काठमाडौं । लगानी दशक सफल बनाउने जिम्मेवारी, सार्वजनिक, निजी, सहकारीको साझेदारी भन्ने नाराका साथ मुक्तिनाथ कृषि कम्पनीले स्थापनाको छैटौँ वार्षिकोत्सवका अवसरमा कृषिमा लगानी दशक सफल बनाउन आवश्यक अध्ययनसहितको कार्यपत्र प्रस्तुत गरेको छ । कम्पनीले ‘किसानको हित, उपभोक्ताको जित’ हुने गरी कृषिसम्बन्धी कार्यपत्र प्रस्तुत गरेको हो ।
कृषि उपजमा किसानले आफ्नो लगानीको प्रतिफल नपाउने गरेको, परिश्रमको मूल्यसमेत नपाउने लगायतका अवस्था सिर्जना भइरहेका सन्दर्भमा मुक्तिनाथले कृषिमा लगानी दशक सफल बनाउन आवश्यक कार्यपत्र तयार गरेको कम्पनीका अध्यक्ष भरतराज ढकालले बताउनुभयो । गाउँको उत्पादन शहरमा, शहरको पुँजी गाउँमा भन्ने कुरालाई कम्पनीले विशेष जोड दिएको छ । कृषिमा लगानी भित्र्याउन कसरी सम्भव छ ?
कति लगानी आवश्यक छ र कुन मोडलमा जान आवश्यक छ लगायतका विषयमा एक वर्षभित्रै अध्ययन पूरा गरेर बाँकी नौ वर्ष काम गरेर देखाउनुपर्ने बेला आएको उहाँको भनाइ थियो । किसानको उत्पादन सिधै उपभोक्तामाझ पुर्याउने उद्देश्यले छ वर्षअघि स्थापना गरिएको मुक्तिनाथ कृषि कम्पनीको लक्ष्यले किसान र उपभोक्ता दुवैको कल्याण हुने विश्वास लिएको कम्पनीले जनाएको छ ।