धनगढी । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई दुई तिहाइको घमण्ड नगर्न चेतावनी दिनुभएको छ । सुदूरपश्चिम प्रदेशको धनगढीमा दुई दिनसम्म चलेको माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा प्रदेश पदधिकारीहरूको परामर्श बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले बंगलादेश र श्रीलंकाको अवस्था आउन सक्ने भन्दै चेतावनी दिनुभएको हो । उहाँले भन्नुभयो, ‘दुई तिहाइको घमण्ड चाहिँ नगर्नुस् है, मैले भनेको छु । तपाईँ सुध्रिनुस् भनेको छु । राम्रो गर्नुभयो भने हामी समर्थन गर्छौं भनेको छु । दुई तिहाइको घमण्ड गर्नुहुन्छ भने बंगलादेश र श्रीलंका सम्झिनुस् भनेर सम्झाएको मात्रै हुँ ।’ दुई तिहाइको बलले संविधानमाथि घात गरे प्रतिकार गर्नेसमेत उहाँले बताउनुभयो ।
अहिले सरकार संविधान मिच्ने खालका गतिविधिमा लागेको भन्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘गणतन्त्र, धर्म निरपेक्षता, संघीयता सुन्दा माओवादी मात्रै नजर आइरहेको छ, कांग्रेस एमालेबाट त्यसकारण यो परिवर्तन उल्ट्याउने प्रयास भइरहेको छ । हामी त्यसको सदन र सडकबाट प्रतिवाद गर्छाैं, सडकमा जानका लागि पनि हामी तयार छौँ ।’
उहाँले भ्रष्टाचारमा पाँच वर्षको हदम्याद मान्य नहुने पनि बताउनुभयो । पाँच वर्षे हदम्याद नेपाली कांग्रेसलाई पनि स्वीकार हुँदैन होला जस्तो लागेको उहाँको भनाइ थियो । उहाँले माओवादी केन्द्र पार्टी फुट्छ भन्ने हल्लामा कुनै सत्यता नभएको पनि प्रष्ट पार्नुभयो । पार्टी फुट्ने हल्ला निराधार भएको बताउँदै उहाँले त्यो हल्लालाई हामीले खारेज गरिसकेको बताउनुभयो । धनगढीमा सम्पन्न बैठकमा पार्टी नेतृत्व परिवर्तनको विषयले समेत प्रवेश पाएको थियो ।
नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदशस्तरीय दुई दिने परामर्श बैठकमा प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरू गरी ६३ जनाले पार्टी निर्माणका लागि सुझाव दिएका छन् । सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डासहित सुदृढ जनसंगठन निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिँदै प्रदेशका नेताहरूले आगामी केन्द्रीय समिति बैठकबाट ठोस कार्ययोजना ल्याउन नेतृत्वलाई आग्रह गरेका छन् । बैठकलाई अध्यक्ष प्रचण्डसहित पदाधिकारीहरूले पनि सम्बोधन गर्नुभएको थियो । केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत माओवादी केन्द्रले परामर्श बैठक सुरु गरेको जनाएको छ । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ । केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्यक्रमिक रूपमा जनतामा जाने माओवादीको तयारी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच