमन होइन नारीलाई उत्तरदायित्व भने बढी दिएको छ’, भने । उसले मेरो कुरा स्वीकार गरिन र ‘यो तेरो भनाइ पनि अप्रत्यक्ष पुरूष शोषणको भाषा हो’, भनी । उसले यसो भनेपछि मनमा धेरै तर्क वितर्क उब्जे तर पनि मैले यो विषयमा थप कुरा गर्न चाहिन किनकि म जान्दछु मेरो समाजमा नारी दमन त आदिकालदेखि भएकै छ । सीतालाई रामले वनवास पठाउँदा पनि दमन भएकै थियो विद्वान वर्गले भरिभराउ कौरव सभामा द्रौपदीको चीर हरण हुँदा पनि दमन भएकै थियो । आदिदेखि वर्तमानसम्म आइपुग्दा हामीले कानुनी रूपमा समाधान गर्न खोजे जस्तो देखाए पनि पुरुष दम्भले दिएको छैन । विविध पक्षमा व्यवहारिकताका आडमा अद्यापि घुमाउरो पाराले स्त्री जातीको घिच्रो अँठ्याउने काम भइरहेकै छ । मैले कुराको सिलसिला बदल्ने विचार गरेँ । म निरूत्तरझैँ भए र मौन बसेँ ।
मैले एकएक औला देखाउँदै सम्क्षेपमा बुढी औँला अन्तरिक्ष, चोर औँला वायु, माझी औँला अग्नि, साइली औँला जल र कान्छी औँला पृथ्वीसँग सम्बन्धित छन् भनेर बुझाए । उसले कति बुझि बुझिन तर मेरो भनाइलाई आत्मसात गरेझैँ गरी र मुस्कुराई ।
म मौन भएको देखेर क्रिष्टिनाले एक-दुईपटक मलाई हेरी तर केही भनिन । मलाई पनि तर्क गर्न जागर चलेन । केहीबेरपछि उसैले सिधै मिनहटन गएर कतै केही खाने र स्टेच्यू अफ लिवर्र्टी जाने प्रस्ताव राखी र जि.पि.यस.तिर केन्द्रित भइ । मैले नृति तिर हेरेँ उनले इसारामै खाना खाएरमात्र अगाडि बढ्ने सल्लाइ दिइन् । उनको यो सल्लाहको मतलब समयमा दवाई खाएरमात्र अगाडि बढ्ने हो मैले बुझैँ । उनको राय अनुसार मैले क्रिष्टिनालाई ज्याक्सन हाइटमा गाडी बिसाऔँ र नेपाली खाना खाएर स्टेच्यु अफ विलटी तिर निस्किऔं भने । नेपाली खाना भन्ने वित्तिकै ऊ रमाइ र गाडी ज्याक्सन हाइट तिर मोडी । हामी लगभग बीस मिनटमा ज्याक्सन हाइट पुग्यौ र स्टेसन नजिकैको बिसौनी खोजेर गाडी राख्यौ । मैले गाडीबाट उत्रिएर नृतिको ढोका खोल्दै गर्दा क्रिष्टिना हत्तपत्त आइ र मलाई ठेल्दै ढोका खोल्न थाली । यो उसको मलाई स्पर्श गर्ने चाल थियो कि स्वच्छ मनले सहयोगको अभिप्राय ? जे होस् म भने उसको यो स्पर्श र सामीप्यले झनै रागी भएँ । मैले प्रतिक्रिया नदेखाएकोमा ऊ मुसुक्क हासी । मैले अहिले बल्ल थाहा पाएँ ऊ गाडी चडाउन किन निस्किएर मेरा समीप आउँछे ?
हामी सरासर हिमालयन याक रेष्टुरेन्ट तिर लाग्यौ । होटलमा नृति र क्रिष्टिना मेनु हेर्न थालेँ मलाई मेनुको आवश्यकता थिएन किनकी म थालीसँग अभ्यस्त थिए र त्यही मगाउने मनशाय बनाइसकेको थिएँ । केही मिनटमै मैले के ल्याउँ भन्न आएको भाइलाई क्रिष्टिनाका हातको मेनुमा देखाउँदै पिरो र मसला कम गरेर तीन थाली खाना ल्याउन अर्डर गरेँ । सल्लाह नगरी अर्डर गरेको देखेर छक्क परेकी क्रिष्टिनालाई दालभात नेपालमा सबैभन्दा बढी खाइने परिकार हो भनेर यसको विशेषताका बारेमा सम्झाए । मेरो कुरामा आश्वस्त हुँदै ऊ थालीको प्रतिक्षा गर्न थाली । म हात धुने ठाउँ तिर लागे ।
केही बेरमा थाली आइपुगे पछि मैले हातैले भात खाने निधो गरेँ र खान सुरु गरौं भन्दै खाना खान थालेँ । मैले हातैले खाना खाएको देखेर द्विविधामा परेकी नृतिलाई जे गर्दा सजिलो हुन्छ त्यही गर भने । उनले क्रिष्टिनालाई सहज बनाउन काटा चम्चाकै प्रयोग गर्छु भन्दै त्यसै गरिन् । मैले मजाले हातले मुछेर खाना खाएकोमा केही नयाँ कुरा देखेझैँ चाख मानेर हेर्दै गरेकी क्रिष्टिनालाई मैले हातले खाना खानाले खाना पचाउन सजलो हुन्छ, यसको अलावा हाम्रो शरीरलाई चाहिने खानामा भएका कतिपय तत्वहरू काँटाचम्चाले खाँदा हामी पाउन सक्तैनौ तर पाँचै अम्लाले मुछेर खाँदा सजिलै प्राप्त गर्न सक्दछौ भनेर बुझाए । पाँच औला र पञ्चतत्वका बारेमा भन्दै गर्दा जब मैले हाम्रा पाँच औला पञ्च तत्वसँग सम्बन्धित छन् भनेर हाम्रो आयुर्वेदले भन्दछ भनेँ ऊ उत्साहित भइ र ‘कसरी ?’ भनी । मैले एकएक औला देखाउँदै सम्क्षेपमा बुढी औँला अन्तरिक्ष, चोर आँैला वायु, माझी औँला अग्नि, साइली औँला जल र कान्छी औँला पृथ्वीसँग सम्बन्धित छन् भनेर बुझाए । उसले कति बुझि बुझिन तर मेरो भनाइलाई आत्मसात गरेझैँ गरी र मुस्कुराई । क्रमशः